एक पटक सबै राष्ट्रिय झण्डामुनि आउनै पर्दछ । राष्ट्रिय झण्डा सबै मिलेर उठाउनु पर्दछ । दलिय झण्डा राष्ट्रिय झण्डाको अन्तर्गत हो, राष्ट्रिय झण्डा सबैभन्दा माथि हो- यो चेतना हुनै पर्दछ । कसैको दया वा कृपाबेगर, कसैको चाकरी नगरी आफ्नो योग्यता र क्षमताले केवल नेपाली भएर बाँच्न पाउने नेपाल बनाउनै पर्दछ ।
- स्वयम्भूनाथ कार्की
तीन दशक भन्दा अघिदेखि नेपालीले लगातार कुनै न कुनै दलको झण्डा बोक्दैछन् । हुन त दलहरू प्रतिबन्धित भएको लगभग तीन दशक अवधिमा पनि कतिपय नेपालीले दलको झण्डा छोडेनन् । ०७ सालदेखि नै नेपालीहरूले दलको झण्डा बोकेका हुन् । तर मुलुकको सर्वेसर्वा भएका दलहरूको झण्डा निर्वाधरूपमा ०४७ देखि बोकेका हुन् भन्न सकिन्छ । दलहरूका सामुन्ने राष्ट्रको अस्तित्व छ भन्ने पनि भुले, आफ्नो अलग अस्तित्व हुन्छ भन्ने पनि सोचेनन् नेपालीले । भन्नलाई सार्वभौम अधिकार जनतामै छ भनिएको छ, तर त्यो शब्दबाहेक पूरा संविधानमा जनताले प्रयोग गर्ने अधिकार कहीँ उल्लेख छैन । पञ्चायती संविधानले दिएको मौलिक अधिकारको सूचीमा नयाँ थप त केही छैन नै, त्यसैमा पनि हरेक उपधारामा ‘तर’ राखेर प्रतिबन्ध छ । तै पनि सम्मोहनले ग्रसित जनता ‘मेरो दल’ भन्दै मरिमेट्न छोडेका छैनन् ।
दलको स्वार्थमा राष्ट्र गौण मान्ने प्रवृत्ति आफ्नै पुर्खाहरूको अपमान हो, तैपनि भएको त्यही छ । ठूला दलका शिीर्ष नेताको चाकरी गरेर छिटो व्यक्तिगत प्रगति गर्ने सोच यति बलवान भएको छ कि अब योग्यता भन्दा दलीय भागबण्डाले वैधानिकता पाएको छ । राष्ट्रिय झण्डा अपरिचित लाग्ने र दलको झण्डा प्यारो लाग्ने अवस्था हुँदै गए यो राष्ट्रको अस्तित्व कहाँ पुग्ला अनि राष्ट्रको अस्तित्वभन्दा अलग नागरिकको के अस्तित्व होला ? कसैले पनि योग्यताको आधारमा भन्दा चाकरी र ‘पत्रम् पुष्पम्’को आधारमा स्थान पाउछ । काम गर्नुभन्दा ‘पत्रम् पुष्पम्’मा गरेको लगानी नाफासहित उठाउनु उसको पहिलो प्राथमिकता भयो भने त्यो स्वभाविक नै मान्नु पर्दछ । सत्तामा दल बदलिनेबित्तिकै आफ्नो पद पनि धरापमा पर्ने भएकोले उपलब्ध समयमा पुरानो लगानी उठाएर नयाँ लगानीको चाँजोपाँजो मिलाउन आवश्यक भएको छ ।
यही नै विगत तीस वर्षको भ्रष्टाचारको बिउ हो, जो अहिले अजङ्गको भएको छ । कर्मचारीतन्त्र, प्रहरी, प्रशासन सबै दलहरूको भर्तीकेन्द्र भएका छन् । निष्पक्ष र निर्भिक भएर जनताको हितको निमित्त काम गर्नुपर्ने यस्ता सरकारी संरचनाहरूमा काम कसरी हुन्छ भन्ने कुराको भुक्तभोगी जनता भएका छन् । राजनैतिक आस्थाले काम हुने वा नहुने कुरा निर्धारण गर्दछ । त्यसैले जनता आफ्नो कामको निमित्त पहिले कुनै न कुनै दलको स्थानीय नेताको चाकरीमा पुग्न विवश छ । के यही हो प्रजातन्त्र ? यो अहम् प्रश्न बनेको छ । दलहरूको मनपर्दीले गर्दा शक्ति पृथकीकरणको सिद्धान्त ठट्टाको विषय भएको छ भने महाअभियोग ‘हरवहाको प्यान्ठी’ ! (पूर्वी तराईमा हलो जोत्नेलाई हरवाह भनिन्छ, अनि उसको हातमा भएको सानो लठ्ठीलाई प्यान्ठी । यो प्यान्ठी उसले गोरु वा राँगा कुट्न भन्दा तर्साउन प्रयोग गर्छ ।)
राज्यले आधारभूत रूपमा जनतालाई निःशुल्क दिनुपर्ने कुरा हुन् सुरक्षा, शिक्षा र स्वास्थ्य । एक बिमारीले आफ्नै खर्चमा उपचार गराउँदा पनि सरकार त्यसमा कर उठाउँछ । विद्यार्थीको शुल्कमा प्रतिशतले शिक्षाकर उठाएर सरकारलाई बुझाउन विद्यालय बाध्य छ । जति कर लगाए पनि जति राजश्व उठाए पनि त्यो साधारण भनिने प्रशासनिक खर्चलाई नै अपुग छ । यो कुरा हरेक वजेटको अङ्क हेरे स्पष्ट हुन्छ । त्यही खर्चबाट हण्डी खाएर बजेटको प्रशंसाको पुल बाँध्न बुद्धिजीवीहरू विवश छन् । दलहरूको बक्रदृष्टि प¥यो भने जति नै योग्य भए पनि अवसरबाट वञ्चित हुनुपर्ने डर छ । दलहरूले नेपालमा कोही पनि व्यक्ति राजनीतिमा संलग्न नभएमा बाँच्न नसक्ने अवस्था बनाएका छन् । यहाँ नेपाल र नेपाली भनेर कोही चिनिदैनन् । दलको नामले, जातिको नामले, क्षेत्र वा प्रान्तको नामले चिनिनुपर्ने नेपालीको दुर्भाग्य नै हो ।
झण्डै ३० वर्षको दलिय शासनको मुल्याङ्कन गर्ने बेला भयो । हरेक घर-परिवारले दैनिक भोग्नु परेका समस्याको विरुद्ध लड्ने समय भयो । हरेक सरकारी कार्यालयमा जनताले खानुपरेको हण्डरको विरुद्ध लड्ने समय भयो । भ्रष्टाचारको विरुद्ध, शान्तिपूर्ण विकसित र सुन्दर नेपालको निमित्त लड्ने बेला भयो । हाम्रा सन्ततिको निमित्त कस्तो नेपाल छोड्ने भन्ने चिन्तन गर्न ढिला भयो । स्थानीय तहको निर्वाचन प्रक्रिया र निर्वाचित रंगरूप देखेर नै प्रष्ट भइसक्यो कि यसै छोडेमा सकारात्मक परिवर्तन स्यालको सिङ हुनेछ ।
त्यसैले अब नेपालीहरूले केही समयको निमित्त दलको झण्डा बिसाउनै पर्दछ । दलिय राजनीतिभन्दा माथि उठ्नै पर्दछं । एक पटक सबै राष्ट्रिय झण्डामुनि आउनै पर्दछ । पहिले राष्ट्रिय झण्डा सबै मिलेर उठाउनु पर्दछ । दलिय झण्डा राष्ट्रिय झण्डाको अन्तर्गत हो, राष्ट्रिय झण्डा सबैभन्दा माथि हो- यो चेतना हुनै पर्दछ । कसैको दया वा कृपाबेगर, कसैको चाकरी नगरी आफ्नो योग्यता र क्षमताले केवल नेपाली भएर बाँच्न पाउने नेपाल बनाउनै पर्दछ । यो नै नेपालीको स्वाभिमान हो ।
प्रतिक्रिया