विद्यमान नेताहरूबाट हुन सक्ने सर्वाधिक ठूलो योगदान !

विद्यमान नेताहरूबाट हुन सक्ने सर्वाधिक ठूलो योगदान !


विगतमा बाह्य शक्तिसँग गरिएका गुप्त सम्झौताले ‘नेता’हरू यसरी थिचिएका छन् कि यसबाट उनीहरूको मुक्ति असम्भव छ । नेताहरू विवेकसम्मत, स्वतन्त्र र देशकेन्द्रित निर्णय लिन पाउने सुविधामा छैनन् । त्यसैले आफ्नो इच्छा राम्रै भए पनि त्यसविपरीतका निर्णयमा सहमति जनाउँदै जानुपर्ने बाध्यतामा उनीहरू छन् ।
  • देवप्रकाश त्रिपाठी

नीति निर्माण गर्न सक्ने मानिसलाई नेता भनिन्छ र, नेताले समाज र संस्थालाई मार्गदर्शन गराउन सक्नुपर्छ । सामान्यतः नेता भन्नेबित्तिकै मानिसहरू राजनीतिकर्मी बुझ्ने गर्छन्, वास्तवमा राजनीति मात्र नभइ लक्ष्य र उद्देश्यसहित गरिने कुनै पनि कार्य सम्पादन हुन नेतृत्वको भूमिका सर्वाधिक महत्वको हुन्छ । निश्चित प्रयोजनका लागि खुलेका सामाजिक संस्था हुन् या व्यापारिक, राज्य-संयन्त्रअन्तर्गत हुन् या निजी क्षेत्रका, सबैमा नेतृत्वको अपरिहार्यता रहन्छ । नीति बुझेका या नीति बुझ्न-बनाउन सक्ने चैतन्य स्तरका मानिस मात्र नेता हुन सक्छन् । नेतृत्वको योग्यता र भूमिका सही हुन सकेन भने त्यस्तो समाज र राज्यका बासिन्दाले सास्ति खोज्नकै निम्ति भनेर अन्यत्र कतै जानु पनि पर्दैन, जस्तो कि नेपाली जनताले कतै जानु परेको छैन ।

यो आलेख तयार भइरहँदा सुन्दर मुलुक युक्रेन युद्धको दुन्दुभीमा फसेको छ र, यसरी एउटा शान्त मुलुक युद्धको चपेटमा परेर ‘खरानी’ बन्नुमा दोष कसैको छ भने त्यसनिम्ति नेतृत्व (नेता) बाहेक अरु कसैलाई दोषी ठहर गर्न सकिँदैन । सुतेको बाघलाई ब्यूँझाएर आफू र आफ्नामाथि आक्रमण हुने परिस्थिति निर्माण गर्न युक्रेनको नेतृत्वले नै मूख्य भूमिका निर्वाह गरेको हो । एउटा अपरिपक्व, अदूरदर्शी, अक्षम, अयोग्य र आवेगी नेताका हातमा राज्य पुग्यो भने त्यस्तो देशले कुन हदसम्मको कष्ट ब्यहोर्नुपर्ने हुन सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण युक्रेन बनेको छ र, त्यसका प्रमुख पात्र बनेका छन् भ्लोदिमिर जिलेन्स्की । छिमेकी मुलुक रसियाको प्रवृत्ति, प्रकृति र सम्वेदनाका विषय एवम् उसको मूख्य चिन्ता र चासो नबुझीकन आसपासको मुलुकका राज्य सञ्चालन गर्न खोज्नु मुर्खता शिद्ध हुन सक्थ्यो । त्यसमाथि भ्लादिमीर पुटिन जस्ता आक्रामक र अधीर शासक भएका बेला रसियाका छिमेकीहरूले धैर्य र बुद्धिको सहारामा आफूलाई सूरक्षित तुल्याउन सक्नुपर्थ्यो । तलाउमा बसेर गोहीसँग वैरभाव राख्न खोज्नु बहादुरी हुन्छ या मुर्ख्याइँ भन्ने कुराको जवाफ कार्य-परिणामले दिइरहेको हुन्छ । दुई सय वर्षअघि नेपालका प्रधानमन्त्री भीमसेन थापाले त्यसबेलाको महाशक्ति राष्ट्र बेलायतसमक्ष झुक्न नखोज्नुलाई बहादुरी भन्न सकिन्छ, तर युद्ध लड्नुचाहिँ बहादुरी नभएर मुख्र्याइँ सावित भयो । ब्रिटिषमाथि विजय हाशील गरेर नेपालअधीनस्थ भू-भागको रक्षा गर्न सकेको भए परिणामले भीमसेन थापालाई बहादुर शिद्ध गर्न सक्थ्यो । त्यसो त द्वितिय विश्वयुद्धमा हिटलर विजयी बनेका भए पनि संसारले लामो समयसम्म उनको स्तुतिगानमा समय खर्च गरिरहेको हुन्थ्यो ।

सिङ्गै ब्रह्माण्ड प्रकृतिको नियमअनुसार चलिरहेको हुन्छ भने राज्य मानवनिर्मित कानूनद्वारा सञ्चालित हुने गर्छ । तर प्रकृतिको नियम र राज्यको कानूनभन्दा पनि माथि शक्ति रहन्छ, त्यसैले मानिसभन्दा माथि कानून र कानूनभन्दा माथि शक्ति रहने यथार्थलाई हामीले अस्वीकार गरे पनि सत्य यही हो । शक्तिको नियम के हो भने ऊ सधैं आफ्नै पक्षमा मात्र उभिन्छ, आफ्नो स्वार्थरक्षा बाहेकको भाषा ‘शक्ति’ले बुझ्दैन, बुझ्न खोज्दैन । त्यसैले शक्तिशाली (सत्तासीन) बनेका मानिसमा पनि आफ्नो हितबाहेकका कुरा सुन्ने क्षमता र धैर्य हुन्न । सत्ता र शक्तिमा रमाइरहेका मानिससँग सङ्गत गर्नेहरूलाई राम्रैसँग जानकारी हुनुपर्छ कि उनीहरू सिद्धान्त र दर्शनमा विश्वास गर्दैनन्, उनीहरूको आफ्नो हितरक्षा गर्ने विचार नै तिनका दृष्टिमा ‘राम्रो सिद्धान्त’ हो । यसर्थ सत्ता र शक्तिमा रहनेहरूमा विवेक र बुद्धिको कमी भइदियो र, अहङ्कार मात्र छचल्किन थाल्यो भने विपत्ति निम्तिने निश्चित छ । रोगी चेतना स्तरका या न्यून चेतनाका मानिस सत्तामा पुगे भने तिनमा अहङ्कार व्याप्त रहन्छ र, यस्तै मानिसले विपत्ति (Disaster) निम्त्यिाइरहेका हुन्छन् । देश विपन्न र जनता दुःखी-गरिब छन् भने त्यस्ता मुलुकका सत्तासीनहरूमा अहङ्कार अरु ज्यादा हुन्छ, जस्तो नेपालमा दशकौँदेखि हामी देखिरहेका छौँ ।

राष्ट्रिय हितका चार दर्जन बढी काम गरेर पनि जङ्गबहादुर सम्मानित हुन नसक्नु, तर गम्भीर राष्ट्रिय क्षति पऱ्याएर पनि भीमसेन थापा सम्मानित रहनुको रहस्य बुझियो भने नेपाल हिजोदेखि आजसम्म सत्यको नभइ सत्ता (शक्ति)को, कानूनको नभइ भक्तिको पक्षमा जोडदार ढङ्गले उभिँदै आएको स्पष्ट हुन्छ ।

भीमसेन थापाले आवेग र बल प्रयोग गरेबापत हामीले उनलाई राष्ट्रिय विभूतिको रूपमा सम्मान दिएका छौँ, देशको आकार खुम्चिनुमा उनी कति जिम्मेवार थिए भन्ने हिसाब राखेका छैनौँ । जङ्गबहादुर राणा पनि भीमसेन थापा जस्तै शक्तिशाली शासक थिए, उनले गुमेको ठूलो भू-भाग कुटनीतिक कौशल प्रयोग गरेर फिर्ता ल्याउने सफलता प्राप्त गरे, नेपाल बेग्लै देश भएको प्रमाणिकरण गर्न नापी-नक्शा तयार गरी सीमाना छुट्याएर साँध (जङ्गपिलर) राखे । तर जङ्गबहादुरको महाकर्मको उच्च कदर गर्दै उनलाई उचित सम्मान दिन हामीले कञ्जुस्याइँ गर्दै आएका छौँ । राष्ट्रिय हितका चार दर्जन बढी काम गरेर पनि जङ्गबहादुर सम्मानित हुन नसक्नु, तर गम्भीर राष्ट्रिय क्षति पुऱ्याएर पनि भीमसेन थापा सम्मानित रहनुको रहस्य बुझियो भने नेपाल हिजोदेखि आजसम्म सत्यको नभइ सत्ता (शक्ति)को, कानूनको नभइ भक्तिको पक्षमा जोडदार ढङ्गले उभिँदै आएको स्पष्ट हुन्छ । यदि नेपालीले विवेकसम्मत धारणा बनाएका र तदनुरुप इतिहास लेखन कार्य हुन सकेको भए भीमसेन थापाप्रति बेग्लै दृष्टिकोण बन्न सक्थ्यो र, जङ्गबहादुर राष्ट्रिय विभूतिका रूपमा सम्मानित हुन सक्थे । कार्यपरिणामका आधारमा नभइ कुरैका आधारमा मात्र धारणा बनाउने नेपालीको शैली र संस्कारले हामी सबैलाई असत्य र आवेगका पक्षमा उभ्याएको छ ।

जङ्गबहादुरले ब्रिटिष-इण्डियासँग मजबूत मित्रता कायम गरेका थिए । एउटा महाशक्ति राष्ट्रसँग दुर्बल राष्ट्रका कार्यकारी प्रमुखले मित्रता कायम गर्नुलाई हामीले सम्मानजनक दृृष्टिले हेर्न खोजेनौँ, त्यसैले जङ्गबहादुरलाई अङ्ग्रेजको सेवकका रूपमा लाञ्छित गऱ्यौँ । शक्तिराष्ट्रहरूसँग वर्तमान शासकहरूले पनि घनिष्टता कायम राखेका छन् र विदेशी शक्तिकेन्द्रलाई रिझाउने कला हाम्रा शासकहरूमा अब्बल देखिन्छ तर जङ्गबहादुर आफ्नो सम्बन्धलाई राष्ट्रहितमा प्रयोग-उपयोग गर्दथे, यो समयका शासकहरू विदेशीसँगको सम्पर्क-सम्बन्धलाई आफ्नो निजी हितमा उपयोग गर्ने गर्दछन् ।

नेपाल शान्त र समुन्नत नबन्नुका अनेक कारण छन्, अनेकमध्ये एउटाचाहिँ राजनीतिक नेतृत्व हो । कुनै पनि देश, समाज र संस्था बन्न नेतृत्वको सर्वोपरि र निर्णायक भूमिका रहन्छ । नेतृत्व इमानदार, दूरदर्शी र क्षमतावान भयो भने निरङ्कुशतन्त्रमा पनि देश बन्न सक्दोरहेछ भन्ने अनेक तथ्यहरूले पुष्टि गरेका छन् । नेतृत्व बेइमान भइदिँदा प्रजातन्त्र, समाजवाद र गणतन्त्र अवलम्बन गरिए पनि मुलुक बर्बादीको दिशातिर लम्किँदोरहेछ । दक्षिण कोरिया प्रजातन्त्र या लोकतन्त्रले बनाएको होइन । चीन विश्वको महाशक्ति राष्ट्र बन्ने द्रुत मार्गमा देखिन्छ, तर उसलाई यस अवस्थामा पुऱ्याएको कुनै प्रकारको लोकतन्त्र या प्रजातन्त्रले होइन । सिङ्गापुरका ली क्वान यूको कार्यशैली र व्यवहारलाई हेरियो भने लोकतन्त्रका कारण उक्त मुलुक बनेको निष्कर्श निकाल्न सकिँदैन ।

उता सङ्घीय लोकतान्त्रिक गणतन्त्र भएर पनि कैयन मुलुक चरम विपन्नता र असहजता ब्यहोर्दैछन् । विश्वकै सबभन्दा गरीब मुलुकहरू दक्षिणी सुडान र कङ्गो सङ्घीयता, धर्मनिरपेक्षता, जातीय आरक्षण, समानुपातिकता तथा लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्दैछ । जिम्वावेले पनि लोकतान्त्रिक गणतन्त्रकै अभ्यास गरेको हो, तथापि यी मुलुक विपन्नता, अराजकता र अशान्तिको भुङ्ग्रोबाट बाहिर निस्कन सकिरहेका छैनन् । यता सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको अवलम्बन गरेर पनि भारत महाशक्ति राष्ट्र बन्ने दिशामा अग्रसर छ । राजतन्त्रात्मक प्रणाली भएर पनि जापान, ब्रिटेन, स्वेडेन र डेनमार्क जस्ता मुलुककले समृद्धि हाशील गरेका छन् । स्पेन, थाइल्याण्ड र कम्बोडिया पनि राजतन्त्रसहितको प्रणाली अवलम्बन गरेर समृद्धि प्राप्तिको दिशामा अग्रसर छन् । यस अर्थमा मुलुक शान्त, स्थीर र समृद्ध बन्न राज्यप्रणालीभन्दा महत्वपूर्ण भूमिका राजनीतिक नेतृत्वको रहने निष्कर्शमा पुगियो भने सम्भवतः त्यो शतप्रतिशत सही हुनेछ ।

एउटा महाशक्ति राष्ट्रसँग दुर्बल राष्ट्रका कार्यकारी प्रमुखले मित्रता कायम गर्नुलाई हामीले सम्मानजनक दृृष्टिले हेर्न खोजेनौँ, त्यसैले जङ्गबहादुरलाई अङ्ग्रेजको सेवकका रूपमा लाञ्छित गऱ्यौँ । शक्तिराष्ट्रहरूसँग वर्तमान शासकहरूले पनि घनिष्टता कायम राखेका छन् र विदेशी शक्तिकेन्द्रलाई रिझाउने कला हाम्रा शासकहरूमा अब्बल देखिन्छ तर जङ्गबहादुर आफ्नो सम्बन्धलाई राष्ट्रहितमा प्रयोग-उपयोग गर्दथे, यो समयका शासकहरू विदेशीसँगको सम्पर्क-सम्बन्धलाई आफ्नो निजी हितमा उपयोग गर्ने गर्दछन् ।

नेपालको बर्बादीमा पनि राज्यप्रणालीभन्दा राजनीतिक नेतृत्व नै ज्यादा जिम्मेवार रहेको ठहर गर्न सकिन्छ । यद्यपि नेपालले वर्तमानमा अभ्यास गरिरहेको राज्यप्रणाली पनि हाम्रो बर्बादीको मूख्य कारणभित्र पर्दछ । हामीले यतिबेला प्रयोग गरिरहेको संविधानका अन्तरवस्तुहरू यसरी लिपिवद्ध गरिएका छन् कि जसले नेपाललाई कहिल्यै शान्त, स्थीर र समृद्ध हुन दिने छैन । राणा शासनपश्चात् २००७ सालयता सबैभन्दा खराब भन्ने गरिएको व्यवस्था पञ्चायत हो, पञ्चायतकालको नौ वर्षभित्र राजा महेन्द्रबाट भएका कार्यको एक प्रतिशत काम लोकतन्त्र कालको बत्तिस वर्षमा हुन सकेको छैन भनियो भने राजनीतिलाई जीविका बनाउनेहरूले यसको खण्डन गर्न सक्ने छैनन् ।

माओवादी केन्द्र, नेकपा समाजवादी, नेकपा एमाले, काङ्ग्रेस, राप्रपा, जसपा, लोसपा आदि नामधारी दल र तिनका अधिकाङ्श नेता राज्यसत्तामा पुग्ने र समाजमा धाक-रवाफ जमाउने नितान्त निजी आकाङ्क्षाका साथ राजनीतिमा क्रियाशील छन् । हाल क्रियाशील सबै दलका अधिकाङ्श नेताहरूले आफ्ना महत्वकाङ्क्षासँग विदेशी शक्तिकेन्द्रको योजना जोडेका छन् । पहिलो पुस्ताका नेताहरू मात्र त्यसरी विदेशी शक्तिकेन्द्रसँग जोडिएका होइनन्, त्यसभन्दा तलका चौथो या पाँचौँ पुस्तासमेत पराया मुलुकको सेवक भूमिकामा आफ्नो महत्वाकाङ्क्षाको साधना गरिरहेका छन् । विगतमा बाह्य शक्तिसँग गरिएका गुप्त सम्झौताले ‘नेता’हरू यसरी थिचिएका छन् कि यसबाट उनीहरूको मुक्ति असम्भव छ । नेताहरू विवेकसम्मत, स्वतन्त्र र देशकेन्द्रित निर्णय लिन पाउने सुविधामा छैनन् । त्यसैले आफ्नो इच्छा राम्रै भए पनि त्यसविपरीतका निर्णयमा सहमति जनाउँदै जानुपर्ने बाध्यतामा उनीहरू छन् ।

पछिल्लोपटक एमसीसी प्रकरणमा प्रचण्डहरूको कार्य-व्यवहारले पनि नेपाली राजनीतिमा अदृष्य शक्तिको निर्णायक भूमिका रहेको शिद्ध गरेको हो । प्रचण्डको आफ्नो विचारचाहिँ एमसीसी अनुमोदन गरिन नहुने भन्ने नै थियो, तर बाह्रौँ घण्टामा उनी एमसीसीको पक्षमै उभिन पुगे । यदि एमसीसी परियोजना राष्ट्रहितअनुकुल थियो भने तीन वर्षदेखि यो गलत भएको सन्देश किन दिइयो ? र, राष्ट्रहितप्रतिकुल छ भने रातारात अनुमोदन किन गरियो भन्ने जस्ता प्रश्नले प्रचण्डलाई उनको जीवनकालभरी छोड्ने छैन । त्यस्तै, यतिबेला मधेशकेन्द्रीत समूहमा घुसेका बाबुराम भट्टराईकै क्रियाकलापलाई मात्र सबिस्तार अध्ययन गरियो भने पनि रोचक तर, उदेकपूर्ण तस्बिर हाम्रासामुन्ने आउँछ ।

उनी एक समय (२०५१ सम्म) माक्र्सवादसम्म ठीक हो भन्नेमा थिए, त्यसपछि माओवादी बने, अनि देश र प्रजातन्त्रविरुद्धको हिंसात्मक सङ्घर्षमा प्रचण्डका सारथी बनेर सक्रिय भए । माओवादी हिंसाको जगमा टेकेर देशको प्रधानमन्त्री बनिसकेपछि उनले घोषणा गरे- ‘नेपालमा माओवादी (कम्युनिष्ट) आन्दोलनको औचित्य सकियो ।’ उनले कम्युनिष्टको औचित्य सकिएको घोषणा मात्र गरेनन्, गैह्रकम्युनिष्ट पार्टीको गठनसमेत गरे । नयाँ शक्ति नाममा तिनले खोलेको पार्टी अस्तित्वमा भएकै बेला (२०७४ सालमा) माओवादी र एमाले एकीकरण हुने क्रमको पहिलो सभामा उपस्थित भएर बाबुरामले भनेका थिए- ‘मेरो जिन्दगीको सबैभन्दा ठूलो सपना कम्युनिष्ट पार्टीहरूको एकता हो, जुन सपना अब पूरा भएको छ ।’ यसरी कम्युनिष्टका पक्षमा सपना जाहेर गर्ने बाबुराम त्यसको केही दिनमै काङ्ग्रेसको प्रशंसा गर्दै गोर्खाबाट ‘सांसद’ बन्न सफल भएका थिए, अहिले बहुराष्ट्रिय राज्यको वकालत गर्दै मधेशतिर झरेका छन् । आफ्नै बुद्धि, विवेक र क्षमता प्रयोग गर्ने हैसियतका मानिस कुनै पनि अवस्थामा यति धेरै दूरीका ‘वैचारिक छलाङ्ग’ मार्न सक्दैनन्, तर बाबुरामले मारे । लाज भन्ने शब्दको न्यूनतम मान राख्ने काम बाँदरबाट समेत भइरहेको हुन्छ, तर पराइ इसारामा मदारीको बाँदरझैँ नाच्दानाच्दै बाबुरामको औकात र नियत उदाङ्ग भइसकेको छ । माक्र्सवादको वकालत गर्ने मान्छे रातारात माओवादी बनेर नेपाल भत्काउने योजनामा किन संलग्न भएको ? माओवादी बनेर देशको बर्बादी गरिसकेपछि कम्युनिष्ट आन्दोलनको औचित्य नरहेको घोषणा किन गरेको ? र, आफैंले बनाएको संविधानको मसी नसुक्दै बहुराष्ट्रिय राज्यको वकालत गर्दै मधेश किन झरेको ? जस्ता प्रश्नहरूको जवाफ यी भट्टराईले कहिल्यै दिन सक्ने छैनन् । आफैं सर्वाङ्ग नग्न हुने तहसम्मको नृत्यमा सहभागी हुन कुनै पनि विवेकी, स्वतन्त्र र बुद्धिमान मानिस सक्दैनन्, पराया इच्छासँग आफ्नो निजी महत्वाकाङ्क्षा गाँस्नुको परिणामले बाबुरामलाई यसरी ‘हल्लुँडो’ प्रमाणित गरिदिएको छ ।

मानिसभन्दा माथि कानून र कानूनभन्दा माथि शक्ति रहने यथार्थलाई हामीले अस्वीकार गरे पनि सत्य यही हो । शक्तिको नियम के हो भने ऊ सधैं आफ्नै पक्षमा मात्र उभिन्छ, आफ्नो स्वार्थरक्षा बाहेकको भाषा ‘शक्ति’ले बुझ्दैन, बुझ्न खोज्दैन । त्यसैले शक्तिशाली (सत्तासीन) बनेका मानिसमा पनि आफ्नो हितबाहेकका कुरा सुन्ने क्षमता र धैर्य हुन्न ।

हालै मात्र काङ्ग्रेस पार्टीको महामन्त्री बनेका गगन थापा २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनपश्चात बारम्बार सार्वजनिक रूपमा भन्ने गर्थे- ‘यो संविधानसभाले संविधान बनाउन नसक्ने भयो भने म एक महिनापहिले नै सभासदबाट राजीनामा दिनेछु ।’ दुईवर्षे कार्यकाल रहेको संविधानसभाले पौने दुई वर्ष बिताइसकेपछि उनले सार्वजनिक घोषणा गरेका थिए- ‘म अवधि सकिनुभन्दा एक महिनापहिले नै राजीनामा गर्नेछु ।’ तर त्यसरी आफ्नै घोषणाअनुरुप राजीनामा दिने छुट उनलाई मिलेन । अदृष्य शक्ति संविधानसभालाई निरन्तरता दिँदै माओवादी बलियो भएको उक्त सभाबाट नै जातीय राज्यसहितको संविधान जारी गराउन चाहन्थ्यो, त्यसनिम्ति जसरी भए पनि उक्त संविधानसभाको कार्यकाल लम्ब्याउनुपर्ने थियो । यिनै गगनलाई संविधानसभाको अवधि थप गराउन सर्वाधिक सक्रिय गराइयो । कुनैबेला पचास वर्ष उमेर पुगेका सबैले राजनीतिबाट पन्छिनुपर्छ भन्ने गगन आफैं आफ्नो वचनको कार्यान्वयन गर्न असमर्थ छन् । आफ्नो विवेक, बुद्धि र स्वतन्त्र भूमिका निर्वाह गर्न पाइने सुविधा यिनलाई हुन्थ्यो भने त्यसरी ‘एक्स्पोज’ हुनुपर्ने थिएन । पन्ध्रवर्षे राजनीतिक जीवनमा यी थापा कमल थापाभन्दा भिन्न नरहेको पुष्टि हुँदै छ । अदृष्य शक्तिको इसारा र इच्छामा चल्दै जाँदा आफू नग्न बनिसकेको जानकारी यिनलाई आगामी संसदीय निर्वाचनमा पराजित भइसकेपछि अवश्य मिल्नेछ ।

यी केही नमूना मात्र हुन्, देशविरुद्ध क्रियाशील भइरहँदा सबैजसो नेताहरू ‘एक्स्पोज’ भइसकेका छन् । केही खास नेता नेपालको हितप्रति सचेत नदेखिएका होइनन्, तथापि उनीहरू समेत अदृष्य शक्तिबाट सञ्चालित-परिचालितहरूकै घेराबन्दीमा भएकोले स्वतन्त्र र विवेकसम्मत भूमिका निर्वाह गर्न पूर्णरूपले असमर्थ छन् । त्यसैले नीति र नेतृत्व दुवै बदल्नुपर्ने बाध्यतामा हामी नेपाली छौँ । जुनसुकै राजनीतिक प्रणाली अवलम्बन गरिए पनि नेतृत्व यिनैको रहने हो भने परिणाम यस्तै आउने र मुलुकको हालत यस्तै रहने निश्चित छ । यो स्थितिमा विद्यमान नेतृत्व (नेताहरू)बाट मुलुकलाई कसरी योगदान पुग्न सक्छ भन्ने प्रश्नमा विचरण गर्दा उनीहरू आफ्नो जिन्दगीकै सबैभन्दा ठूलो योगदान दिन सक्ने सुविधामा रहेको भेटिन्छ । विद्यमान सबै दलका नेताहरूले आफूलाई राजनीतिक भूमिकाबाट पृथक राख्न सके भने उनीहरूबाट हुने सबैभन्दा ठूलो योगदान यही हुन सक्छ । अर्काको निमित्त शिखण्डी झैँ प्रयोग भएर सत्यावादी भीष्मको हत्यानिम्ति प्रयोग भइरहनुभन्दा विवेकसम्मत स्वतन्त्र भूमिका निर्वाह गरेर कर्ण बन्नु सबै दृष्टिले उत्तम हुनेछ । जीविकाका निम्ति राजनीतिमा सहभागी भएका परजीवीहरूबाट कर्णको भूमिका निर्वाह हुने अपेक्षा राख्न नसकिएला, तथापि स्वेच्छाले राजनीतिबाट पन्छिए भने उनीहरूबाट पुग्ने सबैभन्दा ठूलो योगदान यही हुनेछ । जय मातृभूमि !