इच्छा चरितार्थ होस्

इच्छा चरितार्थ होस्


  • गणेशराज वस्ती

इच्छा, कहाँदेखि पलायो ?
कसरी आयो ?
कसको छैन यस्तो इच्छा !
वा क-कस्को छ त्यस्तो इच्छा ?
यस्को जरा कता छ ?
के इच्छाको जरा…
मन-मुटु हुँदै मस्तिष्कसम्म पुगेको छ ?
वा, यसको जराले मस्तिष्क हुँदै मन-मुटु छेडेको छ ?
वा, एक परजीवी जस्तो !
निबुवाको बोटको बीचैमा कतै उम्रेको ऐंजेरू जस्तो !
पावरमा पुगेर निस्केको पनि इच्छा !
पैसाको बलमा जन्मिने पनि इच्छा !
हो,
इच्छापूर्तिका लागि पैसा पनि चाहिन्छ
बिनापावर इच्छाको परिपूर्ति कहाँ हुन्छ ?
तर,
इच्छाको जालो जब पावर र पैसामा मात्र लुटपुटिन्छ
तब यो ऐंजेरूरुपी इच्छा जस्तो देखिन्छ,
जब यो पावर र पैसासहित
मस्तिष्क हुँदै मन-मुटुमा जोडिन्छ
तब इच्छा,
साकार रूप लिने दिशामा अग्रसर हुन्छ,
त्यसैले
इच्छा सक्कली होस्
इच्छा यथार्थ होस्
इच्छा चरितार्थ होस् !