इतिहास
- सुनिल उलक
उपत्यकाका नेवाःहरूको प्रमुख चाड इन्द्रजात्राको दिन पारेर काठमाडौं उपत्यका आक्रमण गर्न गोरखाका राजा पृथ्वीनारायण शाहले भाद्र कृष्ण चतुर्दशीका दिन क्षेत्रपाटी, टुँडिखेल, नरदेवी, खिचापोखरीमा सेनाले घेरा हालेर आफू भने मौकाको ताकमा नरदेवीमा बसिरहेका थिए । कुमारीको रथ तानेर ह्युमत पुगेको समय पृथ्वीनारायणले दरबारमा आक्रमण गरे । राजा जयप्रकाश मल्ल भागेर पाटन पुगे । त्यसपछि पृथ्वीनारायण गद्दीमा बसे । भोलिपल्ट नेवाः परम्पराअनुसार कुमारी घरको डबलीमा गद्दी राखेर नयाँ राजाले कुमारीबाट टीका ग्रहण गरे । यसरी सहजै पृथ्वीनारायण शाह काठमाडौको राजा बनेका थिए ।
राजा बनेपछि उपत्यकाको धार्मिक परम्परालाई सहजै स्विकार्दै अन्य राज्य पाटन तथा भक्तपुरमा पनि विजय प्राप्त गरेको थियो । गोरखाबाट आक्रमण गरी राजा बनेका गैर नेवार भए पनि नेवाःहरूको सांस्कृतिक पर्व तथा देवताहरूप्रति सद्भाव र स्विकार गर्दै रहँदा विभिन्न विकासका कामहरू पनि गर्न थालेका थिए ।
जङ्गबहादुर राणाका जिजुबाजे एवम् पृथ्वीनारायण शाहको समय सरदारको रूपमा रहेका रामकृष्ण कुँवरले राजाको अनुमति लिइ पशुपतिनाथको मन्दिरदेखि गुह्येश्वरीसम्म जाने ढुङ्गेबाटो बनाएका थिए । बाटोभरि ढुङ्गा ओछ्याउने तथा ठाउँ-ठाउँमा सिँढी पनि बनाएका थिए । यसरी रामकृष्ण कुँवरले पशुपति मन्दिरदेखि गुह्येश्वरीसम्म बनाएको बाटोको प्रसङ्ग आए पनि बागमती नदीमाथि बनाइएको ढुङ्गेपुलको प्रसङ्ग भने कतै उल्लेख गरिएको पाइँदैन । पुलको कुनै प्रसङ्ग नआएको भए तापनि सो बागमती नदीमाथि बनाइएको पुल सोही समयमा बनाइएको हुन सक्ने अनुमान भने लगाउन सक्छौँ ।
वि.सं. १८२६–२७ को बीचमा सो बाटो बनाउँदा नै बागमती नदीमाथिको ढुङ्गेपुलको पनि निर्माण गरेको मान्न सकिन्छ । बागमती नदीलाई पशुपतिनाथको मन्दिरको क्षेत्रमा दुवैतर्फ घाट बनाएर खोलालाई साँघुरो पारिएको छ । यसरी साँघुरो भएको ठाउँमा दुवै किनारमा ढुङ्गे पर्खाल उठाएर त्यसमाथि बलिया काठका मुढा तेर्स्याएर त्यसमाथि ढुङ्गा बिछ्याएर पुल बनाएको देखिन्छ । मानिसहरूको मात्र आवतजावत हुने हुँदा पनि यो पुल २५० वर्षदेखि उस्तै देखिन्छ । पुलको समय-समयमा मर्मत गरिने हुँदा पनि यो पुल हालसम्म यथावत देखिन्छ ।
प्रस्तुत तस्बिर खिचिएको समय अर्थात् राणा प्रधानमन्त्री चन्द्रशम्शेरको समयमा पुरानो ढुङ्गेपुलको उत्तरतर्फको अर्को पुल बनाउँदै गरेको देख्न सकिन्छ । साथै पशुपति मन्दिरतर्फको घाटमा पनि ढुङ्गा बिछ्याउने कार्य गर्दै गरेको देख्न सकिन्छ । बन्दै गरेको पुलमा पनि पुरानै शैलीमा लामा दुई काठको सत्तरी राखेको देख्न सकिन्छ । जसरी घर निर्माणको क्रममा निदालमाथि दलिन बिछ्याइन्छ, त्यसैगरी यी पुलमा पनि लामा निदालमा तेर्सो दलिनका काठहरू झैँ राखी त्यसमा ढुङ्गा बिछ्याएर माटोले सम्याउने काम गरिन्छ । पहिले-पहिले यसरी बन्ने गरेका पुलहरू निकै बलिया हुन्थे ।
प्रतिक्रिया