‘हवेली’ छाडेर माधव नेपाल ‘झुप्रो’मा पुगेको पृथ्वीसुब्बा गुरुङको टिप्पणी

‘हवेली’ छाडेर माधव नेपाल ‘झुप्रो’मा पुगेको पृथ्वीसुब्बा गुरुङको टिप्पणी


नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी एकीकृत समाजवादीलाई झुप्रोको संज्ञा दिएका छन् । नेता नेपालले कम्युनिस्ट पार्टीको हवेली नेकपा एमालेलाई छाडेर सडकमा सानो झुपडी बनाएको टिप्पणी गरे ।

‘हाम्रा पार्टीका नेता लोभिपापी हुन्, माधव नेपालले निकै ठूलो काम गर्नुभो । सुपरमार्केट जत्रो पार्टीको नेता बन्न सक्नुभएन, अधिकार जमाउन सक्नुभएन । चोरेर लगेर सडकमा एउटा सानो झुपडी बनाउनुभाछ’, शुक्रबार तनहुँमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने ।

विदेशीको डिजाइनमा फसेर नेता नेपालले पार्टी फुटाएको नेता गुरुङको आरोप छ । अगाडी थप्दै भन्छन्, ‘कुनै न कुनै दिन यो सबै कुराको पर्दाफास हुन्छ । त्यो दिन माधव नेपाल रोएर एउटै कुनामा बस्नुबाहेक अरू उपाय हुनेछैन । सबैले उहाँलाई छोड्छन् ।’

नेकपा एमाले क्रान्तिकारी भएन भनेर छाडेका उनीसँग कुनै सिद्धान्त नभएको उपमहासचिव गुरुङको जिकिर छ । ‘नेकपा एमाले क्रान्तिकारी भएन । मुलुक निर्माण नगर्ने भो । मुलुकमा क्रान्ति नल्याउने भो । समाजवाद नल्याउने भो भनेका उनले कुन सैद्धान्तिक आधार बनाएका छन् त ? मार्गदर्शन के छ उहाँसँग ? कुनै न कुनै वाद त उहाँसँग हुनपर्‍यो नि’, उनले भने, ‘अध्यादेशबाट बनेको कुनै पनि पार्टी कम्युनिस्ट पार्टी बन्न सक्दैन ।’ अरू कसैको डिजाइनमा नेकपा एमालेलाई कमजोर गराउन प्रतिकृयावादीसँग सहकार्य भएर सरकार बनेको उनको भनाइ छ ।

सोही कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेलाई आफ्नो घर भनेर फर्किएका कसैलाई पनि पक्षपात नगरिने बताएका छन् । गुरुङले एमालेको गतिलाई छेक्ने तागत कसैको नभएको जिकिर गरे ।

केन्द्रीय सदस्य भगवती न्यौपानेले पुँजीवादीको नेतृत्वमा समाजवाद ल्याउने भन्दै माधव नेपालले भ्रम छरेको आरोप लगाइन् । माधव नेपालले आफ्नो खुट्टा काटेर हिँड्न नसक्ने भएपछि कांग्रेससित हे प्रभु भन्दै खुट्टा मागिरहेको उनको टिप्पणी छ ।

यसै क्रममा नेकपा एमाले परित्याग गरेर एकीकृत समाजवादीमा गएका तनहुँका दुई वडाध्यक्ष पुनः नेकपा एमालेमै फर्किएका छन् । शुक्लागण्डकी नगरपालिका-३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र शुक्लागण्डकी-५ का वडाध्यक्ष दीर्घबहादुर थापा पुनः एमालेमै फर्किएका हुन् ।

यस्तै, शुक्लागण्डकी-५ का वडासदस्य थपबहादुर थापाले पनि एकीकृत समाजवादी परित्याग गर्दै एमालेमा फर्किएको घोषणा गरेका छन् । तनहुँमा तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिमध्ये १३ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए । सनाखत गर्नेमा पाँच जना वडाध्यक्ष र आठ जना वडा सदस्य थिए ।