‘सिंगापुर डेइजी’ले बजाइदियो खतराको घण्टी !
आलंकारिक बिरुवाहरूको पैठारीका क्रममा यो झार पनि नेपालमा दुर्घटनावश भित्रिएको वा विकास-साझेदारहरुमार्फत भुक्षय रोकथामको प्रयोजनको निहुँमा नियतवश नै भित्र्याइएको हुन सक्छ ।
नेपालमै पहिलो पटक काभ्रेको पाँचखाल क्षेत्रमा सिंगापुर डेइजी भनेर चिनिने ‘Sphagneticola trilobata’ नामक खतरनाक मिचाहा झार फेला परेको छ । जमिनमा गुन्द्री ओछ्याइए जसरी फैलिने यो बहुवर्षीय झारको काण्ड जमिनमा परेपछि त्यहीँबाट पुनः फैलिन सक्दछ र, अत्यन्तै सुख्खादेखि ओसिलो क्षेत्रमा पनि सजिलै फस्टाउन सक्दछ ।
यो झार फैलिएको ठाउँमा अन्य वनस्पतिहरु उम्रिन वा हुर्किन सक्दैनन् । यो बिरुवाको कुनै पनि भाग वर्षाको पानी वा सिंचाइको पानीले बगाएर लगेमा कृषियोग्य क्षेत्र तथा प्राकृतिक क्षेत्रमा तुरून्त स्थापित भइ त्यस्ता क्षेत्रहरुलाई अत्यन्तै छिटो प्रयोजनहीन बनाइदिन सक्दछ । तसर्थ, छिटोभन्दा छिटो यो झारलाई निर्मूल नगरिए नेपालको जैविक विविधतामा यसले नराम्रो असर गर्न सक्ने विज्ञजनको सुझाव छ ।
ब्राजिल हुँदै एसिया, अफ्रिका र ओसेनियाका समशितोष्ण क्षेत्रमा पर्ने देशहरुमा स्थापित भइसकेको यो प्रजाति संसारका सबैभन्दा खतरनाक सय प्रजातिहरूको सूचीमा पर्ने एक नम्बरको मिचाहा झार भएको कृषिविज्ञ प्रकाश पौडेलको भनाइ छ ।
आलंकारिक बिरुवाहरूको पैठारीका क्रममा यो झार पनि नेपालमा दुर्घटनावश भित्रिएको वा विकास-साझेदारहरुमार्फत भुक्षय रोकथामको प्रयोजनको निहुँमा नियतवश नै भित्र्याइएको हुन सक्ने अनुमान गरिएको छ ।
हाल यो झार सुनकोशी नदीमा मिसिने झिकु खोला आसपासको १५ किलोमिटर क्षेत्रभित्र मात्रै सीमित रहेको छ र त्यहाँ यसले आफ्नो खतरनाक मिचाहा प्रवृत्ति देखाउन थालिसकेको छ । निर्मुलिकरणसम्बन्धी विषेश प्रक्रियाबाट यो झारलाई तुरुन्त नष्ट गर्नुपर्ने औंल्याइएको छ । यसलाई अन्य कुनै भौतिक वा ज़ैविक तरिकाले नष्ट गर्न नसकिनेतर्फ समेत पाँचखाल नगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।
पाँचखाल क्षेत्रका स्थानीय कृषकहरुका अनुसार पाँचखालमा यो झार फैलिएको लगभग साढे तीन वर्ष भइसकेको छ, तर सरोकारवाला सरकारी निकायको दृष्टि भने भर्खरै मात्र परेको बताइन्छ । कृषि शहरको रुपमा विकसित हुँदै गरेको पाँचखालमा यसरी खतर्नाक नयाँ विष मौलाउँदा पनि यसबारे बोल्ने र सचेतना जगाउने कोही देखिएका छैनन् ।
कृषिमा विषालु तत्व मौलाइरहँदा जनप्रतिनिधिहरु भने प्लटिङ पेशामा मौलाइरहेका र किसानका समस्याप्रति नजरअन्दाज गरिएको भन्दै स्थानीय सचेत युवा श्रीकृष्ण धिमालले ब्यङ्ग्यात्मक ढङ्गबाट दुःख प्रकट गरेका छन् । खतर्नाक झारले पाँचखालका कुला, खोला खेत सबै सक्न लागिसक्दा पनि जनप्रतिनिधिहरु किसानमुखी नबनी तस्करमुखी भएको उनको आरोप छ ।
स्थानीय निर्वाचन भएको ५ वर्षसम्म पनि कृषि नीति जारी नगरेको, किसानको पक्षमा सिन्को नभाँचेको, कुलो र बाँध नबनाएको, विदेशी विषाक्त झारबारे जनतालाई सूचना नदिएको भन्दै उनले आक्रोश पोखेका छन् ।
प्रतिक्रिया