मिडिया अहिले कति स्वतन्त्र छ ?

मिडिया अहिले कति स्वतन्त्र छ ?


पत्रकारहरूको खुल्लमखुल्ला दलीय राजनीतिले स्वतन्त्र पत्रकारिताको मर्ममाथि प्रहार गर्दै आएको छ । जब कुनै पत्रकारले आफ्नो पेसागत हकहितसँग सम्बद्ध संस्थामा नेतृत्व लिनका लागि राजनीतिक दलको मुख ताक्नुपर्छ भने ऊ आफूनिकट राजनीतिक दलका बारेमा कसरी तटस्थ हुन सक्छ ?
  • बबिता बस्नेत

‘नेपालमा अहिले प्रेस स्वतन्त्रताको अवस्था के छ ?’ कुनै बेला नेपालको प्रेस स्वतन्त्रता अत्यन्तै धरापमा परेको भनी अन्तर्राष्ट्रिय मिसनका रूपमा नेपाल आउने/जाने गरेका विभिन्न मुलुकका पत्रकार तथा पत्रकारका हकहितमा कार्यरत साथीहरूले बेला-बेलामा यो प्रश्न गर्ने गर्छन् । जवाफ दिने क्रममा सोच्नैपर्ने हुन्छ, साँच्चै यो मुलुकको प्रेस स्वतन्त्रताको अवस्था अहिले कस्तो छ ?

झट्ट हेर्दा प्रेसलाई कतैबाट प्रत्यक्ष हस्तक्षेप छैन । लेख्नेहरू लेखिरहेकै छन्, बोल्नेहरू बोलिरहेकै छन्, सञ्चार संस्थाहरू खुल्ने क्रम जारी छ । छापा र विद्युतीय दुवै मिडियाको सङ्ख्या दिन-प्रतिदिन बढिरहेको छ । मिडिया बढेपछि पत्रकार र सञ्चारकर्मीको सङ्ख्या बढ्ने नै भयो । बाहिरबाट हेर्दा प्रेस स्वतन्त्रतामा हनन भएजस्तो कहीँ-कतैबाट लाग्दैन, देखिँदैन । बरु प्रेस जिम्मेवार भएन, सही सूचना प्रवाहित गरेन भनेर समय-समयमा जनगुनासो सुनिन्छ । स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने सञ्चारमाध्यमहरू स्वयम् व्यापक राजनीतिकरणमा फसेका भन्ने टिप्पणी त अब सामान्य हुन थालिसके । जब एमाले, काङ्ग्रेस, माओवादी भनेर एफएम, पत्रिका र टेलिभिजनहरू पार्टी नेताहरूकै अग्रसरतामा स्थापित हुन्छन्, यसप्रकारका टिप्पणी हुने नै भए । हरेक क्षेत्र, पेशा, ब्यवसायमा राजनीति चलिरहेको बेला मिडिया मात्रै स्वतन्त्र रहन्छ भन्ने कुरा अब करिब-करिब टाढाको लक्ष्य बन्दै गएको छ । यद्यपि खस्कँदो राजनीतिक मर्यादा र मूल्य-मान्यताबीच मिडियाले निर्वाह गर्दै आएको भूमिका केही हदसम्म स्वतन्त्र नै छ भन्नचाहिँ सकिन्छ ।

सेल्फ सेन्सरसिप

कुनै बेला प्रत्यक्ष सेन्सरसिप ब्यहोरिसकेको नेपाली मिडिया अहिले पनि ‘सेल्फ सेन्सरसिप’मा छ भन्दा झट्ट बाहिरबाट मिडियालाई हेर्नेहरूको मनमा प्रश्न उठ्न सक्छ, कसरी ? हो, अहिले पनि मिडियाले देखेको कुरा जस्ताको तस्तै छाप्न या प्रसारण गर्न सक्ने अवस्था छैन । डर धेरैतिरबाट छ, दृश्यमा भएका, अदृश्यमा रहेका, पर्दाअगाडिका, पर्दापछाडिका अनेक शक्ति र समूहहरू प्रेसको घाँटी निमोठ्न लागिपरेका छन् । उनीहरू चाहन्छन् कि मुखुण्डोभित्रका आफ्ना वास्तविकताहरू जनतासामु नआऊन् । त्यसप्रकारका समूहले आफ्नो बारेमा कुनै समाचार सार्वजनिक भएमा सञ्चारमाध्यमका कार्यालयमा टेलिफोन गरेर मात्र होइन उनीहरू स्वयम् उपस्थित भएर फेरि त्यसप्रकारका सामग्री प्रकाशित/प्रसारित भएमा सम्बन्धित पत्रकार र सम्पादकको जीउज्यान जोखिममा पर्ने समेतको धम्की दिन्छन् । ‘तपाईंका छोराछोरी कुन स्कुल, कलेज पढ्छन् र कुन बाटो हिँड्छन् भन्ने कुरा हामीलाई थाहा छ’ भन्नेसम्मको धाकधम्की पाएर पनि कतिपय पत्रकारहरू जोखिमपूर्ण त्रासकाबीच पेसालाई अघि बढाइरहेका छन् ।

हामीकहाँ मौलाएको राजनीतिक विकृतिसँगै मिडियाकर्मीलाई पनि एउटै बास्केटमा राखेर हेर्ने चलन क्रमशः स्थापित हुँदै गएको छ । सबै पत्रकार उस्तै छैनन्, पत्रकारितालाई व्यावसायिक बनाउन लागिपर्नेहरू छन् । विडम्बना यो छ कि जो स्वतन्त्र छन्, ‘थ्रेट’ उनीहरूलाई नै बढी छ । राजनीतिक टीकाटिप्पणी र खोजीपत्रकारिता गर्नेहरूले नै बढी धम्की पाउँदै आएका छन् । सेल्फ सेन्सरसिप राजनीतिक दलहरूका कारण पनि छ । पत्रकारहरू स्वयम् कुनै न कुनै रूपमा राजनीतिक दलसँग सम्बद्ध भएकाले आफूनिकट पार्टीका कुराहरू लुकाउने प्रवृत्ति पत्रकारहरूमै पनि देखिएको छ । सेल्फ सेन्सरसिप स्थापित र भरखरै अस्तित्वमा आएका सबै प्रकारका मिडियामा छ । सुरुवात गरेर ‘फलोअप’ दिन नसकेका कतिपय सामग्री सेल्फ सेन्सरसिपभित्रै परेका हुन् भनेर बुझ्न मिल्छ ।

गल्ती, कमी-कमजोरी

नेपाली पत्रकार र सञ्चारकर्मीहरूको सबैभन्दा ठूलो कमजोरी र गल्ती आफू स्वयम् राजनीतिमा मुछिएर भएको छ । जिल्ला-जिल्लामा एफएमहरूको भीड लाग्दा हामी भनिरहेका छौँ- रेडियोको दुनियाँमा नेपाल उदाहरणीय बनेको छ । हो, गाउँ-गाउँमा सञ्चारको विकास हुनु निश्चय नै राम्रो कुरा हो तर ती रेडियोका मालिक को छन् ? कसका नाममा दर्ता भएका छन् र मिडियामा उनीहरूको रुचि के कारणले बढ्यो भन्ने कुरातर्फ भने त्यति ध्यान दिइएको छैन । धेरैजसो रेडियो स्टेसनहरू राजनीतिक दलका व्यक्तिहरूले चलाएका छन् । माओवादी, एमाले र काङ्ग्रेससम्बद्ध भनेर खुल्ला रूपमै सञ्चारमाध्यम सञ्चालनमा आएपछि यी दलहरूबीच प्रतिस्पर्धा नै अब सञ्चारमाध्यमबाट हुनेछ, हुन सुरु भइसकेको छ । दैनिक, अनलाइन, साप्ताहिक, रेडियो या टेलिभिजन जुन माध्यममा काम गरे पनि पत्रकारको अवस्था के छ भन्ने कुरा त नेपाल पत्रकार महासङ्घको निर्वाचनले स्पष्ट पार्दै आएकै छ । महासङ्घको चुनावमा पत्रकारबीच होइन काङ्ग्रेस, एमाले र माओवादीसम्बद्ध पत्रकारबीच प्रतिस्पर्धा हुने गरेको छ । चुनावमा कसलाई उम्मेदवार बनाउने भन्ने कुरा पनि दलहरूले नै तय गर्ने गरेका छन् । पार्टीले टिकट नदिएको पत्रकार स्वतन्त्र रूपमा उठ्दा जित्ने अवस्था अत्यन्त झिनो रहन्छ । यसरी पत्रकारहरूको खुल्लमखुल्ला दलीय राजनीतिले स्वतन्त्र पत्रकारिताको मर्ममाथि प्रहार गर्दै आएको छ । जब कुनै पत्रकारले आफ्नो पेसागत हकहितसँग सम्बद्ध संस्थामा नेतृत्व लिनका लागि राजनीतिक दलको मुख ताक्नुपर्छ भने ऊ आफूनिकट राजनीतिक दलका बारेमा कसरी तटस्थ हुन सक्छ ? अहिलेको ‘ट्रेन्ड’ हेर्दा नेपालमा स्वतन्त्र पत्रकारिताको सिद्धान्त व्यवहारमा लागू हुन अझै समय लाग्छ भन्न सकिन्छ । पत्रकारितामा रहेकाहरूको निम्ति यसप्रकारको अवस्था निकै ठूलो चुनौती हो ।

त्यसो त, पत्रकार हुँदैमा कुनै राजनीतिक आस्था नै राख्न नमिल्ने भन्ने हुँदैन । विश्वका विभिन्न मुलुकमा रहेर मिडियामा कार्यरत पत्रकारहरू प्रायः सबै नै आफ्नो मुलुकमा रहेका कुनै न कुनै दललाई मतदान गर्छन् । मतदान गर्दा निश्चय नै सैद्धान्तिक आस्थाको कुरा आउँछ तर हामीकहाँ जस्तै गरी राजनीतिक दलले नै पत्रकारका नेता छान्ने प्रवृत्ति भने कमै मुलुकमा होला । हामीकहाँ कतिपय पत्रकारहरू आफ्नो पेसाप्रति भन्दा पनि आफूसम्बद्ध राजनीतिक दलको व्यक्ति हुनुमा गर्व गर्छन् । यस्तो अवस्थामा राजनीतिक दलबाट हुने ‘थ्रेट’लाई कम गर्न गाह्रो पर्छ । व्यावसायिक आचारसंहिताका साथै पत्रकार हुनुका पनि सीमितताहरू छन् भन्ने कुरा हामीकहाँ आत्मसात् गरेको पाइँदैन । आफूलाई स्वतन्त्र घोषित गरेर मात्र हुँदैन, स्वतन्त्र हुन सक्नु पनि पर्छ । जबसम्म पत्रकार ‘जय नेपाल’ र ‘लाल सलाम’को अभिवादनमा रमाउँछन् तबसम्म स्वतन्त्र प्रेस जनताका निम्ति टाढाको लक्ष्य बनिरहनेछ ।