चार प्रकारका राष्ट्रवादी

चार प्रकारका राष्ट्रवादी


महेन्द्र राजमार्ग मेचीदेखि महाकालीसम्म लमतन्न परेर रहेको छ जसलाई वर्तमानका भ्रमित अग्रगमनकारीहरू ‘पूर्व-पश्चिम’ राजमार्ग.. अझ कसै-कसैले त ‘लोकमार्ग’ भन्न रुचाउँछन् महेन्द्रको मिहिनेतको कारणले जोडिएको नाम हटाएर । राष्ट्रवाद र महेन्द्रलाई लगातार दशकौँसम्म छोइछिटो गरे पनि अहिले आएर सबैलाई राष्ट्रवादी भनाइन परेको छ । महेन्द्रले गरेका कुरा नाम परिवर्तन गरेर भए पनि पछ्याउनु परेको छ ।
  • स्वयम्भूनाथ कार्की

कुनै न कुनै भावनाले, सोचले जोडिएका जनता अनि तिनलाई जोडेर राख्ने परम्परा, इतिहास, रितिरिवाज, गौरव आदि र यस्ता कुराले जोडिएका जनता बस्ने देश नामको भूगोलको साझा नाम हो राष्ट्र । अनि राष्ट्रलाई माया गर्ने वाद हो राष्ट्रवाद । राष्ट्रका तिनै तत्वहरू एक राष्ट्रवादीको निमित्त पुजनीय हुन्छ । यसभन्दा अतिरिक्त न राष्ट्रवादको परिभाषा हुन्छ न राष्ट्रवादीको कर्तव्य नै । अरु कुनै वाद जस्तो कठिन सैद्धान्तिक ब्याख्या राष्ट्रवादको छैन । अरु वाद जस्तो एक वादको अनुयायी भएपछि अर्को वादमा अछुत ठानिने जस्तो वाद पनि हैन राष्ट्रवाद । तैपनि नेपालमा धेरै लामो समयसम्म एकथरीले राष्ट्रवादलाई अछुतको व्यवहार गरिरहे । विगत लामो समयदेखि वनारसमा शिक्षा हासिल गरेको वर्ग र तिनका अनुयायीहरूले राष्ट्रवादलाई अछुत मानिरहे ।

दृष्टिकोण-राष्ट्रलाई माया गर्नेले अरु कसैको पनि राष्ट्रको विरुद्ध हुन सक्दैन । आफ्नो राष्ट्रप्रति अरुका व्यवहारअनुसार अस्थायीरूपमा कतैपटि नजिक र कतैतर्फ टाढा भएको जस्तो लाग्न सक्छ । तर यो केवल आफ्नो राष्ट्रप्रति समर्पण मात्र हो । सायद कुनै परिस्थितिविषेशमा वनारसमा शिक्षा लिनेहरूलाई आफ्नो ज्ञानभूमिप्रति आफ्नो राष्ट्रले कर्केनजर लगाएको लागेको हुन सक्छ । पछि यो सूचीमा जवाहरलाल नेहरू विश्वविद्यालय लगायतका अन्य स्थानमा शिक्षा हासिल गर्ने पनि थपिएका हुन् ।

मुलुकमा शिक्षाको ज्योति फैलाउन यस्तै बाहिरबाट शिक्षितलाई नै नेपाली विद्यार्थी सुम्पनुपर्ने बाध्यता थियो र सुम्पिइयो । राष्ट्रले आफ्नो नागरिकको पहिलो वफादारिता आफैप्रति छ भन्ने सोच्नुपर्ने हो र सोच्यो पनि । तर त्यस्तो भएन, अपवादकै रूपमा भए पनि आफ्नो राष्ट्रभन्दा आफूले शिक्षा हसिल गरेको भूमि श्रेष्ठ भनेर कलिला विद्यार्थीमा भर्ने शिक्षक पनि भए । यस्ता अपवादको काममा आँखा चिम्लनु ठिक थिएन, तैपनि ठिक मानियो यसैले यस्ता शिक्षकको प्रभाव परेकाहरूले आज पनि नेपाल आफूले केही गर्न नसक्ने निरिह भन्ने मान्छन् । कि त भारतको कि त चीनको औंला नसमाती केही गर्न सकिन्न भन्ने कुरा उनीहरूमा शैशवदेखि नै भरिएको छ । राजा महेन्द्रले यही मान्यता भत्काउन खोजे । खोजे मात्र हैन धेरै मात्रामा भत्काए पनि ।

उनको यही कथित अपराधको सजाय जस्तै भएको छ महेन्द्रको नाममा छोइछिटो । उदाहरणको निमित्त महेन्द्र राजमार्ग मेचीदेखि महाकालीसम्म लमतन्न परेर रहेको छ जसलाई वर्तमानका भ्रमित अग्रगमनकारीहरू ‘पूर्व-पश्चिम’ राजमार्ग… अझ कसै-कसैले त ‘लोकमार्ग’ भन्न रुचाउँछन् महेन्द्रको मिहिनेतको कारणले जोडिएको नाम हटाएर । राष्ट्रवाद र महेन्द्रलाई लगातार दशकौँसम्म छोइछिटो गरे पनि अहिले आएर सबैलाई राष्ट्रवादी भनाइन परेको छ । महेन्द्रले गरेका कुरा नाम परिवर्तन गरेर भए पनि पछ्याउनु परेको छ । कर्मचारी, विद्यार्थीले राजनैतिक चेतना राखे पनि राजनीति गर्न हुँदैन भन्ने महेन्द्रपथ हो भनिरहनु पर्दैन । यस्ता धेरै कुरा छन् जो एक युगपछि आएर महेन्द्रपथबाट लिनुपरेको छ । यस आलेखमा सबै चर्चा सम्भव छैन । केवल वर्तमानमा देखिएका चार प्रकारका राष्ट्रवादी परिभाषा गर्न यति आधारभूमि आवश्यक थियो ।

पहिलो प्रकारको राष्ट्रवादी ती हुन् जो राष्ट्रलाई सर्वोपरि ठान्छन् । नेपालको परम्परामा राजमुकुटको अपरिहार्यता बोध गरेर राजावादी पनि भएका छन् । तर कुनै पनि बेला राष्ट्र र राजाबीच चुनाव गर्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आयो भने राष्ट्र चुन्न रत्तिभर पनि हिच्किचाहट हुन्न । त्यस्तै धर्म र राष्ट्रबीच रोज्नु परेमा राष्ट्र नै खुशीले रोज्छन् ।

दोश्रो प्रकारमा राजावादी भएको कारणले राष्ट्रवादी भएकाहरू छन् । राजा सबैभन्दा ठूलो राष्ट्रवादी हुन्छ भन्ने सिद्धान्त छ । किनभने, राष्ट्रबेगर व्यक्तिको अस्तित्व सम्भव छ तर राजाको छैन । यस प्रकारका राष्ट्रवादीहरू बरु राष्ट्रहितमा केही आँच आए पनि पछि त्यसलाई ठिक गर्न सकिन्छ तर ‘राजा पहिला’ भन्ने मान्यता राख्छन् । जहाँ पहिलो प्रकारकाहरू ‘मेरो गर्दन चिलाएको हो कि सरकारलाई केही भएको तर रुख त बाङ्गो नै छ’ भन्ने हिम्मत राख्छन् । यस्तो अवस्थामा दोश्रा प्रकारकाहरू भने राजाले गल्ती गर्दैनन् भन्ने मान्यता राख्छन् । यही प्रकार नै राजाका प्यारा हुन्छन् । तर सङ्कटको समयमा यिनीहरू असहाय अनि निरिह हुन्छन् ।

तेश्रो प्रकारमा मौसमी राष्ट्रवादी पर्दछन् । जब राष्ट्रलाई कुनै कठिनाई परेको महसूस हुन्छ तुरन्त उग्र हुन्छन् । जसले आफ्नो देशलाई हानी गर्न खोजेको जस्तो लाग्छ त्यसको शेखी झार्न जे पनि गर्न तैयार हुन्छन् । भावनामा, कार्यमा यिनीहरूमा भएको जोश अरुमा सम्भव छैन । यिनीहरू वर्तमानको कसीमा सबै कुरा हेर्छन्, भूतकालमा सबै काम राष्ट्रविरोधी भएको देख्छन् । एउटाले पिरेमा अर्कोसँग पुकारा गर्नु गलत हो भन्नेलाई सम्भव भए काँचै चपाउँ जस्तो गर्दछन् ।

चौथो प्रकारमा हामी पनि हौँ भन्ने राष्ट्रवादी पर्दछन् । सामान्यतया यिनीहरूलाई आफूलाई कसैले राष्ट्रवादी भनेको उत्तिसारो मन पर्दैन । तर अरु सबैले आफूलाई राष्ट्रवादी भन्दा तिमीहरू मात्र हो र हामी पनि राष्ट्रवादी भन्दछन् । अन्धो राष्ट्रवादी भने हैनौँ भनेर आफूलाई अलग गर्न पनि खोज्छन् । अरु तीन किसिमकाको मिनमेख निकाल्न मात्र आफूलाई ‘म पनि राष्ट्रवादी’ भन्छन् ।

नेपाली समाजमा वर्तमानमा यही चार प्रकारका राष्ट्रवादी देखापरेका छन् । पहिलो दुई राजावादीसमेत हुन् भने तेस्रोमा बहुसङ्ख्यक गणतन्त्रवादी छन्, केही फलाना राजा नभए राजा त चाहिन्छ भन्ने छन् । कोही संसद्ले नियुक्त र नियन्त्रण गर्ने राजा पनि भन्छन् । तर, चौथो प्रकारमा राजसंस्था हुनु हुँदैन भन्नेहरू मात्र छन् ।