गैरआवासीय नेपाली संघको एकता अझै ‘पूर्ण’ नभएको सचिव गौतमको प्रष्टोक्ति

गैरआवासीय नेपाली संघको एकता अझै ‘पूर्ण’ नभएको सचिव गौतमको प्रष्टोक्ति


  • प्रतीक्षा सुवेदी (खड्की), अष्ट्रिया

हालसालै सम्पन्न गैरआवासीय नेपाली संघको १०औँ महाधिवेशनबाट सचिवको जिम्मेवारीमा निर्वाचित गंगाधर गौतमले एक लामो विज्ञप्ति जारी गर्दै आफूले बनाउन प्रयास गरेको गैरआवासीय नेपाली संघ आफूभन्दा अझै एक कदम अगाडि रहेको बताएका छन् । बाग्लुङ्ग घर भइ लामो समय नेपाली कांग्रेसको राजनीति गरेका गौतम गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेल्जियमका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ आइसीसीका विधान संशोधन समितिका सह-संयोजक रही आफ्नो कार्यक्षमता डायस्पोरामा प्रस्तुत गरिसकेका व्यक्तिका रुपमा चिनिन्छन् ।

प्रस्ट धारणा राख्ने, कम बोल्ने तर बोलेका विषयमा आफ्नो अडान परिवर्तन नगर्ने स्वभावका व्यक्तित्वको रुपमा डायस्पोरामा चिनिने गौतम नेपाली कांग्रेसको भातृसंगठन जनसम्पर्क समिति युरोपका महासचिव समेत हुन् ।

गैरआवासीय नेपाली संघलाई एक बनाउने प्रयासका बाबजुद डा. शेष घले समूहले छुट्टै महाअधिवेशन गरेको, साथै उहाँजस्ता संघका अभिभावकलाई यसै संघमा अटाउने परिस्थिति निर्माण गरेको खण्डमा संघको मर्यादा अझ बढ्ने विचार ब्यक्त गर्ने गौतमले आफ्नो कार्यकालमा एकताको बाँकी काम पूरा गरेर सबैले अपनत्व महसूस गर्ने संघ बनाउने प्रतिबद्धतासमेत जनाएका छन्।

निर्वाचित भएको पद लिएर मात्र नबसी संघको एकताको बाँकी कार्यभारलाई पूरा गर्नुपर्छ भन्ने सचिव गौतम अहिलेको अधिवेशन प्रक्रियामा छुटेका सहकर्मी मित्रहरुका साथै संघका अग्रजहरुलाई सँगै ल्याउँदा मात्र सच्चा एकताको सन्देश जाने बताउँदछन् ।

सचिव गौतमले जारी गरेको वक्तव्य जस्ताको तस्तै-

आदरणीय गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरु,

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२१ २०२३ कार्यकालका लागि विधि विधानसम्मत पारदर्शी निर्वाचन प्रणालीमार्फत आफूलाई केन्द्रिय सचिव पदमा निर्वाचित गराउन आवश्यक सहयोग सुझाव र मतदानका लागि विगत झन्डै एक वर्षदेखि सामाजिक संजाल, प्रत्यक्ष भेटघाट, समुहगत बैठक तथा विविध समयहरुमा प्रेस रिलिज मार्फत आफ्ना एजेण्डासहित तपाईंहरुका सामु उपस्थित हुँदै आएको छु ।

संघको १०औँ केन्द्रिय महाधिवेशन तथा विश्व सम्मेलन गत अक्टोबर महिनामा सम्पन्न हुनुपर्ने अवस्थामा संघभित्र केन्द्रिय महाधिवेशन प्रतिनिधि चयनको विवादका कारण उत्पन्न असामान्य परिस्थिति उत्पन्न भयो ।

समस्या समाधानका लागि संस्थाले विधानतः ६ महिनाको लागि आफ्नो कार्यकाल सर्वसम्मत रूपमा थप गरेको थियो । विभिन्न समितिहरु निर्माण गर्दै निर्विवाद महाधिवेशन र निर्वाचनको तयारीका लागि केन्द्रिय समितिमा विभिन्न योजना र नीतिगत छलफल गरि संघलाई सहमति, सहकार्य र एकता मार्गमा संस्था यहाँसम्म पुगेको हो । यसबीचमा धेरै साथीहरूको सहयोग र सुझावमा सहमतिको दस्तावेज तयार गर्दै कार्यान्वयनका लागि आग्रह गरियो ।

मेरो दृष्टिकोणमा उक्त ‘सहमति’लाई ‘कार्यान्वयन’ गर्ने अवस्था बनेको हुन्थ्यो भने संघमा आज ‘प्रणालीगत निर्वाचित कार्यसमिति’ हाम्रो सामु हुने थियो ।

गैरआवासीय नेपाली संघमा रहेको विद्यमान विधान, नियमावली, पद्धति साथै परम्परालाई पूरै निस्तेज गर्दै केवल निर्वाचनमुखी, आत्मकेन्द्रित भएर भागबण्डामा सीमित भएको छ ।

निर्वाचनपूर्व नै आफ्नो पदप्राप्तिको पूर्ण ग्यारेन्टीका निम्ति तल्लीन अभियन्ताहरुका कारण संघमा अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका संस्थापकदेखि पूर्वअध्यक्षहरुलाई अनावश्यक रुपमा विभाजित गर्ने प्रयत्न गरियो । विभाजनको मुख्य योजनाकारमा परिणत गर्न जुन किसिमको अस्वस्थ राजनैतिक चलखेल भयो, सो चलखेललाई बाध्यात्मक रुपमा टुलुटुलु हेरेर बस्न बाध्य पारियो । मलगायत समग्र डायस्पोरा बाध्य भयौँ ।

संघको विभाजनलाई पुर्णतः रोक्न, अनावश्यक राजनैतिक हस्तक्षेप र गुटबन्दीलाई रोक्न विश्वभरका अधिक स्वतन्त्र अभियन्ता एवं नेपाली कांग्रेसको विदेशस्थित भातृसंगठन सभापतिहरुको सक्रियतामा सेभ एनआरएनए (एनआरएनए बचाऔँ) अभियान समेत संचालन गरियो ।

हाम्रो मात्र एक मूल उद्देश्य थियो संघमा प्रत्यक्ष राजनीतिक हस्तक्षेप नहोस् । यसका लागि मेरो आग्रहलाई स्वीकार गर्दै सहमतिको दस्तावेज तयार गर्दा हस्ताक्षर गर्ने र उक्त दबाबरुपी आग्रहलाई समन्वय गर्ने सेभ एनआरएनए (एनआरएनए बचाऔँ) अभियानमा सहयोगी भूमिका निर्वाह गर्ने आदरणीय मित्रहरूप्रति हार्दिक नमन गर्दै आभार व्यक्त गर्दछु ।

संस्थामा बिगत १६ वर्षदेखि मैले गरेको सामान्य योगदान र सहभागितालाई आम नेपाली डायस्पोराले नजिकबाट अवश्य पनि नियालेको हुनुपर्दछ ।

पदमा रहे पनि नरहे पनि संस्थाको बृहत्तर हित, विधिविधान र पद्धतिको पक्षमा आवाज बुलन्द गर्ने मेरो स्वाभिमान यसपटक एकीकृत एनआरएनए निर्माणका लागि ‘विधिविधान’ भन्दा ‘सर्वोच्च आम सहमति’ भन्ने बुझाइमा चुकेको छ । तथापि बृहत्तर एकताको लागि जति प्रयास गरिए ति प्रयासहरुले ‘पूर्ण रुपमा सार्थकता हासिल’ गर्न नसकेको देख्दा यो एकतालाई ‘आंशिक एकता’ को रुपमा डायस्पोराको बुझाइ रहेको छ ।

मेरो व्यक्तिगत साथै सामूहिक प्रयासबाट आजसम्म जे गर्न सकेँ त्यसका लागि पूर्ण सन्तुष्ट हुन नसकेता पनि, संघबाट अलग रहेर बस्दैमा भविष्यमा संघको पक्षमा दिन सकिने योगदानमा कमी हुन सक्छ । संघबाट बाहिर रहनुभएका हाम्रा अग्रजहरु, मित्रहरुलगायत सम्पूर्ण असन्तुष्टिका स्वरलाई यसै संघमा जोड्नुपर्ने अभिभारा थपिएको छ ।

अन्त्यमा, गैरआवासीय नेपाली संघको विषम परिस्थितिजन्य अवस्थामा आयोजना गरिएको १०औँ केन्द्रिय महाधिवेशनबाट अग्रज, अभियान्ता, सहकर्मी एवं शुभेच्छुकहरुलाई समेत संस्थाको मूल प्रवाहमा ल्याउन आग्रह गर्दछु ।

साथै, वर्तमान विशेष अवस्थामा यस पवित्र अभियानमा बहुअध्यक्षात्मक एवं सामुहिक नेतृत्वमा संघलाई सन्चालनको नयाँ अभ्यासमा उपस्थित सम्पुर्ण अध्यक्षहरु पदाधिकारी र सदस्य साथीहरूलाई हार्दिक बधाई तथा सफल कार्यव्यबस्थापनको लागि शुभकामना दिन चाहन्छु ।

एकता नै बल हो भने मूल मन्त्रसहित निर्वाचनको प्रक्रियामा संस्थामा लागेको दाग मेटाउन सबै पक्ष जिम्मेवार भएर एक भएर लाग्न आग्रह गर्दछु ।

गंगाधर गौतम
सचिव, गैरआवासीय नेपाली संघ
३० मार्च २०२२