मजदूर

मजदूर


आधुनिक दासताको सांग्लो
नोकरी, जागीर, मजदूरी
नगरी नहुने मजबूरी
बाध्यताको बन्धनमा
बँधेरिएको मज़दूर
गोरू जस्तै बाँधिएकोछ
दासताको दाम्लोमा
रहर वा आवश्यकता
कहर वा बाध्यताले
सुखसाध्यको खोजिमा
सुखभोग बिर्सीएर
निरन्तर-निरन्तर
कोलमा तोरीको नियती
भोगीरहेछ मजदूर
आखिर को हो मज़दूर ?

उही हो मजदूर जो,
घर-परिवारबाट दूर
स्वदेशको माटोबाट दूर
माया, दया, स्नेहबाट दूर
महिनावारी तनखाबाट दूर
सेवा-सुविधाबाट दूर
न्यूनतम ज्यालाबाट दूर
पसिनाको मूल्यबाट दूर
खाना, नाना र छानाबाट दूर
स्वास्थ्योपचारबाट दूर
बीमा-ओखतिमूलोबाट दूर
बाबु-आमाको काखबाट दूर
श्रीमानसंग श्रीमती दूर
श्रीमती श्रीमानसँग दूर
लालाबालासँग दूर
बेला र बैंससंग दूर
आनन्द रसरंगसँग दूर
साथीभाइ रमाइलोसंग दूर
गामघर मेलापातसँग दूर
घाँसदाऊरा पानी-पँधेरोसँग दूर
आफ्नै पाखा-पखेरोसँग दूर
सुखशान्तिसँग दूर
अमनचयनसँग दूर
आफू आफ़ैसँग दूर
आफ्नै जीवनसँग दूर
उही हो मज़दूर ।