यौनवृत्तिलाई वैधानिकता

यौनवृत्तिलाई वैधानिकता


जसरी कुनैपनि बिरुवामा फल फल्ने तथा उपयोगी हाँगाहरूमात्रको कल्पना गर्न सकिँदैन, त्यसरी नै कुनैपनि युवा युवतीहरूमा बाउ-आमा तथा समाजको सभ्यताले माग गरेकामात्र आनीबानीहरू होउन् भन्नु पनि कोरा कल्पना हुन जान्छ । यस मानेमा सबै अभिभावकहरूले आफ्ना छोराछोरीहरू डाक्टर बनुन्, इञ्जिनियर बनुन्, नर्स बनुन्, वकील बनून् आदिजस्ता चाहनाहरू राखेका हुन्छन् नै । तर, मकै छरिएको ठाउँमा हामीलाई आवश्यक भयो भन्दैमा गहुँ फलाउन सकिँदैन । उदाहरणार्थ एकदलीय बीउका बिजाङ्कुरहरू हेऱ्यो भने सबैमा एकै प्रकारको पिपिरा/टुसा देख्न सकिन्छ । त्यसमा कोदाको बीउबाट उम्रिएको कुनै टुसा छ भने हामीलाई धानको खाँचो पर्दा चारैतिर आली लगाएर पानी डम्क्याएर रोप्दैमा त्यसमा धान फल्न/फलाउन कसै सकिँदैन ।

यस मानेमा मानवीय चोलामा पनि विपरीतलिङ्गी माउकोषहरूको भेट भएपछि नै त्यहाँ बीजारोपण भएको हुन्छ अर्थात् युग्मज बन्दाखेरी नै त्यसले आफ्नो धान, मकै, कोदो, जौ, गहुँ (एकदलीय बीउ) को जस्तै आफ्नो प्रकृतिप्रदत्त गुण लिएको हुन्छ । यदि प्रसिद्ध गायक हुने गुण रोपिएकोछ भने लगानी गर्दैमा डाक्टर बन्न सक्दैन । बरु कोदोलाई राम्रो मलजल गऱ्यो भने सानो कपनी लाग्ने खालको रहेछ भनेपनि झपक्कको बाला लाग्ला, तर धान त कसै फल्न सक्दैन भन्ने प्राकृतिक सन्देशलाई आत्मसात् गर्दा गायकलाई बलजफ्ती लगानी गरेर लम्फू प्रकारको डाक्टर बनाउनु भन्दा गायनमै उत्कृष्टता हासिल गराउनु श्रेयस्कर हुने देखिन्छ । मानव बाहेकको प्रकृतिलाई नियाल्ने हो भने त गाईले हालसम्म मासु खाएको छैन र मकै रोपेर गहुँ पनि फलेको छैन तर मानवहरूले आफ्नो उच्च मस्तिष्क (नियोकर्टेक्स ब्रेन) को दुरुपयोग (?) बाट कतिपय अप्राकृतिक व्यहोराहरू पनि आफूहरूबीचमा प्रयोग गर्दै आएको पाइन्छ ।

हुनपनि हुम्लाको कुकुरलाई वाशिङ्टनमा लग्यो भनेपनि भाषाको समस्या पर्दैन रे ! कार्तिक नलागी अर्थात् कुकुर्नीलाई ऋतुकाल नआएसम्म कुकुर आफ्नो पोथीसँग लठारिँदैन रे ! ब्ल्याकलेभलै किन नहोस् कुकुरहरूले दारु खाँदैनन् रे ! तर मानिसले आफूसँगमात्र भएको नियोकर्टेक्स मस्तिष्कको दुष्प्रयोग गरेर भक्षाभक्षको लक्ष्मणरेखा मात्र मेटेन गर्नहुने र नहुनेबीचको सिमाना पनि मिचिसक्यो । अहिलेको समकालीन विश्वमा इन्टरनेटले एकातर्फ समग्र धर्तीलाई एउटा कोठाभित्र हुलिदिएर विश्वव्यापी समाज खडा गरी सबैलाई सुसूचित गराएको छ भने अर्कोतर्फ पशुपक्षीहरूले समेत समयाबद्ध गरेको यौनक्रीडालाई खुला दुरुपयोग गराइरहेको पाइन्छ । रपनि हामीकहाँ सो व्यहोरालाई खुलारूपमा आत्मसात् नगरिँदा अझै पनि यौनकर्मलाई बहुमूल्य ठानिने अवस्था विद्यमान छ ।

वास्तवमा सर्वसुलभ र खुला वस्तुको भन्दा सनातनीरूपमा पाउन नसकिने गोप्य वस्तुको मूल्य बढी नै हुन्छ भन्ने अर्थशास्त्रीय नियम यस मामलामा अपवाद हुने पनि भएन नै । फेरि विकासशील राष्ट्रहरूमा विकसित राष्ट्रहरूको प्रदर्शन प्रभाव अधिकाधिक परेको हुन्छ भनेर पनि अर्थशास्त्रले नै पढाएकोछ । तसर्थ खुला विश्वव्यापीकरणीय समाजमा रहेको टेलीभिजनादिहरूबाट हुने नग्नप्रायः दृश्यावलोकनहरूले निःसन्देह युवावर्गलाई यौनाकर्षित गराएकोछ । यद्यपि विकृत यौनक्रियाद्वारा एड्स जस्ता महारोगहरूको महामारी फैलनसक्ने तथ्य वर्तमनमा सर्वत्र विज्ञापन गरिएकोछ तरपनि बानी परेपछि मिष्ठान्न खाएपछि ठुस्ठुस्ती गन्हाउने विजुलीखैनी च्याप्न मन लागेजस्तै यौनक्रियालाई गोप्य राखेर कौतुकी खेलको रूपमा परिभाषित गराइने हाम्रो परिवेशले त्यसमा फँसेपछि उही सेतो/खैरो हिरोइनको कुलत लागे झैँ न हुने भो, भरे एड्सको बिगबिगी भए भैरहोस् !

अब पहिलो अनुच्छेदसँग उल्लिखित व्यहोरालाई तादात्म्य गराउँदा, यौनकर्म सर्वत्र र सबैवर्गका लागि अनुवांशिक धरोहर कायम राख्न अनिवार्य एवम् प्रियकार्यका रूपमा स्वीकारिएको पाइन्छ । फरक तीव्रतामा होला तर चाहना शून्य कसैसँग पनि हुँदैन । यो व्यहोरा मानववर्गसँग मात्र सीमित नरहेर चराचर जगतका सम्पूर्ण जीवहरूमा लागू हुन्छ । भनिन्छ- भाले मौरीको त रानी मौरीसँग एक पटक समागम गर्ने बित्तिकै इहलिला समाप्त हुन्छ रे ! त्यतिका लागि पनि जीवन साँचेर अन्त्यमा हामफाल्दो रहेछ । अब यस्तो रहराङ्कुर कहिले हुँदो हो ? यसको पनि सोझो उत्तर छ- यौवनावस्थामा । अनि शारीरिक, मानसिक, बौद्धिक विकासको गति कहिले तीव्र हुन्छ ? यसको उत्तर पनि यौवनावस्थामा । त्यसो भएपछि यथासमयमा विपरीत लिङ्गीहरूबीचमा आकर्षण बढ्नु आफैँमा अस्वभाविक देखिँदैन ।

यौनोत्तेजक एउटै तस्बिर आमा-छोरी र बावु-छोराले चोर आँखाले नियाली रहेको पाइन्छ ताकि एकापसमा अड्कलसम्म हुन नसकोस् । तर हाम्रो मुलुकमा प्रस्तुत प्राकृतिक व्यहोराउपर सबैले बुझ पचाउँदा यौनकर्मलाई अझै अतिगोप्य वर्गमा परिभाषित गरिएकोछ । परिणामस्वरूप यसको मूल्य बढ्न गई टोपल्दा झन् अप्राकृतिक हिसाबले यौन दुरुपयोगका घटनाहरू धेरै सुनिन थालेका छन् । एकातर्फ कोठाभित्रै संसारलाई प्रवेश गर्ने वातावरण सरकारले सिर्जना गर्ने अर्कोतर्फ चराचर जगतका समस्त प्राणीहरूबीचको अनिवार्य कर्मलाई बन्देज गर्ने परिपाटी आफैँमा विरोधाभाषी देखिन्छ । भनिन्छ- पश्चिमा मुलुकहरूमा टिनएज (१३ वर्षदेखि १९ वर्षसम्म) मा आफ्ना छोराछोरीहरूले विपरीतलिङ्गी साथी बनाएनन् भने स्वास्थ्य परीक्षण गराइन्छ रे ! त्यो व्यहोराका ज्ञाता मातापिताहरूले किन यौनकर्मलाई सुरक्षित र व्यवस्थित गराउने तर्फ सोच नबनाएका हुनन् ? आफैँमा सोचनीय देखिन्छ । तर त्यस पटकको डान्स रेस्टुरेण्ट र नाइटक्लबहरू उपर सञ्चार गरिएको उर्दीले फैलाएको सनसनी र विश्वव्यापीकरणको प्रभावलाई मध्यनजर राखी समयोचित कदम चाल्नु अनिवार्य भैसकेको प्रतीत हुन्छ ।

रजनीश भन्ने गर्दथे, दिवासमयमा कसैसँग अतिप्रसङ्गका बारेमा कुराकानी उप्काएमा ‘हैन.. यतातिर सन्तानोत्पादन कसरी सम्भव भएको होला ?’ जस्तो लाग्दछ रे – भारतवर्षमा ! तर, रातीको १० देखि ११ बजेको समयमा सर्वे गर्ने हो भने यौनकार्य योग्य उमेरको जनसङ्ख्याको आधीले मात्र धरती छोएको हुन्छ रे ! यतातिरको अधिकांस यौनक्रीडा तल-माथिको आसनमा हुने हुँदा । भौतिक भोकप्यास खुलेर मेटाउनेहरूबीच पनि शारीरिक प्यास (यौन) गोप्य रहँदा मस्तिष्कको विकासमा पनि यौनकुण्ठाको दुस्प्रभाव पर्न जान्छ । त्यसैले वर्तमानमा हामी वरिपरि पनि बौद्धिक विकार छ्याप्छ्याप्ति पाउन सकिन्छ । हुनपनि हामीकहाँ लोग्नेस्वास्नीका बीचमा पनि सहज, सरल, व्यवस्थित प्रकृतिको यौनक्रीडा नहुँदा कतिपय यौनरोगले पीडित भएका जोडीहरू छन् भने कतिपय यौनप्यासबाट प्रताडित भई वैरभाव सिर्जना भएको प्रशस्त उदाहरण पाइन्छन् । तसर्थ, गर्भपतनलाई वैधता दिलाइएजस्तै यौनकर्मलाई पनि सुरक्षित र मर्यादित बनाउन यसलाई पनि वैधता प्रदान गरी यौनजन्य विकृतिबाट समाजलाई उन्मुक्ति दिलाउनु उपयुक्त देखिन्छ ।

बरु यसका लागि यौनाचारलाई वैधानिकता प्रदान गरेका मुलुकहरूको विधिलाई पुनरावलोकन गरी त्यहाँ अनुपयुक्त ठहऱ्याइएका व्यहोराहरू निफनेर हटाई हामीकहाँ सुहाउँदा व्यहोराहरू थप वा परिमार्जन गरी कम्तिमा निम्नानुसार गरिनु उपयुक्त देखिन्छ :

■ यौनकर्म क्षेत्र भनी निश्चित क्षेत्रलाई रेडलाइट एरियाको रूपमा तोक्ने ताकि, त्यस्तो कर्म जहाँतहीँ सञ्चालन गरेर सामाजिक शान्तिमा खलल पुग्न नपावोस् ।

■ करकापमा हैन स्वेच्छामा यौनलाई व्यवसायका रूपमा वरण गर्न चाहने युवा युवतीहरूलाई सोकार्य गर्न सरकारले इजाजत प्रदान गर्ने ताकि, यो व्यवसाय पनि मर्यादित हुनसकोस् ।

■ रजिष्टर्ड मेडिकल प्राक्टिसनरबाट दैनन्दिक रूपमा यौनकर्मीहरूको स्वास्थ्य परीक्षण गर्ने/गराउने र प्रमाण उपलब्ध गराउने ताकि, यौनरोग जस्ता सरुवा रोगहरूबाट यौनप्रेमी समाज जोगिन सकोस् ।

■ वेश्यालय मात्र हैन पुरुष वेश्यालय समेतको प्रावधान राख्ने ताकि यौनेच्छाबाट पीडित महिलाले पनि आफूले रोजेको (वेश्यालयमा भएमध्ये) पुरुषबाट यौनतृष्णा मेटाउन सकुन् ।

■ यौनक्रियामा संलग्न हुनेहरूको न्यूनतम दररेट सरकारले नै तोकियोस् बाँकी सम्बन्धित पक्षबाटै समझदारी हुन सकोस् ताकि यौनप्यासीहरू आफ्नो औकातका आधारमा त्यस्तो प्यास बुझाउन सकुन् ।

■ त्यस्ता व्यवसायीहरूबाट कम्तिमा ७० प्रतिशत राजस्व उठाउने ताकि उल्लिखित बमोजिमको समुचित व्यवस्था गर्न सरकारलाई थप व्ययभार महसुस नहोस् बरु राजस्व बृद्धिमा टेवा पुग्न सकोस् ।

■ अवैधानिक यौनक्रियाहरूलाई कडाइकासाथ बन्देज गर्ने ताकि सो क्रियामा इच्छुकहरू सुरक्षित कर्ममा संलग्न भएकोमा ढुक्क हुनसकुन् र अनिच्छुकलाई करकापको बाध्यकारी यौनकर्मबाट छुटकारा मिलोस्, आदि ।

उपर्युक्तानुसारको व्यवस्था मिलाएमा निम्नानुसारको प्रत्यक्ष फाइदा अनुभव गर्न सकिने देखिन्छ :

■ यौनकार्यलाई नै वैधानिकताको दायरामा समेटेपछि अवाञ्छित, असुरक्षित र अवैध यौनधन्दाहरू स्वतः बन्द हुनेछन् । कतै रहेका अवशेषहरू उपर कडाभन्दा कडा कारबाहीको व्यवस्था मिलाउनु उपयुक्त हुनेछ ।

■ व्यक्ति विशेषमा यौनकुण्ठाको दुष्प्रभावबाट हुने सर्वपक्षीय विकासावरोध हट्ने हुँदा स्वस्थ समाजको विकासमा टेवा पुग्ने देखिन्छ ।

■ संसारका अधिकाँश मुलुकहरूमा यौन स्वतन्त्रता रहेको सन्दर्भमा हामीकहाँ आएर अवैध रूपमा यौनकर्ममा संलग्न हुने विदेशीहरूलाई विश्वव्यापीकरणमा तादात्म्यता रहेको महसुस हुने र सोही बमोजिमको सुरक्षित संलग्नता हुनसक्ने देखिन्छ ।

■ खुला, सुरक्षित र व्यवस्थित यौन व्यापारलाई पनि करको दायरामा समेट्दा स्वभावतः राजस्वमा समेत टेवा पुग्नजाने देखिन्छ ।

■ यौनकुण्ठाका कारण हुने बाल यौन शोषण, बाल/बहु बिवाह, बलात्कार, हत्या जस्ता सामाजिक विक्रीतिहरू स्वातः घटेर जानेछन् ।

■ अव्यक्त यौन तृष्णा आफैँमा हिस्टेरिया जस्तो रोगको मूल कारण हो, जसबाट डिप्रेशन जस्तो भयावह रोगको बिजारोपण हुन जान्छ । यदि उल्लिखित व्यवस्था भएका यौनतृष्णाको अतृप्तिबाट समाजमा फैलने रोग एवं असभ्यता स्वतः कम भएर जाने हुन्छ ।

■ स्वेच्छिक रोजगारीको समेत सिर्जना हुने हुन्छ, आदि ।

आखिर सम्पूर्ण जीवहरूको लागि अत्यावश्यक एवम् वंश परम्परा कायमका लागि नभै नहुने तर हाम्रो समाजमा अति गोप्य रूपमा लिइएको यौनकर्मको अव्यवस्थितताले वास्तवमा समाजमा विक्रीतिहरूको जन्म दिइरहेकोछ । यौनकार्यका लागि पुलिङ्गहरू सदा उत्सुक र तत्पर हुन्छन् तर स्त्रीलिङ्गहरूलाई ऋतुकाल/गर्मावस्था आवश्यक हुने हुँदा सदावहार हुँदैनन् । यस्तो प्राकृतिक वरदानमा मानवबाहेकका प्राणीहरूले पुलिङ्गमा यौनेच्छा जाग्दा बित्तिकै जो गर्मावस्थाको स्त्रीलिङ्ग छ, उसैसँग समागम गरेर आफ्नो इच्छापूर्ति गर्दछन्; तर मानवहरूमा यौन स्वच्छन्दता वर्जित छ र हुनुपर्दछ । त्यसकारण, आफ्ना जोडीभन्दा बाहेकका विपरीत लिङ्गीहरूबीचमा हुने यौनकार्यलाई अवैध र अनुचित मानिन्छ । यसो भन्दैमा सामयिक यौनेच्छा नजाग्ने त हैन नै ! यसउसले गर्दा मानवमात्रका लागि पनि वैधानिक, सुरक्षित र व्यवस्थित यौनक्रीडास्थल स्थापना गरिनु र त्यसमा उपर्युल्लिखित व्यवस्था मिलाउनु उपयुक्त देखिन्छ । सरोकारवाला समुदाय र सरकारले समयमै यसतर्फ सोच्दा राम्रै होला ।

…सके सपारौँ, नसके नबिगारौँ…