यसरी आफै खुइलिँदै छन् राजालाई खुइल्याउन हिँडेका थापा !

यसरी आफै खुइलिँदै छन् राजालाई खुइल्याउन हिँडेका थापा !


सम्पुर्ण कुरा कमल थापाले भनेकै अनुसार हुनुपर्ने र, उनले राजालाई मान्ने होइन कि राजाले उनलाई मान्नुपर्ने हो भने राजाचाहिँ किन चाहियो त जनतालाई ? राजा ज्ञानेन्द्र र सबै नेपालीले थापालाई नै राजा माने हुने भयो !
  • सन्तोष भुषाल

कमल थापाका पछिल्ला यी अभिव्यक्तिहरु सुनेर आफ्ना धारणा स्पष्ट पारौँ-

१) राजाको चाहना यो संविधान अस्विकार गर्नुपर्छ भन्ने थियो तर मैले त्यो मानिन त्यसैले उनिसँग मेरो सम्बन्ध बिग्रीयो ।

२) सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने राजा र उनको सचिवालयको चाहना थियो तर मैले मानिनँ र ओलीलाई समर्थन गरेँ ।

३) यो चुनाव चुनाव भनेर मात्रै हुँदैन, अब सडक सङ्घर्षमा जानुपर्छ अनि मात्र ब्यवस्था परिवर्तनको विकल्पको खोजी हुन्छ भन्ने राजाको सचिवालयको धारणा थियो, तर मैले त्यसलाई मानिनँ र दलहरूसँग सहकार्य गरेर अगाडि बढेँ ।

४) तत्काल राजसंस्था पुनर्स्थापनाको निम्ति राजसंस्था पुनर्स्थापना समिति जस्तो बनेर मैले काम गरिदिए हुन्थ्यो भन्ने राजाको सचिवालयको चाहना थियो तर मैले त्यो पनि मानिनँ।

यसकारण मेरोविरुद्ध हस्तक्षेप भयो र मेरो राजनैतिक जीवन नै समाप्त पार्ने काम गरियो ।

अब सोचौँ !!

१) पहिलो कुरा त राजा र राजाको सचिवालयको चाहना कमल थापाले भनेकै जस्तो थियो भनेर मान्ने कुनै आधार छैन ।

२) यदि थापाले भनेकै कुराहरु सत्य हुन् भने पनि कमल थापाले राजा मान्ने होइन कि राजाले चाहिँ कमल थापालाई मान्नुपर्छ भन्ने सोचाइमा रहेछन् उनी भन्ने प्रष्ट भयो ।

३) अनि राजा मान्छु भनेर भोट मागेर राजाको चाहनाअनुसार नचल्ने हो भने कुन शक्तिको चाहना अनुसार चलेका हुन् त उनी ? यो गम्भीर विषय हो ।

४) गणतन्त्रको संविधान मानेर राजतन्त्र फर्किन्छ कि नमानेर ? पक्कै पनि ब्यवस्था परिवर्तन गर्नै खोजेको हो भने त्यो ब्यवस्थाको संविधान नमानेरै परिवर्तन हुने हो । इतिहासले पनि यहि कुरा स्थापित गरेको छ ।

५) यदि कमल थापाको चुनाव जितेर दुई तिहाइ ल्याएर राजा फर्काउने लाइन सहि थियो भने उनी र उनको पार्टी २५ सिटबाट किन एक सिटमा झर्‍यो त ? झनै लोकप्रिय र ठुलो हुनुपर्ने होइन र ? जनताले किन अघिल्लो चुनावमा जति पनि भोट दिएनन् त ? कि त्यहाँ पनि राजाको सचिवालयले रिमोट चलायो ?

६) तत्काल राजतन्त्र फर्काउने राजाको सचिवालयको चाहना थियो तर मैले यो संविधान मानेर भविस्यमा राजतन्त्र फर्काउनको निम्ति काम गरेकोले कमल थापाविरुद्ध राजाको सचिवालयले रिमोट चलाएको हो भन्ने उनको भनाइ सही हो भने नेपाली जनतालाई राजा आज चाहिएको हो कि कमल थापाले भनेको जस्तो भविस्यको कुनै दिनमा चाहिएको हो ? सबैले गम्भीर भएर सोचौँ ।

७) यदि कमल थापाले भनेको जस्तै राजा भैदिनुपर्ने हो र राजाले उनका सर्त मानिदिनुपर्ने हो भने त्यस्तो राजा सबै नेपालीको साझा अभिभावकको भूमिकामा कसरी रहन सक्छन् त ? कमल थापाको खल्तिको राजा पो हुन्छन् । अभिभावकको भुमिकामा रहने राजा कुनै पनि दल र नेता भन्दा शक्तिशाली हुनुपर्छ । नभए कुनै एउटा दल वा नेताको स्वार्थ पूरा गर्ने साधन मात्रै बन्नेछ राजसंस्था ।

८) यदि कमल थापाले भनेको जस्तै राजाको चाहना र कमल थापाको चाहना नमिलेकै हो भने उनी कसरी राजा मान्ने मान्छे भए त ? सम्पुर्ण कुरा कमल थापाले भनेकै अनुसार हुनुपर्ने र, उनले राजालाई मान्ने होइन कि राजाले उनलाई मान्नुपर्ने हो भने राजाचाहिँ किन चाहियो त जनतालाई ? राजा ज्ञानेन्द्र र सबै नेपालीले थापालाई नै राजा माने हुने भयो !

निश्कर्ष :

राजालाई खुइल्याउने नियतले कमल थापाले बोलेका यी कुराले बिस्तारै उनी आफैलाई खुइल्याउँदै लगेको छ । अनि उनको नियत पनि छर्लङ्ग हुँदै आएको छ ।