पूर्व राजा र सार्कका महासचिवबीच भेटवार्ता

पूर्व राजा र सार्कका महासचिवबीच भेटवार्ता


दक्षिण एशियाली सहयोग संगठन (सार्क) का महासचिव इशाला रुवान वीराकोनले पूर्व श्री ५ ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । प्राप्त जानकारीअनुसार राजाको सचिवालयमार्फत समय मिलाएर उनले भेटघाट गरेका हुन् । तीन साताअघि निर्मल निवासमै गएर उनले राजालाई भेटेका थिए । डेढ घण्टा लामो भेटघाटमा दुवैबीच आ-आफ्नो मुलुक र समग्र सार्क मुलुकहरूको विषयमा कुराकानी भएको बुझिएको छ ।

सार्कको झण्डावाल गाडीमा महासचिव वीराकोट निर्मल निवास पुग्दा गेटमा देख्नेहरूले धेरै पछि राजाको ढोकामा औपचारिक रूपमा कुटनीतिक भूमिकामा रहेका प्रतिनिधिलाई देखेका थिए । प्राप्त जानकारीअनुसार विभिन्न मुलुकका राजदूतहरूले राजासँग भेटघाटका लागि समय लिइरहेका छन् । विशेषगरी युरोपियन मुलुकका राजदूतहरूबाट भेटका लागि अनुरोध आएको छ । तर राजा ज्ञानेन्द्र अहिले झापा भ्रमणमा रहनुभएको र केही समय झापामा बसेर भारतको भ्रमणमा जाने हुनुभएकाले राजदूतहरूसँगको भेटघाट तय भने भइसकेको छैन । राजा फर्किएपछि समय ब्यवस्थापन गरिने श्रोतले बताएको छ ।

नेपालमा राजसंस्था फालिएपछि पूर्व राष्ट्रप्रमुखलाई भेट्ने इशाला सार्कका पहिलो महासचिव हुन् । कुटनीतिक क्षेत्रमा निकै अनुभवी महासचिव इशाला श्रीलङ्काका पूर्व परराष्ट्रसचिव हुन् । श्रीलङ्काको राजदूतको रूपमा विभिन्न मुलुकमा रहेर काम गरेको अनुभव उनीसँग छ ।