किन भेटेनन् चिनियाँ विदेशमन्त्रीले माधव र झलनाथलाई ?

किन भेटेनन् चिनियाँ विदेशमन्त्रीले माधव र झलनाथलाई ?


कुल तेइस जना सांसद रहेको समाजवादी पार्टीका अधिकाङ्श सांसदहरू सुरुदेखि नै एमसीसीको पक्षमा खुल्न थालेका थिए । त्यसैले उक्त प्रकरणमा त्यसबेला माधव नेपालको दोहोरो भूमिका रहेको आशङ्का गरिएको थियो । कोरियन चर्चसँग विशेष सम्बन्धमा रहनुभएका माधव नेपाल एमसीसीविरुद्ध उभिनुलाई पनि रहस्यमयी मानिएको थियो । उहाँको चीननिकटतालाई पनि स्वभाविक ठानिएको थिएन ।


नेपालको तीन दिवसीय भ्रमणमा आएका चिनियाँ राज्यपरिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले सत्तापक्ष र विपक्षका प्रमुख नेताहरूसँग भेटवार्ता गरे पनि नेकपा समाजवादीका मूख्य नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटघाट नगर्नुलाई अर्थपूर्ण मानिएको छ । समाजवादीका अध्यक्ष माधव नेपाल र चिनियाँ विदेशमन्त्री वाङबीच निकै राम्रो सम्बन्ध रहेको विश्वास गरिन्थ्यो । केपी ओली प्रधानमन्त्री रहेका बेला एमालेभित्र उत्पन्न अन्तरविरोध सिथिल तुल्याउन मन्त्री वाङले विशेष तत्परता लिनुभएको थियो । उहाँको प्रयासलाई लिएर केपी ओली असन्तुष्ट मात्र बन्नुभएको थिएन, माधव नेपालहरूकै पक्षमा वाङले काम गरिरहेको निष्कर्षसमेत निकाल्नुभएको थियो ।

बितेका एक वर्षभित्र माधव र वाङबीच विकसित सम्बन्धलाई लिएर अनेक टिप्पणी सुरु भएका थिए । त्यस्तै, समाजवादीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पनि पछिल्ला वर्षमा चीननिकट नेताका रूपमा हेर्न थालिएको थियो । एमसीसी प्रकरणमा खनालको आक्रामक प्रस्तुतिले उहाँलाई नेपालको भविष्यको भन्दा छिमेकीको चिन्ता बढी गर्ने नेताको अवतारमा देखाएको थियो । नेता खनालले आफूलाई चीनपरस्त देखाउन कुनै कसर बाँकी राख्नुभएको थिएन । त्यतिबेला खनाल दुई देशबीचको सम्बन्ध भन्दा पनि अरु नै कुराले बढी प्रेरित रहनुभएको महसूस धेरैलाई गराएको थियो ।

माधव नेपाल र झलनाथ खनालले एमसीसी प्रकरणमा दिने गरेको प्रस्तुतिले एमसीसी अनुमोदन भए उहाँहरूबाट निकै ठूलो प्रतिरोध हुने अनुमान गरिएको थियो । तर, कुल तेइस जना सांसद रहेको समाजवादी पार्टीका अधिकाङ्श सांसदहरू सुरुदेखि नै एमसीसीको पक्षमा खुल्न थालेका थिए । त्यसैले उक्त प्रकरणमा त्यसबेला माधव नेपालको दोहोरो भूमिका रहेको आशङ्का गरिएको थियो । कोरियन चर्चसँग विशेष सम्बन्धमा रहनुभएका माधव नेपाल एमसीसीविरुद्ध उभिनुलाई पनि रहस्यमयी मानिएको थियो । उहाँको चीननिकटतालाई पनि स्वभाविक ठानिएको थिएन ।

अहिले चिनियाँ विदेशमन्त्रीको उपेक्षामा पर्नुलाई पनि अनपेक्षित मानिएको छ । कतिपयले माधवलाई नभेटेर चीनले केपी ओलीसँग सम्बन्ध सुधारको प्रयास गरेको अर्थ लगाएका छन् । र, यसलाई सत्यको नजिक पनि ठानिएको छ । केपीको प्रवृत्तिलाई नजिकबाट बुझेका वाङले माधव नेपाललाई नभेटेर केपीलाई खुशी तुल्याउन खोजेकै हुन् । दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण भएका बखत प्रचण्डलाई बेग्लै भेटको समय मिलाउन खोज्दा केपी र वाङबीच खटपट भएको थियो । यसपटक माधवलाई नभेटेर वाङले केपीसँग सम्बन्ध सुधारको नयाँ ढोका खोलेका छन् ।