सिने-कलाकर्मी बाबु-आमाको पथ पछ्याउंँदै दोस्रो पुस्ता

सिने-कलाकर्मी बाबु-आमाको पथ पछ्याउंँदै दोस्रो पुस्ता


पुराना पुस्ताका कलाकारहरूले आफ्ना सन्तानलाई सिने-कलाकारितामा लाग्न प्रोत्साहित गरेबाट नेपाली कलाकारिताको शान बढ्नुका साथै यस क्षेत्रमा लाग्न चाहने दोस्रो पुस्ताको सङ्ख्या वृद्धि हुने देखिन्छ ।
  • राजन घिमिरे

पछिल्लोे समय नेपाली चलचित्रमा देखापरेका दोस्रो पुस्ताका कलाकारहरूले लोभलाग्दो किसिमले फड्को मारेका मात्र नभइ एकपछि अर्को गरेर सफलता पनि हात पारिरहेका छन् ।

नेपाली चलचित्र क्षेत्रलाई अघिबढाइरहेका अभिनेता/अभिनेतृहरूका सन्तानले कुनै समय नेपाली चलचित्रलाई काँध थापी पेशागत रूपमा अघि बढाउलान् वा यो क्षेत्रमा नौलो आयाम थप्लान् भन्ने कुरामाथि झट्ट विश्वास गर्न सकिन्नथ्यो । तर आजको पुस्तामा नेपाली चलचित्रकर्म वा समग्र कलाकारितालाई युवा पुस्तामा क्रेज बढाउन नेपाली कलाकर्मका दोस्रो पुस्ताले खेलेको अहम् भूमिका वा प्रशंसनीय उपस्थितिलाई कम आँकलन गर्न मिल्दैन ।

एक समय यस्तो थियो कि सिनेमा हलमा नेपाली चलचित्र हेर्न जाने दर्शकहरूको माहौल एकै खालको हुन्थ्यो, उही वर्ग, उही दर्शक अनि उही उपस्थिति । तर, अभिनेता भुवन केसीका छोरा अनमोल, निर्देशक शोभित बस्नेतका छोरा सलोन, नायिका झरना थापाकी छोरी सुहाना, निर्देशक बद्री अधिकारीकी छोरी केकी र करिश्मा मानन्धरकी छोरी कवितालगायतले जब चलचित्र कर्ममा पाइला हाले तब युवा पुस्ताका दर्शक यसरी सिनेमा हलमा ओइरिए कि पहिला आफ्ना सन्तानलाई सिनेमा क्षेत्रमा प्रवेश गराउन नाक खुम्चाउनेहरूको दिमागमा पनि नेपाली सिनेमाप्रति सकारात्मक सोच पैदा गरायो ।

यिनका अलावा पुराना कलाकारका सन्तानले दोस्रो पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली चलचित्रहरूलाई अगाडि बढाइरहँदा सिनेमाको बजार बढेको मात्र नभइ फरक विधा वा क्षेत्रमा लागेकाहरूको झुकाव पनि नेपाली सिनेमाप्रति बढाएको देखिन्छ ।

अभिनेता भुवन केसीका छोरा अनमोल केसी, शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ, निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर, अभिनेत्री तथा निर्देशक झरना थापा र चलचित्र निर्माता सुनिलकुमार थापाकी छोरी सुहाना थापा, कलाकार जयकिशन बस्नेतकी छोरी जाह्न्बी बस्नेत, हास्य कलाकार मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठ, हास्य कलाकार हरिवंश आचार्यका छोरा मोहितबंश आचार्य, हास्य कलाकार किरण केसीका छोरा सुदन केसी, निर्देशक बद्री अधिकारीकी छोरी केकी अधिकारी, कलाकार अशोक शर्माका छोरा अंकित शर्मा, पुराना नायक तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिसा बस्नेत, कलाकार टीका पहारीका छोरा गौरव पहारी, निर्देशक नारायण पुरीका छोरा संयम पुरी, चलचित्र निर्माता शेखर कोइरालाका छोरा संयोग कोइराला, कलाकार सानु ताम्राकारका छोरा सौरन ताम्राकार, कलाकार तथा निर्माता अरुण रेग्मीका छोरा अनुभव रेग्मी, नायक गजित बिष्टका छोरा सौगात बिष्टलगायतका दोस्रो पुस्ता यतिबेला सक्रिय रूपमा चलचित्र क्षेत्रमा लागिपरेका छन् । यो पुस्ताको सक्रियता र सिनेमा विधाप्रति यो पुस्ताले देखाएको लगावको तारिफ गर्नैपर्छ ।

हुन त एक दशकअगाडि पनि नेपाली चलचित्रकर्मका विशिष्ठ कलाकार गोपालराज मैनालीकी छोरी सज्जा मैनाली र सुशीला रायमाझीकी छोरी प्रसिद्धिका रायमाझीले पनि दोस्रो पुस्ताको रूपमा नेपाली चलचित्रमा पाइला टेकेका थिए । तर यी दुईले आफ्ना माता–पिताको निधनसँगै यो क्षेत्रलाई माया मारे । सज्जा र प्रसिद्धिका विवाह गरेर विदेश पलायन भएपछि उनीहरूले सिनेमा क्षेत्रलाई निरन्तरता दिन सकेनन् । सज्जाले नौ डाँडापारि, कर्मयोद्दा, आँखा लोभी मन पापी लगायतका चलचित्रमा काम गरिन् भने प्रसिद्धिकाले धन-सम्पति नामक चलचित्रमा अभिनय गरेकी थिइन् । चलचित्र निर्देशक शम्भु प्रधानकी छोरी इश्वरी प्रधान र छोरा चंकी प्रधानले पनि एक समय राम्रै चर्चा कमाएका हुन् । तर विवाह गरेर इश्वरी दश वर्षअगाडि परदेश लागेपछि उनको कलाकारिताले निरन्तरता पाउंन सकेन भने चंकीले पनि बाल कलाकारितापछिको यात्रालाई निरन्तरता दिने उत्साह देखाएनन् । उद्दब पौडेलका छोरा निरक पौडेलले पनि बालकलाकारको रूपमा थुप्रै चलचित्रहरूमा काम गरेका थिए । युवा अवस्थामा आइपुगेपछि भने उनले अभिनय यात्रालाई छाडे ।

आफ्नो समयमा अभिभावक पुस्ताले कमाएको क्रेज र हात पारेको सफलता भन्दा आजका दोस्रो पुस्ताले पाएको वाहवाही बढ्ता देखिन्छ । सिनेमा हलमा छिर्न मन नपराउने र त्यसतर्फ आकर्षण नै नभएको धारणा राख्ने युवा पुस्तालाई सिनेमा हलसम्म खिच्न सफल भएका आजका दोस्रो पुस्ता धन्यवादको पात्र बनेका छन् । नाम र दाम पनि दोस्रो पुस्ताले मनग्गे हात पार्ने गरेका छन् । एउटा चलचित्रमा काम गरेबापत एउटा हिरोले पचास लाखसम्म पारिश्रमिक हात पार्न सक्छ भन्ने कुरा कुनै समय कोरा कल्पना मानिन्थ्यो तर, आज अनमोल केसीको उपस्थितिले यो अब कल्पना मात्र रहेन भन्ने कुरा सावित गरिदियो । कलाकारका सन्तान वा दोस्रो पुस्ताले अघिबढाएको नेपाली सिनेमाको क्रेज र बजारले अब यो क्षेत्र घाटाको ब्यापारको क्षेत्र मात्र रहेन भन्ने कुरा सावित गरिदिएको छ । नेपाली चलचित्रमा चल्न सकियो भने के छैन ? नाम, दाम, क्रेज र वाहवाही सबै छ ।

कुनै समय आफ्ना सन्तानलाई रहरले अभिनयको स्वाद चखाएका अभिभावक चलचित्रकर्मीहरू आज आएर आफ्ना सन्ततिमा चलचित्र विधालाई नै कर्मक्षेत्र तुल्याउन प्रेरित गर्न थालेका देखिन्छन् । ‘हाम्रो पालामा गाह्रो थियो । नाम थियो केही तर, दाम त नामै मात्रको हुन्थ्यो । त्यतिबेला रहरले कलाकारिता गरिन्थ्यो भने आज यो विधामा समर्पित भएर लाग्न सक्दा नाम-दाम दुवै छ भनेर ठोकुवा गर्न सकिन्छ । त्यसैले आफ्नो सन्तति चलचित्र विधामा लाग्दा दङ्ग छु’- अभिनेता भुवन केसीको भनाइ छ ।

यता अभिनेत्री तथा चलचित्र निर्देशक झरना थापाकी छोरी सुहाना थापाको क्रेज पनि लोभलाग्दो नै छ । हुन त उनले काम गरेको चलचित्र दुई वटा मात्र हो तर क्रेज हेर्दा दर्जन चलचित्रमा काम गरेको र चलचित्र विधामा दशौँ वर्षदेखि लागिपरेको प्रतीत हुन्छ । ‘छोरीले नाम र चर्चामा यति चाँडो फड्को मारिन् कि मैले बीस वर्ष कलाकारितामा समर्पित भएर लाग्दा पनि यस्तो चर्चा हात पारेकी थिइनँ’, झरना थापाले भनिन्- ‘चलचित्र ए मेरो हजूर-४ बजारमा आएपछि सुहानाको चर्चा झनै चुलिने छ ।’

नेपाली चलचित्र विधामा पछिल्लो समय दोस्रो पुस्ताको आकर्षण बढ्नुमा अब कालाकारितामा लाग्दा सुरक्षित पनि छ भन्ने विश्वास बढ्नुलाई कारण मानिन थालिएको छ । वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा भन्छन्- ‘पहिला कुनै भूमिकामा अभिनय गराउन विभिन्न कलाकारका सन्ततिलाई धेरै आग्रह गर्नु पर्दथ्यो । कलाकार खोज्दा-खोज्दा हैरान भइन्थ्यो, तर आज त्यो अवस्था छैन । नेपाली कलाकारितामा देखापरेको दोस्रो पुस्ताको आकर्षण र कलाकारिताले खिचेको दोस्रो पुस्ताको ध्यान साँच्चै लोभलाग्दो छ ।’ आज कुनै पनि कलाकारहरूका बाबुआमाले सन्तानलाई गीत गाउँदा र फिल्म खेल्न जान्छु भन्दा गाली गर्दैनन् । कलाकारका सन्तानको कलाकारितामा बढेको प्रवेशले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको पनि शर्माले बताए ।

चलचित्र विधाको विस्तार अनि यसको बजारले ओगेटेको क्रेजले गर्दा नै यस क्षेत्रमा दोस्रो पुस्ताको चासो बढेको मान्न सकिन्छ । यतिबेलाका हटकेक अभिनेता अनमोल केसीका पिता एवम् नायक भुवन केसी भन्छन्- ‘मेरो पालामा म सिनेमा खेल्दा मेरो परिवारबाट विरोध भएको थियो । परिवारमा बोलचाल नै बन्द भयो । तर आज म आफै छोरालाई हिरो बन्न प्रोत्साहन गर्दैछु । आज नाम र दामको हिसाबले पनि चलचित्र विधा सुरक्षित छ भन्ने सन्देश पुगिसकेको छ ।’ चलचित्र विधामा दोस्रो पुस्ताको सहभागिता बढाउंन आफ्ना सहकर्मीसमक्ष आग्रह गर्दै भुवन अगाडि भन्छन्- ‘आफ्ना सन्तानलाई चलचित्रमा प्रवेश गराउंन अब धक मानिरहनु पर्ने अवस्था छैन । त्यसैले दिल खोलेर दोस्रो पुस्तालाई चलचित्र क्षेत्रमा स्वागत गरौँ ।’

परिवार नै चलचित्र क्षेत्रमा होमिएको परिवार हो थापा परिवार । अहिलेकी चलेकी नायिका सुहाना थापाका पिता सुनिलकुमार थापा चलचित्र निर्माता हुन् भने आमा झरना थापा निर्देशक । परिवारका यी तीन सदस्यले चलचित्र विधामा देखाएको सक्रियता तारिफ गर्नलायकको छ । ‘हामीले चलचित्र विधाबाहेक केही जानेनौँ र पढेनौँ पनि । यही विधालाई आत्मसात गर्दै अगाडि बढ्दा सन्तानलाई समेत यही क्षेत्रमा प्रवेश गरायौँ । पहिले–पहिले त ‘छोरीलाई किन नायिका बनाएको ?’ भन्दै धेरैले आलोचना पनि गरे, तर आज छोरीको नाम र चर्चाले एउटा स्थान बनाएपछि पहिले विरोध गर्नेहरूले पनि साथ दिन थालेका छन्’– निर्देशक एवं चलचित्र ए मेरो हजूर–४ की नायिका सुहानाकी आमा झरना थापाको भनाइ हो यो ।

सरल र सहज भूमिकामा देखापर्ने मिजासिला कलाकारको रूपमा चिनिने सलोन बस्नेत र गौरव पहारीको फिल्मी यात्रा पनि लामै चल्ने देखिन्छ भने निर्देशक बद्री अधिकारीकी छोरी केकी अधिकारीले नेपाली चलचित्र कर्ममा आफ्नै विशिष्ट पहिचान बनाएकी छन् । यस्तै, एक्सन किङ शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले अष्ट्रेलियाको सिड्नीमा बस्ने गरे पनि उनले कहिले सिड्नीमै बनेका त कहिले नेपालमा निर्माण भएका चलचित्रमा काम गरेर कलाकारितालाई निरन्तरता दिइरहेका छन् । शिवका छोरा शक्ति र करिश्माकी छोरी कविता मानन्धरले सँगै काम गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन भैसकेको छ भने शक्तिले गरेको अर्को चलचित्र लप्पनछप्पन-२ रिलिज हुँदैछ ।

त्यसो त, कुनै समय आफ्नो सन्तान कलाकारितामा लागोस् भन्ने सोच कमै कलाकारका अभिभावकहरूमा आउने गर्दथ्यो । तर, आज यस्तो सोच आउँदा अभिभावक कलाकारहरू हिच्किचाउनु पर्ने अवस्था रहेन । कलाकार बन्नु पर्दैन, अरू पेशा र क्षेत्र रोज भनेर आफ्ना सन्तानहरूलाई दबाब दिने अभिभावक कलाकारहरू नै आज कलाकारितामा लाग्न आफ्ना सन्तानले रूचि देखायो भने प्रोत्साहन दिनुका साथै यससम्बन्धी विशेष क्लास वा प्रशिक्षण लिनुपर्छ भनी सुझाव दिन थालेका छन् । यसरी समयले कोल्टे फेर्दै गर्दा पुराना पुस्ताका कलाकारहरूले आफ्ना सन्तानलाई सिने-कलाकारितामा लाग्न प्रोत्साहित गरेबाट नेपाली कलाकारिताको शान बढ्नुका साथै यस क्षेत्रमा लाग्न चाहने दोस्रो पुस्ताको सङ्ख्या वृद्धि हुने देखिन्छ ।