बाबुरामबाट विरक्तिएकी करिश्माले किन रोजिन् एमाले ?

बाबुरामबाट विरक्तिएकी करिश्माले किन रोजिन् एमाले ?


कलाकारको राजनीति-मोह !

चलचित्र क्षेत्रका चर्चित अनुहारहरू धमाधम राजनीतिमा लाग्ने क्रम चल्न थालेको छ । कतिपयले पार्टी परिवर्तन गर्ने र कतिले चाहिँ नवप्रवेशी तथा नयाँ राजनीतिक कार्यकर्ताको रूपमा पनि आफूलाई चिनाउन थालेका छन् ।

यस क्रमको पछिल्लो सबभन्दा चर्चित अनुहार रह्यो करिश्मा मानन्धरको ! माओवादी पार्टी परित्याग गरी बाबुराम भट्टराईले खडा गरेको नयाँ शक्ति नामक पार्टीबाट राजनीति सुरु गरे पनि बाबुरामको वास्तविकता एवम् मुलुकप्रति उनको ‘दुर्नियत’ बुझेपछि करिश्माले नयाँ शक्ति तथा बाबुरामलाई चटक्कै छोडिदिएकी थिइन् । ‘खतर्नाक राजनीति’ गरिरहेका बाबुरामको साथ समयमै छोडेर करिश्माले आफूलाई एक सुझबुझयुक्त सचेत महिलाको स्थानमा उभ्याएकी हुन् । यसका लागि उनको प्रशंसा गर्न हिच्किचाउनु पर्दैन । यसपछि लामो समय राजनीतिक रूपमा मौन वा स्वतन्त्र भूमिकामा रहेकी लोकप्रिय अभिनेत्री करिश्माले हालै मात्र नेकपा एमालेको छातामुनि रहेर आफूलाई राजनीतिक रूपमा सक्रिय तुल्याउने निर्णय लिएकी छन् । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीको हातबाट खादा पहिरिँदै उनी एमाले प्रवेश गरेकी छन् ।

आफ्नो उच्चशिक्षा अध्ययनलाई समेत गम्भीरतापूर्वक अघि बढाइरहेकी करिश्माले एमालेप्रवेशको आरम्भमै प्रष्ट पारेकी छन् कि कुनै पदीय लालसाबाट प्रभावित भइ आफूले एमाले रोजेको होइन ! उनको दृष्टिमा केपी ओली एक दूरदर्शी र स्पष्ट भिजन भएका नेता हुन् । समकालीन नेपाली राजनीतिमा केपीसँग तुलना गर्नलायक अन्य नेता छैनन् । ओलीलाई प्रत्यक्ष रूपमा नबुझेकाहरूले मात्र आलोचना गरेका हुन्, वास्तवमा उनी आलोचनाको पात्र नभइ साथ-समर्थन दिएर राज्यको नेतृत्व तहमा राख्नलायक प्रभावशाली नेता हुन् भन्ने करिश्माको प्रष्ट तर्क छ । हरेक व्यक्तिको आ-आफ्नो बुझाइ र अनुभूति हुन्छ । यस अर्थमा करिश्मालाई केपी ओलीको राजनीतिक व्यक्तित्वले प्रभाव पार्नुमा अन्यथा सोचिरहनु आवश्यक पनि छैन ।

करिश्माले पदका लागि राजनीतिमा नलागेको जुन अभिव्यक्ति दिएकी छन्, योचाहिँ महत्वपूर्ण विषय हो । यदि अन्तरहृदयबाट नै यस्तो सोच पलाएको हो भने उनको यस धारणालाई स्यालुट गर्नैपर्छ । किनकि, पद भन्ने कुरा त आवश्यकताले प्राप्त हुने कुरा हो । हामीकहाँ त जबर्जस्ती पद हत्याउने होडबाजी चलेको छ । योग्यता-क्षमता नै नभएकाहरू चाकडी-चाप्लुसी गरेर, डरधम्की देखाएर, नेतृत्वलाई ब्ल्याकमेलिङ गरेर र पैसाले किनेर भए पनि पद हत्याउन घनघोर प्रयत्न गरिरहेका भेटिन्छन् । वर्तमान राजनीति विकृत हुनुको प्रमुख कारणमध्ये यो प्रवृत्ति पनि एक हो । यस्तोमा निःस्वार्थ भावले राजनीतिमार्फत समाजसेवा गर्ने जुन सोच करिश्माले प्रकट गरेकी छन्, यही सद्विचारले उनी अघि बढिरहिन् भने एकदिन नचाहेर पनि देशले उनलाई ठूलै पद वा जिम्मेवारी प्रदान गर्न सक्छ, जसलाई करिश्माले चाहेर पनि इन्कार गर्न मिल्दैन, जिम्मेवारी लिनैपर्ने हुन्छ ।

करिश्माभन्दा अगाडि कोमल ओलीले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेर हाल एमालेमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी छन् भने चर्चित अभिनेत्री रेखा थापा पनि राप्रपाको उपल्लो तहकै नेतृको रूपमा आफूलाई स्थापित गर्न सफल भएकी छन् । आरम्भमा माओवादीका प्रमुख नेता प्रचण्डको व्यक्तित्वबाट प्रभावित भए पनि प्रचण्डप्रतिको मोहबाट रेखाले पनि समयमै मुक्ति पाएकी थिइन् । रेखाको उक्त कदमलाई पनि त्यसबेला ‘विवेकपूर्ण निर्णय’को रूपमा प्रशंसा गरिएको थियो । यदि उनले माओवादीमै रहेर राजनीति गर्न चाहेकी भए ‘पार्टीको पद’ त ठूलै मिल्थ्यो होला तर आम नेपाली जनताले उनलाई हेर्ने दृष्टि फरक हुने थियो र, राजनीतिक रूपले उनलाई सफलता पनि मिल्ने थिएन भनी विश्लेषण गर्न सकिन्छ ।

कलाकारहरूको राजनीतिक सक्रियताको कुरा गर्दा लिस्ट लामै हुन जान्छ । तथापि, पुराना कलाकार शिव श्रेष्ठ राजसंस्थाको पक्षमा खुलेर लागिपरेका र अर्का पुराना कलाकार रवीन्द्र खड्काको राजसंस्थाप्रतिको निष्ठाको पनि राम्रै चर्चा हुने गर्छ । यस क्रममा आफूलाई एक स्वतन्त्र कला-व्यक्तित्वको रूपमा कायम राखेका राजेश हमाललाई समेत यदाकदा राजनीतिक रूपमा विवादित तुल्याउन खोजिन्छ भने बहुचर्चित अभिनेता भुवन केसीको त कुरै बेग्लै ! कुनैबेला राजावादी पक्षसँग निकटता बनाएका भुवन पछि एमाले प्रवेश गरेका थिए । अहिलेसम्म पनि एमालेमै रहेको ठानिए पनि कतिपय कारणले उनी एमालेसँग असन्तुष्ट रहेको चर्चा चल्दै आएको छ ।

पछिल्लो समय भुवनलाई एमालेबाट अलग बनाउन एउटा समूह नै लागेको बताइन्छ । सदाबहार अभिनेता केसीलाई राप्रपामा भित्र्याउने तयारी भइरहेको चर्चा छ । राप्रपाका केही नेताहरूले भुवन केसीलाई पार्टीमा भित्र्याउन जोडबल लगाइरहेका छन् भने उनलाई काठमाडौंमा महत्वपूर्ण पदमा उम्मेदवार बनाउने गरी तान्न खोजिएको बुझिएको छ । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि चर्चित व्यक्तिहरूको राप्रपा प्रवेश गर्ने लहर नै चलेको देखिएको छ । यसै मेसोमा भुवन केसीले पनि राप्रपा ज्वाइन गरेको समाचार सार्वजनिक भयो भने आश्चर्य मान्नु पर्दैन ।