पानीको अपरेशन गर्ने ‘पानी डाक्टर’ !

पानीको अपरेशन गर्ने ‘पानी डाक्टर’ !


प्रकृतिमा फैलिएको जलप्रदुषण पृथ्वीको रोग हो । जलप्रदुषणको कारणले जलचर, थलचर र उभयचर सबै जीव मृत्युको संघारमा छन् । अब मानवको सोच हावा र जलको उपचारमा केन्द्रित हुनुपर्छ । हाम्रो सृष्टि बचाउन जल आवश्यक हुन्छ । जल नै विष भयो भने कुनै पनि डाक्टरले जीवलाई बचाउन सक्दैन । अबको पुस्ता सृष्टि बचाउने अपरेशनमा लाग्नुपर्छ ।
  • डिल्ली अम्माई/बेल्जियम

हाम्रा सन्तानमध्ये कुनै-कुनै अविभावकसँग खुलेर कुरै नगर्ने स्वभावका हुन्छन् । आफूले अपेक्षा गरेअनुरुपको स्वभावका सन्तान नहुँदा अभिभावकलाई दिक्क त लाग्छ नै ! आमा-बाबुले त्यस्ता अन्तर्मुखी सन्तानलाई बुझ्न सक्नुपर्छ, किनकि कुनै-कुनै बच्चाहरूले बाबु-आमाको हृदयमा उद्वेलित उच्च अपेक्षा, भावना, आवेग तथा तिनको गहिराइलाई नै अनुभूत गर्न सक्दैनन् । बाहिरबाट हेर्दा उनीहरूको हृदय मासुको एक टुक्राझैँ हमेसा मृततुल्य देखिन्छ । हाम्रा अपेक्षा र जिज्ञासालाई महत्व नदिने सन्तानका आँखाहरू अरु धेरै मनोवैज्ञानिक कारणले कमजोर भएका हुन सक्छन् । त्यस्ता स्वतन्त्र तर हामीले बझ्न नसक्ने सन्तानका स्वभावहरू हाम्रै संस्कार, ब्यवहारिक प्रताडना र सामाजिक अभ्यासका कारणले बनेका पनि हुन सक्छन् । त्यसैले उनीहरूको निजी तथा आफैंमा भर पर्ने गुणलाई हामीले सदैव अहङ्कारको संज्ञा दिनु दुःखपूर्ण वा कष्टप्रद कुरा हो । त्यो उनीहरूको प्राकृतिक गुण हुन पनि सक्छ तर हामीले त्यो बझ्दैनौँ र सन्तानको अहङ्कार भनेर चित्त दुखाउछौँ । अतः हामीले त्यस्ता प्राकृतिक र मनोवैैज्ञानिक कुरालाई सतही रूपमा हेरेर सन्तानको स्वभावमा चित्त दुखाउनु विडम्बनाको विषय हो ।

उपरोक्त कुरा आमरूपमा पारिवारिक अन्तर्विरोधको कारणले समस्या जस्तो देखिन आएको हो । सन्तानसँग केही न केही चित्तदुःखाइ, पिर वा गुनासो प्रायः अविभावकसँग हुन सक्छ । त्यो स्वाभाविक पनि हो, तर हामीले ती गुण/दोषहरूलाई प्राकृतिक विविधताको कसीमा तौलेर बुझ्न सक्यौँ भने पारिवारिक अन्तरसम्बन्धमा खासै समस्या हुँदैन वा हुन पाउँदैन ।

यस प्रसङ्गमा पङ्क्तिकार स्वयम्को सन्तान तथा पारिवारिक अन्तरसम्बन्धबारे केही खुलासा गरौँ । ब्यस्तताको कारणले पनि हुन सक्छ, आफ्ना छोराछोरीहरूसँग धेरै ठट्यौलीमा रम्ने र, अनावश्यक सोधपुछ गर्ने कहिल्यै गरिएन । तर सामान्य अभिभावकले झैँ उनीहरूको पढाइप्रति भने हरदम चासो दिइरहेँ । ठुली छोरी प्रतिमा, उनी सानैदेखि पढाइमा अब्बल थिइन् । एसएलसी उत्तीर्ण गरेपछि बेल्जियम आइन् र उसैगरी लगातार आफ्नो नर्सिङको पढाइ पूरा गरिन् । तर उनलाई मैले उनको विषयगत रुचिलाई जान्नुबाहेक कहिल्यै ‘यो पढ त्यो पढ’ भनेर दबाब दिइनँ ।

छोरीको विषयगत चाहनाबारे संयोगवश प्रश्न गर्दा उनले ‘योग्य नर्स बन्ने हो’ भन्थिन् । अहिले उनले आफ्नो पढाइ सकेर नर्सिङ जस्तो मानवीय सेवामा आफूलाई समर्पित गरिरहेकी छन् । त्यो सफलताको लागि हाम्री छोरीलाई सधैंभरी हाम्रो परिवारले सम्झिरहने छ । हामी उनको समर्पित सेवाबाट असाध्यै खुशी छौँ ।

मेरी आमा र सासुआमाले सानीछोरी पुजा हाम्रो घरकी लक्ष्मी हुन् भन्नुहुन्थ्यो । उनी आज्ञाकारी र शान्त स्वभावकी भएर सबैकी प्रिय छन् । तर दुःखको कुरा ! उनलाई अति माया गर्ने मेरी आमा भने यस संसारमा हुनुहुन्न ।

आमाहरूले भनेझैँ, कान्छीछोरी मिजासिलो र शान्त स्वभावकी छन् । उनको स्वभाव अरुलाई असर गर्ने वाणी लुकाएर मात्र बताउँछिन् । उनी पारिवारिक संस्कार र सभ्यताको फिल्टर मेसिन जस्तै हुन् । दुःख लुकाएर सुकिला उज्याला मोतीहरू मात्र देखाउने ! भित्री ज्ञान र आक्रोशलाई दबाएर हाँस्ने, सँधै चन्द्रमा जस्तै शान्त देखिने कोही छ भने हाम्रो घरमा सानीछोरी पुजा हुन् ।

तर मेरो छोरा प्रकाश, अन्तरमुखी स्वभावका छन् । उनले कहिल्यै पनि ‘मैले यही विषय पढ्छु’ भनेर मलाई बताएको जानकारी या सम्झना छैन । उनका मामाहरू जोसँग उनले खुलेर कुरा गर्छन्, शेखर दाजु, परमानन्द भाइ, श्याम सापकोटा । उनीहरूलाई प्रकाशले यो विषयमा पढ्छु भनेको भए मलाई जानकारी छैन, तर भन्नैपर्छ- मेरी जीवनसंगिनी र मलाई उनको पढाइबारे विशेष केही थाहा थिएन । नसोधेको पनि हैन, कहिलेकाहीँ सोधिन्थ्यो, ‘बाबु, के पढ्दैछौ’ भनेर ! उनले ‘खै ! अहिले त विज्ञान हो’ मात्र भन्थे । उच्चमाध्यामिक तहमा पनि राम्रो अङ्कसहित उत्तीर्ण गरेको हुनाले मैले प्रकाशको पढाइबारे त्यत्ति सोधिनँ र प्रकाशकी आमा तारासँग पनि टिकाटिप्पणी गरिनँ । किनकि उनको कुनै विषयगत रुचि त पक्कै होला भन्नेमा म निश्चिन्त थिएँ ।

आमा-बाबु वा कसैसँग गुनासो गर्ने स्वभावको नभएर होला, उनको भावना बझ्न अलिक कठिन हुन्छ । हाम्रो त छोराछोरीहरू अलिक आमाबाबुसँग घुलमिल होउन् र राम्रा-नराम्रा सबै अनुभव हामीलाई बताउन् भन्ने चाहना हुने नै भयो । तर कतिपय बच्चामा त्यो बानी कमजोर हुँदोरहेछ । हरेक मानिसलाई प्रकृतिले बरदानस्वरुप दिएको ब्यक्तिगत गुण बदल्न कठिन पर्ने रहेछ ।

केही वर्षअघि बेल्जियमस्थित हाम्रो घरमा स्विजरल्याण्डबाट प्रकाशका मामा श्याम सापकोटा आए । उनले आफ्नो भान्जाको पढाइबारे चासो नराख्ने त सवाल नै भएन । ‘भान्जा के विषय पढ्दै छौ ?’ भन्ने उनको जिज्ञासामा प्रकाशको जवाफले म चकित भएँ । ‘मामा, संसारमा अति आवश्यक तर अति कम मानिसले सिकेको ज्ञान मैले सिक्दैछु । त्यसमा विद्युत, वातावरण, आइटी, इञ्जिनियरिङ र स्वास्थ्यसमेत पर्दछ ।’ हाम्रो बाबुले त्यसरी खुलेर बोलेको मैले पहिलो पटक सुनेको ! ‘विषयगत ज्ञान जुन संसारमा दुर्लभ छ, जसले मानव सभ्यताको मात्र नभएर जीव विकासको लागि अधिकतम क्षेत्र समेट्छ, त्यस्तो विषय के होला ?’ त्यो बेला म मामा-भान्जाको कुराले आफैं अलमलिएँ र गफको त्यो प्रसङ्गले उनीहरूबीचको कुराकानीमा कतिखेर पूर्णविराम लाग्यो- सम्झन सक्दिनँ ।

सन् २०२० को अक्टोबर होला सायद, बाबुको पढाइको अन्तिम उत्सवमा तारा र म कलेज गयौँ । उनका गुरुमध्ये एक सायद नाम मार्क हो क्यार, उनको परामर्श सुन्यौँ । ‘अरे मान्छे, तिम्रो छोरो त ‘पानी डाक्टर’ भयो नि !’ हामीले के बझ्नु यो ‘पानी डाक्टर’ भनेको ? छक्क पऱ्यौँ र सुनी रह्यौँ, ‘केटोले धेरै मेहनत गरेर पढेको छ, अब बेल्जियमको ढल निकासबाट बगेको पानी समेत पिउनयोग्य बनाउनको लागि सरकारी काम पनि छिट्टै शुरु गर्छ ।’

‘सर मार्क’, छक्क पर्दै मैले सोधेँ, ‘यो पानी डाक्टर भनेको मैले बुझिनँ ।’

‘यो संसारकै भविष्यको अति आवश्यकीय ज्ञान र सिप हो । यो सिप संसारकै दुर्लभ सिप हो र केटोले संसारको कुनै पनि कुनामा काम लाग्ने प्रविधि सिकेको छ । किनकि, अहिले संसारमा ९७ प्रतिशत पानि पिउनयोग्य छैन, केवल ३ प्रतिशत मात्र पिउनयोग्य छ । अब तिम्रो छोराले संसारको जुनसुकै कुनामा त्यो प्रदुषित पानीलाई प्राकृतिक, यान्त्रिक र आधुनिक विधिबाट जीवन बाँच्न र पिउनयोग्य बनाउन सक्छ । पानीलाई अपरेशन गरेर त्यसबाट हानिकारक तत्व, फोहर र जीवाणु निकाल्न सक्ने योग्यता हासिल गरेको तिम्रो छोरा आजदेखि पानीको डाक्टर हो ।’

नजिकै बसेकी मेरो छोराकी विज्ञान प्रोफेसर सोफियाले मार्ककै कुरालाई पुष्टि गर्दै भनिन्, ‘तिम्रो नेपालमा त झन् पानी डाक्टर कम छन् होला । किनकि यो सिप अत्याधिक खर्चिलो भएकोले अल्पविकसित देशले पढाउनै सकेका छैनन् । यो विषय संसारकै दुर्लभ विषय भएकोले तिम्रो छोरा अबदेखि पानी सुद्ध गर्ने आधुनिक टेक्नोलोजीको दुर्लभ प्रशिक्षक भएका छन् । संसारका सीमित देशमा मात्र यो विषय पढाइ हुने भएकोले तिम्रो छोराप्रति तिमीले गर्व गर ।’

‘हैन, यो विषयमा नेपालमा जागिर पाइन्छ र ?’ भन्ने प्रश्नको जवाफमा प्रोफेसर सोफियाले उत्तर दिइन्, ‘तिम्रो छोरा संसारभरि जति डाक्टर र नर्स छन्, उनीहरूका पनि डाक्टर भए । यो प्रकृतिमा फैलिएको जलप्रदुषण पृथ्वीको रोग हो । जलप्रदुषणको कारणले जलचर, थलचर र उभयचर सबै जीवहरू मृत्युको संघारमा छन् । अब मानवको सोच हावा र जलको उपचारमा केन्द्रित हुनुपर्छ । हाम्रो सृष्टि बचाउन जल आवश्यक हुन्छ । जल नै विष भयो भने कुनै पनि डाक्टरले जीवलाई बचाउन सक्दैन । अबको पुस्ता सृष्टि बचाउने अपरेशनमा लाग्नुपर्छ । तिम्रो छोरा प्रकाश अबदेखि डाक्टरको पनि डाक्टर हो ! ऊ पानी डाक्टर हो, किनकि उसले अब पानीको पनि सबै प्रकारले अप्रेशन गर्न सक्छ ।’

संसारकै एक योग्य छोरा जन्माएकोमा हामी बुढाबुढी मख्ख पर्दै, गफिँदै घर फर्कियौँ । तर प्रकाशले त्यति महत्वपूर्ण विषयको अध्ययन गरिरहँदा हामीलाई आफ्नो पढाइबारे किन बताएन ? यस प्रश्नले मलाई अहिलेसम्म टोकिरहेको छ ।

(पङ्क्तिकार अनेसास बेल्जियमका अध्यक्ष एवम् पत्रकार महासङ्घ बेल्जियमका उपाध्यक्ष हुन् । – सं.)