ओहदावालाहरुको पारिवारिक भर्तिकेन्द्र बन्यो समाज कल्याण परिषद्

ओहदावालाहरुको पारिवारिक भर्तिकेन्द्र बन्यो समाज कल्याण परिषद्


समाज कल्याण परिषद् उच्चपदस्थको पारिवारिक भर्तिकेन्द्र बनेको छ । मन्त्रीदेखि सांसदसम्मले आफ्ना परिवारका सदस्यलाई नियुक्ति गराएर परिषद्लाई पारिवारिक भर्तिकेन्द्र बनाएका हुन् ।

गैरसरकारी सङ्घ-संस्थाहरूलाई स्वीकृति दिने तथा नियमन गर्ने परिषद्को नेतृत्व र कार्यकारी पदमा उच्चपदस्थका पारिवारिक सदस्य एवम् राजनीतिक दलनिकटका व्यक्तिहरूलाई नियुक्ति दिइएको छ । परिषद्को उपाध्यक्षमा महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री उमा रेग्मीले आफ्नै बुहारीलाई नियुक्ति दिलाएकी छन् । मन्त्री रेग्मी आफैं परिषद्को अध्यक्ष हुन् । आफैं अध्यक्ष रहेको परिषद् बोर्डमा उपाध्यक्ष बनाउन मन्त्रिपरिषदमाा प्रस्ताव लगेर मन्त्री रेग्मीले बुहारी अधिकारीलाई नियुक्ति दिलाएकी थिइन् ।

उपाध्यक्ष मात्र नभइ बोर्डको कार्यकारी पद सदस्य-सचिव पनि नातावादकै आधारमा बाँडफाँट गरिएको थियो । बोर्डको सदस्य-सचिवमा नियुक्ति पाएका मनोज भट्ट राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिकी पूर्व सभापति तारादेवी भट्टको छोरा हुन् । चारवर्षे पदावधि सकिएपछि तारादेवी गत फागुनमा पदमुक्त भइसकेकी छन् ।

नेपाली काङ्ग्रेसकी नेतृ भट्ट राष्ट्रिय सभा सदस्यमा कञ्चनपुरबाट निर्वाचित भएकी हुन् । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा सभापति भएपछि आमासँगै मनोज समितिमा सक्रिय थिए । समितिमा रहेर उनले विभिन्न कामसमेत गरेका थिए ।

केपी ओलीको सरकार ढलेर शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार आएपछि परिषदमा पुरानालाई हटाएर नयाँ नियुक्ति गरिएको थियो । यही क्रममा समितिकी सभापति रहेकी भट्टले छोरालाई परिषद्को नियुक्ति दिलाउन सफल भएकी हुन् ।

भट्ट लामो समय आइएनजिओ र अन्तर्राष्ट्रिय सङ्घ/संस्थामामा काम गरेका व्यक्ति हुन् । एनजिओ/आइएनजीओमा लामो समय काम गरेको व्यक्तिलाई तिनै संस्थाको नियमन गर्ने परिषदमा नियुक्त गर्नु उपयुक्त नभएको परिषद्कै अधिकारीहरू बताउँछन् । सदस्य सचिव भट्ट आफैं लामो समय एनजिओ, आइएनजिओमा काम गरेको बताउँछन् ।

त्यस्तै, परिषद्को कोषाध्यक्षमा काङ्ग्रेससम्बद्ध नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य विनय लामा छन् । उनी एनजीओकर्मी हुन् । सेफ मदरहुड नेटवर्क फेडेरेसन नेपाल नामक एनजिओको सुदूरपश्चिम प्रदेशका उनी अध्यक्ष हुन् । काङ्ग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा यस एनजीओकोे अध्यक्ष छिन् ।

गत २ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले परिषद्को उपाध्यक्षमा अधिकारी, कोषाध्यक्षमा विनय लामा र सदस्य सचिवमा मनोज भट्टलाई नियुक्त गरेको थियो । त्यस्तै, सदस्यहरूमा नारायण गिरी, सुशीला शर्मा केसी, शम्भुजंग राना, गोमा भुसाल र डा. जितेन्द्र डंगोल छन् । सदस्यहरू पनि राजनीतिक निकटताका आधारमा नियुक्त भएका हुन् ।