बढ्यो मानव तस्करीविरुद्ध उजुरी दिनेको सङ्ख्या

बढ्यो मानव तस्करीविरुद्ध उजुरी दिनेको सङ्ख्या


  • सनत आचार्य

मानव बेचबिखन अनुसन्धान ब्युरोले वैदेशिक रोजगार विभागमा प्रहरी शाखा स्थापना गरेसँगै मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी उजुरी दिने पीडितहरूको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको छ ।

ब्युरोका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार गत साउनदेखि फागुनसम्म नेपाल अधिराज्यभरी ९१ वटा मुद्दा दर्ता भएकोमा हाल औषतमा दैनिक २० जनाले विभागमा पुगेर प्रत्यक्ष रूपले जाहेरी तथा निवेदन दिने गरेका छन् । मानव बेचबिखन तथा ओसारपसार पनि एकप्रकारको जघन्य अपराध भएकोले आफूहरू यसप्रकारका घटना नियन्त्रण र सो पुराना मुद्दाहरूमा केन्द्रीत रहेर काम गरिरहेको उनको भनाइ छ ।

पीडितहरूले तत्काल राहत तथा उद्धार पाउन् भन्ने अभिप्रायले विभागभित्र रहेको प्रहरी शाखाले तदारुकताका साथ काम गरिरहेको र सोको लागि दुई वर्ष पहिले विभाग र ब्युरोबीच सम्झौता भएको पनि एसएसपी राईले बताए । दुई महिनाको छोटो अवधिमा उजुरी तथा गुनासाहरूमा आफूमातहतको शाखाले सक्रियतापूर्वक काम गरेकोमा उनले सन्तोष प्रकट गरे ।

यसका लागि पीडित वा पीडितका परिवारहरूले ब्युरोको टोल फ्रि नम्बर ११७७७ मा वा प्रहरीको १०० मा डायल गरी जानकारी लिन वा दिन सकिने उनको भनाइ छ ।

एसएसपी राईका अनुसार मानवबेचबिखन तथा ओसारपसारसम्बन्धी उजुरीहरू काठमाडौंमा मात्रै दिनुपर्छ भन्ने बुझाइ रहे पनि यससम्बन्धी उजुरी वा जाहेरी सम्बन्धित जिल्लाको कुनै पनि प्रहरी कार्यालयमा दिन सकिन्छ । यदि उजुरी लिन नमानेको अवस्था आफूहरूलाई जानकारी मिलेमा समन्वय एवम् सहयोग गर्ने र, यसका अलावा पीडितहरूले प्रदेश प्रहरी र सङ्घीय प्रहरी कार्यालयमा समेत गएर बुझ्न सक्ने उनले जानकारी दिए ।

एसएसपी राईले भने- ‘ब्युरो चौबिसै घण्टा खुल्छ । ब्युरोमा जानकारी गराउनुपर्ने भए ब्युरोमा तथा वैदेशिक रोजगार विभागको हट नम्बरमा पीडितले फोन गर्न सक्छन् ।’

यसरी ब्युरोले विभागमा प्रहरी शाखा स्थापना गरेकोमा आफुहरू खुसी भएको र काम पनि सरल तथा छिटो हुने गरेको पीडितले बताएका छन् भने, सरोकारवालाहरूले कानुनले समेत पूर्ण अधिकार प्रत्यायोजन गरे मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा प्रहरी अझ बढी सक्रिय हुन सक्ने सुझाव दिएका छन् ।

प्रहरी शाखाका प्रमुख डिएसपी नवराज मल्लले आफूहरूले पीडितको गुनासो आएमा विभागसँग समन्वय गरेर दुवै पक्षबीच छलफल गराउने र तत्काल न्याय दिलाउने कार्य गरिरहेको बताए ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को दफा ४ अनुसार मानव बेचबिखन भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्यावृत्तिमा लगाउने, प्रचलित कानूनबमोजिम बाहेक मानिसको अङ्ग झिक्ने, वेश्यागमन गर्ने भन्ने उल्लेख छ भने मानव ओसारपसार भन्नाले किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले, कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याइ, जालसाज गरी, प्रपञ्च मिलाइ, जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाईदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अविभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिइ वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाइ लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने भन्ने उल्लेख छ । कानुनले यसप्रकारका कार्य दण्डनीय अपराध मानेको छ ।