सीमित व्यक्तिहरूको स्वार्थपूर्ति गर्ने गठबन्धन स्वीकार नगर्ने चेतावनी

सीमित व्यक्तिहरूको स्वार्थपूर्ति गर्ने गठबन्धन स्वीकार नगर्ने चेतावनी


  • डम्बर निदाल, डडेल्धुरा

नेपाली कांग्रेसका नेता तथा नगरप्रमुखका आकांक्षी हरिप्रसाद भट्टले जनताको दबाबमा अप्रिय निर्णय हुन सक्ने चेतावनी दिएका छन् । नेपाली कांग्रेस अमरगढी नगरपालिकाद्वारा डडेल्धुरामा हालै आयोजना गरिएको स्थानीय तह निर्वाचनलक्षित बृहत् कार्यकर्ता भेला कार्यक्रममा नेता भट्टले यस्तो चेतावनी दिएका हुन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनकेन्द्रीत बृहत कार्यकर्ता भेलामा कांग्रेसको १३औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिसमेत रहेका भट्टले जनता न्यायको पखाइमा रहेकाले फेरि पनि अन्याय भए अप्रिय निर्णय गर्न बाध्य हुने बताए । स्थानीय निर्वाचनलक्षित अग्रज नेता-कार्यकर्तासँगको भेटघाट तथा भेलामा नेता भट्टले जनताले धैर्यता राखेका छन्, पीडित तुल्याइएका काङ्ग्रेसका कार्यकर्ता-नेता सबैलाई समेटेर निर्वाचनमा सहभागिता नगरिए वा माग सम्बोधन नगरिए पछि पछुताएर केही पनि हात नलाग्ने भन्दै नेतृत्वलाई चेतावनी दिए ।

तीन सय भन्दा बढीको सहभागिता रहेको अमरगढी नगरपालिकास्तरीय स्थानीय तह निर्वाचनलक्षित बृहत् कार्यकर्ता भेलामा अमरगढी नगरपालिका सुदूरपश्चिमको हिल स्टेशसन भए पनि मौजुदा पालिका सरकारले यहाँका श्रोतसाधनको सदुपयोग गर्नुको साटो विवादित निर्णयहरू गर्ने र जनताको ढुकुटीमाथि मनपरी गरेर मोजमस्ती गर्ने कामबाहेक यहाँका जनताले अपेक्षा राखेका काममा उदासिनता देखाएको नगर प्रमुखको लागि उम्मेदवारी घोषणा गरेका नेता भट्टले आरोप लगाए ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले आफूहरू पार्टीबाट अलग नरहेको, केही बिचौलियाहरूका कारण केन्द्रीय सभापतिलाई भ्रममा पारिएको, सभापति देउवालाई असत्य र उल्टा कुरा लगाएर आफ्नो स्वार्थ पूरा गर्ने अभीष्टमा लागेकाहरूले पार्टीलाई तहसनहस तुल्याउन लागेको प्रष्ट्याए । आफूहरूले प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सभापतिलाई पार्टी एकताका लागि अनुरोधपत्र पठाएको उल्लेख गर्दै उनले त्यसको बेवास्ता गरिए केन्द्रीय सभापति स्वयम् नै जवाफदेही हुनुपर्ने बताए ।

कार्यक्रममा सहभागी अग्रज क्रियाशील सदस्यहरुले पनि सीमित केन्द्रीय नेताहरूको स्वार्थपूर्ति गर्ने गठबन्धन स्वीकार नभएकोले सकेसम्म पार्टीकै चुनाव चिन्ह लिएर आउनुपर्ने अन्यथा कुनै पनि प्रकारको विद्रोह भए त्यसलाई साथ दिने जनाए । अमरगढी २ का वडाध्यक्ष मनोरथ खडायतले संचालन गरेको उक्त कार्यक्रम अमरगढी नगरपालिका वार्ड न ८ का वडाध्यक्ष नरबहादुर साकीको सभापतित्व रहेको थियो ।