दयाकृष्ण राईको ‘अश्वेत महावाणी’

दयाकृष्ण राईको ‘अश्वेत महावाणी’


बेलायतलाई कर्मथलो बनाउँदै आएका भोजपुर, ठुलोदुङ्माका सिद्धहस्त कवि तथा निबन्धशिल्पी ब्रिटिस गोर्खा सेनाबाट सेवा निवृत्त दयाकृष्ण राई नयाँ कविताकृति लिएर आएका छन् । उनको नवीनतम् कविताकृति ‘अश्वेत महावाणी’ हालै राजधानीमा आयोजित समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि तथा मुन्धुम्विद् बैरागी काइँलाले लोकार्पण गर्दै भनेका थिए– ‘दयाकृष्णको यो कृति नेपालीपनको बेलायती कृति हो । यसलाई नेपालका लागि साहित्यिक रेमिट्यान्सको रूपमा लिनु पर्दछ । यो कृतिले जाति, धर्म, वर्ण र रङ्गभेदविरुद्ध चोटिलो प्रहार गर्ने क्षमता राख्दछ । सङ्ग्रहमा समाविष्ट कविताहरू उच्च वैचारिक चेतबाट ओतप्रोत रहेका छन् ।’

‘अश्वेत महावाणी’ कवि राईको छैठौँ कृति हो । कविता विधाको चाहिँ तेस्रो कृति हो । कविताकृति छ खण्डमा विभाजनन गरिएको छ । पहिचान, युद्ध, यौन, भूकम्प, कोभिडलगायत कविताका विषय बनाइएका छन् । पुस्तकमा फुटनोटको समेत प्रयोग गरेर नौलो अभ्यास गरिएको छ । जयसाट जोकोहीले पनि कविता सजिलै बुझ्न सक्ने समीक्षकले बताएका छन् ।

कविताकृतिको समीक्षा गर्दै समाचोचक प्रा.डा. गोविन्दराज भट्टराईले कवि राईले विश्व चेतनाबाट प्रेरित भएर कविता लेखेको पाइएको र यस्ता कविता उहाँ नेपालमै भएको भए बन्न नसक्ने जिकिर गरे । उनले भने, ‘विश्वको गति र मानवीयस्थितिको समयचेत कवितामा छ, मेरो तेरो भन्ने कुरा विश्वव्यापीकरणले चुँडिएको छ, अहिले हामी सबै एक हौँ भन्ने सन्देशसहितको उच्च वैचारिक र बौद्धिक चेत छ । यस्ता खालका कविता नेपालमा आएका थिएनन् । त्यस कारण यसलाई समयचेतका विज्ञबीच राखेर बहस गर्नुपर्छ ।’

कविताकृतिबारे लेखक तथा समालोचक डा. हरिप्रसाद सिलवाल भन्छन्, ‘आज पनि मानिसहरू आधुनिक दास भएर बाँच्न विवश छन्, मान्छेमान्छेबीच जाति, धर्म र रङ्गका आधारमा विभेद छ, त्यही विद्रोहको महावाणी हो, अश्वेत महावाणी । सांस्कृतिक उत्पीडनको समस्या दक्षिण एसियामा बढी रहेको छ । यसक कृति पहिचानको वैचारिक आन्दोलनको दस्तावेज हो ।’

कवि श्रवण मुकारुङले जब अमेरिकामा बाराक ओवामा राष्ट्रपति भए अनि ह्वाइट हाउसमा कालो मान्छे पसे, त्यही घटनाको प्रेरणाबाट यो सङ्ग्रह तयार भएको हुनसक्ने बताए । उनले भने, ‘नेपालमा पनि त्यस्तै भैदिए हुन्थ्यो, दलित, जनजाति, महिला प्रधानमन्त्री भएदिए हुन्थ्यो भन्ने लागेर त्यो भावनाले यो कविता लेखिएको हुनुपर्छ ।’

पुस्तक नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले प्रकाशन गरेको हो ।