समयसुहाउँदो विकासको सपना बुनेका माधवप्रसाद अर्याल

समयसुहाउँदो विकासको सपना बुनेका माधवप्रसाद अर्याल


संसारका विभिन्न विकसित मुलुकको भ्रमण गरेर विकासका मोडलबारे जानकारी हासिल गरेका अर्याल विकसित मुलुकका विकासका नमूनाहरूलाई प्रयोग गर्दै अन्तर्राष्ट्रिय संस्थाहरूसँग भगिनी सम्बन्ध कायम गरी समन्वयका साथ विकास भित्र्याउने आफ्नो लक्ष्य एवम् सपना रहेको बताउँछन् ।


वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको माहोल दिनानुदिन राफिँदै गएको छ । चुनाव नजिकिँदै गर्दा कुन ठाउँबाट को-को उम्मेदवार बन्ने भए भन्ने चासो आम मतदातामा जागृत भएको छ । दलका नेता-कार्यकर्ताहरू ‘टिकट’प्राप्तिका लागि तँछाडमछाड गर्दैछन् । कतिपयले स्वतन्त्र उम्मेदवारीको घोषणा पनि धमाधम गर्दैछन् । यस्तै परिवेशमा चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका कर्मठ, जुझारु र इमानदार व्यक्तित्व एवम् सुपरिचित नेता माधवप्रसाद अर्यालले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

आन्तरिक प्रतिस्पर्धाका नमिठा क्षणहरूलाई बिर्सिएर काङ्ग्रेस एक हुनुको विकल्प नभएको धारणा सार्वजनिक गर्दै आएका नेता अर्याल यसपटकको स्थानीय निर्वाचनमा आफू मेयरको जिम्मेवारी लिन आकाङ्क्षी रहेको खुलासा गर्दै भन्छन्- ‘निर्वाचनमा उम्मेदवारी आफ्नो ठाउँमा छ, मेरो आकाङ्क्षा भन्दा पनि पार्टीमा एकता हुनु महत्वपूर्ण हो, नेपाली काङ्ग्रेसले निर्वाचन जित्नुपर्छ, काङ्ग्रेसको जित हाम्रो लागि महत्वपूर्ण र ठुलो कुरा हो ।’

०५४ र ०७४ सालमा नेपाली काङ्ग्रेसले पराजय बेहोर्नुपछाडिका कारणहरूलाई पहिचान गर्नु आजको मुख्य आवश्यकता रहेको औंल्याउँदै उनले भने- ‘यसपटक सबैलाई सहमतिमा ल्याएर रत्ननगरमा काङ्ग्रेसलाई जिताउन साथीहरूसँग छलफल थालिसकेको छु, मेरो नाममा सर्वसम्मत सहमति हुने पक्का छ ।’

को हुन् त अर्याल ?

माधवप्रसाद अर्याल काङ्ग्रेसका पुराना नेता हुन् । चितवनवासी उनी एक परिपक्व नेताको रूपमा सुपरिचित छन् । उनी राजनैतिक परिवारका व्यक्ति हुन् । पञ्चायती शासकविरुद्ध असहज परिवेशमा पनि लुकी-लुकी उनको परिवारका पिता, दाजु र स्वयम् उनी संगठन बिस्तारमा खटिएका थिए । उनका स्वर्गीय पिता सोवर्णप्रसाद अर्याल तत्कालीन रत्ननगर-९ का दुई कार्यकालसम्म निर्विरोध वडाध्यक्ष थिए । उनका पिता स्व. सोवर्ण हालको कपरफोरी मावि रत्ननगरका संस्थापक पनि हुन् । सामाजिक अभियन्ताका रूपमा जनमनमा बस्न सफल उनी कुशल संगठनकर्ता तथा शालीन अनि भद्र छन् । उनको शालीनताका कारणले विपक्षीहरूको मतसमेत खोसिने स्थानीय विश्लेषकहरूको भनाइ छ । कम बोल्ने तर जतिट बोल्छन् वजनदार बोली बोल्ने अर्याल सबैलाई बराबर महत्व दिन्छन् । समाजका हरेक घटना क्रममा आफ्नो अर्को नभनी न्यायको पक्षमा सतिसाल झैँ उभिने उनको स्वभाव छ । उनले समाजमा बौद्धक र तार्किक व्यक्तिको रुपमा परिचय बनाएका छन् । निष्ठाको राजनीति गर्ने अर्याल विद्यार्थी जीवनबाट नै सबैले आश गरेका सरल, इमान्दार, बौद्धिक अनि क्षमतावान व्यक्तिका रूपमा चिनिन्छन् । विगतका निर्वाचित कम्युनिष्टहरूले रत्ननगरलाई बेथिति, अव्यवस्थित र भ्रष्टाचारको अखडा बनाएकाले कम्युनिष्टहरूलाई दण्डित गर्न जनता तयार रहेको उनको दाबी छ ।

यस्तो छ अर्यालको राजनैतिक यात्रा

०३५ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका आर्याल २०४२ सालको सत्याग्रहमा पनि सक्रियताका साथ सहभागी बनेका थिए । निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको जनआन्दोनमा सक्रिय रूपमा सहभागी बनेका उनी २०५१ सालमा नै साबिक क्षेत्र नं २ चितवनका सचिव थिए । उनी रत्ननगर ७ को निर्वाचित संस्थापक वडाध्यक्ष समेत हुन् । त्यस समयमा उनले रत्ननगर नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट प्रतिपक्षको नेतृत्व पनि गरेका थिए । उनी साविक क्षेत्र नं २ को २०६४ सालमा निर्वाचित सभापतिसमेत हुन् । नेपाली कांग्रेस चितवनको पूर्व जिल्लासदस्य समेत रहेका उनी जनआन्दोलन २०६२, २०६३ मा सक्रिय रुपमा सहभागी भएका थिए । राज्यद्वारा तात्कालीन समयमा आतंककारी घोषित माओवादीको रातो सूचिमा समेत परेका उनी परिवार र आफ्नो ज्यू-ज्यानको रक्षाको लगि चितवनबाट विस्थापित भएको सम्झन्छन् । त्यस समयमा उनी निर्वाचित वडाध्यक्ष थिए । उनी गत स्थानीय निर्वाचनमा पनि कांग्रेसको तर्फबाट मेयरको लागि निकटतम आकांक्षी पनि थिए ।

सामाजिक सम्बन्ध

रोटरी क्लब अफ रत्ननगरको २०७२ का अध्यक्ष रहेका अर्याल टिकौली मध्यवर्ती समुदायिक वनका संस्थापक अध्यक्षसमेत हुन् । यस्तै उनी गायत्री हरिहर मन्दिर रत्ननगरका संस्थापक गुठीदाता समेत हुन् । नेपाल रेडक्रस सोसाइटीका विशिष्ट सदस्य रहेका उनी विभिन्न स्थानीय विद्यालय, शहीद स्मृति बहुमुखी क्याम्पस, बकुलहर रत्ननगर अस्पतालको पूर्वसदस्य, सहकारीहरू लगायत करिब २ दर्जन सामाजिक संस्थाहरूको संस्थापक, नेतृत्वमा तथा समितिमा रहेर कार्य गरिसकेका छन् ।

क्ष्य

एक विकाशप्रेमी नेता हुन् माधवप्रसाद अर्याल । रत्ननगर सम्भावना बोकेको नगर भए पनि २०५४ सालको रत्ननगर र आजको रत्ननगरको विकाशमा तात्विक भिन्नता नरहेको उनको भनाइ छ । २१औँ शताब्दिमा पनि नगरवासीहरू शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी र रोजगारीको पहुँचबाट टाढा रहेको उनको दाबी छ । रत्ननगरलाई भाषणमा रत्न बनाउने भनियो तर व्यवहारमा रत्ननगरको अवस्था उस्तै छ, तात्विक भिन्नता छैन । उनले भने, ‘सबैभन्दा पहिला म रत्ननगरको दीर्घकालीन र अल्पकालीन विकाश योजनाको खाका तयार गर्छु । चितवन ७८औँ जिल्लाको रूपमा पनि चिनिने हुनाले जातीय तथा सामाजिक विभेदको अन्त्य गर्दै सामुदायिक सद्भाव कायम गर्ने मेरो लक्ष्य छ ।’

अमेरिका, जापान, दक्षिण कोरिया, थाइल्याण्ड, कतार, भारत, चीन, जस्ता विकसित मुलुकको भ्रमण गरेर विकासका मोडलबारे जानकारी हासिल गरेका अर्याल विकसित मुलुकका विकासका नमूनाहरूलाई प्रयोग गर्दै अन्तर्राष्ट्रिय संस्थाहरूसँग भगिनी सम्बन्ध कायम गरी समन्वयका साथ विकास भित्र्याउने आफ्नो लक्ष्य एवम् सपना रहेको खुलासा गर्छन् ।

पूर्वी चितवनलाई एउटा पर्यटकीय हवको रूपमा विकास गर्दै सौराहा, सिराइचुली, परेवाकोट, राप्ती, बुढीराप्ती, लौरिघोल, बुढीकुलो, खगेरीखोला, कयरखोलालाई व्यवस्थित बनाउदै पैदल यात्रा, साइकल लेन, नदीनियन्त्रण जस्ता विषयमा विशेष ध्यान दिने उनको लक्ष्य छ । आवश्यक मलखाद र सिँचाईंको उचित व्यवस्थापन गरी बजारको राम्रो व्यवस्था गरी कृषि उपजमार्फत रत्ननगरलाई समृद्ध बनाउने योजना रहेको उनी सुनाउँछन् । ग्याँस र पेट्रोलियम पदार्थमा भैरहेको परनिर्भरता कम गर्न इलेक्ट्रिक चुलो, गोवरग्याँस, इलेक्ट्रिक साइकलमा अनुदानको व्यवस्था गर्ने, वृद्धवृद्धाहरूको लागि योगदानमा आधारित बीमा र पेन्शनमार्फत सेवा सुविघा उपलब्ध गराउने उनको लक्ष्य छ । सुकुम्वासीलगायत अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउँदै पर्यावरण संरक्षणमा लाग्ने पनि उनको उद्देश्य छ । रत्ननगरको रिङरोड योजनालाई विशेष ध्यान दिएर साकार तुल्याउन लागिपर्नेमा पनि उनी जोड दिन्छन् ।

यसरी समयसुहाउँदो विकासका योजनाहरूलाई जनसमक्ष लगी सबैको साथ-सहयोग लिएर आफ्नो नगरपालिकालाई नमूना नगरपालिकाको रूपमा चिनाउने अहम् लक्ष्य र योजना लिएर कर्मक्षेत्रमा लागिपरेका नेता अर्यालको उम्मेद्वारीले रत्ननगरको कायापलट गर्ने विश्वास स्थानीय मतदाताहरूले गर्न थालेका छन् ।

  • नवीन उप्रेती