मदनलाई चिठी

मदनलाई चिठी


मदन तिमी कहाँ छौ ?
तिम्रो नाममा एउटा पत्र लेख्दैछु
जो जो कहन्छु देखेको कहन्छु
तिम्रो ओज, लवज, ब्यक्तित्व
वाकपटुता, तिक्ष्णता, तीव्रता
लट्टे पड्किए झैँ पड्किने तिमी
सबैलाई मन्त्रमुग्ध पार्ने
तिम्रो भाषण शैली
विरोधी र विपक्षीलाई तगारो
दक्षिण र पश्चिमका लागि आँखाको तारो
तर देशका एक नक्षत्र तिमी एक शुक्र तारो
तिमी गएदेखि देश छ अँध्यारो
देशबासीलाई झमेला र अप्ठ्यारो
त्यसैले त तिमी सधैं प्यारो
मदन ! तिमी थियौ सबैको प्यारो ।

हेर न मदन ! तिमी गएदेखि
देश कम्युनिष्टमय छ
सत्तामा बहु समय हालीमुहाली छ
तर फोहोरी खेलमा लिप्त
टुटफुटमा अभ्यस्त
भ्रष्टाचारमा मस्त
थरीथरीका पार्टी परिपरिका पार्टी
‘झापाली ओली बाजेको असली कम्युनिष्ट पार्टी’
‘पुरानो बुढो नेपाल बाजेको खाँट्टी कम्युनिष्ट पार्टी’
‘बुढा दहाल बाजेको खुँखार कम्युनिष्ट पार्टी’
‘क्रान्तिकारी बैद्य बुढाको अग्रगामी कम्युनिष्ट पार्टी’
‘उग्रबादी विप्लव बाजेको आक्रामक कम्युनिष्ट पार्टी’
उफ् कम्युनिष्ट नामका पार्टी भए…
तर कोही कम्युनिष्ट भएनन् !
मदन कोही कम्युनिष्ट रहेनन् ।

उपसर्ग प्रत्यय जे लाएपनि
कम्युनिष्ट सरकार छ आजपनि
तर लाग्छ खानेबेला मिलीजुली
अरुबेला कुकुर बिरालो
जनतालाई सधैंको पिरलो
त्यसैले
सर्बहाराको सरकार होइन यो
सर्बहारी सरकार हो
ऊ जे भेट्यो त्यही खान्छ
जहाँ भेट्यो त्यही
जति भेट्यो त्यति खान्छ
जसरी भए नि खान्छ
के के खान्छ कति कति खान्छ
सवैले देख्छन् तर नदेखे झैं गर्छन्
किनकि देख्ने आँखा नै
उसको इसारामा चिम्म हुन्छ
मदन तिम्रो जबजमा आजकल यही हुन्छ ।

जसरी स्यालले चिल आयो चिल आयो भन्दै
आकास देखाउँदै भुइँको चल्ला टिप्छ
ठीक उसैगरि
अरुले खाएको मुख देखाउँदै
आफू क्वाप्लाक्कै खान्छ
नेपालमा कम्युनिष्ट छन् तर पार्टीमात्र
चरित्र र ब्यवहार कतै मिल्दैन
कम्युनिष्टलाई प्रजातन्त्र नामको
लेप लगाएर भाइकांग्रेस बनाएइको छ
प्रिय मदन तिमीले रोपेको जबज यस्तै भाछ ।

तिमीले त प्रजातन्त्रको बिगुल फुक्यौ
स्वतन्त्रताको लडाइँ लड्यौ
तर आज तिम्रा घरमै आन्तरिक प्रजातन्त्र छैन
बोल्ने विचार विमर्श गर्ने स्वतन्त्रता छैन
नियमापत्तिको गुञ्जायस छैन
आलोचनालाई अचानोमा राखिन्छ
कार्यकर्ताले जस्तो नेता चाहियो
त्यस्तो नेता बनाउँदैन
नेताले कार्यकर्तालाई
जस्तो मन लाग्यो त्यस्तो बनाउँछ
काण्डै काण्डले जात्रा र ताण्डवले,
पैसा र मदिराले सुरा-सुन्दरीले
सवैलाई लठ बनाएको छ
मदहोस् तुल्याएको छ ।

तिमीले हुँदाको बेलाजस्तो कहाँ छ ?
यहाँ त खुलेआम मनपरी छ
मदन तिम्रा होर्डिङ बोर्डमुनि
धेरै खुद्रा दुकान छन्
तिनले धेरैको जीवन उजिल्याएको छ
कसैको जीवन उजाडेको छ
खोइ सपना के थियो तिम्रो
आज विपना के भएको छ
सबैले जबजलाई पछ्याएको छ
तर कम्युनिष्टहरु दाम्युनिष्ट भए
कोही सर्वहारा रहेनन्
सर्वहारी भए सर्वभोगी भए
मदन, कम्युनिष्टहरु पनि
पूँजिवादमा लागेर चिनीरोगी भए ।

तिमीले महाकाली र
टनकपुरको खुलेआम विरोध गऱ्यौ
राजासँग सुटुक्क भेटी
राजा पनि शक्ति रहेको बतायौ
र एक राजा रहने नरहने कुराले
ठूलो अर्थ नराख्ने बतायौ
फलस्वरुप तिमी मारियौ
तिमी मारिँदा चोर औंला
दरबार र कांग्रेसतिर देखाइयो
तर बाँकी रहेका चार औंलाले
षड्यन्त्र आफ्नैतिर तेर्स्यायो
अनि त तैं चुप मैं चुप
तिमी गएपछि तिम्रा नाममा
तिम्रा घरकाले जे जे गरे
त्यसको अर्थ र हिसाबकिताब
आजसम्म मिलेको छैन
र मिल्ने छाँटकाँट पनि छैन
तिम्रा घरका चार भाइ देशमा मुखिया बने
तिम्रो सिद्धान्त बेचेर कुर्सीमा विराजमान भए
तर र सत्ताका पारखीमात्र बने
परचक्रीका चाकरी मात्र भए
महाकाली पनि बेचियो
देशको अस्मिता पनि सुम्पियो
कम्युनिष्ट नामका पार्टी भए
तर कोहि कम्युनिष्ट भएनन्
मदन कोही कम्युनिष्ट रहेनन्
आज तिमी नहुँदाको पीडा
देशले भोगिरहेछ
मदन, तिम्रो अभाव खट्किरहेछ।