दीर्घमान : जसले जयप्रकाश मल्लको चित्र बनाए

दीर्घमान : जसले जयप्रकाश मल्लको चित्र बनाए


इतिहास
  • सुनिल उलक

दाजु देवशम्शेरलाई सत्ताच्युत गरेर प्रधानमन्त्री बनेका चन्द्रशम्शेरले सबैभन्दा पहिले त्यतिबेलाको भारतमा रहेको अङ्ग्रेज सरकारको भाइसराय लर्ड कर्जनलाई पत्र पठाएर बेलायत (भारत सरकार)सँग अझ सम्बन्ध मजबुत गर्न चाहेको उल्लेख गरेका थिए । नभन्दै चन्द्रशम्शेरले लर्ड कर्जनलाई शिकारको निम्तो दिए । शिकार भनेपछि भुतुक्क हुने बेलायतीहरू नेपालको प्रधानमन्त्रीको निम्तो पाएपछि १९५७ चैत्र १७ मा शिकार खेल्न लर्ड कर्जन नेपाल आए । तराइमा दुइ जनाको भेट भयो । यो भेटको अविस्मरणीय तस्बिर मैले सङ्ग्रह गरेर राखेको छु । हुन त लर्ड कर्जन वीरशम्शेरको समयमा नै आउन चाहेका थिए । तर वीरशम्शेरले स्वास्थ्यको कारण देखाएर निम्तो पठाएनन् । १९५७ फागुन २२ मा प्रधानमन्त्री वीरशम्शेरको निधन भयो । सोझा देवशम्शेरलाई लामो अवधि प्रधानमन्त्री बन्न दिएनन् । तसर्थ बाठा चन्द्रशम्शेरले यो मौका गुमाउन चाहेनन् ।

त्यतिबेला म्याट्रिक (हालको एसएलसी) पास गरेका हुँदा अङ्ग्रेजीमा राम्रै बोल्दथे । तसर्थ, अंग्रेज सरकारलाई फकाउन सिपालु चन्द्रशम्शेरले त्यसपछि कलकत्ता गएरै पनि लर्ड कर्जनलाई भेटे । भोट सरकार र बेलायती सरकार बीचको बिग्रँदो सम्बन्धलाई सुधार्न मध्यस्तकर्ताको भूमिका पनि निभाए ।

सन् १९०३ को जनवरी १ को दिन दिल्ली दरबारमा भएको बेलायती राजा एडवर्डको राज्यारोहणको कार्यक्रममा दिल्ली दरबार पुगे । दिल्ली दरबारमा अन्य राष्ट्रको राष्ट्र प्रमुखहरूको लहरमा बसेर नेपाल स्वतन्त्र राज्य रहेको चिनाउन सफल भए ।

अन्ततः बेलायत सरकारको निम्तोमा बेलायत भ्रमणमा १९६४ चैत्र २५ मा काठमाडौंबाट निस्केको उनीसहितको टोली १९६५ वैशाख २७ गते शुक्रबार बेलायत पुगेका थिए । करिव १० हप्ताको बेलायत भ्रमण सकेर १९६५ साउन ७ मा बेलायत छोडे । त्यस भ्रमणमा आफ्ना भाइ-भतिजा छोराहरूमा जुद्धशम्शेर, रुद्रशम्शेर, मोहनशम्शेर, बबरशम्शेर, केशरशम्शेर, सिंहशम्शेर, हिरण्यशम्शेर, ज्वाइँ जयपृथ्वीबहादुर सिंह, मामा खलकका डिल्लीशम्शेर थापा, अन्य दलबहादुर बस्न्यात, विष्णुकुमार पाण्डे, चन्द्रजङ्ग थापा, निजी सचिव मरिचमान सिंह, निजी सचिवका सहायक शमशेरमान सिंह, गंगाबहादुर बस्न्यात, नरनारायण शाही, शुभगोविन्द प्रसाद, बैद्यमा रत्नदास बैद्य, दरवार हाइस्कुलका हेडमाष्टर बटुकृष्ण मैत्रय, पण्डित काशीनाथ तथा अन्य १९ जना नोकरचाकर लगेका थिए । बेलायतीहरूको तर्फबाट नेपालका लागि बेलायती रेसिडेन्ट (राजदूत) जे मानर्स स्मिथ, चौथो गोर्खा राइफलका माक्लोइड विलि, पाँचौँ गोरखा राइफलका मेजर अमरसिंह थापा तथा चौथो र पाँचौँ राइफलका अन्य दुई अर्दली पनि गएका थिए ।

१९ जना नोकरचाकरमा एक जना थिए, दीर्घमान चित्रकार । उनी दरबारका चित्रकार थिए । बुरुसले चित्र कोर्ने तर यसपटक बेलायती फोटोग्राफरको भरोसामा नरहने भन्दै चन्द्रशम्शेरले कलकत्ताबाट क्यामेरा मगाएर दीर्घमानलाई फोटो खिच्ने तालिम दिएर लगेका थिए । उनलाई दरबारिया फोटोग्राफर भनेर नै बेलायत लगिएको थियो । तर नामको सूचीमा भने उनको नाम थिएन । नोकरचाकर भनेर राखिएको थियो । यसर्थ पनि त्यो बेला फोटोग्राफरलाई विशेष महत्व दिँदैनथ्यो भनेर बुझ्न सकिन्छ ।

यहाँ राखिएको यो तस्बिर उनै फोटोग्राफर दीर्घमान चित्रकारले खिचेका थिए । त्यतिबेला रङ्गिन फोटो हुँदैनथ्यो । तर बंशज नै चित्रकार भएको हुँदा उनले त्यो फोटोमा हातले निकै मेहनत गरेर रङ्गिन बनाए । दीर्घमान चित्रकारका बुबा लक्ष्मीलाल चित्रकार पनि दरबारिया चित्रकार थिए । उनले बनाएको जयप्रकाश मल्लको चित्र आज सर्वत्र प्रख्यात छ तर चित्रकार को थिए भनेर भने कसैले जाँदैनन् । परिवारका सदस्यबाहेक अन्यको लागि गुमनाम रहेको छ ।