निर्वाचन !

निर्वाचन !


  • राजेन्द्र पाठक

निर्वाचनमा मेरो वचनबद्धता ।
‘नो भोट’ भएन कसरी भाग लिने ??
भाग नलिऊँ कसरी भाउ लिने ?
दाउ थापियो घाउ र भाउको !

घाँटी रेट्नेलाई कसरी भोट दिउँ ख्वामित् ?
मल्हम लाउनेलाई कसरी चोट दिऊँ ?
बास खेदाउनेलाई मत कसरी दिने ?
आश देखाउनेलाई धत् कसरी भन्ने ?

बाजेको भोट हाल्ने लत नै थिएन ।
उनैले लत बसाउने योजना बनाए ।।
खाइपाइ आएको हण्डी बिसाए ।
भोक्तासँग दाताहरू अत्यन्तै रिसाए ।।

भोट दिने चलन चलाउन टोपी झिके ।
खुँडा खुकुरी र राइफल भिर्न तयार भए ।।
पहिले भनाइ विचार र विवेक वर्षाए ।
आखिरीमा आफ्नै दातालाई तर्साए ।।

गज्जबको व्यवस्था पहिल्याएर ल्याए ।
तर संस्कार फेरिएन पुरानै वाद बल्झाए ।।
सन्तान विचारी होइन संस्कारी बनोस् ।
बाबु-बाजेको संस्कारलाई धिक्कार नभनोस् ।।

झिरमा उन्नेलाई भोट कसरी दिउँ हजुर ?
उनैले पल्टाए मेरो सद्विचारको गजुर ।।
अब तिनैको खटनपटनमा ज्यूनुपर्ने भो !
दूध सम्झिएर बगेको आँसु पिउनुपर्ने भो !!

बापबैरीलाई काँधमा चढाउनुपर्ने भो !
पिपललाई जल चढाउँदा बर मर्ने भो !!
अपराधीलाई वैतर्णी तार्नुपर्ने भो !
पिता-पूर्वजलाई नर्कमा झार्नुपर्ने भो !!

बैरी जिताउन कुलदेवी भाक्नुपर्ने भो !
आफ्नै घुँडामा बन्चरो ताक्नुपर्ने भो !!
ऊफ् ! यस्तो दिन देख्ने थाहा भएको भा !
किन दौडन्थे खुकुरीको धारमा मेरा बा ??

निर्वाचन मेरा लागि निराशा बोकेर आयो ।
त्यसैको आसले जिन्दगी जवानी खायो ।।
ढिलै आए पनि आयो गाल पारेर आयो ।
किचकन्या जसरी सुस्तरी चाल मारेर आयो ।।