हेल्लो म !

हेल्लो म !


  • ई. गणेशराज वस्ती

म कसलाई भनुँ हेल्लो ?
जब कहीँ कतै केही देख्दिनँ !
रहर लागेर आउँछ भन्न हेल्लो !
त्यसैले भन्छु म !
आफूले आफैंलाई
हेल्लो म !

जति टाउका भए पनि !
जति-जति मुख भए पनि !
म त केही देख्दिनँ सारमा !
निष्पट्ट यो अँध्यारोमा !
त्यसैले,
उज्यालोतिरको सहाराको
खोजी गर्दै
सहयात्राको रमरम आशामा !
आफैंले आफैंलाई गनेर
दुईटा मानिस बनाउँदै !
मानिसको अनिकालमा !
त्यसैले म भन्छु
आफैले आफूलाई !
हेल्लो म !

निराकार !
औंसीको रातजस्तो !
यो घामट प्रहरमा !
निसास्सिएर
कार्बनडाइअक्साइडको प्रशस्तिमा
निम्तिएको उकुसमुकुस जस्तै !
कहाँ छ अक्सिजन भन्दै !
आफ्नो सहारा आफैं बन्दै !
त्यसैले म भन्छु
आफैले आफैंलाई
हेल्लो म !
आफैंले आफैंलाई
हेल्लो म !