- रुक्मिणी अमात्य
यो अति चञ्चल मन
छैन वशमा कहिले कता त कहिले कता
हराइदिन्छ छिनमै यता र उता !
रमाउँदै कहिले कल्पनाको सागरमा
कहिले डुबीदिन्छ भावनाको लहरमा
लुकामारी खेलीदिन्छ फेरि
यताउता अनेक चालमा !
कहिले नजिकिन्छ सहारामा
कहिले छुट्याइदिन्छ अर्को किनारामा !
अतीतका लहराहरुमा रम्दै
झुमीदिन्छ अनगिन्ती चाहनामा
उर्लिदिन्छ छालसरि अझै
छिनमै बिलाउँछन् वास्तविकतामा ।
कहिले अति कठोर बनी छिनमै
ओइलाइदिन्छ आशाका लहरहरु
उकुसमुकुस निराशाहरुमा ।
थुपारीदिन्छ अनायास
बेहोसीपनको त्यो मृत्यु शैयामा
अनि गर्न खोज्छ जोडघटाउ
अन्धकार त्यो शुन्यतामा ।
- ललितपुर, हाल बेल्जियम
प्रतिक्रिया