लोकतन्त्र बचाउन काङ्ग्रेसलाई छोड्ने या विकल्प खोज्ने ?

लोकतन्त्र बचाउन काङ्ग्रेसलाई छोड्ने या विकल्प खोज्ने ?


अन्य दलहरूलाई लोकतन्त्रको पक्षमा ल्याउनुपर्नेमा आफै कमजोर र लोकतन्त्रको विपक्षमा रहनु काङ्ग्रेसको लागि आत्मघाती हुने छ ।

  • हेम शर्मा

केपी ओलीको नेतृत्वमा रहेको तत्कालिक नेपाल कम्युनिष्ट पार्टी झण्डै दुइतिहाइ बहुमत पाएर सरकारमा थियो । आन्तरिक विवादले गर्दा २०१७ सालपछिको सबैभन्दा बलियो र राम्रो जनमत भएको सरकार गिऱ्यो । सरकारमा रहँदाको विवादले गर्दा कम्युनिष्टले देश चलाउँदैनन् भन्ने सन्देश गइरहेको थियो । काङ्ग्रेसहरू अबको संसद्मा आफ्नो दुई तिहाई बहुमत आउँछ भन्नेमा थिए । यो स्वभाविक थियो, किनभने आफ्नो प्रचण्ड बहुमतको सरकार आफैंले गिराउनेलाई जनताले किन मत दिने ?

त्यतिबेला नयाँ एमालेलाई अलग गर्दा पनि काङ्ग्रेस भन्दा अरु प्रतिपक्षहरूको मत बढी भएकोले अन्य सबै मिलेर संसद्मा सबैभन्दा ठुलो गठबन्धन बन्न सक्ने थियो । त्यस अवस्थामा पदमा बढी ध्यान दिने धेरै तानिन सक्ने थिए । त्यो सम्भावनालाई माधवकुमार र प्रचण्डले पटक्कै ध्यान दिएनन् । किनकि माधव र प्रचण्ड दुवैलाई थाहा थियो, जतिसुकै ठुलो दल वा गठबन्धन बनाएर बहुमत नै पुगे पनि प्रधानमन्त्री बन्ने सवालमा दलमा जस्तो दुई जना प्रधामन्त्री बन्न सकिँदैन । यस्तो अवस्थामा मित्रतालाई अच्छुण राख्ने एउटै उपाय कुनै यस्तो जोक्करलाई खोज्नु थियो जसलाई जता पनि फिट गर्न सकियोस् । विदेशी र देशभित्र वा आफूभित्र पनि साह्रै उपयुक्त जोक्करले कसैको पनि पल्ला भारी गरिदिन सक्छ, केवल उसलाई पद दिइरहनुपर्छ । आफ्ना कार्यकर्ताहरूको रगतको होली खेल्नेले पनि आफूलाई पद दियो भने राजनेता भन्न पछि नपर्ने ब्यक्तिको खोजि भइरह्यो ।

पदको लागि ज्यानभन्दा प्यारो लोकतन्त्र दरबारमा बझाउन सक्ने र दल नै फोर्न सक्ने खालको अर्को दलको नेतालाई पदको लोभ देखाएपछि उसले त आफ्नो घरमा आगो लगाएर खरानीको होली खेल्दै रमाइलो गर्नेवाला नै पाइयो भने त्यो सबैभन्दा उपयुक्त पात्र वा जोक्कर हुनु स्वभाविक पनि हो । एकातिर आफुहरू बीचको मित्रतालाई दीर्घकालिन बनाउने र अर्को कुनै पदको लागि आफ्नो घर जलाउनेलाई नेता मानेपछि उसको घरमा बसेकाहरू बच्नलाई आफ्नो घरमा बस्न वा भाडामा नै बस्न पनि आउँछन् भन्ने मान्यताले राम्रो काम गर्न सक्छ भन्ने लाग्नु स्वभाविक हो । त्यो अवसर दक्ष राजनीतिज्ञहरूले किन गुमाउँथे । यस्तो पात्रको प्राप्ति उनीहरूका दुवै हातमा लड्डु नै त हो ।

अर्कोतर्फ उनीहरूले आ-आफ्ना दलहरूलाई एक बनाउन पनि सक्थे । तर त्यसो गरेमा आफूलाई धेरै क्रान्तिकारी भन्नेहरू नगद कारोबारवालासँग मिल्न सक्ने थिएनन् भने अर्कोतर्फ मोटाएर हैन लिपिस्टिक लगाएर ओठ रातो बनाउनेहरूलाई पनि बहुदलिय जनवादीहरू उतै पुरानो घरमा जालान् भन्ने डर थियो । कतै चामलले भरेको भनेर दङ्ग परेकोमा थैलोमा नै मुसा लागेर प्वाल पार्न सक्छ र भएको भनिएको पनि जान्छ भन्ने डर रहनु स्वभाविक हो । त्यसैकारणले मात्र दुई नेताहरूले दलको एकिकरण नगरेका हुन् ।

अर्कोतर्फ काङ्ग्रेसले पनि एक ब्यक्तिको ब्यक्तिगत फाइदाको लागि र आसेपासेहरूको पनि हितको लागि नेपाल कम्युनिष्ट पार्टीको गिरेको साखलाई आफ्नो जिम्मा लिएर सरकारमा रहेर हुने स्वभाविक कमजोरीको जिम्मा २ वर्षको लागि भने पनि लिन तयार थियो । बीपीले भनेका थिए, जनता अर्थात् मतदाताले नेताहरूले गरेका राम्रा काम र नराम्रा कामहरू अपेक्षाकृत छिटो बिर्सन्छन् र, वर्तमान परिपेक्षलाई नै बढी ध्यान दिएर मत दिने गर्छन् । त्यसैले कम्युनिष्टहरूको अतीतका गल्ती बिर्संदै अहिलेको काङ्ग्रेसले गर्न नसकेका काम र गरेका गल्तीहरू अगाडि भएकोले जनताको मुल्याङ्कनको मुख्य आधार त्यही बन्यो । एक ब्यक्तिको लागि काङ्ग्रेसले दुई तिहाइको सम्भावनालाई सपनामा मात्र सीमित गऱ्यो ।

काङ्ग्रेसको लागि गठबन्धन भएकै होइन, यो त काङ्ग्रेसलाई सखाप पार्न र त्यसको एक ब्यक्तिको हितको लागि अरु दलले फाइदा लिन भएको हो । त्यसैले काङ्ग्रेसको वर्तमान गठबन्धनले कुनै हित गरेको छैन, वास्तवमै यो काङ्ग्रेसको लागि भएकै होइन । त्यसैले काङ्ग्रेसको हितविरुद्धमा भएको यस गठबन्धनको लागि काङ्ग्रेसजन इमान्दार बन्न जरुरी छैन ।

अहिले केही काङ्ग्रेसका ठुला देखिने नेताहरू गठबन्धन नगर्ने हो भने काङ्ग्रेसको बहुमत आउन नसक्ने बताइरहेका छन् । गठबन्धन नचाहने काङ्ग्रेसहरूले पनि गठबन्धन नगरे पनि काङ्ग्रेसको बहुमत आउँछ सम्म भन्न सकेका छन् । अर्थात्, दुई तिहाईको कुरा हराएको छ । गठबन्धन गर्ने काङ्ग्रेसहरू गठबन्धन नगरे काङ्ग्रेसको बहुमत आउँदैन भनिरहेका छन् । काङ्ग्रेसको प्रतिपक्षमा रहँदाको क्रेज हेर्दाहेर्दै एमालेमा सरिरहेको देखिँदै छ । अब काङ्ग्रेस गठबन्धन नगरी उभिनै नसक्ने जस्तो देखिएको छ । यो इतिहासमै काङ्ग्रेस सबैभन्दा कमजोर र सिद्धान्तविहीन दलको रूपमा देखिएको अवस्था हो । यद्यपि दलहरूको सिद्धान्त यतिबेला मानिसहरूलाई ठग्ने माध्यम जस्तो भएको छ । सिद्धान्तको नाममा जनतालाई मुर्ख बनाउने राजनीतिक रोग र सरकारमा जाने भ¥याङको समेत अन्त्य हुन आवश्यक देखिँदै गएकोले यसको नेतृत्व इमान्दार नेता राजेन्द्र लिङ्देनले गरिहेका छन् ।

अहिलेको गठबन्धनको परिदृष्य देख्दा काङ्ग्रेसहरूले मुल्याङ्कन गर्नै नचाहेको एउटा कारणले आत्मघाती दिशामा काङ्ग्रेसलाई लगिरहेको छ । काङ्ग्रेस एक्लै चुनाव लड्दा पनि यसको बहुमत आउन पनि सक्छ र सबै कम्युनिष्टहरू मिलेमा पनि काङ्ग्रेस ठुलो दल बन्ने सम्भावना छ । कम्युनिष्टहरू जति नै मिले पनि तथा अन्य दलहरू समेत मिले पनि पहिला फुटेर मिलेकाहरूको मेल पहिला जस्तो हुँदैन र, त्यसको फाइदा काङ्ग्रेसलाई हुन्छ । एमाले र माधवकुमार-प्रचण्डका दलहरू मिल्ने सम्भावना अत्यन्तै न्युन छ । यसकारणले पनि नेपाली काङ्ग्रेस एक्लै चुनाव लडेमा पनि बहुमत आउने सम्भावना पनि छ । जबकि गठबन्धनमा रहेमा काङ्ग्रेसले ५० प्रतिशत भन्दा बढी सिटमा उमेदवारी दिन लगभग नपाउने निश्चित छ । ५० प्रतिसत सिट पाउँदा ७० प्रतिशत उम्मेदवारले चुनाव जिते पनि जम्मा जित त ३५ प्रतिशत मात्र हुन जान्छ, काङ्ग्रेसहरूको मनोबल कमजोर हुने अवस्था त छँदैछ । यसरी एक्लै चुनाव लडेमा बहुमत आउन सक्ने र गठबन्धन भएकोमा भने एक्लै चुनाव चुनाव लड्दा भन्दा पनि कम सिट आउने प्रष्ट तस्बिर देखिँदादेखिँदै पनि काङ्ग्रेस किन गठबन्धनमा बाँधिँदैछ ? के एक जनाको पद तथा शक्तिको महत्वाकाङ्क्षाको लागि अनि गठबन्धन बनाउने खास-खास पात्रहरूको फाइदाको लागि काङ्ग्रेसका तमाम नेता र कार्यकर्ताहरूले पपुलारिटी र उम्मेदवारीको बलिदान दिनुपर्ने थियो ?

यद्यपि बुद्धिहीन र आदर्शरहित काङ्ग्रेसहरूले तत्कालको स्वार्थको लागि एक भ्रष्टतम् ब्यक्तिलाई आफ्नो टाउकोमा राखेर आफ्नै खुट्टामा बन्चरो हान्ने अधिकार राखे र पछि पनि राख्लान्, तर त्यसको घाटा ब्यहोर्ने पनि उनीहरू नै हुन् । तर पछि त्यो चोटबाट रगत आयो र दुख्यो भन्नुको कुनै तुक छैन । विष खानेलाई नै विष लाग्छ र लागिरहेको छ, तर यसको असर लोकतन्त्र र काङ्ग्रेसलाई नै हुनु दुःखद् हुने अर्को पाटो पनि छ । दलको झण्डाको लागि रगत बहाउनेको होइन, काङ्ग्रेसको नाम लिने भ्रष्टहरूलाई झण्डाको नाममा सहयोग गर्नेहरूलाई झण्डामा लतपत भएको इतिहासको के मतलब होला र ? अब काङ्ग्रेसमा काङ्ग्रेसको सारको रक्षाको लागि विद्रोह गर्ने बेला पनि आयो कि जस्तो पनि देखिन्छ । कसरी ?

यो कार्य सजिलो छैन । काङ्ग्रेसी नेताहरूले गर्न सक्ने विकल्प एउटा नै प्रमुख छ । त्यो हो, सरकारी अर्थात् देउवा काङ्ग्रेसहरूले गठबन्धनमा मिलेर चुनाव लड्ने र पदभन्दा लोकतन्त्र चाहनेहरू अर्थात् शेखर कोइरालाको नजिक हुने काङ्ग्रेसहरूले एमाले र राजेन्द्र लिङ्देनसँग तालमेल गरेर यथासम्भव ६० प्रतिसत सिट लिएर चुनावी गठबन्धन गर्ने औपचारिक घोषणा गर्ने वा अनौपचारिक सहमति गर्ने एक उपाय हो । जस्तै, कोइराला काङ्ग्रेसहरूले भरतपुरमा मेयर लिने र एमालेलाई उपमेयर दिने तथा पोखरामा एमालेलाई मेयर दिने र काङ्ग्रेसले उपमेयर लिने जस्तो गरेर गठबन्धन गर्ने हो भने लेखेर राखे हुन्छ कि यो चुनावी गठबन्धनले ९० प्रतिसतसम्म सिट जित्ने सम्भावना रहन्छ । यो सम्भावनालाई इन्कार नगर्ने हो भने लोकतन्त्रका पक्षधर काङ्ग्रेसको हैसियत पनि सुखद रूपमा प्रष्ट हुने छ । त्यति मात्र नभइ काठमाडौं महानगरपालिकामा यो अवस्थामा नेका एक्लै चुनाव लडे पनि मेयर र उपमेयर दुवै जित्ने पक्का छ ।

केपी ओलीको सरकार गिराए पनि करिव ४ महिनासम्म काङ्ग्रेसका नेता र केही हनुमानहरूलाई पदको बासनाले हैरान नपारेको भए नेकपाको विवाद र द्वन्द्वले गर्दा जनता ‘काङ्ग्रेस आउ हामीलाई बचाउ’ भन्ने अवस्थामा पुग्ने थिए । त्यस अवस्थामा काङ्ग्रेसलाई मध्यावधि चुनावमा जाँदा पनि दुई तिहाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्ने थिएन । त्यस्तो अवस्थामा काङ्ग्रेसीहरूलाई बरबाद हुने भयो, काङ्ग्रेसले सरकार नलिने हो भने देश नै डुब्छ भनिएको थियो । काङ्ग्रेसले सरकारको नेतृत्व नगरेको भए के हुन्थ्यो ? काङ्ग्रेसलाई के घाटा हुने थियो ? यसको उत्तर सजिलो छैन ।

काङ्ग्रेसको प्रतिपक्षमा रहँदाको क्रेज हेर्दाहेर्दै एमालेमा सरिरहेको देखिँदै छ । अब काङ्ग्रेस गठबन्धन नगरी उभिनै नसक्ने जस्तो देखिएको छ । यो इतिहासमै काङ्ग्रेस सबैभन्दा कमजोर र सिद्धान्तविहीन दलको रूपमा देखिएको अवस्था हो ।

काङ्ग्रेसले ५ वर्षको लागि पाउने प्रष्ट बहुमत अपुतालीको लोभले र एक ब्यक्ति र अर्का राजनैतिक दलहरूको फाइदाको लागि तुहाउने कार्य सही थिएन । अझै पनि त्यही रोगलाई स्थापित गरेर चुनावमा जाने हो भने अब काङ्ग्रेसको हैसियत र औचित्य समाप्त हुने देखिन्छ । यो काङ्ग्रेसको नेतृत्वको सरकार काङ्ग्रेसको हितको लागि हैन बरु काङ्ग्रेसभित्रका ब्यक्ति र एमाले, माओवादी समाजवादीसमेत हितको लागि थियो र हो । त्यसैले गठबन्धनलाई काङ्ग्रेसको दायित्व हो भन्नुको कुनै औचित्य छैन र यो त काङ्ग्रेसका पदलुप्तहरूले आफ्नो नेताको कारणले नै आकाश थामिएको हो नत्र बरबाद नै हुने थियो भनेर हुट्टिट्याउँले आकास थामेको भ्रम दिइरहेका छन् । तसर्थ लोकतन्त्र र इमान्दारीको लागि इमान्दार लोकतन्त्रवादीहरूले नै कदम चाल्न आवश्यक छ ।

मतको माध्यमबाट चोरलाई चौतारोको जिम्मा दिने काङ्ग्रेसहरूले चोरले चौतारो काट्यो र दाउरा बेच्यो भन्नु आफू पनि अपराधीको सहयात्रीे थिएँ गल्ती भयो भन्नु नै हो । अहिले पनि एमालेको अवस्थाले के देखाएको छ भने सरकारमा रहँदा पनि कम्युनिष्ट पार्टीमा केपी ओलीका पक्षधरहरू नै अत्यधिक थिए र पार्टी कब्जा गर्न नसकेकोले अन्य नेताहरूले दल फोरेको भन्ने सम्बन्धमा कसैलाई विमति छैन होला । पहिला काङ्ग्रेससमेत पदको लागि त्यसै गरेर टुक्रिएको थियो । त्यसैले अहिलेको गठबन्धन सत्तालोलुपहरूको जत्था हो पनि भन्न सकिन्छ । काङ्ग्रेसभित्रकै आधिकारिक नेताहरूलाई गठबन्धन नगरेर काङ्ग्रेसको बहुमत आयो भने अमुक काङ्ग्रेसी नेता पुनः प्रधामन्त्री बन्न जति सजिलो छ त्यो भन्दा धेरै सजिलो गठबन्धनवाट छ भन्ने प्रष्ट थाहा छ, त्यसैले गठबन्धनमा इमान्दारी आदिको कुरा गरिएको छ । काङ्ग्रेसलाई यो अवस्थामा पु¥याउन काङ्ग्रेसको हितको लागि कुन र केको इमान्दारी थियो ? काङ्ग्रेसको लागि गठबन्धन भएकै होइन, यो त काङ्ग्रेसलाई सखाप पार्न र त्यसको एक ब्यक्तिको हितको लागि अरु दलले फाइदा लिन भएको हो । त्यसैले काङ्ग्रेसको वर्तमान गठबन्धनले कुनै हित गरेको छैन, वास्तवमै यो काङ्ग्रेसको लागि भएकै होइन । त्यसैले काङ्ग्रेसको हितविरुद्धमा भएको यस गठबन्धनको लागि काङ्ग्रेसजन इमान्दार बन्न जरुरी छैन । एउटा अपराधीले एउटा जत्थालाई लोभ देखाएर घरमा थुनिदियो । पछि उसैले थुनाबाट निस्कनको लागि यसो गर्नुपर्छ भन्छ भने थुनाबाट निकालेर उ ठुलो नेता बन्न सक्दैन ।

त्यसैले अब लोकतन्त्रको पक्षमा कदम चाल्न वा विद्रोह गर्न आवश्यक भएको छ र यसको पहिलो पाइला एमाले र सत्ता पक्षधर पद चिन्तन मात्र गर्ने काङ्ग्रेस बाहेक अरु काङ्ग्रेसहरूले सम्मानपुर्वक सहकार्य गर्ने र एमालेले पनि त्यसमा ठुलो छाती बनाउन आवश्यक छ । यस पटकलाई लोकतन्त्र पक्षधर काङ्ग्रेसहरूलाई बढी नै सिट दिएर भए पनि चुनावी तालमेल गर्ने हो भने एमालेमा कम्युनिष्ट मत पनि लगभग ५ वर्षपछि जरुर एकछत्र नै हुने छ । चुनावपछि त शर्म नभएकाहरूले पदको लागि सरकारमा पनि गठबन्धन गर्न सक्छन् नै । गठबन्धनले त केवल काङ्ग्रेसको बहुमत आउँदैन र विपक्षीहरूका चाहनाका अमुक काङ्ग्रेसी नेता प्रधानमन्त्री बन्ने बाटो मात्र खुल्ने छ । त्यसैले उनी काग्रेसको बहुमत चाहँदैनन् । अगाडि चारा देखेकोले पदको लोभले भोकाएका रामचन्द्र, प्रकाशमान र विमलेन्द्र निधीहरूले आफ्नो सक्कली अनुहार देखाए र आहारा खान भन्दा पहिला उनीहरू नै जालमा परेका छन् । अबको निर्णय पदभन्दा पनि लोकतन्त्रको पक्षमा रहनेहरूले बिना हिचकिचावट गर्नुपर्छ । एमाले समेतसँग गठबन्धन नै गरे पनि आफ्नो जित्ने पक्का भएको स्थानमा अलग्गै लडे पनि हुन्छ ।

अहिले नै काङ्ग्रेसलाई बचाउने अन्तिम मौका हो भन्ने परिदृष्य देखिइरहेको छ । अन्य दलहरूलाई लोकतन्त्रको पक्षमा ल्याउनुपर्नेमा आफै कमजोर र लोकतन्त्रको विपक्षमा रहनु काङ्ग्रेसको लागि आत्मघाती हुने छ । कम्युनिष्ट वा अन्य तानाशाही ब्यवस्थामा जस्तो जनतालाई थुनेर शासन चलाउन लोकतन्त्रमा सकिँदैन र लोकतन्त्रमा सबै दलका घरहरू सिसाका हुन्छन् । फोर्न पनि सजिलो छ र राम्रा तथा गलत कामहरू पारदर्शी पनि छन् । त्यसैले काङ्ग्रेस र लोकतन्त्रलाई बचाउन इमान्दार, समाजवादी ब्यवहार र लोकतन्त्रप्रतिको दृढ आस्था अपरिहार्य नै छ । अन्यथा काङ्ग्रेसको कारणले नै लोकतन्त्रप्रति वितृष्णा बढेर जाने क्रम रोकिने छैन । एक ब्यक्तिले ब्यक्तिगत हितको लागि प्रचण्ड-माधवको पार्टीको फाइदाको लागि दललाई दाउमा लगाएर दललाई नै पछारिने कार्य गर्छ र त्यो देखिइरहेको छ भने त्यो पार्टीले अमुक ब्यक्तिको लागि दल सति जाने कि नजाने ? यसको उत्तर पनि खोजौँ ।