भनेजति पैसा खर्च गर्न सक्ने हैसियत नभएकै कारण विशुद्ध राजनीति मात्र गर्ने नेताहरू चुनाव लड्न डराउँछन् । किनकि, यहाँ नेता मात्र होइन भोटर पनि व्यापारी र ठेकेदार भएका छन् । वर्षभरी अर्थात् ३६४ दिन एउटा पार्टीमा हुने र एक दिन अर्को पार्टीलाई भोट हाल्ने जनता यहाँ धेरै छन् ।
- मेनुका बस्नेत विष्ट
यतिबेला स्थानीय चुनावको माहोल छ । कोही टिकट लिन लाइनमा छन् । कोही कसले टिकट पाउला र लाइन लागेर भोट हालौँला भन्ने प्रतीक्षामा छन् । टिकट वितरणको काम भइसकेकोले कसले टिकट पाउला भन्ने कौतुहलचाहिँ मेटिएको छ ।
केहीदिन अघि पङ्क्तिकार ओखलढुङ्गामा थियो । चियागफमा चुनावी माहोल तात्तिँदै गर्दा गफमा जोडिएका राई थरका एक व्यक्तिले वडाध्यक्षको टिकट आफैले पाउने दाबी गरे । अरुले पनि तपाईंले नै पाउने होला भन्दै सही थापे । केहीबेर चुनावी गफ सुनेपछि मैले राई थरका ती व्यक्तिसँग परिचय गरेँ । उनी खासमा ठेकेदार रहेछन् । पैसा र जिल्लाका नेतासँग उठबससम्मको पहुँच भएका कारण आफैले पाउनेमा उनी ढुक्क देखिए । दाबेदार उनीसँगै थप तीन जना पनि थिए ।
अहिले गाउँमा वडाध्यक्षदेखि पालिकाको प्रमुखसम्म चुनाव लड्ने होडमा नेताभन्दा बढी ठेकेदार र व्यापारी देखिन्छन् । जसका दुई-चारवटा डोजर, स्काभेटर पहरामा काम गरिहेका छन्, अथवा दुई-चार वटा ट्रिपर खोलाबाट गिटीबालुवा झिकिरहेका छन् । उनीहरूको उम्मेदवारी निश्चितप्रायः छ । समुहमा उनीहरूको राइँदाइँ नै बेग्लै छ, ‘सम्भव भएसम्म पार्टीबाट टिकट लिने नभए स्वतन्त्र उम्मेदवार हुने र जित्नको लागि साम, दाम, दण्ड, भेद जे पनि गर्ने ।’
‘गत चुनावमा पार्टीले टिकट दिएन त्यसैले मैले स्वतन्त्र उमेदवारी दिनु पऱ्यो । अहिले पार्टीले नै टिकट दिन्छ होला’, ओखलढुङ्गा सिस्नेरीका चक्र राईले भने । उनी त्यो ठाँउका गनिएका व्यापारी ठेकेदार हुन् । अहिले पार्टीको रोजाइमा पनि पैसावाला व्यक्ति नै पर्छन् कारण उनीहरूले निर्वाचन जितेपछि भ्रष्टाचार गर्दैनन् भनेर होइन चुनावमा खर्च गरेर भए पनि जित्छन् भनेर हो ।
ओखलढुंगाकै खिजिदेम्वामा जसपाका गोङ्गु शेर्पाको ठुलो चर्चा छ । उनी १८ वर्ष अमेरिका बसेर आएका व्यक्ति हुन् । शेर्पा भाषाका केही गीत गाएर चिनिएका भए पनि उनलाई राजनीतिको बारेमा खासै अनुभव र ज्ञान छैन, तर उनीसँग पैसा भएका कारण जित्ने सम्भावना छ भन्छन्, स्थानीयहरू ।
नेता र ठेकेदारमा खासै फरक पनि छैन । नेतालाई ठेकेदार बनाउने कि ठेकेदारलाई नेता बनाउने गाउँबासीहरू दुविधामा छन् । जो पहिले नेता मात्र थिए, चुनाव जितेपछि डोजर, स्काभेटर र ट्रिपरका मालिक बनेका छन्, सबै ठेक्कापट्टा उनीहरूकै पोल्टामा पर्छन् । भाइभतिज, श्रीमतीका नाममा फर्महरू खुलेका छन्, स्थानीय योजना आफै पार्छन्, काम आफै गर्छन् । अब नयाँ नेता बनायो भने पनि उसले पनि गर्ने यस्तै नै हो । भने, ‘ठेकेदारहरूको दाउ पनि स्थानीय निकायमा शासन गर्ने नै हो । पैसा कमाउने नै हो ।’
गाउँ-गाउँमा सिंहदरबार भन्ने नाराअनुसार सिंहदरबारको सुविधा त नेताले उपभोग गरे तर जनस्तरमा भने खासै फरक भएन । स्थानीय तह बनेपछि बाटोको नेटवर्क सबैतिर जोडियो सबै पहाडका कान्लामा गाडी कुद्ने भए राम्रो पक्ष हो । बाटोसँगै विकास भन्दा बढी विनास पुगेको छ । बाटोखन्दा डोजर र स्काभेटरले हल्लएको पहाडले पहिरोको रुप लिँदा प्रत्येक वर्ष एउटै बाटोमा बजेट पोखिने गरेको छ । त्यो बाटोबाट गाडीले शहरबाट खाद्यान्न पु¥यायो र फर्किंदा युवाहरूलाई लिएर फर्कियो । नेतृत्वको ध्यान कसरी युवालाई गाउँमा रोक्ने र गाउँमा कसरी उत्पादन बढाउने भन्नेतिर गएन । गाउँमा खाद्यान्न मतलव चामल र खाजा मतलव चाउचाउ हो । स्थानीय उत्पादन र स्वाद बिर्सिसकेको छ गाउँठाउँले । स्थानीय तहमा आएका योजनाहरूमा गाउँलेहरूले काम गर्दैनन् । सबै कामदार बाहिरबाट लगिन्छ । नेतृत्वले पनि कसरी स्थानीयलाई लाभान्वित गराउने भन्नेतिर ध्यान दिएको पाइँदैन । बरु ठेकेदारसँग मिलेर सस्तोमा कामदार खोजेर बाहिरबाट लाने गरिएको छ । यसले गर्दा गाउँमा आएको पैसा बाहिर गइरहेको छ भने युवाहरूमा बेरोजगारी र नैराश्यता बढेको पाइन्छ । यसको चिन्ता नेतृत्वमा रहेकाहरूले गरेको पाइँदैन ।
आफ्नो ठाँउलाई कस्तो बनाउने भन्ने भिजनसहितका नेताहरू खासै देखिँदैनन् । राजनीतिमा सिद्धान्त र आस्था भन्दा पनि व्यापार बढी भयो । राजनीति व्यापारीकरण भयो । चुनावको टिकट पैसामा बिक्न थाल्यो । जोसँग पैसा छ उसैले टिकट पाउने अवस्था छ । पैसाले किनेको टिकटले पैसा नै कमाउनमा ध्यान जान्छ । जनताको सेवा विकास निर्माणका काममा भन्दा बढी अर्को चुनावको लागि कसरी पैसा कमाउने भन्ने ध्यान नेतामा पनि देखिन्छ ।
नेताहरू एउटाले अर्कोलाई गाली गर्छन् तर आफूलाई फर्केर हेर्दैनन्, त्यसैले पार्टीभन्दा व्यक्तिलाई भोट दिनुपर्छ अब भन्ने मानसिकता बनाएकाहरू पनि धेरै भेटिन्छन् । ‘म त कसैलाई पनि भोट हाल्दिनँ’ भन्नेको संख्या पनि ठुलो छ । गठबन्धनको दुविधाले पनि समुदायमा अलमल बनाएको छ । पार्टी र पार्टीको चिह्नलाई माया गर्नेले गठबन्धनको नाममा अर्को पार्टीको चिह्नमा छाप हान्न गाह्रो हुन्छ भन्नेहरू धेरै भेटिन्छन् ।
राजनीति नै व्यापार
आफ्नो ठाँउलाई कस्तो बनाउने भन्ने भिजनसहितका नेताहरू देखिँदैनन् । राजनीतिमा सिद्धान्त र आस्था भन्दा पनि व्यापार बढी भयो । राजनीति व्यापारीकरण भयो । चुनावको टिकट पैसामा बिक्न थाल्यो । जोसँग पैसा छ उसैले टिकट पाउने अवस्था छ । पैसाले किनेको टिकटले पैसा नै कमाउनमा ध्यान जाने पक्का छ । यसअघि पनि त्यस्तै देखियो । जनताको सेवा विकास निर्माणका काममा भन्दा बढी अर्को चुनावको लागि कसरी पैसा कमाउने भन्ने ध्यान नेतामा पनि देखिन्छ ।
ठकेदार नेता र नेता नै ठेकेदार भएकाले होला गाउँमा नेताका पछि कार्यकर्ताभन्दा बढी गुण्डा देखिन्छन् । चुनाव जनताको भोटले जित्ने भन्दा पैसा र गुण्डाहरूको रवाफले जित्ने अवस्था बढ्दै जानु दुःखको कुरा हो । गाउँको परिदृश्यले भन्छ– ‘राजनीति नै शिक्षक, ठेकेदार र व्यापारीले धानेका रहेछन् ।’
ठेकेदार ढुक्क नेता धरमर
वडासदस्य, वडाध्यक्ष र उपमेयर तथा उपाध्यक्षलाई भेट्दा एउटा प्रश्न गर्ने गरेको छु- ‘यो पटकको चुनावमा कक्षा दोहो¥याउने वा अघि बढ्ने योजना बनाउनुभएको छ ?’ महिला सदस्यहरू अधिकांश एउटै जवाफ आउँछ- ‘हेरौँ ! पार्टीले के भन्छ ?’ उपाध्यक्ष वा उपमेयरको पनि इच्छा त अघि बढ्ने हुन्छ तर ‘पार्टीले के गर्छ’ नै भन्नुहुन्छ । जसले राजनीति र जनताको सेवालाई नै जीवन ठानेका हुन्छन् उनीहरूको जवाफचाहिँ निरासपूर्ण हुन्छ, भन्छन्- ‘कुनै पनि हुँदैन, चुनाव अब हाम्रो हैसियतभन्दा टाढाको कुरा भयो ।’
नागरिक चाहन्छन्, पार्टीले पनि विश्वास गर्छ, काम पनि राम्रो गरेका छन्, विपक्षीले पनि उनलाई मान्छन् तर उनीहरू चुनाव लड्न डराउने अवस्था छ । कारण हो– चुनावमा हुने अत्याधिक खर्च । ‘अब राजनीति र चुनाव हाम्रो हैसियतभन्दा टाढाको कुरा भयो’, ओखलढुङ्गा सिस्नेरीका एकजना वडाध्यक्षले भने । ‘मतदाता साथमा छन्, पार्टीले पनि विश्वास गर्छ तर आफैले हिम्मत गर्न सक्ने अवस्था छैन । अहिलेको राजनीति आस्था, सेवा भन्दा बढी व्यापार भएको छ । जोसँग पैसा छ उ नै ठूलो नेता हो । ३६४ दिन एउटा पार्टीका भएका जनता एकदिनका लागि पार्टी बदलिदिन्छन् यस्तो अवस्थामा पैसा खर्च नगरि चुनाव जित्ने अवस्था छैन । पैसा खर्च गरेर जितेको चुनावले जनताको हित गर्दैन । एउटा पालिकाको चुनाव लड्न कम्तिमा बीस लाख चाहिने अवस्था छ । जुन सामान्य मानिसको हैसियतभन्दा बाहिरको कुरा हो ।’ उनीहरूको दुःखेसो यस्तो छ ।
भनेजति पैसा खर्च गर्न सक्ने हैसियत नभएकै कारण विशुद्ध राजनीति मात्र गर्ने नेताहरू चुनाव लड्न डराउँछन्् । किनकि यहाँ नेता मात्र होइन भोटर पनि व्यापारी र ठेकेदार भएका छन् । कुन पार्टीको कसले पैसा खर्च गर्छ उसैलाई भोट दिने गर्छन् । अथवा यति भोटको जिम्मा मेरो भनेर ठेक्का लिने गरेका छन् । वर्षभरी अर्थात् ३६४ दिन एउटा पार्टीमा हुने र एक दिन अर्को पार्टीलाई भोट हाल्ने जनता धेरै छन् ।
भोट कसलाई दिने भन्ने विषयमा नागरिकहरूमा पनि वितृष्णा जस्तै देखिन्छ । सबैलाई हेरिसकियो बाँकी कोही छैन । जुन पार्टीले जिते पनि चुनावपछि नागरिकलाई बिर्सने नै हुन् । गाउँमै बसिराखेको व्यक्तिलाई भोट दिएर जिताउँछौँ, काठमाडौंमा घर बनाएर उतै बस्नेबाट परेको बेला आवश्यक सेवा प्राप्त नहुने स्थानीयहरूको गुनासो छ ।
अन्त्यमा, चुनावी परिवेश नियाल्दा उम्मेद्वार बन्ने नेता चुनाव जित्नेमा धरमरमै छन् भने जनता पनि अन्यौलमै छन् । तर, ठेकेदार भने टिकट पाए जनप्रतिनीधि भएर ठेकापट्टा गर्ने, टिकट नपाए नजिकको व्यक्तिलाई जिताएर ठेक्कापट्टा हत्याउनेमा ढुक्क देखिन्छन् ।
प्रतिक्रिया