कस्तो छ बालेनको चश्माले देखेको काठमाडौं ?

कस्तो छ बालेनको चश्माले देखेको काठमाडौं ?


  • राजन घिमिरे

नाम मात्र युनिक नभइ यिनको सोच, उद्देश्य, जोश-जाँगर र केही गर्ने अठोट पनि युनिक प्रकृतिकै छ । यस्तो विशेष विशेषताकै कारण यिनको लक्ष्यले मूर्तरूप पाउन असम्भव पनि छैन । त्यसको लागि चाहिन्छ केवल अठोट, कटिबद्धता र उद्देश्यमाथिको सकारात्मक धारणा । यस्तै प्रतिबद्धता र जुझारूपन अनि आत्मविश्वासका साथ काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका रुपमा उत्रिएका छन् बालेन शाह । बालेन भन्छन्- ‘पहिलेका मेयरहरूले आज मैले उठाएका कुराहरू गरिदिनुभएको भए म आउनै पर्दैनथ्यो । उहाँहरूमा इच्छाशक्ति र इमानदारी भएको भए त्यो पूरा गर्न पनि सक्नुहुन्थ्यो । जनता साथमा हुनुहुन्थ्यो, बजेट थियो र काम गर्ने ठाउँ थियो । तर उहाँहरूले भिजन र इमानदारिता देखाउन सक्नुभएन ।’

काठमाडौंमा मेयर बन्ने आकाङ्क्षीहरूको जमातमा सम्भवतः बालेनको जति चर्चा, चासो र ‘भाइरल’ अरू कोही भएको छैन होला । आम तप्कादेखि उच्च तहसम्म देखिएको बालेनको क्रेज र वाहवाही साँच्चै लोभलाग्दो छ । सेलिब्रिटी बन्न सिनेमा नै खेल्नुपर्छ भन्ने छैन । अन्य विधा वा क्षेत्रप्रति केही नयाँ गर्ने सकारात्मक सोच भएमा त्यो सोचले नै सेलिब्रिटी बनाउँछ भन्ने बलियो उदाहरण बनेका छन् बालेन । हुन त उनी ऱ्यापर भएका कारण पनि त्यो विधा मनपराउने युवाहरूमाझ उनको क्रेज राम्रै थियो, त्यसमाथि अहिले मेयरको प्रत्यासी बन्दा उनले ब्यक्त गर्ने विचार, तर्क तथा अभिव्यक्तिले हरेक वर्ग, तहतप्का र क्षेत्रमा लागेकाहरूलाई छोएको छ ।

यतिबेला बालेनले काठमाडौंमा उम्मेदवारी मात्र दर्ता गराएका छन् तर उनको चर्चा र ख्याति भने मेयर जितेको भन्दा बढी छ । त्यसैले त बालेनका समर्थकहरू भन्छन्- ‘यो शुभ सङ्केत हो !’

कालो दाह्री अनि कालै चश्मा बालेनको थप परिचय बनेको छ । तर्क र स्पष्ट भिजन राख्न सक्ने क्षमताका धनी बालेनको युवा पुस्तामाझ देखिएको क्रेजले उनलाई यतिबेला मेयरको सेलिब्रिटी उम्मेदवारको रूपमा चिनाएको छ । कुनै समय सिनेमा क्षेत्रमा लामो कपाल राजेश हमालको परिचय बनेको थियो भने अहिले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहलाई उनको नाम याद नहुनेहरूले पनि दाह्री पालेको र कालो चश्मा लगाउनेको रूपमा चिन्न थालेका छन् । हुन पनि हो, बाहिर होस् या कोठाभित्र, कालो चश्मा छुटाउँदैनन् उनी । ‘यो मेरो लक र परिचय पनि हो । मलाई मेरा समर्थक र शुभचिन्तकहरूले यही चश्माको कारण पनि नोटिस गर्ने गर्नुहुन्छ । अब त चश्मा लगाइएन भने मेरो परिचय नै पूरा नभएको हो कि जस्तो लाग्न थालेको छ’- बालेन भन्छन् ।

त्यसोभए बालेनको चश्माबाट कस्तो छ त काठमाडौं महानगर ?

भन्छन्- ‘काठमाडौंमा धेरै चिज छ । एउटा शहरभित्र हरेक कुरा हुनु कम गौरवको कुरा होइन, तर हामीले ब्यबस्थित गर्न सकेनौँ । पहिलाकाले त्यसतर्फ ध्यानै दिनुभएन । मन्त्रालयको भन्दा बढी बजेट मात्र छैन यहाँ, साथ र समर्थन माग्यो भन्यो काठमाडौं बनाउन टोल-टोलबाट नयाँ सोच, विचार र सामिप्यता मिल्छ । अब हामीले न काठमाडौंलाई गुमराहमा राख्न सक्छौँ न त यहाँका जनतालाई नै । साथमा साथ र हातमा हात समाएर अगाडि बढ्नुपर्छ ।’

‘काठमाडौं जन्मदा र यसको नामाकरण हुँदा कैयन बाहिरका देश फेला पनि परेका थिएनन्’ उनी भन्छन्- ‘कति देशका शहरहरू र गुमनाम थिए । आज हामी हाम्रै निस्क्रियताका कारण पछाडि परेका छौँ । गर्न सकिएन, केही छैन भन्दै समयलाई दोष दिँदा र आफ्नै कमजोरी ढाक्दा यो ऐतिहासिक, पौराणिक र पुर्खाको इज्जत गाँसिएको शहरको अपमान मात्र गरिरह्यौँ । अब यो समस्याबाट बाहिर आएर नयाँ सोच र उद्देश्यसहितको कार्ययोजनामा लाग्नुपर्ने समय आएको छ ।’ बालेनको बोलीमा उत्साह भरिएको थियो ।

पेशाले इन्जिनियर र ऱ्यापर हुन् उनी । ऱ्यापर भन्ना साथ एउटा सीमित सोच र धारणा पालेका जमातलाई ऱ्यापमार्फत पनि विसंगतिका पाटाहरूको बारेमा जनमानसलाई चेतना पस्कन सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् बालेनले । वास्तवमा ऱ्यापरको परिभाषा फेरिदिन सफल भएका छन् बालेन । नेपाली राजनीतिले नयाँ अनुहार, संलग्नता र उपस्थिति खोजिरहेको अहिलेको अवस्थामा उदाएका बालेन शाहको पक्षमा परिणाम आउँछ या आउँदैन ? त्यो हेर्न अब जम्मा दुई हप्ता मात्र बाँकी छ । तर यतिबेला उनको चर्चा शहर, बजार, गल्ली र चोक-चोकमा हुनुले नेपाली राजनीतिमा बालेनले एउटा तरङ्ग भने ल्याएकै हुन् भन्दा अतिरञ्जना नठहरिएला ।