गठबन्धनको खेला : मतदाताहरूसँग गरिएको भद्दा रेला !

गठबन्धनको खेला : मतदाताहरूसँग गरिएको भद्दा रेला !


के लोकतन्त्रमा मतदाताहरू दलका नेतृत्वका दास/कमैया हुन् ? दलीय गठबन्धन वा तालमेलका नाममा जे गर्न पनि दलका नेताहरूलाई मनलाग्दी गर्ने छुट नै तिनले ‘लडेर ल्याएको भन्दै रहेको’ लोकतन्त्रको परिभाषा हो त ?
  • राजबाबु शंकर

यसै पनि नेपालको राजनीतिमा इमान-जमान लिलामीमा चढाइए झैँ छ । राजनीतिको आधारभूत प्राथमिकता त सिद्धान्त, विचार, दूरसोच, इमान, जमान र त्यागको हुन्छ, हुनु पर्ने हो । तर, केही दशकयता राजनीति गर्न ढाँट्न सिपालु, काइते, धूर्त र राष्ट्रको सम्पत्ति दोहन गर्न खप्पीस भए हुने जस्तो भइसकेको छ । विचार, सदाचार, इच्छाशक्ति र पुग्दो योग्यता हुनेहरू चाहिं राजनीतिमा विफल हुनु परेका उदाहरण कैयौं छन् । बरू सम्पत्तिवाल चाहिं हुनै पर्छ, नेता हुनलाई । जसले जसरी कमाएको भए पनि यदि रकम खर्च गर्न सक्छ भने उही नेता बन्छ, बनेको छ, बनाएका छन्- तिनै अनेकन् नामधारी दलका मुखियाहरूले !

जनप्रतिनिधि बन्न वा कुनै पनि पदमा नियुक्ति लिन पदअनुसारको दाम दलका मुखियालाई भेटी राख्न सक्ने सफल बन्दै आएका उदाहरणहरू छिपेकै छैन । जनप्रतिनिधि बन्ने चाहना राख्नुको गुढार्थ प्रकारान्तरले राजनीति–गराइ पनि अन्ततः रकम कमाउने एउटा सुरक्षित प्लेटफर्म हो भन्ने गमेरै हो ।

कुनै पनि पेशा वा व्यवसाय गरिरहेकाहरू राजनीतिमा आउन हुने कि नहुने- बहसको विषय हो । विश्व राजनीतिक इतिहासमा अन्य पेशा वा व्यवसाय गरिरहेकाहरू राजनीतिमा पनि आएपछि एउटा सकारात्मक र कतिपय अर्थमा त अनुकरणीय छाप छोड्न समेत सफल भएका छन् । आफूले गरिरहेको कर्ममा सफल भएका व्यक्तिहरू कालान्तरमा राजनीतिमा प्रवेश गर्दा पनि सफल भएका अनेकौं नजीर छन् । तर, नेपालको सन्दर्भमा ती उदाहरण किन बेकामे हुन्छन् भने यहाँ अधिकांशतः ‘कमाउन’ नै राजनीतिलाई सिँढी बनाउन प्रवेश गरेका वा प्रवेश गर्न लालायित भएर आएका पाइन्छन् ।

कतिपय उद्योगी-व्यवसायीले चन्दा दिएर पछि निर्वाचित जनप्रतिनिधि मार्फत आफ्नो स्वार्थ साँध्ने गरेका छन् भने कतिपय चाहिं आफैं जनप्रतिनिधि बन्न लालायित छन् । तिनको उद्देश्य गाउँ-समाजको विकास निर्माण, जनता र राष्ट्रको सेवा गर्नु नभएर पद र शक्ति हत्याएर अकुत कमाउनु हो । विकृत बनेको नेपाली राजनीति मार्फत देशको दोहन गर्नु हो । यद्यपि कतिपयको तर्क यो पनि सुनिन्छ कि, उद्यमी-व्यवसायीले पहिल्यै कमाइसकेका हुनाले उनीहरूलाई मनग्गे पुग्दो हुन्छ; त्यसैले तिनले जनप्रतिनिधि भएपछि भ्रष्टाचार गर्दैनन् । तर, त्यो कुतर्क किन हो भने, भ्रष्टाचार धनीले नगरेका छैनन् । बरू झन अधिक परिमाणमा गर्ने गर्छन्, किनकि तिनलाई सानोतिनो रकममा आँखै लाग्दैन । र, भ्रष्टाचार गरीबले मात्रै गर्र्छ भन्नु सोझै आरोप हुन्छ । त्यसो त नेपालमा कतिपय सम्पन्न प्रधानमन्त्री र मन्त्री वा सरकारी कर्मचारीहरूको पछिल्ला केही प्रकरणहरू दसी छन्, जसले कमाउनु नै पदको ध्येय बनाए, बनाएका छन् ।

अतएवः नेपालका अहिलेका राजनीतिजीवीबाट इमानपूर्ण र जनराहतकारी राजनीतिको आशा एउटा फगत मृगमरीचिका हो । यिनले आजपर्यन्त गरिरहेको राजनीति विशुद्ध रूपमा केवल ‘पेशा’ हो, जसको कारण नै यस देशमा लोकतन्त्र र गणतान्त्रिक व्यवस्थाको धज्जी उडिरहेको छ । जो बाहुबली छ, धनवान छ वा छलकपट र धूर्त विधामा पारंगत छ- अधिकांशतः त्यस्तै पात्रले राजनीतिलाई पेशा बनाएर ठगठाग गरिरहेका छन् । यद्यपि नेपाली इतिहासमा पञ्चायतकालदेखि आलसम्ममा औंलामा गन्न सकिने राजनेता नभएका होइनन्, तथापि ती महामनाको विरासत थाम्ने आज क्वै छैनन्, भएनन् ! त्यसउसले राजनीति पेशा नभएर सेवा हो भन्ने र तद्नुरुप कर्म नै गर्नेहरूको खोजी आम नागरिक तहमा बढिरहेको छ ।

यतिबेला नेपालको राजनीति गठबन्धनमय बनाइएको छ । प्रायशः एकअर्काप्रति आरोप खन्याउन र सत्तोसराप समेत गर्न निर्लज्ज खासगरी ठूला भनिने दलका नेताहरू आफू एक्लैको बुतामा विश्वस्त हुन नसकेर चुनावी खड्कोबाट पार पाउन ‘काले–काले मिलेर खाऔं भाले’ नियतका साथ मिलेमतोमा जुटेका छन् ! र, दलका सुप्रिमोहरू त्यही आपसी लाभालाभको स्वार्थी साँठगाँठ गरिरहेका छन्, भलै सिद्धान्ततः उनीहरू आग्रा र गाग्रा बराबर फरक नै किन नहुन् !

विभिन्न नगरपालिका र गाउँपालिकाको प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष लगायतका पदको भागबण्डा गरेर सन्निकट चुनावमा मत बाँडाबाँड गर्ने अपवित्र चलखेलमा दलहरू निस्लोट भएर लागेका छन् । यस्तो लाग्छ कि, यी विविधनामे राजनीतिक दलका अध्यक्षहरू नेता नभएर ठेकेदार हुन् ! आफ्नो दलका उम्मेदवारलाई जिताउन प्राथमिकता दिनुको सट्टा अरू दलका उम्मेदवार जिताउने ध्याउन्नमा रहेका त्यस्ता नेताहरूले आफ्ना नेता-कार्यकर्ताहरूलाई जंगे-धम्की नै पनि दिन थालिसकेका छन् ! जसको श्रीगणेश कांग्रेसले गरिसकेको छ, अब अन्य दलहरूले पनि गर्दै जालान् !

दलहरूका यी बाह्रबखेडाले के सवाल खडा गरिदिएको छ भने, उनीहरू आफ्नो दल मातहतका अन्य नेता-कार्यकर्ताहरूको मनोविज्ञानलाई रत्तिभर महत्व दिन चाहँदैनन् ! जसले आफ्नो दलका प्रतिनिधिलाई चुन्ने नागरिक अधिकारको सरासर हनन गरेको छ । गठबन्धनीय दलहरू आफ्नै बुतामा एक्लाएक्लै चुनाव जित्न नसक्ने हालतमा छन् । त्यसको अन्तर्य खासमा के हो भने, सत्तासीन यी गठबन्धने दलहरूले जनताको पक्षमा गरेका असल कामहरूको कुनै फेहरिस्त छैन । त्यसैले यसो गर्छु र उसो गर्छु भन्ने नयाँ एजेण्डा उनीहरूसित छैन, जुन छ- त्यो अघिल्लो पटक पनि त्यही नै थियो, जुन तिनले पूरा गरेकै छैनन् ।

गठबन्धनले मूलतः राजनीतिक दलहरू र विशेषगरी नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरूमा व्यापक निराशा र असन्तुष्टि छाएको छ । राजनीतिक आस्था विपरीत यसरी एउटा पार्टीको मान्छेले अर्को पार्टीको उम्मेदवारलाई भोट हाल्नुपर्ने बाध्यता गरिनु भनेको दलतन्त्रको तानाशाही हो । जसले नागरिकहरूको लोकतान्त्रिक आस्थामाथि हमला गर्छ । के लोकतन्त्रमा मतदाताहरू दलका नेतृत्वका दास/कमैया हुन् ? दलीय गठबन्धन वा तालमेलका नाममा जे गर्न पनि दलका नेताहरूलाई मनलाग्दी गर्ने छुट नै तिनले ‘लडेर ल्याएको भन्दै रहेको’ लोकतन्त्रको परिभाषा हो त ? त्यसैले अब नेतृत्वमा वर्षौदेखि टसमस नभइरहेका बुढा अक्षम नेताहरूको लोकतान्त्रिक धर्मविपरीतको रवैयाको तमाशे बन्ने नभएर यो समय हरहालमा नेतृत्व हस्तान्तरण गर्न बाध्य पार्ने पहिलो खुड्किलो हो, कुनै पनि किसिमको गठबन्धनलाई धूलिसात् गर्ने मौका हो । सोचौँ, गमौँ, आफ्नै विवेकको प्रयोग गरौँ ।