सिर्जना सिंहको उम्मेद्वारीको अर्थ

सिर्जना सिंहको उम्मेद्वारीको अर्थ


हाम्रो मुलुकमा यस्ता धेरै सिर्जना सिंहहरू छन् जसले पति, बच्चा र घर-परिवारका लागि आफ्ना सपनाहरू थन्क्याउँदै आफैले निर्माण गरेको राजनीतिक मैदान छोडेर घरको ब्यवस्थापनमा आफूलाई सीमित गरे, गरिरहेका छन् ।
  • बबिता बस्नेत

नेपालको राजनीतिमा महिला सहभागिताको विगतलाई हेर्दा यो मुलुकमा धेरै महिलाले आफ्नो राजनीतिक ‘करियर’ घरपरिवारको नाममा आहुती दिएका छन् । किशोरावस्थादेखि राजनीतिमा होमिएका महिलाहरूमध्ये धेरैको सपना वैवाहिक जीवनको सुरुवातसँगै अन्त्य भएको छ । राजनीतिमार्फत यो मुलुकमा परिवर्तन ल्याउँछु भन्ने प्रतिबद्धताका साथ विभिन्न चरणका आन्दोलनमा मसाल जलाउँदै जुलुसमा हिँडेका, प्रहरी हिरासतमा परेका, सर्वसाधारणलाई जागरुक बनाएका त्यस्ता कति महिलाहरू छन् जसले आफ्नो सार्वजनिक जीवनको चाहना र सम्भावनालाई पति र बालबच्चाको हेरचाहमा सीमित गर्न बाध्य भए । कति महिलाहरू युवा हुँदा राजनीतिमा आफ्ना समकालीन केटासाथीहरू भन्दा प्रखर थिए, राजनीति गरेकै कारण राजनीति गरिरहेको मान्छेसँग उनीहरूको विवाह भयो । राजनीति गरिरहेको युवाको विवाहपछि राजनीतिक यात्रा रोकिएन बरु थप ब्यवस्थित भयो, तर महिलाहरूको भने विवाह गरेपछि सार्वजनिक जीवनको यात्रा स्थगित भयो । यसरी राजनीतिमार्फत देश र जनताका लागि केही गर्न आफ्नै बलबुताले दह्रो जग बनाएर अघि बढ्दै गर्दा बीचैमा यात्रा रोकिएकी राजनीतिकर्मीमध्ये एक हुन् अहिले काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेद्वार रहेकी सिर्जना सिंह । हाम्रो मुलुकमा यस्ता धेरै सिर्जना सिंहहरू छन् जसले पति, बच्चा र घर-परिवारका लागि आफ्ना सपनाहरू थन्क्याउँदै आफैले निर्माण गरेको राजनीतिक मैदान छोडेर घरको ब्यवस्थापनमा आफूलाई सीमित गरे, गरिरहेका छन् ।

गोरखा जिल्लामा १७ वर्षको उमेरमा नेपाल महिला सङ्घको जिल्लाअध्यक्ष बनेर नेपालको राजनीतिमा युवा महिलाको प्रवेशलाई सहज बनाउँदै नेतृत्व स्थापित गर्न सफल सिर्जनाको औपचारिक राजनीतिक यात्रा राजनीतिक परिवारमा विवाह भएपछि रोकिएको थियो । यद्यपि सिर्जना सिंहलाई २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व. गणेशमान सिंह र नेपालको राजनीतिमा महिला सहभागिताको जग बसाउनेमध्येकी एक स्व. मंगलादेवी सिंहकी असल बुहारीका रूपमा मात्रै चिन्नेहरू धेरै छन् । औपचारिक रूपमा निर्वाचन लडेर पदमा नरहे पनि सिर्जनाको राजनीतिक चेतका कारण स्व. गणेशमान सिंहको परिवारलाई राजनीतिमा थप सशक्त रूपमा अघि बढाउनका लागि र नेपाली काङ्ग्रेससम्बद्ध धेरैलाई राजनीतिमा आउने उतारचढाव र निराशाबाट विचलित नहुनका लागि मद्दत पुगिरह्यो । राजनीतिक भूमिकामा भएका सिर्जनाका पति प्रकाशमान सिंहलाई भेट्न उहाँको निवास चाक्सीबारी पुग्ने त्यस्ता कमै मानिसहरू होलान् जसले सिर्जनाको ब्यवहारको चर्चा र प्रशंसा नगरेको होस् । सबैलाई समान ब्यवहार गर्ने सिर्जनालाई भेट्ने धेरैले राजनीतिलाई निरन्तरता दिन आग्रह गर्ने गर्थे । ठुलो रुखको छायामा परेपछि कल्कलाउँदो बिरुवामा सेप लागेझैँ सिर्जनाको सार्वजनिक जीवनमा सेप लागे पनि उनमा राजनीतिक चरित्र उच्च रहेछ भन्ने कुरा अहिले उनका सार्वजनिक अभिब्यक्तिहरूले पुष्टि गरिरहेका छन् ।

जब राजनीतिमा भएका पतिलाई सफल बनाउन पत्नीहरू आफू ओझेलमा परेर हर तरहले सहयोग गर्छन् भने पतिले पत्नीलाई सहयोग गर्नु सामान्य दायित्व भन्दा अन्य ठान्नु हुँदैन । कहिल्यै राजनीतिमा नभएका पत्नी या पतिलाई लाभको पद दिलाउनका लागि एक्कासी राजनीतिमा ल्याउनुचाहिँ गलत हो ।

सिर्जनाले अरु उम्मेद्वारलाई गाली नगरीकन आफ्नो एजेण्डा जनतासामु राखिरहेकी छन् । अन्य कतिपय उम्मेद्वारहरूले ‘हेट स्पीच’को प्रयोग गरिरहँदा उनले अरु के गर्छन्… के बोल्छन्… भन्ने कुरालाई वास्ता नगरी आफू ‘के गर्छु’मा केन्द्रित भएकी छन् । गाली गलौजबाट नभइ आफ्ना एजेण्डामार्फत स्थापित हुन चाहने नेतृत्व अहिले राजनीतिक क्षेत्रको आवश्यकता हो ।
नेपालको राजनीतिमा उच्च तहमा पुग्नका लागि महिलाहरू कि विवाह नगरी बस्नुपर्ने कि त एकल हुनुपर्ने अवस्था छ । पति जीवितै हुँदा पनि राजनीतिमा महिलाहरू नेतृत्वमा स्थापित भएर राजनीतिक यात्रा अघि बढाउन सक्छन् है भन्ने उदाहरण हामीकहाँ साह्रै थोरै छन्, त्यसमध्येकी एक अष्टलक्ष्मी शाक्य हुन्, जसले राजनीतिक ब्यक्तिसँग विवाह भए पनि आफ्नो करियरलाई स्थगित गर्नु परेन । महिलाको राजनीतिक इतिहासमा अमर नाम शैलजा आचार्य र सहाना प्रधानमध्ये शैलजा आचार्यले विवाह गर्नुभएको थिएन । सहाना प्रधानले सुरुमा राजनीतिमा जोडतोडका साथ अघि बढाए पनि विवाहपछि घरपरिवार धान्न अध्यापनमा लाग्नुपरेको थियो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक उहाँका पति पुष्पलालको देहान्तपछि सहाना प्रधान पुनः सक्रिय राजनीतिमा आउनुभएको हो । राजनीतिमा संलग्न महिलालाई दोहोरो जिम्मेवारीले केही समय सक्रिय राजनीतिबाट अलग बनाएर फेरि फर्काएको उदाहरणीय ब्यक्तित्वको रूपमा उहाँलाई लिन सकिन्छ ।

हाम्रो देशमा राजनीतिमा सक्रिय हुँदाहुँदै विवाह भएपछि पतिलाई अघि बढाएर आफू पछि सरेका महिलाहरूको सङ्ख्या ठुलो छ । यही पङ्क्तिमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि पर्नुहुन्छ । विवाहअघि सक्रिय राजनीतिमा रहनुभएकी विद्या पाण्डे तात्कालिन राजनीतिका ‘करिस्म्याटिक’ ब्यक्तित्व मदन भण्डारीसँग विवाह भएपछि सक्रिय राजनीतिबाट ओझेल पर्नुभएको थियो ।

सिर्जना सिंहको उम्मेद्वारीको अर्थ बीचमा छुटेको औपचारिक राजनीतिको निरन्तरता हो । अब ती तमाम महिलाहरूले राजनीतिमा अगाडि बढ्ने सपना देख्नेछन् जो वर्षौं अघि छुटेका थिए । उनीहरूसँगै आएका कति पुरुष यो देशको राजनीतिको उच्च तहमा पुगे, तर समाजले निर्धारण गरिदिएको लैंगिक भूमिका र बच्चा जन्माउने प्राकृतिक जिम्मेवारीकै कारण धेरै महिलाहरू ओझेलमा परे ।

त्यसबीचमा दुई सन्तानको जन्म र हुर्काइकै क्रममा पतिको दुर्घटनापछि उहाँ पुनः राजनीतिमा सक्रिय हुनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी पतिका कारण राजनीतिमा आउनुभएको ब्यक्तित्व होइन । सिर्जना सिंहलाई कतिले अहिले गणेशमानकी बुहारी, प्रकाशमानकी पत्नी भने पनि कसैकी पत्नी या बुहारी मात्रै भएर उनी राजनीतिमा आएकी ब्यक्तित्व होइनन् । सक्रिय राजनीतिमा हुँदाहुँदै विवाहपछि उनको राजनीतिक यात्रा रोकिएको थियो । अहिले आफ्नै राजनीतिक जगमा उभिएर पारिवारिक विरासतसमेतलाई साथमा लिएर उनी अगाडी बढ्ने क्रममा छिन् । परिवारै राजनीतिमा भएका कारण परिवारको सहयोगले निश्चय नै फरक पार्छ नै र, पार्नु पनि पर्छ । जब राजनीतिमा भएका पतिलाई सफल बनाउन पत्नीहरू आफू ओझेलमा परेर हर तरहले सहयोग गर्छन् भने पतिले पत्नीलाई सहयोग गर्नु सामान्य दायित्व भन्दा अन्य ठान्नु हुँदैन । कहिल्यै राजनीतिमा नभएका पत्नी या पतिलाई लाभको पद दिलाउनका लागि एक्कासी राजनीतिमा ल्याउनुचाहिँ गलत हो ।

महिलालाई सुरुमा राजनीतिमा आउन गाह्रो र आएपछि टिक्न झन् गाह्रो छ । यसो हुनुमा हाम्रो समाजिक संरचना, घरेलु कामको जिम्मेवारी, महिलालाई हेर्ने दृष्टिकोणलगायतका कारणहरू प्रमुख छन् । जति महिलाहरू स्थापित भएका छन् ति सजिलै भएका होइनन् । विगतमा राजनीति गर्ने धेरै महिलाहरूले विवाहपश्चात पारिवारिक जीवनका लागि राजनीतिक सपनाहरू जाग्न दिएनन् । जिन्दगीको एउटा मोडमा पुगेपछि पुराना सपनाहरू पूरा गर्न कसैले पाइला अगाडि बढाउँछ भने त्यसका लागि अवरोधहरू पन्छाएर बाटो फराकिलो बनाउने जिम्मा परिवारका सदस्य र सम्बन्धित राजनीतिक दलको हो । सिर्जना सिंहको उम्मेद्वारीको अर्थ बीचमा छुटेको औपचारिक राजनीतिको निरन्तरता हो । अब ती तमाम महिलाहरूले राजनीतिमा अगाडि बढ्ने सपना देख्नेछन् जो वर्षौं अघि छुटेका थिए । उनीहरूसँगै आएका कति पुरुष यो देशको राजनीतिको उच्च तहमा पुगे, तर समाजले निर्धारण गरिदिएको लैंगिक भूमिका र बच्चा जन्माउने प्राकृतिक जिम्मेवारीकै कारण धेरै महिलाहरू ओझेलमा परे । कुनै बेलाका जल्दाबल्दा राजनीतिकर्मी तर अहिले एकादेशको कथाको पात्र झैँ बनेका महिलाहरूलाई ब्युँझाउन सिर्जनाको उम्मेद्वारीले भूमिका निर्वाह गर्नेछ ।