भोट बेचियो, अब पुर्पुरो समाउने हो !

भोट बेचियो, अब पुर्पुरो समाउने हो !


  • अनुसा थापा, भक्तपुर

मतदाताले मतपेटिकामा मत खसाउने काम सकिएको छ र, यतिबेला धमाधम परिणाम सार्वजनिक हुँदैछन् । कतिपय पालिकाको नतिजा सार्वजनिक भइसकेको छ भने कतिपयको गणना कार्य नै जारी छ । यसै क्रममा चुनाव जित्नका लागि उम्मेदवारहरूले पैसाको खोलो बगाएका कुराहरू चियागफको विषय बन्न थालेका छन् । निर्वाचन आयोगले चुनावमा खर्च गर्न पाउने रकमको सीमा तोके पनि उम्मेदवारहरूले त्यसलाई धोती लगाइदिएका छन् । हजार, लाखदेखि करोडौँसम्म खर्च गरेको पाइएको छ । एक मेयर-उम्मेदवारले चुनाव जित्नकै निम्ति पाँच करोड र वडाध्यक्ष उम्मेदवारले पनि एक करोडसम्म खर्च गरेको खबर चर्चामा छ । बीस भोटका लागि ठाउँको ठाउँ दुई लाख रकम बुझाउन कबोल गरेको टेलिफोन वार्ताको रेकर्ड नै सार्वजनिक भएको छ ।

यस्तै, कतिपय उम्मेदवारले भोटका लागि सारीचोलो बाँडे भने कसैले मतदातालाई नक्कली नाता लगाउँदै खुट्टै ढोगेर पाउमा रकम पनि चढाए । खाजापानी, मासुभात, मदिरा भट्टी जम्मै ब्यहोरेर भोट तान्ने कुरा त सामान्य नै भइगयो । बस-गाडीको व्यवस्था पनि साधामान्य कुरा भयो, तर एक–एकभोटको निम्ति जन-जनको निम्ति हवाइजहाजको टिकट खरिद गरिदिएको कुरा पनि आए । यस्ता कुरा आमजनताले त देख्ने-सुन्ने नै भए, तर अनुगमन र कारबाही गर्नुपर्ने निर्वाचन आयोगसमेत रमिते मात्र बन्यो । नियम-कानुनको धज्जी उडाउन माथिदेखि तलसम्मका सबैले प्रतिष्पर्धा नै गरे । नेपालको कानुन् दैवले मात्र जानुन् भनेजस्तो भयो ।

यसरी मज्जैसँग मतको खरिदबिक्री भयो । मत किन्नेहरू किन्न सकेकोमा मख्ख परे, बेचिनेहरू दुई-चार थाल मासुभात, दुई-चार बोतल मदिरा, दुई-चार हजार पैसा हात पारेरै रोमाञ्चित बने । स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित तरिकाले मतदान गर्ने÷गराउने कुरा आदर्शकै विषय बनेर रह्यो ।

अब प्रश्न उठ्छ, यसरी खरिदबिक्रीमार्फत जनप्रतिनिधि बने/बनाइएकाहरूले जनताको सेवा शुरु गर्छन् कि चुनावमा लगानी गरेको धन दशौँ दोब्बर फिर्ता गर्नेतिर लाग्छन् ? पाँच वर्षमा मुस्किलले एकचोटि आउने चुनावको महत्व नबुझी मतदाताले अमूल्य मत यसरी खेर फालेका छन् । उम्मेदवारहरूले मतदाताको अधिकार नै खरिद गरिदिएका छन् । खेल-तमासा समाप्त भएको छ, अब पाँच वर्ष धुरुधुरु रुने मात्र हो जनताले, अरु हुनेवाला केही छैन । पैसामा भोट किनेकाहरूले मनलाग्दी भ्रष्टाचार गरेको टुलुटुलु हेरिबस्ने हो अब । हिजो मिठा कुरा गर्नेले अब कति कर्कश व्यवहार गर्ने हुन्- सुनिबस्ने हो अब । सेवासुविधा माग गर्दा अब तिनले सोझै भन्नेछन्- ‘किनेर पाएको भोट हो, कसैले जनी गरेर दिएको होइन !’ यस्तो सुन्दा आक्रोशको आगो त बल्छ होला, तर विरोधमा आवाज उठाए पनि केही हुनेवाला छैन भन्ने त विगतले पनि देखाइसकेकै छ । बर्मा गए पनि कर्म त सँगसँगै भनेजस्तै हो । कठै हामी नेपालीको जूनी !