बुद्धजयन्तीलाई बौद्ध धर्मको रुपमा होइन, शान्तिको प्रतीकको रुपमा मान्न जरुरी

बुद्धजयन्तीलाई बौद्ध धर्मको रुपमा होइन, शान्तिको प्रतीकको रुपमा मान्न जरुरी


  • प्रकाश के.सी., लण्डनबाट

हिजो आइतबार, लण्डनको ट्राफाल्गर स्क्वायरमा २५६६औं बुद्धजयन्ती मनाइयो । बुद्धजयन्ती खास होइन, तर बेलायतमा, विशेषगरी लण्डनको ट्राफाल्गर स्क्वायरमा जम्मिएर बुद्ध नेपालमा जन्मिएका हुन्, नेपाल शान्तिको जननी भूमि हो, नेपाली शान्तिका दूतहरु हुन् भनी प्रचारप्रसारलाई अन्तर्राष्ट्रियकरण गर्न खोजिएको प्रयत्नचाहिँ खास हो, जो विगत केही वर्षअगाडिबाट यहाँ चलेको छ । केही गीत गायन, नाच तथा झाँकीको प्रस्तुति गरिने गरिएको यस कार्यक्रमको आकर्षण भने यहाँ ह्वात्तै घटेको स्पष्टै लाग्दछ । आयोजकहरुबाट अन्तर्राष्ट्रिय प्रतिनिधित्वहरुको सहभागिता गराउने प्रयत्न गरिएको देखिए तापनि कार्यक्रमको स्तर अति नै कमजोर देखिएको बुझिन्छ । नेपालको राष्ट्रिय गरिमासँग खासगरी विदेशी भूमिमा स्पष्ट जोडिन सक्ने विषयलाई हल्का पारिएको भन्ने आयोजकहरुलाई आरोप लाग्न सक्ने अवस्था देखिएको छ ।

साह्रै दुःखको कुरो हो, नेपाल बौद्ध धर्मावलम्बीहरुका लागि मुश्लिमहरुका लागि साउदीको मक्का-मदिना अनि क्रिश्चिएनहरुका लागि इजरायलको जेरुसेलुम जस्तो बन्न सकेन, जति नै प्रवर्द्धन गरे तापनि नेपालको कपिलबस्तु, संसारभरिका वुद्धिस्टहरुका लागि पवित्र स्थल बन्न सायदै सक्ला । धेरै कारणहरु छन्, त्यता केही हेर्ने प्रयत्न गर्छु ।

ई.पू. ६२३ मा रुपन्देही जिल्लाको कपिलबस्तुमा, २९ वर्षको उमेरमा गृह त्याग गरेर तत्कालीन भारतको वोधगया भन्ने स्थानमा वुद्धत्व प्राप्त गर्न हिँड्ने गौतम वुद्धको जन्म भएको बताइन्छ । वोधगयामा बसेको ६ वर्षपछि बुद्धत्व प्राप्त गरेका बुद्ध, शाक्य वंशका थिए, जसको ८० वर्षको उमेरमा भारतको कुशीनगर भन्ने स्थानमा मृत्यु भएको हो । बुद्धका शान्तिप्रदायक विचारहरुले तत्कालीन समाजमा विस्तारै ठाउँ बनाउँदै गयो, प्रशंसकहरुलगायत सोही पर्यायले भक्तहरुका जमातहरु पनि बढ्न थाले, विस्तारै बुद्धका वाणीहरुउपर नीतिहरु निर्माण गरिन थालिए, तत्कालीन परिवेशमा समाजलाई सूचारु अनि सुव्यवस्थित गर्नको लागि कानून होइन, नीतिगत शैलीहरुको प्रयोग गरिन्थ्यो र सोही बेला बुद्धका नीतिगत उपदेशहरु विस्तारै सबल व्यवस्थित सामाजिक नीति बन्न गयो, जो कालान्तरमा उनको मृत्युपछि स्थापित सिद्धान्तहरु बने, जसलाई तीब्बत, थाइल्याण्ड, कम्बोडिया, बर्मा, श्रृलंकामा भक्तहरुद्वारा धार्मिक शैलीको रुपमा प्रचलित गराउन थालिए अनि सो वौद्ध धर्मको रुपमा विद्यमान हुँदै गयो ।

यही अवधिमा, नेपालमा तत्काल किँराती शासन थियो र नेपालको तीब्बतसँग निक्कै नजिकको सम्वन्ध थियो । आपसी विवाहको सम्वन्धले नजिकिएका यी दुई मुलुकमा आम जनतालाई शिक्षित पार्ने उदेश्यका साथ वोन धर्म मान्ने तीब्बतीहरुले विस्तारै वौद्ध धर्मको रुपमा समाजिकता बनाएको शैली, मूल्य र मान्यतालाई विस्तारै नेपालमा भित्र्याइएको हो तथापि, गौतम वुद्ध शाक्य वंशका भएकाले नेपालमा नेवारी समुदायमा महायाना वौद्धिक आस्थालाई मानिने गरिएको थियो । हिन्दू धर्ममा बुद्धलाई विष्णु भगवानको नवौं अवतार मानिन्छ, त्यसैले हिन्दू धर्म अनि बुद्ध धर्मलाई एकै रुपमा हेरिने गरिन्थ्यो । अचानकै माओवादी आन्दोलनको क्रममा नयाँ राज्य (शासन) वा पुरानो राज्य (शासन) भन्दै विभाजन गरेर साधारणतया आम बुझाइमा हिन्दू धर्म मान्ने क्षेत्रीबाहुनहरु र वौद्ध धर्म मान्ने जनजातिहरु हुन् भन्ने भ्रमलाई फैलाइयो, कतिपय सर्वसाधारण जनजाति परिवारहरु यसै विषयलाई लिएर अन्योलमा परेको अद्यावधि पनि पाइएको छ ।

अब मुख्य बुँदा के हो भने, वुद्ध नेपालमा जन्मिएका हुन्, वुद्ध शान्तिका दूत हुन् भनी अचानकै त्यसको प्रशस्तीलाई सर्वव्यापी बनाउने प्रपञ्चहरु सतहिएका छन्, फैलिएका छन्, त्यसको उत्कृष्ट रुप गौतम वुद्ध अन्तर्राष्ट्रिय विमान स्थल हो । करोडौं खर्च गरिएको सम्वर्द्धन अनि प्रवन्ध गरिएको कपिलबस्तु क्षेत्र हो । एसियाको तारा भनेर चिनिने अनि संसारमा सबैभन्दा ज्यादा मूर्ती बनाइएका वुद्धलाई मानिने, पुजिने दशवटा राष्ट्रहरुभित्र नेपालको नाम पर्देन । हिन्दू धर्मका पृष्टपोषक बनेका कतियौं शासकहरुले गौण रुपमा स्थापित गरेर वौद्ध धर्मलाई छायामा पारेकोले गर्दा र पछिल्लोपटक सामाजिक तथा राजनैतिक खेलको रुपमा राखिएकोले गर्दा पनि नेपालमा वौद्धको महिमा अझै उकासिन सकेको छैन । आजभोलि त, नेपालमा वौध धर्म आफैमा अन्यौल अवस्थामा अनि विरोधाभास शैलीमा अव्यवस्थित पो हुँदै छ । नेपाली राष्ट्रिय गीतमा नअटेको वुद्धलाई नेपाली आम मनमा झन् जटील पार्दै लगिएको छ । अचानकै वौद्ध धर्म अहिले तिब्बेतीएन धर्म बन्दै गएको छ । शाक्य वंशका वुद्धका उपदेशहरु अहिले तिब्बेतीएन शैलीले झ्याँग्गिएका छन् । नेवारहरु पनि महायाना वौद्धिक आस्थालाई बिर्सेर तिब्बेतीएन मन्त्रोचारणहरु सिक्न व्यस्त छन्, अनि यता गुरुँगहरु तिब्बेतीएन मन्त्रहरुलाई गुरुंग भाषामा ढाल्ने प्रयत्नमा लागेका लाग्दछन्, वास्तवमा यो पनि खास समस्या होइन, भाषाले होइन, वुद्धका नीतिले सबैलाई एकै आस्थाभित्र समाहित भने गरेको मान्नुपर्छ ।

बुद्ध धर्म नेपालको लागि तर धर्म मात्र होइन, यदि वुद्ध नेपालमा जन्मिएका हुन् भने । नेपाल शान्तिका जननी स्थल हो भनिनु ज्यादा जरुरी छ । यही भावनालाई सगर्वित आम मनमा राख्ने हो भने, वुद्धलाई नेपाली शैलीमा नेपालभरि आम बनाइनु पर्दछ सरकारी स्तरमा । राष्ट्रिय विभूतिको रुपमा वुद्ध जयन्ती मनाइनु पर्दछ, र त्यसको साथसाथमा अनि नेपथ्यमा आउने आस्थालाई वौद्ध धर्म मान्दै सोको नेपालीपनमा प्रभावित पारिनु जरुरी छ, सान्दर्भिक गर्दै प्रवन्ध गरिनु पर्दछ । देश तथा विदेशमा सरकारी प्रवन्धमा वुद्धको प्रशिद्धीको आम गरिनु पर्दछ, जसले धर्मभन्दा राष्ट्रिय अभिमान अनि शानको रुपमा विज्ञापित गरिनु जरुरी छ ।