आत्मघाती, भाषामारा विषाक्त उद्देश्य र योजनाअनुरूपको पाठ्यक्रम तथा शब्दकोशहरू तयार गरेर आम अभिभावकहरूबाट शुल्क उठाएर भविष्यका होनहार कर्णधारका रूपमा रहेका अवोध बालबालिकाहरूको शुद्ध भाषा सिक्न पाउने नैसर्गिक मानवधिकारलाई हनन गरिएको छ ।
- रामेश्वर राउत मातृदास

समय र समाजको आवश्यकताअनुसार यो संसारमा अनेकौँ परिवर्तनहरू भइरहन्छन् । प्रविधि र परिवर्तनले कुनै पनि देश र समाजको मूल तत्वलाई नै माटियामेट बनाउने हैन र, बनाउँदैन । संसारका अन्य देशहरूको भाषा, साहित्य कला, धर्म, संस्कार, संस्कृति र परम्पराहरूचाई चाहिँ आधुनिक युगमा विकसित भएको प्रविधिले जोगाउने, बचाउने र विकसित बनाउने अनि नेपाल र नेपालीहरूले चाहिँ ‘सरल र प्रविधि मैत्री’को आवरणमा आफ्नो भाषा, भूगोल, इतिहास, धर्म, परम्परालगायतका सम्पूर्ण अस्तित्वको जगलाई नै तिलाञ्जली दिनुपर्ने ? के यो प्रविधि नेपाल र नेपालीहरूको मौलिकतामा भएका तत्वहरूलाई मात्र समाप्त पार्ने उद्देश्य र योजनामा आएको हो त ? यस्ता आधारहीन, उडन्ते र कपोलकल्पित कीर्ते ‘सरल र प्रविधिमैत्री’को बर्को ओढाएर नेपाली भाषाको जग, मुटु र मेरूदण्ड अर्थात् ‘देवनागरी लिपि र वर्णाक्षरहरू’ नै समाप्त पार्ने योजनाहरू धमाधम सप्रमाण पुष्टि र प्रमाणित हुन थालेका छन् ।
वि.सं. २०१३ देखि शुरू गरिएको प्रयोजनहीन झर्रोवादलाई नेपाली समाजले स्वीकार नै गरेन । आफ्नो कुल र मूल धरातलबाट नेपाली भाषाको विकासक्रमले निरन्तरता पाइरहेपछि नेपाली भाषा विकासको गतिलाई तगारो हाल्ने विषाक्त योजना ‘झर्रोवाद’ले हावा खाएको देखिन्छ । यही छद्म भाषाघाती योजनाको दोस्रो अवतारको रूपमा ‘सरल र प्रविधिमैत्री’ नामाकरणबाट नेपाली भाषामाथि निरन्तर प्रहार हुने क्रम चलिरहेको दिनको घामझैँ छर्लङ्ग भएको छ ।
मौलिक लिपि र वर्णाक्षरहरू समेतको लेख्यभाषा मानवसमाजको महानतम् र दुर्लभ प्राप्ति हो । यो सौभाग्य नेपाल र नेपालीलाई हाम्रा पूर्वजहरू ऋषिमुनि (आदी वैज्ञानिक)ले गरिदिएकोमा उहाँहरूप्रति हरेक युगका प्रत्येक जिम्दा नेपालीहरूले बारम्बार कृतज्ञता प्रकट गर्नैपर्दछ । नेपालको अर्घाखाँची जिल्लाको पणेना भन्ने ठाउँमा जन्मनुभएका यो पृथ्वीकै प्रथम भाषा वैज्ञानिक वाणीनि ऋषिले देवाधिदेव महादेवको डमरू ध्वनिबाट गर्नुभएको १४ सूत्रमा आधारित वर्णक्षारहरूको महानता त्रिकालजयी छन् । जुन सूत्र निम्नानुसार रहेका छन्- अईउण ।। १ ।। ऋलृक ।। २ ।। एओड ।। ३ ।। ऐऔच ।। ४ ।। हयवरट ।। ५ ।। लँण ।। ६ ।। ञमङगनम् ।। ७ ।। झभञ ।। ८ ।। घढधष ।। ९ ।। जबगडदश ।। १० ।। खफछठचटतव ।। ११ ।। कपय् ।। १२ ।। शषसर् ।। १३ ।। हल् ।। १४ ।।
यी वर्णाक्षरहरूलाई संसारका सम्पूर्ण भाषावैज्ञानिकरूले निर्विवाद आत्मसात गर्नुभएको पाइन्छ । आधुनिक युगका वैज्ञानिकहरूले समेत प्रथमः भाषावैज्ञानिक वाणीनि ऋषिबाट प्रतिपादन भएको १४ सूत्र नै तथ्यगत वर्णाक्षर भएको वास्तविकतालाई स्वीकार गरेको पाइन्छ । यसको तुलनात्मक पुष्टि प्रमाणका क्रममा वैज्ञानिकहरूले प्राप्त गरेको परिणामलाई संसारमा प्रचलित विभिन्न भाषाहरूमा सम्प्रेषण गरेका ती भाषामा सम्प्रेषित सन्देशहरू एक ठाउँबाट अर्को ठाउँमा पुग्दा बेग्लै अर्थ बोध भएको तर देवनागरी लिपिमा आधारित भएका वर्णाक्षरहरूमा पठाएको सन्देशचाहिँ चन्द्रमा वा स्पेशमा पुग्दासमेत परिवर्तन नभै एकरूपता रहेको पाए । वैज्ञानिकहरूको यो अन्वेषणात्मकता र वेदको मूल स्रुति (ऋग्वेद) सँग पूर्णतः मेल खाएको पाइन्छ । यही तथ्यका कारण संसारका विकसित देशहरूले आधुनिक एवम् अत्याधुनिक समयमा विकसित भएका र गरिएका इमेल, इन्टरनेट र कम्प्युटरका सफ्टवेरहरूले सहजतापूर्वक ग्रहण गर्ने र परिणामहरूलाई दीर्घकालिन गराउने मूल भाषाको प्रमुख आधार देवनागरी लिपिमा आधारित पाणीनि प्रतिपादित वर्णाक्षरहरूलाई बनाउन सम्झाइरहेका देखिन्छ । यो तथ्यको जीवन्त वास्तविकताविपरीत प्रथम भाषा वैज्ञानिक पाणीनिकै कुल र मूलभूमिका तथाकथित विद् र विज्ञको पगरी भिरेका ‘खाइदेउ’हरू भने देवनागरी लिपि र वर्णाक्षरहरूलाई नै ‘सरल र प्रविधिमैत्री’को आवरण ओढाएर धमाधम समाप्त पार्ने मूर्खतापूर्ण बइमानीमा कम्मर कसेर लागिरहेको दयनीय अवस्था छ ।
देवनागरी लिपिसँग अविनाशी सत्यको धरातल उभिएको र अडिएको छ भन्ने शास्त्रको अभिमत छ । यस धरतीमा ज्ञानको पनि ज्ञान, विज्ञानको पनि विज्ञान, चेतनाको पनि चेतना, शक्तिको पनि शक्ति, शास्त्रहरूको पनि शास्त्र, धर्महरूको पनि धर्माधार ‘वेद’लाई यस धरातलमा अवतरण गराउने लिपि भनेकै देवनागरी लिपिलाई मानिएको छ । मूलतः देवनागरी लिपि भनेकै महादेवी माता पार्वती, गुह्यकाली, गुह्येश्वरीलाई मानिएको शास्त्रसम्मत अभिमतलाई यो श्लोकले प्रष्ट पारेको पाइन्छ । जस्तै–
लिपिर्लिपिमयी लेखा लिपिमूर्तिस्वरूपिणी ।
ललना ललनीलोला लङ्गेश्वरनिषेविता । । १६८ । ।
ललिता ललिताङ्गी च ललितालकशालिनी ।
ललिता ललिताक्षी च ललनागणसेविता । । १६९ । ।
यो संसारमा गणितको संख्याले गन्न र भन्न नसकिने भाषाहरू छन् । ती सबै भाषाहरूको गुण विशेषताहरू छन् र होलान् । तर वेदको ओज र औकातलाई अवलम्बन गरेर अर्थपूर्ण बनाउन सक्ने ताकत र क्षमता देवनागरी लिपि र डमरूध्वनिबाट निःसृत भएका पाणीनीय १४ सूत्रमा आधारित भएका वर्णाक्षरहरू बाहेक अन्य कुनै पनि लिपि र वर्णाक्षरहरूमा नभएको तथ्यलाई तत्ववेत्ता भाषा वैज्ञानिकहरूले प्रष्ट्याउँदै आइरहेका छन् । देवनागरी लिपि वर्णाक्षरहरूमाथि बारम्बार योजनावद्ध रूपमा अनेकौँ कपोलकल्पित कीर्ते र जालसाजीपूर्ण उपाय रचेर विषाक्त हमला भैरहनुका अनेकौँ कारणहरूमध्येको प्रमुख कारणचाहिँ देवनागरी लिपि र वर्णाक्षरहरूमा रहेको अगम्य शक्ति र ताकत रहेको देखिन्छ वेदमा मन्त्रशक्तिको रहस्य यही देवनागरी लिपि र वर्णाक्षरहरूमा रहेको अगम्य र अदम्य शक्ति र ताकत नै रहेको देखिन्छ । वेदमा भएका सम्पूर्ण मन्त्रशक्तिको रहस्य पनि यही देवनागरी लिपि र वर्णाक्षरहरूमा नै छन् । संस्कृत प्राकृत (नेपाली) भाषाको मूल र मेरूदण्ड भनेकै देवनागरी लिपिमा आधारित वाणीनीय वर्णाक्षरहरू नै हुन् । देवनागरी लिपि र वर्णाक्षरहरूको समाप्ति भएपछि संस्कृत, नेपाली, हिन्दी, पाली, मैथली, भोजपुरी, अवधी, नेवारी लगायतका भाषाहरू एकसाथ समाप्त हुन्छन् । यी भाषाहरूमा अभिलेखीकरण भएका इतिहास, भूगोल, राजनीति, अर्थनीति, धर्मग्रन्थहरू तन्त्रशास्त्र, मन्त्रशास्त्र, यन्त्रशास्त्र लगायतका मूल्यवान तत्वहरूलाई एउटै घानबाट माटियामेट बनाउन सकिने वृहत्तर योजना र उद्देश्यकासाथ देवनागरी लिपि वर्णाक्षरहरूमाथि दशैदिशाबाट विषाक्त हमलालाई तीव्र बनाइएको देखिन्छ । गोप्य रूपमा लुकीछिपि वि.सं. २०१३ देखि भारतको वनारसबाट आरम्भ भएको भाषाघात गर्ने यो विषाक्त हमला २०६२÷०६३ सालको परिवर्तनपछि नेपालीहरूको राज्यकोषको रैरकमबाट नेपाली अनुहारकै भारवाहकहरूलाई प्रयोग गरेर हाम्रै थलोकिलोमा यो पीडादामी अत्याचार मलको मूलाझैँ मौलाइराखेको दिनको घामझैँ छर्लङ्ग भैराखेको छ । शिक्षालय, विद्यालय विश्वविद्यालयहरूमा अभिभावकहरूलाई बकाइदासँग शूल्क तिराएर, मन्त्रालयलगायतका नीति–निर्माण गर्ने निकायबाटै भाषाघात गर्ने नीति तर्जुमा गराएर आमनेपाली बालबालिकाहरूलाई नेपाली भाषा पढाउने शिक्षक, शिक्षिका र प्राध्यापकहरूबाट आफ्नै भाषाको लिपि वर्णाक्षरहरूलाई नै समाप्त पार्ने पठनपाठन भैराखेको छ । संसारको कुनै पनि सार्वभौमसत्तासम्पन्न देशमा विवेकहीन अत्याचारलाई छुट र क्षमा हुँदैन र भएको देखिँदैन । नेपालमै पनि किराँत, राणा, शाह र पञ्चलगायतका शासकहरूले देशको अस्तित्वसँग अभिन्न रूपमा जोडिएको भाषामाथि वर्तमान समयमा जस्तो विवेकहीन यस्तो भाषापाती अत्याचार भएको पाइँदैन ।
भौगोलिक दृष्टिकोणले सानो र जनसङ्ख्याको हिसाबले नेपाल मझौला देशहरूमा परेको भएतापनि बहुविविधताका कारण सृष्टिकै विशाल क्षेत्रमा गरिएको पाइन्छ । यति सानो भूगोलमा १२५ मूल जाति र हजारौंँ उपजातिहरू एवम् १२७ भाषा, साहित्य, कला, संस्कार संस्कृति र प्राचीनतम् भाषिक महिमामण्डित हुनुको महानता नेपालसँग रहेको छ । यो सबै तत्वहरूलाई एकताको सूत्रमा जोड्ने तत्व, शक्ति र सम्बन्ध सेतु भने आरम्भदेखि नै यही भाषाको भूमिका रहेको देखिन्छ ।
नेपाल राष्ट्रको भौगोलिक एकतात्मक संरचना गरेर आम नागरिकहरूलाई आफ्नो अस्तित्वबोधको प्रभावशाली जागरणको आरम्भ श्री ५ पृथ्वीनारायण शाहबाट भएको र भावनात्मक सम्बन्ध सेतुको विस्तार सरल भाषाको माध्यमबाट आदिकवि भानुभक्तले गरेको तथ्य जगजीवन सर्वविदित नै छ । यी दवै ऐतिहासिक विभूति एवम् भाषा र भूगोलमाथि एकसाथ विषाक्त प्रहार भैराखेको जीवन्त वास्तविकता नेपाली भाषामाथि भैराखेको अन्यायपूर्ण गतिविधिबाट यथार्थता छर्लङ्ग हुन्छ ।
मूलतः नेपाल र हामी नेपालीहरू यो संसारमा भएका कुनै पनि मानव समाजमा भएको भाषा, साहित्य, कला, संस्कार, संस्कृति, सभ्यता र धर्मका वैरी–विरोधी हैनौँ । हाम्रा महान् अग्रज पूर्वजहरूबाट समेत यस्तो तुच्छ र छुद्र कुकर्महरू भएका छैनन् । पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दा समेत एकीकृत भएका भूभागमा बसोबास गर्ने नागरिकरकलाई उनीहरूले मान्दै आइरहेको चालचलन, धर्मलगायतका सबै चालचलनहरूलाई ‘आफ्ना कुलाधर्म’लाई सधैं कायम राख्नु, नछाड्नु भन्ने सहिष्णुतापूर्ण सन्देश थियो । यही कारणले गर्दा नै नेपाल र नेपाली समाजमा विविध, भाषा, साहित्य, कला, संस्कार, संस्कृति, सभ्यता र धर्मको निरन्तरता रहेको देखिन्छ ।
शब्दकोश भाषाको संविधान हो । शब्दकोशबाट सुधारिएको वा बिगारिएको अवस्थाले मानव समाजको भाषा प्रयोगमा गम्भीर र दीर्घकालिन असर र प्रभाव पर्छ । नेपालको पहिलो शब्दकोश पण्डित चक्रपाणी चालिसेबाट संकलित एवम् सम्पादित वि.सं. १९८९ सालमा प्रकाशित भएको ‘बगलीकोश’लाई मानिएको छ । आकारले सानो भएतापनि लिपि र वर्णाक्षरहरूको संरक्षक शब्दकोशका रूपमा ‘बगलिकोश’लाई नै मानिएको छ । किनकि यो कोशले हाम्रो भाषामा भएका सोह्र वटा स्वरवर्ण (१६)हरू, छत्तीसवटा व्यञ्जन वर्ण (३६)हरू र बाह्रवटा बाह्रखरी (१२)हरूलाई कायम राखेको पाइन्छ । यस्तै बालचन्द्र शर्माद्वारा सङ्कलित एवम् सम्पादित भएको वि.सं. २०१९ सालमा प्रकाशित भएको श ‘बृहत्तर नेपाली शब्दको ‘श’ ले पनि नेपाली भाषालाई जगाउन, जोगाउन र बढोत्तरीका लागि दर्विलो टेवा पुगेको देखिन्छ ।
‘सरल र प्रविधि मैत्री’ नामक आत्मघाती, भाषामारा एवम् गैरकानूनी र असंवैधानिक विषाक्त योजनाअन्तर्गत नेपाली भाषामा मौजुदा रहेका ६४ वटा वर्णाक्षरहरूमध्ये बाह्रखरीका १२ वटा वर्णाक्षरहरूमध्ये ‘दीर्घ’ जति क्रमशः हटाएर ह्रस्व मात्र राख्ने, स्वरवर्णका १६ वटा वर्णहरूमध्ये ६ वटालाई राखेर १० वटालाई विस्थापित गरिदिने र व्यञ्जन वर्णअन्तर्गत भएका ३६ वटा वर्णाक्षरहरूमध्ये २९ वटालाई बाँकी राखेर ७ वटालाई कटाउने एवम् हजारौँ वर्षको अभ्यास, प्रयोग र परीक्षणबाट शुद्ध, परिष्कृत र स्थापित भैसकेका सम्पूर्ण संयुक्त वर्णाक्षरहरूलाई भताभुङ्ग बनाउने गैरकानूनी एवम् असंवैधानिक भाषाघाती अत्याचारलाई व्यापक बनाइएको छ । यही आत्मघाती, भाषामारा विषाक्त उद्देश्य र योजनाअनुरूपको पाठ्यक्रम तथा शब्दकोशहरू तयार गरेर आम अभिभावकहरूबाट शुल्क उठाएर भविष्यका होनहार कर्णधारका रूपमा रहेका अवोध बालबालिकाहरूको शुद्ध भाषा सिक्न पाउने नैसर्गिक मानवधिकारलाई हनन गरिएको छ । शुल्क तिरेर आफ्नै भाषाको लिपि एवम् वर्णाक्षरहरूलाई मास्ने, मेटाउने, घटाउने, हटाउने र कटाउने अशुद्ध पाठ्यपुस्तकहरू विद्यालय, शिक्षालय र विश्वविद्यालयहरूका कार्यकक्षहरूमा विद्यार्थीहरूलाई धमाधम घोकाइरहेको पाइन्छ । भात र भत्ता मात्र उग्राउने भाषा आयोग भाषामाथि योविधि अत्याचार हुँदासमेत बेखबर छ । जनताले तिरेको राजस्वबाट सुविधासम्पन्न भएर जनताले नै बोल्ने भाषाको लिपि र अक्षरहरू समेत समाप्त पार्ने जघन्य र अक्षम्य अपराध मौजूदा संविधानको धारा १(१), धारा ७(१) एवं धारा २८ को पूर्णतः बर्खिलाप हो ।
निर्देशक प्रा. बालकृष्ण पोखरेल र सदस्य विशेष सम्पादक डा. वासुदेव त्रिपाठी, प्रा.डा. बल्लभमणि दाहाल समतेको सम्पादकत्वमा तत्कालिन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित भएको वि.सं. २०४० को ‘बृहत नेपाली शब्दकोश’बाट संसारकै सर्वोत्कृष्ट देवनागरी लिपि र सर्वाङ्गपूर्ण पाणीनीय व्याकरणमा आधारित भएका वर्णाक्षरहरूमाथि निर्ममतापूर्वक कृत्रिम, कीर्ते र जालसाजीपूर्ण विषाक्त हमलाको आरम्भ भएको पाइन्छ । यो भाषाघाती महारोगको एउटा विकसित रूप २०७३ सालको ‘नेपाली बृहत शब्दकोश’ प्रकट भएको देखिन्छ । मूलतः भाषाको संविधान मानिने ‘शब्दकोश’बाट नै हजारौँ नेपाली भाषालाई भाषिकामा परिणत गराएर यसको महत्व र महानतालाई समाप्त बनाउने जघन्य र अक्ष्म्य अपराध क्रमशः ई, ऊ ऋ, ऋृ, लृ,लृ, अं, अः र व्यञ्जन वर्णहरू क्रमशः ञ, ण, श, ष, क्ष, त्र, ज्ञ, व रहेको देखिन्छ । त्यस्तै, हजारौँ वर्षको अभ्यास, प्रयोग र परीक्षणबाट शुद्ध र परिष्कृत भैसकेका नेपाली भाषामा भएका सम्पूर्ण संयुक्त वर्णहरूलाई समेत नामेट बनाउने भाषाघाती अपराधीहरूको उद्योग रहेको प्रष्ट छ । जस्तै २०७३ सालको ‘नेपाली बृहत शब्दकोश’को हमलामा परेका संयुक्त वर्णहरू– क्त, त्त, फ्या, म्या, क्या लगायत लाखौँ संयुक्त रूपमा बनिबनाऊ भैसकेको नेपाली भाषाको लेख्य स्वरूपसंरचनालाई पूर्णतः समाप्त बनाउने योजनावद्ध भाषाघाती विषाक्त हमला व्याप्त भएको देखिन्छ । नामको अगाडि प्रा.डा. झुन्ड्याएका नेपाली भाषाकै ‘विज्ञ र विद्वान’को उपाधिबाट महिमामण्डित भैसकेका पण्डितहरूबाट सार्वभौमसत्तासम्पन्न नेपाल र नेपालीहरूको नैसर्गिक, संवैधानिक मान्यता प्राप्त नेपाली भाषामाथि भएको यो हमला आणविक हातहतियार (अस्त्र), कोरोना वा ओमिक्रोन लगायतका भाइरसहरूको भन्दा विषाक्त र भयावह छ ।
भाषा र भूगोलको संयुक्त रूप नै देश हो । लेख्यभाषा समाप्त भएपछि देशको अस्तित्व समाप्त हुन्छ । कुनै कारणवश गुमेको देशको भूभाग कुनै पनि समयमा फर्काएर ल्याउन सकिन्छ । जमिनको भाग भोगचलन गर्ने मात्रै हो, कसैले बेपत्ता बनाएर लान वा खान सक्दैन । सामथ्र्य हुनेले हडपे पनि गुमाउनेले आफ्नो शक्ति एकीकृत गरेर कुनै पनि समयमा त्यसलाई यथारूपमा फर्काउन सक्छ । तर, सार्वभौमसत्तासम्पन्न नागरिकहरूको जिब्रोबाट अपहरित भएको लेख्य भाषाको लिपि र वर्णहरूलाई एकफेर प्रयोजनहीन बनाएर मेटाइसकेपछि त्यसलाई कुनै पनि शक्ति र सामथ्र्य वा रैरकम खर्च गरेर फर्काउन सकिँदैन, न त लिपि र वर्णाक्षरहरू बनाएर प्रयोगमा ल्याउन सकिन्छ । आफ्नो सनातन लेख्य साक्ष्य भाषा समाप्त भएपछि सार्वभौमसत्तासम्पन्न नागरिकहरू चीरकालपर्यन्त सामान्य पशुपन्छीहरू सरह आफ्नो देशभित्र बसे बँधुवा दास र देशभन्दा बाहिर गए शरणार्थी दास हुने मार्गप्रशस्त बन्छ ।
त्यसैले भाषाघात गैरकानूनी, असंवैधानिक, जघन्य र अक्षम्य राष्ट्रविप्लवअन्तर्गतको अपराध नै हो । कानूनी राज्यको अवधारणा अवलम्बन गरेका कुनै पनि देशहरूमा यस्तो सामान्य चेतना भएका पशुपन्छीहरू र विवेकहीन भनिएका दानवहरूले समेत नगर्ने र नगरेको भाषाघातजस्तो तुच्छ अपराध गर्ने अपराधीहरूलाई आजीवन कारावास वा फाँसीको सजाय प्रवल हुन्छ । ‘सरल र प्रविधिमैत्री’लगायत आवरणमा भाषाघात गर्ने तिथि, मिति र दसीप्रमाण समेत दस्तावेजीकरण गर्ने व्यापक र गम्भीर अध्ययनको थालनी धमाधम भैरहेको पाइन्छ । जन्मभूमिको सार्वभौम अस्तित्वलाई नै समाप्त पार्ने र आफ्नै आमाको मासु बेच्ने अधम अत्याचारीहरू हुन् भाषाघातीहरू ! यी अत्याचारीहरूको चिहानलाई समेत समय र जिम्दो समाजले क्षमा र छुट नदिने निश्चित छ ।
प्रतिक्रिया