मानसिक दासत्व सबैको निमित्त हानिकारक !

मानसिक दासत्व सबैको निमित्त हानिकारक !


राजा महेन्द्रको सामाजिक कार्यक्रम ‘गाउँफर्क राष्ट्रिय अभियान’को कार्यक्रम हुबहु उतारेर बनाएको ‘आफ्नो गाउँ आफै बनाऔँ’मा एमाले नाक फुलाउँछ । २०२४ सालमा सार्वजनिक स्थलमा छुवाछुतलाई दण्डनीय बनाइसकिएकोमा फेरि त्यसैलाई नौलो कानुन बनायौँ भनेर माओवादी आफ्नो पिठ्यूँमा धाप मार्छ । २०२४ मै लागु भएको भूमिसुधार र हदबन्दी हाम्रो कार्यक्रम थियो भनेर नेपाली काङ्ग्रेस धक्कु लगाउँछ । यो सब लागु गर्ने राजा महेन्द्रको नाम भने अपच हुन्छ भने यो मानसिक दासता नभएर के हो ?
  • स्वयम्भूनाथ कार्की

आफ्नो प्रशंसा सुन्ने लालसा, आफूले गरेको हरेक काम ठिक हो भनियोस् भन्ने इच्छा हानीकारक भए पनि यसको आकर्षणबाट मुक्ति पाउन असम्भवप्रायः छ । यो एक यस्तो लालसा हो जसले हरेक कालमा हरेकको कुभलो नै गरेको छ, कयौँ शक्तिशालीहरूलाई धुलो चटाएको छ । तैपनि यसको आकर्षणमा कुनै कमी आएको छैन । मधुमेहका बिमारीको गुलियोप्रतिको आकर्षण जस्तै ! समाजमा चाटुकारहरूको उत्पादन गर्छ यसले । यस्ता चाटुकारको जमातमा बिस्तारै मानसिक दासहरू पैदा हुन थाल्छन् । जुन प्रक्रिया यति सुक्ष्म हुन्छ कि आफू चाटुकारबाट मानसिक दासमा कहिले परिवर्तन भइयो त्यो पत्तै हुन्न । झलक्क हेर्दा मानसिक दास र चाटुकारमा खासै भिन्नता देखिन्न तर यी दुवैमा अकाश-पातालको अन्तर हुन्छ ।

जहाँ चाटुकार अवसरवादी हुन्छ, आफ्नो भलो-कुभलो सोच्ने क्षमता राख्छ भने मानसिक दासमा सबैभन्दा पहिले बुद्धि-शुन्यता आउँछ । उनीहरूको स्वतन्त्र चिन्तन हराएर जान्छ अनि आफ्नो मालिकका हरेक कुरा युक्तिसंगत लाग्न थाल्छ, स्वतन्त्र चिन्तन समाप्त हुन्छ । अति वफादारीबाट लादिएकाले विवेकशुन्य भएर आफ्नो मालिकको विरोध सुन्न र सहन नसक्ने बानीको विकास हुन्छ । चाटुकारले पनि यही चरित्र देखाउँछन्, तर उनीहरूलाई यस्ता कुराले रिस उठ्दैन । आफूले चाकरी गरेकाको क्षमता/हैसियतमा आएको फरकको निरन्तर मुल्याङ्कन गरिरहेका हुन्छन् । कतिखेर विरोधिमा सामेल हुने हो यदि आफ्नो त्यो निर्णय गलत भयो भने कसरी फर्कने हो त्यसमा चाटुकार पोख्त हुन्छन् । मालिकलाई भने यी दुवैको बुद्धि र क्षमताले केही लाभ हुन्न ।

चाटुकारले केवल आफ्नो भलो सोचेको हुन्छ, कुनै-कुनै बेलामा त आफ्ना सबैभन्दा नजिकको तथा प्यारो परिवारजनको पनि पर्वाह गरेको हुँदैन । यसको विपरीत मानसिक दासमा सोच्ने/विचार गर्ने क्षमता नै मरेको हुन्छ, त्यसैले आवश्यक भएको बेलामा यस्ताबाट कुनै सहायता मालिकले पाउन सक्दैन । अमरलता जस्तै यी केवल मालिकको जीवनरस चुसेर बाँच्ने परजीवी हुन् । नेपालमा राजतन्त्र पाखा लगाउनमा राजतन्त्रविरोधिको भन्दा राजतन्त्रसमर्थक चाटुकार र मानसिक दासहरूको हात कम छैन । यस्ता मानसिक दासहरू गणतन्त्रसमर्थकमा संख्यात्मक रूपमा धेरै देखिएका छन् । यस्तो हुनको कारण नेपालको राजतन्त्रले बेला-बेलामा यस्ताको समुहबाट आफूलाई अलग गर्ने प्रयत्न पनि गरेको थियो । त्यसैले राजतन्त्रको पक्षमा भन्दा चाटुकार तथा मानसिक दासहरूको फौज विरोधिमा ज्यादा छ ।

नाम पनि लिन नहुने जस्तो गरेको राजा महेन्द्रको सामाजिक कार्यक्रम ‘गाउँफर्क राष्ट्रिय अभियानको’ (यहाँ २०३२ साल भन्दा पहिलेको गाउँफर्कको कुरा गरिएको हो) कार्यक्रम हुबहु उतारेर त्यसमा राज्यकोषको खर्चको प्रावधान राखी बनाएको ‘आफ्नो गाउँ आफै बनाऔँ’मा एमाले नाक फुलाउँछ । २०२४ सालमा सार्वजनिक स्थलमा छुवाछुतलाई दण्डनीय बनाइसकिएकोमा फेरि त्यसैलाई नौलो कानुन बनायौँ भनेर माओवादी आफ्नो पिठ्यूँमा धाप मार्छ । २०२४ मै लागु भएको भूमिसुधार र हदबन्दी हाम्रो कार्यक्रम थियो भनेर नेपाली काङ्ग्रेस धक्कु लगाउँछ । जे-जसको भए पनि यो सब लागु गर्ने राजा महेन्द्रको नाम भने अपच हुन्छ भने यो चाटुकारिता वा मानसिक दासता नभएर के हो त ?

दोषमुक्त त राजतन्त्र पनि छैन, पञ्चायती संविधानमा २०३२ सालमा गरिएको दोश्रो संशोधन र त्यसपछिको चाटुकारको जगजगी नै आजको नेपालको दुर्दशाको बिजारोपण हो भन्दा गलत हुँदैन । २०१७ देखि २०२८ सम्ममा राजा महेन्द्रले बसाएको जगमा २०३२ देखि निरन्तर प्रहार हुँदा पनि भत्किसकेको छैन । शाहहरूले केवल भौतिक एकिकरण गरे, मनको एकिकरण गरेन भनेर चिच्याहट गर्नेहरू नै तेरिया मगरलाई केहीले नेपाली भएर पनि भोट दिएनन् भन्ने रोड्याइँ गर्छन् भने के यो मनको एकिकरण हैन र ? सुस्ता र कालापानी दुख्ने नेपाली मन हैन र ? तर मानसिक दासका मालिकलाई यो सत्य मन पर्दैन, त्यसैले यो सत्यलाई अस्विकार गरिन्छ । अवचेतन मनले भने यो तथ्य स्विकार मात्र गरेको छैन, यसबाट पाइने अधिकार पनि उपभोग गरेको छ ।

आज विदेशी फौजमा सेवार्थ गएकाहरूलाई गोर्खाली भनेर चिनिन्छ । गोरखाका राजा पृथ्वीनारायण शाहले जोडेको मुलुकलाई गोर्खा हैन नेपाल भनिन्छ । यस गोर्खा जमातमा गोर्खाका भन्दा कोशीपूर्वकाहरूको बाहुल्यता छ । तैपनि गोर्खा भनेर गरिएको प्रशंसामा मन प्रफुल्ल हुन्छ । यति मात्र नभइ अहिले भारतीय भूमि भएको स्थानमा गोर्खा शब्दमै अपनत्व राखेर गोर्खाल्याण्डको आन्दोलन छ । यो मनको एकता हैन भन्ने कुरा मानसिक दासता हैन र ? सहीलाई सही गलतलाई गलत भन्न नडराउन् भनेर ‘नबिराउनु नडराउनु’ भनिएको थियो । ‘आफ्नो ब्रह्मले देखेको कुरा बोलिदिए/लेखिदिए त्यो देशको ठुलो सेवा हुने थियो’ त्यसै भनिएको हैन । आफूमा पलाउँदै गरेको मानसिक दासताबाट मुक्त भएर एकपल्ट फेरि स्वाभिमानी नेपाली भएर सोच्ने हो भने केचनाकवलका राजवंशी, दाङका थारु, काठमाडौंका नेवा, पहाडका राइ, लिम्वु, क्षेत्री बाहुन, तराईका धिमाल, मण्डल, खत्वे, मिश्रा जे-जति छन् सबैमा आफन्त छन् । नत्र भने त आफैले जन्माएको सन्तान पनि आफूभन्दा अलग हो ।