जङ्गको बेलायत भ्रमणका केही कथा अकथाहरू

जङ्गको बेलायत भ्रमणका केही कथा अकथाहरू


इतिहास
  • सुनिल उलक

पाण्डे, बस्न्यात, चौतरिया र थापाहरू बीचको राजनैतिक खिचातानीले जङ्गको उदय भएको थियो । जङ्ग केवल तानाशाहको रूपमा उदय भएका थिएनन् । उनका योगदानहरू सम्झनुपर्ने पनि धेरै कारणहरू छन् । बेलायत भ्रमणमा जाने उनी दक्षिण एशियाका पहिलो शासक पनि थिए । बेलायतमा उनले देखाएका रोब-रवाफका कारण यूरोपमा नेपाल एक धनी तथा स्वतन्त्र राष्ट्रको रूपमा पहिचान दिलाएको थियो ।

अङ्ग्रेजी शब्दमा रहेको तथा हामीले समेत अङ्ग्रेजी शब्दको रूपमा स्विकार गरिरहेको ‘टिप’ (Tips: खुशी भएर कसैलाई दिइने उपहार वा रकम) जङ्गबहादुरबाट नै बेलायतीहरूले स्विकार गरेको भन्ने गरिन्छ । पेरिसको एक ओपेरामा ब्याले नृत्य हेरिरहेका जङ्गलाई नर्तकीको नाचबाट मन्त्रमुग्ध भएपछि हातमा लगाइराखेको हिराजडित सुनको बाला नै नर्तकीसामु जङ्गले फ्याँकेछन् । नर्तकी अन्जान टोलाएर बस्दा जङ्गले चिच्याएर नर्तकीलाई ‘टिप’ भनेछ । जङ्गले त्यो उनकै लागि हो टिप भन्न खोजेका थिए । कतै-कतै यो शब्दलाई अङ्ग्रेजहरूले स्विकार गरेको मान्नेहरू पनि छन् । अर्थात्, जङ्गले ‘टिप’ भनेपछि कसैलाई खुशी भएर सामान या नगद प्रदान गर्ने कार्यलाई ‘टिप्स’ भन्न थालियो । यसको सत्यता यकिन नभए पनि सो महँगो उपहार दिएको भोलिपल्ट नेपाली महाराजाको चर्चा पेरिसका अखबारहरूमा भरिएका थिए ।

जङ्गबहादुरले बेलायत भ्रमणको समय संगीत तथा नृत्यहरूमा चाख लिने गरेको देखेपछि त्यस्तैमा एक साँझ नृत्य-नाटक हेरिरहेका बेला जङ्गबहादुरलाई रानी भिक्टोरियाले सोधिछन्, ‘तपाईं अङ्ग्रेजी त बुझ्नुहुन्न तर यहाँको गीत संगीतमा निकै रुचि लिएर झुम्नुहुन्छ…!’ जङ्गबहादुरले तत्कालै हिन्दी दोभाषेमार्फत जवाफ दिएछन्, ‘बुलबुल (एक प्रकारको चरा)को गीत हामी बुझ्दैनौँ तर हामीलाई मन पर्छ …।’

त्यस्तै, जङ्गको बारेमा एउटा रमाइलो जोक्स (सत्य नहुन पनि सक्छ) पनि छ । जङ्ग खासै अङ्ग्रेजी बोल्दैनथे तर अलि-अलि बुझ्दथे । एकदिन घुम्दै गर्दा एकदम रातो अनुहार भएको गोरा भेटेछन्, जङ्गले हात मिलाउँदै हाँस्दै भनेछन्ज्य- How bloody full you are. । तर अंग्रेजको लागि त यो शब्द bloody full भयो । अंग्रेज रिसाएर गएपछि अनौठो मान्दै जङ्गले किन रिसाएको होला भन्दै अरुलाई सोधेछन् । जवाफ सुनेपछि जङ्गलाई गल्ती गरेकोमा पछुतो भएछ ।

बेलायतको सडकमा १०-१५ सेवकहरूको भिड नै लिएर घुमिरहने जङ्गलाई आफू पहिलो नेपाली बेलायत पुगेकोमा निकै गर्व थियो । तर एकदिन अचानक एक नेपालीले लण्डनको सडकमा झाडु लगाउँदै गरेको भेटेपछि अनौठो मानेछन् । नजिक गएर सोधखोज गर्दा भक्तपुरका मोतिलाल सिंह भन्ने जानकारी पाएपछि बेलायत बसाइभरि उनलाई जङ्गले साथमा राखे । फ्रान्सको भ्रमणमा पनि मोतिलाललाई सँगै लिएर गए । जड्ग नेपाल फर्कने समय मोतिलाललाई नेपाल फर्कन आग्रह गर्दा भारतीय विवाहित श्रीमती कलकत्ता रहेको तथा नेपालमा आफ्नो कोही नभएको भनेर फर्कन मानेनछन् । बेलायती नाम Mutty Loll Sing को रूपमा बेलायतमा नै रहन थालेको देखिन्छ ।

जङ्गको बेलायत प्रवासको बीच एक प्रेमकथाले पनि स्थान लिएको भेटिन्छ । लाउरा बेलसँगको प्रेम सम्बन्धका कारण भाइ धीरशम्शेरलाई आफू बेलायत नै बस्न चाहेको तर अन्यलाई फर्कन समेत आग्रह गरेका थिए । अन्तमा बेलायतबाट फर्कंदाफर्कंदै जंगबहादुरले Laura Bell लाई एउटा औंठी दिँदै बचन दिएका थिए, ‘जब तिमीलाई कुनै किसिमको सहयोग या अन्य आवश्यकता पर्छ मलाई यो औंठीको साथ सन्देश पठाउनु, म कुनै पनि हालमा तिम्रो अनुरोधलाई पूरा गर्नेछु ।’

जब भारतमा अंग्रेजविरूद्धको आन्दोलनले उग्र रूप लिन थाल्यो । त्यतिबेला Laura Bell ले Prince या Wales लाई आफू र जंगबहादुरबीचको सम्बन्ध र जंगबहादुरले दिएको वचन बारेमा जानकारी गराए । Prince या Wales ले जंगबहादुरलाई पत्र लेख्न सल्लाह दिए । Laura Bell ले जंगबहादुरलाई त्यही औंठीको साथमा पत्र पठाए, पत्रमा लेखिन्, ‘लण्डनको हाम्रो त्यो मिठो क्षणहरूको सम्झना तपाईंलाई पक्कै होला । त्यो छोटो भए पनि मिठो सम्झना म पनि सधैं गर्ने गर्दछु । मलाई याद छ तपाईंले मलाई एउटा वचन दिनुभएको थियो । मैले आज देशकै लागि त्यो वचन पूरा गर्ने अनुरोध गर्दछु । भारतमा तपाईंको सहयोगको आवश्यकता छ । आशा छ तपाईंले पूरा गर्नुहुनेछ ।’

केही दिनपछि पत्र र औँठी जंगबहादुरले पाए । त्यसपछि अंग्रेज सरकारलाई पत्र पठाएर जंगबहादुरले आफू सहयोग गर्न तैयार रहेको जानकारी दिए । Laura लाई दिएको वचन पूरा गर्न जंगबहादुर स्वयम् तीन रेजिमेण्ट सेनाको नेतृत्व गर्दै भारतको स्वतन्त्रताको आन्दोलन दबाउन ई.सं. १८५७ मा भारत पुगे । यसपछिको इतिहास त नेपालमा सबैलाई जानकारी छ । उपहारमा नयाँ मुलुकको प्राप्ति र जंगेपिलरको स्थापना ! जंगेपिलर नहुँदो हो त नेपाली भूभाग अझ धेरै मिचिइसक्थ्यो होला ।

जङ्गले लाउरासँग पुनः भेट्ने चाहना बोक्दै वि.सं. १९३१ को माघमा बेलायत भ्रमणका लागि नेपालमा निस्केका थिए । तर बम्बइमा घोडाबाट लडेर घाइते भएको कारण उनी बेलायत जान पाएनन् । बम्बइबाट नै स्वदेश फर्किए ।

बेलायत भ्रमणमा रहेका जङ्गबहादुरसामु राष्ट्रिय धुन बजाउनुपर्ने अवस्थाको सिर्जना भयो । बेलायतले आफ्नो राष्ट्रिय धुन बजाएपछि नेपालको राष्ट्रिय धुनको बजाउनको लागि सोधियो । त्यसबेलासम्म नेपालले आफ्नो कुनै राष्ट्रिय धुन बनाएको थिएन । चतुर जङ्गबहादुरले आफ्नो साथ गएका संगीतकारहरूलाई राजामतिको धुन बजाउन लगाए । जङ्गबहादुरको बेलायत यात्राभरी यही राजामतिको धुन नै राष्ट्रिय धुनको रूपमा बज्यो ।

जङ्गको बेलायत भ्रमणको समय त्यसबेलाका प्रख्यात संगीत-संयोजक तथा संगीतकार जोहान स्ट्राउसले जङ्गको सम्मानमा विशेष संगीत सिर्जना नै गरेका थिए । सो संगीतलाई Nepaulese Polka भनेर चिनिन्छ ।