केशव स्थापितलाई पूर्व सहकर्मीको आग्रह- ‘स्थापितजी, जनतासामु क्षमायाचना गर्नुहोस् !’

केशव स्थापितलाई पूर्व सहकर्मीको आग्रह- ‘स्थापितजी, जनतासामु क्षमायाचना गर्नुहोस् !’


ट्पट्याङ र अपसंस्कृति हावी भएका कारण वामपन्थी राजनीति र लोकतान्त्रिक आन्दोलनमा दिगोपन आउन सकेन, मूल्यमा आधारित राजनीतिक संस्कृतिको विकास हुन सकेन । फलतः प्रणालीमाथि नै प्रश्न उठ्न थालेको छ । कृपया जनतासामु क्षमायाचना गर्नुहोस् र संकल्प गर्नुहोस्- अब यस्तो हुने छैन ।
  • भीमानन्द ढुङ्गाना

पूर्व सहकर्मी केशव स्थापितजी,
विद्यादेवी भण्डारीको पहिलो संसद् निर्वाचनसम्बन्धी तपाईंको अन्तर्वार्ता सुनेर त्यतिबेला नै मेरो मन चसक्क भएको थियो । त्यतिबेला निर्वाचनमा दुःख गरेका मित्र (प्रवीण) ले मेरो मेसेन्जर वालमा सो अन्तर्वार्ताको सानो क्लिप पोष्ट गर्नुभएछ । फेरि सुनेँ, मन दुख्यो । केही बोलम् त निर्वाचनको बेला, नबोलम् हदम्याद सकिएपछि के बोल्नु ? धर्मसंकट ! नेकपाभित्रको आन्तरिक बिग्रह, गुटबन्दी कोभिडको आतङ्कका बीच दुई पटकको संसद् विघटन र पक्ष/विपक्षमा नाराजुलुसको घटनाक्रमसँगै म आफू कुनै पनि पक्षमा नलागी असंलग्न रहने निधो गरेँ र, छु पनि । तपाईंको उक्त अन्तर्वार्ताको भनाइप्रति असहमति खेदले म कतै संलग्न (आबद्ध) भएको अर्थ नलागोस्- मेरा मित्रहरूलाई निवेदन (फेसबुकमार्फत) गर्दछु ।

चाबहिल क्षेत्रमा विकसित साहित्यिक आन्दोलन (नौलो प्रभात, लालिमा अनि उत्साह त्रैमासिक साहित्यिक पत्रिकाको पाक्षिक गोष्ठी) मा सहभागी हुने क्रममा संगतको कारण मेरो झुकाव वामपन्थी साहित्य (गतिविधि) र आन्दोलनतिर बढ्न थाल्यो । प्रगतिशील युवा वर्ग चाबहिलका नामबाट वि.सं. २०३६ को जनमत संग्रहमा बहुदलको पक्षमा सक्रिय भूमिका खेल्दै सामाजिक रूपमा हामी यस क्षेत्रमा स्थापित हुन पुग्यौँ । अन्ततः तत्कालीन नेकपा (माले) को धारतिर हामी धेरै युवा प्रवेश ग¥यौँ । सम्पर्क-सूत्रमा युवराज कार्की, अमृत बोहरा, दिवाकर शर्मा आदि । काठमाडौं पूर्व-उत्तर क्षेत्रको संगठन विस्तारमा सानु मिश्र, म (हाल भुइँमान्छे) र नारायण ढकालको विशेष भूमिका रहेको तथ्य आमाको आशौच बारेर बस्नुभएका नारायणजीले सुनाउँदा नयाँ पिढीका मानिस छक्क परे, यो घटना हालैको हो ।

वि.सं. २००७ को परिवर्तनदेखि नै चाबहिल क्षेत्र प्रजातान्त्रिक र वाम आन्दोलनमा अग्रणी क्षेत्र थियो । वाम आन्दोलनमा अग्रणी श्यामप्रसाद, रमेश विकल, शक्ति लम्साल हुँदै पिढी/दरपिढी तयार भइरहेको थियो भने प्रजातान्त्रिक आन्दोलनमा पनि यो क्रम जारी थियो । नेपाली काङ्ग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री बीपी कोइराला (साहित्यकार पनि) को निवास यहीँ थियो । चाबहिल मित्र मण्डल, चाबहिल पुस्तकालय र यहाँभित्र हुने व्यवस्थाइतरका धेरै गतिविधि संस्मरणयोग्य छन् । कैयौँ कार्यक्रममा संकल्प र वेदना परिवारका क्रान्तिकारी गीत घन्किएका थिए । यही क्रममा वि.सं. २०३७ मा मित्र मण्डल भवनभित्र अनेरास्ववियु (एकताको पाँचौं) को राष्ट्रिय सम्मेलन गर्न स्थान मिलाइयो । सम्मेलन शानदार रूपमा सफल भयो । सो सम्मेलनमा भोजपुरबाट प्रतिनिधित्व गरेकी विद्यार्थी विद्या पाण्डे पछि तीन पटकसम्म यस क्षेत्रको संसदीय निर्वाचन जित्दै अहिले राष्ट्रपतिको सम्मानित पदमा आसीन हुनुहुन्छ । यसरी यो क्षेत्र वामपन्थी आन्दोलनको उर्वरभूमि बन्दै गयो । चाबेल, बौद्ध, जोरपाटी, आरुबारी, मूलपानी, आलापोट र साँखूमा अभियान तीव्र रूपमा फैलिंंदै गयो । वि.सं. २०४२ मा जनपक्षीय उम्मेदवार पद्मरत्न तुलाधरको चुनावी अभियानले संगठन विस्तारमा अझ मद्दत पुग्यो ।

केशवजी तपाईंसँग मेरो यही अभियानको क्रममा सहकार्य शुरु भएको थियो । कैयौँ बैठक तपाईंको बागबजारस्थित घरमा बसियो । त्यसबेलाको तपाईंको जुझारु व्यक्तित्व आन्दोलनप्रतिको समर्पणभाव मलाई खुब मन पर्दथ्यो । यही कारण नेकपा एमाले पाँचौं महाधिवेशनको प्रतिनिधि छनौटको क्रममा रत्नराज्यलक्ष्मी क्याम्पसमा भेला हुँदा तपाईंको अलिक विद्रोही स्वभावका कारण तपाईंलाई छान्नु हुँदैन भन्ने कुरा चल्यो, मैले उहाँहरू (अग्निशिखासमेत) लाई ‘निरकुंशताविरुद्ध खुल्ला मोर्चामा लड्दै आएको व्यक्तिले दलभित्र आन्तरिक जनवादको कुरा उठाउनु स्वाभाविक हो’ भनेर सम्झाएँ । सहकर्मी साथी सानु श्रेष्ठको पक्षमा पनि माहोल बनाएँ । जनताको बहुदलीय जनवाद (जबज) को पक्षका अरु साथीलाई पनि मतदान गरियो । म आफूले प्रतिनिधि हुने रहर पनि गरिनँ ।

बहुदलको आगमनपछिको पहिलो निर्वाचनमा तत्कालीन प्रधानमन्त्री (संयुक्त सरकार) तथा नेपाली काङ्ग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई र नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारीका बीच अनौठो जम्काभेट भयो । मदनले चाबहिल मित्रमण्डल भवनको पहिलो चुनावी सभामा राजाप्रति कटाक्ष गरेको कारण युवा कार्यकर्तापंक्तिमा जोश सञ्चार भए पनि पाका मानिस बिच्किन पुगेको देखियो । यस्तो सूचना मदनलाई तत्काल गरियो, उहाँले पछिल्ला सभामा तर्कसहित आफ्ना कुरा राख्दै प्रभाव बढाउंदै लग्न सफल हुनुभयो भने भट्टराईले भने मदनको उम्मेदवारीलाई हल्का रूपमा लिनुभयो । प्रधानमन्त्री भएकोले निर्वाचनमा समय दिन पनि उहाँलाई कठिन थियो । कार्यकर्ताहरू पनि सूक्ष्म विश्लेषण नगरी बढी जयजयकार शैलीमा रमाउने र उहाँलाई जनताबीच लाने कुरामा कमी-कमजोरी देखियो । फलतः निर्वाचन मदनको पक्षमा गयो । धरानमा मनमोहनलाई काङ्ग्रेसले छोडिदिनु आफू काठमाडौं ५ बाट जित्छु काठमाडौं १ भट्टराईजीलाई छाड्न चाहेकोमा काङ्ग्रेसले नमानेको भन्ने कुरालाई मदनले बढी जोड दिएर उठाउनुभयो । त्यो माग गिरिजाबाबुले मान्ने कुरा पनि थिएन । अन्ततः यो चुनावी परिणामले भट्टरार्ईजीको राजनीतिक प्रभावमा केही धक्का लाग्यो भने मदनको राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रभाव बढ्यो ।

दासढुङ्गा घटनापछि (षड्यन्त्र) मदनको क्षेत्रमा उहाँकै धर्मपत्नी विद्यादेवी भण्डारी उम्मेदवार हुनुभयो । उहाँको अवस्था अत्यन्त भावुक थियो । महिलाहरूबीच भेटघाट कार्यक्रम राख्यो उहाँ भावविह्वल भएर बलिन्द्रधारा आँशु झार्दै रुनुहुन्थ्यो । उहाँलाई सम्झाउन निकै गाह्रो हुन्थ्यो । यस्ता धेरै घटना भए- जसको कारण महिला शक्ति जागृत भयो र अत्यन्त धेरै भावुकताका साथ शोकलाई शक्तिमा बदल्दै चुनावी मैदानमा उत्रियो । यो टोल/टोलको कथा थियो- बौद्ध महांकालका शरद् पौडेलको घरमा आमा र दिदीबहिनीहरूसँगको भेटघाट पहिलो प्रतिनिधि घटना मात्र थियो । स्थानीय युवा, कलाकार र बुद्धिजीवीहरू जुर्मुराएर उठे । हाल दिवंगत हुनुभएका साथीहरू- सानु मिश्रको महिला र स्थानीय कलाकारका कामको संयोजन तथा गोविन्दकृष्ण अधिकारीको युवाहरू बीचको त्यसबेलाको सक्रियता सम्झँदा मन भावुक हुन्छ । यो निर्वाचन धर्मसंकटकै निर्वाचन थियो । एकातिर नेपाली काङ्ग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराई र अर्काेतिर पतिवियोगको आलो घाउबाट द्रवित विद्यादेवी भण्डारी (जनताको छोरी) मैदानमा खडा भएकोले मतदातालाई निर्णय लिन सहज थिएन । आफ्नो-आफ्नो आस्था र विवेकअनुसार मानिस दुई ध्रुवमा बाँडिएका थिए । साहित्य सदन नेपालका तत्कालीन अध्यक्ष कविवर केदारमान व्यथितले भट्टराईजीको आमसभामा बोल्नुभयो । सोही संस्थाका उपाध्यक्ष वरिष्ठ साहित्यकार रमेश विकल विद्याजीको पक्षमा उभिनुभयो । एमालेइतरका वाम बुद्धिजीवीहरू खगेन्द्र सङ्ग्रौला, गोविन्द वर्तमान आदिको कलमले पनि विद्याजीको पक्ष लियो । विद्यार्थी र मजदुरहरू मतदाताको सूचीमा नाम लेखाउने बेलादेखि नै सक्रिय भए । मतदाता क्रमसंख्या उल्लेखित चिट लेख्ने र घर/घरमा पुऱ्याउने काम व्यवस्थित रूपमा गरिए । यस क्रममा मेरी पत्नीले पाएको हण्डर पनि अझै बिर्सन सकिने खालको छैन । सबै काममा स्थानीय कमिटीहरू जीवनमरणको सवाल बनाएर खटे । आफ्ना मतदातालाई सबेरै कसरी लाममा लगाउने, कसरी बुथमा शान्ति कायम राखी निर्बाध मतदानको कार्य सम्पन्न गर्नेजस्ता कुरामा बढी केन्द्रित रहे ।

यही क्रममा नेपालजित लामाको घरमा हामी (रामचन्द्र भट्टराई, प्रवीण सापकोटा आदि साथीहरू) रातभर जाग्राम बसेका थियौँ । निर्वाचन सुरु भएको महिनौँ दिनअघिदेखि म मध्यराति मात्र घर पुग्ने रुटिन बन्यो । कहिले/कहिले त मूल गेट लगाइसकेको घरमा हल्ला गरेर ताला खोल्न लगाउनुभन्दा पर्खाल चढेर कम्पाउण्ड प्रवेश पनि गरियो । भुइँतलामा भाडामा बस्न आउनुभएको परिवारको आस्था फरक परेछ, सायद उहाँले केही कुरा नगरी बाँकी भाडा दिएर अन्यत्र सर्नुभयो । यसरी हजारौँ कार्यकर्ताको योगदान र जनताको मायाको समष्टिस्वरूप परिणाम विद्याजीको पक्षमा आयो । यस्तो परिणाम आउनुमा नेपाली काङ्ग्रेसभित्रको घात/अन्तर्घातको पाटो कति सक्रिय थियो र त्यसले कति असर पारेको थियो- त्यो पनि इतिहासमा मूल्यांकन हुने विषय बन्यो ।

हो- अन्तिम आमसभा सिफलको चौरमा भएको थियो । त्यहाँ विद्याजीले गरेको भाषण सुनेर मेरो नजिकै उभिनुभएका बहुदलीय जनवादी मोर्चाका नेता प्रेमकृष्ण पाठकले विद्याजीको भविष्यमा सफल नेता हुने गुण देखिएको ठहर सुनाउनुभयो । यही सभामा विद्याजीले सेतो साडीको प्रसंग उठाएर विपक्षी दललाई श्रापित गर्ने वाक्य बोल्नुभयो । यो उहाँको आफ्नै पीडाकोे अभिव्यक्ति थियो कि केशवजीले भनेजस्तो तपाईंको इन्पुट ? विद्याजीको पीडाको परिणामस्वरूपको अभिव्यक्ति थियो भन्दा मलाईचाहिँ चित्त बुझ्छ । स्थापितजी, तपाईं विद्याजी निर्वाचन लडेको क्षेत्रको बासिन्दा अनि कुनै कमिटीको नेता होइन । यस क्षेत्रको कमिटीमा अरु थुप्रै स्थानीय नेता हुनुहुन्थ्यो- जसले सूक्ष्मभन्दा अतिसूक्ष्म कुरा विश्लेषण गर्दे निर्वाचन अभियान अगाडि बढाउनुभएको थियो । त्यसको सानो अंशमा मेरो पनि दाबी छ । तपाईंले पोष्टरमा गोबर र सेतो साडीमा रंग आफूले छर्केर विपक्षी दललाई दोष लगाएको कारण निर्वाचन जितिएको भन्ने अभिव्यक्तिबाट हजारौँ कार्यकर्ताको मेहनतको अपमान भएको छ । मालिकको नाकमा झिँगा हटाउन नाकै काटिदिएको बाँदरको कथाको सम्झना भएको छ । दुई-चारजनामा सीमित राखेर गरिएको भनिएको तपाईंको यो कुरा कथा हो कि साँच्चै भएको घटना हो ? साँच्चै हो भने पनि यो दुष्साहसमा तपाईंलाई गर्व हुन्छ किन ? यस्तो तिकडम गरेर निर्वाचन जितियो- त्यो आफ्नो कारणले थियो भन्ने पेटेण्ट राइट दाबी गर्ने धृष्टता गर्नुहुन्छ किन ?

यस्तै उट्पट्याङ र अपसंस्कृति हावी भएका कारण वामपन्थी राजनीति र लोकतान्त्रिक आन्दोलनमा दिगोपन आउन सकेन, मूल्यमा आधारित राजनीतिक संस्कृतिको विकास हुन सकेन । फलतः प्रणालीमाथि नै प्रश्न उठ्न थालेको छ । कृपया जनतासामु क्षमायाचना गर्नुहोस् र संकल्प गर्नुहोस्- अब यस्तो हुने छैन ।