यस्तो थियो महाभारतकालीन नारीवाद

यस्तो थियो महाभारतकालीन नारीवाद


नारीवादका नाममा हिन्दु धर्मशास्त्रहरूको विरोध गर्नेहरूले यस्ता कुराहरूलाई सुक्ष्म रूपले हेरेर विश्लेषण गरेजस्तो लाग्दैन । महाभारतका धेरै प्रसङ्गमा अहिलेका महिलाहरू भन्दा महाभारतकालीन महिलाहरू सशक्त लाग्छन् ।
  • बबिता बस्नेत

कहिले गान्धारीको ठाउँमा, कहिले कुन्तीको ठाउँमा त कहिले द्रौपदीको स्थानमा आफूलाई राखेर हेर्ने महिलाहरू कति होलान् ? धेरै होलान् जसले महाभारतको कथा पढेका छन्, बुझेका छन्, सुनेका छन् । कथा नै थाहा नपाइकन तिनका पात्रहरूसँग तुलना गर्ने कुरा भएन । महाभारतकालीन यी महिलाहरू स्वयम्वर (आफैले आफ्नो पति छान्ने काम) गर्थे । गान्धारीबाहेक कुन्ती र द्रौपदीले भारी सभामा विभिन्न देशका राजकुमारहरू लाइनमा राखेर स्वयम्वर गरेका हुन् । द्रौपदीलाई कसले पाउने भन्ने कुरामा शर्त राखिएको थियो । धनुषविद्यामा उत्कृष्ट हुनुपर्ने भनिएको मात्र थिएन, अभ्यास नै गराइएको थियो । कुन्तीले राजकुमारहरूको अनुहार र तिनको ‘फेसियल एक्स्प्रेसन’ हेरेरै पाण्डुलाई रोजेकी थिइन् । दृष्टिविहीनलाई छोरी नदिने भनेर उनका बाबु र भाइ धृतराष्ट्रलाई गान्धारी सुम्पन राजी थिएनन् । तर गान्धारी स्वयम् धृतराष्ट्रसँग विवाह गर्न राजी भएकी थिइन् ।

हस्तिनापुरका राजकुमार धृतराष्ट्रसँग विवाहको प्रस्ताव गएपछि गान्धार नरेशकी छोरी गान्धारीले जब आफ्ना हुनेवाला पति दृष्टिविहीन भन्ने थाहा पाइन्, उनले पनि आँखामा पट्टी बाँध्ने निर्णय गरिन् । यसो गर्नुको कारण बताउँदै उनले भनेकी थिइन्- ‘आँखा नदेख्ने (सबैतिर अध्याँरो देख्ने) मान्छेलाई बुझ्नका लागि अन्धकारलाई महसूस गर्न सक्नुपर्छ ।’ कुन्ती, द्रौपदीलगायत महाभारतकालीन नारीहरूलाई स्वयम् वर खोज्ने स्वतन्त्रता भएपनि हाम्रा आमा-हजुरआमाहरू बाबु-आमाले जसलाई दिन्छन्, जस्तालाई दिन्छन् लुरुलुरु पछि लाग्न बाध्य थिए । न उमेर मिल्नुपर्थ्यो न त देखभेट नै गर्नुपर्थ्यो, विचार मिल्ने-नमिल्ने त कुरै नगरौँ ।

‘नारीवाद’मा समानता र स्वतन्त्रताले ठुलो अर्थ राख्छ । जीवनसाथी रोज्ने अधिकारका बारेमा महिलामाथि हुने सबै प्रकारका भेदभावविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धी (सीड) मा उल्लेख छ भनी हामी गौरवका साथ भन्छौँ । महाभारतका महिलापात्रहरूले त्यो अधिकारको अभ्यास पहिल्यै गरेका थिए । महिलाले स्वयम्वर गर्ने भएकाले त्यतिबेलाका पुरुषहरू महिलाहरूबाट ‘रिजेक्ट’ हुन सक्थे । धेरै पुरुषहरूका बीच एक जनालाई माला लगाइदिने हुँदा भयङ्कर पराक्रमी भनेर चिनिएका, मानिएका राजकुमारहरू पनि तिरस्कृत भएर फर्कनुपर्थ्यो । यता, राम्री लागेन या खुट्टाका औंला मिलेनन् या शिर अध्याँरो भयो जस्ता अनेक बहानामा महिलालाई विवाहका लागि हेर्ने र छोड्ने क्रम अहिले पनि जारी छ । कुनैपनि बहानामा कसैलाई ‘रिजेक्ट’ गर्नु या कसैबाट ‘रिजेक्ट’ हुनु राम्रो त होइन तर अहिले प्रायः पुरुषहरूले लिएको त्यो अधिकार महाभारतकालमा महिलामा निहित थियो ।

नारीवादलाई पछिल्लो समयमा पुरुषलाई ‘इरिटेट’ गर्ने शब्दका रूपमा लिनेहरूको सङ्ख्या ठुलो छ । तर नारीवादको अर्थ त समानतासँग मात्रै जोडिएको छ । अहिलेका महिलाहरूले दृष्टिविहीन ब्यक्तिलाई जीवनसाथी रोज्ने हिम्मत गर्लान् कि नगर्लान्, तर त्यतिबेला गान्धारीले त गरिन् । तथापि विवाह गरेपछि आँखामा पट्टी नबाँधिएको भए अझ राम्रो हुने थियो भन्न सकिन्छ । उनको आँखाबाट संसार हेर्ने धृतराष्ट्रको चाहना अधुरो रह्यो । आमाको नामबाट सन्तानहरू चिनिँदा त्यतिबेला गौरव गरिन्थ्यो । पाँच पाण्डवहरू पाण्डुपुत्र भन्दा बढी कुन्तीपुत्र या कुन्तेय भनेरै चिनिए । श्रीकृष्णलाई देवकीनन्दन नै भनियो, भीष्मलाई गंगापुत्र भनेरै सम्बोधन गरिन्थ्यो । तर अहिले आमाको नामबाट सन्तानलाई नागरिकता दिनका लागि अनेक लवी र एड्भोकेसी गर्नुपरेको छ । मनमा प्रश्नले बेला-बेलामा ठाउँ लिइरहन्छ, त्यतिबेलाको नारीवाद दह्रो कि अहिलेको ?

अहिले मेडिकल डाक्टरहरू भन्छन्, महिलाहरूले गर्भवती हुँदा चिन्ता लिनु हुँदैन, मन खिन्न गर्नु हुँदैन, खुशी रहनुपर्छ, सकारात्मक सोच्नुपर्छ । यो कुरा महाभारतकालमै स्थापित भइसकेको थियो । सम्बन्ध राख्दाको परिस्थिति र मुडअनुसारको बच्चा जन्मिन्छ भन्ने उदाहरण धृतराष्ट्र, पाण्डु र विदुर हुन् ।

द्रौपदी महाभारतकी सबैभन्दा चर्चित पात्र हुन् । यसो हुनुका अनेक कारण छन्, त्यसमध्ये धर्मराज भनेर मानिएका युधिष्ठिरले उनलाई जुवामा दाउ राख्नु र राजसभामा उनको अपमान प्रमुख कारण हुन् । सम्पत्तिका रूपमा द्रौपदीलाई जुवाको खालमा दाउ राखेर जग्गा जमिन र पैसाजस्तै गरी हारेपछिका सम्वादहरू मन छुने छन् । महिलालाई बस्तुका रूपमा हेर्न मिल्छ कि मिल्दैन ? पाइन्छ कि पाइँदैन ? भन्ने बहस महाभारतकालदेखि नै रहेको देखिन्छ । ‘मलाई जुवाको दाउमा राख्नका लागि म तिमीले चाहेको बेला प्रयोग गर्ने सम्पत्ति होइन’ भनेर द्रौपदीले पटक-पटक भनेकी छन् । जुन कुरामा उनक सासुहरू कुन्ती र गान्धारीले भरपुर साथ दिएका छन् । ‘यो मेरो मात्र होइन सारा नारीजातिको इज्जतसँग जोडिएको कुरा हो’ भनेर कुन्तीले भनेकी छन् । द्रौपदीलाई लछारपछार गर्दै ल्याएर सारी उतार्न लगाएको (चीरहरण) प्रसङ्गमा नारीजातिको सम्मान र आत्मसम्मानको कुरा गान्धारीले पनि सशक्त रूपमा उठाएकी छन् । राजसभामा उपस्थित पुरुषहरूलाई गान्धारीले ‘महिलाको अपमान गरेर तिमीहरूको सम्मान बढ्दैन’ भनेकी छन् । त्यसअघि अर्जुनले द्रौपदीलाई विवाह गरेर ल्याएपछि आमा कुन्तीले भिक्षा ल्याएको ठानी ‘सबै दाजुभाइले बराबरी बाँडेर लिनु’ भनेको वचनलाई लिएर पनि लामो छलफल भएको छ । ‘पत्नीलाई भिक्षा भन्न तिमीले कसरी सक्यौ ? पत्नीलाई भिक्षा भन्न मिल्छ ?’ भनेर कुन्तीले अर्जुनलाई प्रश्न गरेकी छन् ।

महाभारतमा अधिकारसँगै कर्तब्यका धेरै कुरा छन् । कुन्तीले आमा हुनुको अधिकार माग्दैगर्दा कर्णले उत्तरदायित्वको कुरा सम्झाएका छन् । आमा हुनुको कर्तब्य नगरी नदीमा बगाइदिने आमाप्रति उनका कठोर शब्दहरूले ‘बच्चा पाउनु मात्रैले आमा भइँदैन’ भन्ने सन्देश दिएको छ । कुन्तीले अविवाहित अवस्थामै जन्माएको छोरा हुन् कर्ण । कुमारीआमा हुने कुरा अहिले त कठिन छ भने त्यतिबेला केसम्म हुन्थ्यो होला ? अनुमान गर्न सकिन्छ । मान्छेले के भन्लान् भनी इज्जत धान्न र लोकलाजबाट बच्नका लागि कुन्तीले आफ्नो पहिलो सन्तान कर्णलाई फूलको ढक्कीमा राखेर नदीमा बगाएकी थिइन् । लोकलाजकै कारण अहिले कति शिशुहरू संसारै नदेखी आमाकै हातबाट मर्न बाध्य छन् ।

महाभारतकालमा पनि नारीवादी पुरुषहरू थिए । समानताको परिभाषाभित्र समेटिने गरी महिलाको अस्तित्व स्वीकार गर्नु र उनीहरूको आत्मसम्मानलाई महत्व दिनु नारीवाद हो । राजसभामा द्रौपदीको सारी तान्ने दुशासन पुरुष नै भएपनि बेइजती हुनबाट जोगाउनका लागि अघिसर्ने कृष्ण पनि पुरुष नै थिए । चीरहरण प्रयासपछि विह्वल द्रौपदीलाई गान्धारी भन्छिन्- ‘आफ्नो आँशु आफैं पुछ द्रौपदी, अरुले पुछिदिएर हुँदैन, आफ्नो आँशु आफै पुछ ।’ हामी अहिले महिलाहरू आफै सक्षम र सशक्त हुनुपर्छ भनिरहेका छौँ । आफैले आफ्नो आँशु पुछ्नुको अर्थ आफूले आफैंलाई सम्हाल्नु हो, सशक्त हुनु हो । भारी सभामा द्रौपदीको बेइज्जती काण्डपछि विदुरले महारानी भनेर सम्बोधन गर्दा गान्धारी प्रश्न गर्छिन्- ‘महिलाको सम्मान नहुने यस्तो राज्यमा के म महारानीको सम्बोधन गरिन योग्य छु ?’ तर हामीकहाँ जिउँदै जलाउने, बलात्कारलगायतका घटनाहरू हुँदा पनि कुनै उच्चपदस्थहरूले प्रश्न गरेको सुनिएको छैन, यतिका घटनामा केही गर्न नसक्दानसक्दै पनि के म यो मुलुकको प्रधानमन्त्री या मन्त्री भनिन योग्य छु ? नारीवाद पुरुषको विरोध होइन, प्रवृत्तिको विरोध हो, पितृसत्ताको विरोध हो । हामीकहाँ भएका धेरैजसो नारीवादी महिला र पुरुषहरू उदारवादी नारीवादी हुन भन्न मिल्छ । कतिपय अर्थमा महाभारतकालीन नारीवाद उदारवादी नारीवादभन्दा माथि झैँ लाग्छ ।

महाभारतमा सबैभन्दा उल्लेखनीय नारी पात्र को हुन् भनेर गरिने प्रश्नमा यस पङ्क्तिकारको उत्तर हुन्छ- ‘सत्यवती’ । देश र वंश-परम्परा चलाउनका लागि कुन हदसम्मको नीति अवलम्बन गर्नुपर्ने हुन सक्छ भन्ने कुराको उदाहरण हुन् सत्यवती । महाभारत पुरुषको युद्ध भए पनि भरतवंश धान्नका लागि महारानी सत्यवतीको योगदान कल्पना नै गर्न नसक्ने प्रकारको छ । छोराको मृत्युपछि आफ्नी बुहारीलाई अरु कसैसँग शाारीरिक सम्बन्ध राख भनेर कुन आमाले भन्न सक्छ ? त्यसो भन्नु उचित थियो या थिएन बहसको विषय हुन सक्छ, तर उनले बुहारीहरूलाई गरेको ‘काउन्सिलिङ’ आश्चर्यलाग्दो छ । अहिले हामी एकल महिलाको पुनर्विवाहको कुरा गरिरहेका छौँ, त्यतिबेला सत्यवतीले आफ्ना एकल बुहारीहरू गर्भवती हुने परिकल्पना मात्र गरिनन्, ब्यास (उनकै विवाहपूर्वका छोरा) सँग सम्बन्ध राख्न मानसिक रूपले तयार समेत गरिन् । त्यतिबेलाको जमानामा त्यो स्तरको सोच आफैंमा आश्चर्यजनक लाग्छ ।

बुहारीलाई काउन्सिलिङ गर्ने क्रममा सासु सत्यवती भन्छिन्- ‘बच्चा जन्माएर कुल परम्परा धान्ने काम तिम्रा श्रीमान् अर्थात् मेरो छोराको थियो, तर उ आफ्नो कर्तब्य पूरा नगरी यो संसारबाट बिदा भयो । जब पतिले गर्नैपर्ने कुनै कर्तब्य गर्दैन त्यो पत्नी स्वयंले गर्नुपर्ने हुन्छ, जाउ ऋषि ब्यास तिमीलाई पर्खिरहेका छन् ।’

छोराको मृत्युपछि आफ्नी बुहारीलाई अरु कसैसँग शाारीरिक सम्बन्ध राख भनेर कुन आमाले भन्न सक्छ ? त्यसो भन्नु उचित थियो या थिएन बहसको विषय हुन सक्छ, तर उनले बुहारीहरूलाई गरेको ‘काउन्सिलिङ’ आश्चर्यलाग्दो छ ।

प्रेमी या जीवनसाथीको रूपमा राजकुमारको कल्पना गर्दै हुर्किएका उनीहरूका लागि ऋषिसँगको सम्बन्ध सहज हुने कुरै भएन । ऋषि ब्यासलाई देखेपछि बुहारी अम्बिका डराइन् र आँखा चिम्लिइन्, परिणामतः दृष्टिविहीन बच्चाको जन्म भयो, धृतराष्ट्र । ऋषिले आमा सत्यवतीलाई अम्बिकाले अत्याधिक डराइ दुवै आँखा चिम्म गरेकाले दृष्टिविहीन बच्चा जन्मिने बताएपछि उनले अर्की बुहारी अम्बालिकालाई पनि दिदीलाई जस्तै गरी काउन्सिलिङ गरिन् । अम्बिका र अम्बालिका दिदी-बैनी थिए । अम्बालिका पनि डराइन्, ऋषिलाई देखेपछि उनको पूरै शरीर डरले सेतो भयो । परिणामतः पाण्डु जन्मिए, जन्मदै रोगी ! दिदी-बैनी दुवै डराएपछि दिदी अम्बिकाले आफ्नी दासीलाई ऋषिसामु पठाइन् । सपना फरक भएका कारणले हुन सक्छ, दासी उक्त सम्बन्धमा रोमान्चित भइन्, परिणाम विदुर जन्मिए, धुरन्धर विद्वान्का रूपमा रहेका उनको बिदुर नीति प्रख्यात छ ।

अहिले मेडिकल डाक्टरहरू भन्छन्, महिलाहरूले गर्भवती हुँदा चिन्ता लिनु हुँदैन, मन खिन्न गर्नु हुँदैन, खुशी रहनुपर्छ, सकारात्मक सोच्नुपर्छ । यो कुरा महाभारतकालमै स्थापित भइसकेको थियो । सम्बन्ध राख्दाको परिस्थिति र मुडअनुसारको बच्चा जन्मिन्छ भन्ने उदाहरण धृतराष्ट्र, पाण्डु र विदुर हुन् । महाभारतकाल र वर्तमान समयको फरक के हो भने यतिबेला भए विदुरको कानूनी हैसियतको खोजी हुन्थ्यो, तर त्यतिबेला कसैले प्रश्न उठाएन र उनी हस्तिनापुरका मन्त्री बनेर राजकाजमा सधैं सहभागी भए ।

अहिले भए कुन्तीलाई राजमाता भनेर कसैले मान्थ्यो/मान्दैनथ्यो यसै भन्न सकिन्न । स-साना कुरामा शङ्का-उपशङ्का गरेर बुहारीलाई घरबाट निकालिदिने र चरित्रका नाममा सम्बन्ध तोड्ने समाजमा कुन्तीको स्थान कहाँ हुन्थ्यो होला ? नारीवादका नाममा हिन्दु धर्मशास्त्रहरूको विरोध गर्नेहरूले यस्ता कुराहरूलाई सुक्ष्म रूपले हेरेर विश्लेषण गरेजस्तो लाग्दैन । महाभारतका धेरै प्रसङ्गमा अहिलेका महिलाहरू भन्दा महाभारतकालीन महिलाहरू सशक्त लाग्छन् । पुरुषलाई वंश परम्परा धान्ने संज्ञा दिएर वंशजको अधिकार दिने समाजमा महिलाले वंश धान्नका लागि गरेका अनेक प्रयासहरू महाभारतमा लिपिबद्ध छन् । ‘जब पुरुषले कुनै काम गर्न सक्दैन, त्यो काम महिलाले गर्नुपर्छ’ भन्ने सत्यवतीको संवाद वंश परम्परा धान्ने सवालमा मात्र होइन राज्य सञ्चालनका सवालमा पनि त्यत्तिकै लागु हुन्छ । मत्स्यगन्धाको कथा झनै रोचक छ । सत्यवतीकै पूर्वरूप हुन् मत्स्यगन्धा, जो माझीको काम गर्थिन् । मानिसहरूलाइ डुंगामा राखेर वारिपारि गर्नु उनको दैनिक कार्य थियो । यसको अर्थ कामकाजी महिला त्यतिबेलादेखि नै थिए जो आफै काम गरेर गुजारा गर्थे । महिलाको आफ्नै प्रकारको सार्वजनिक जीवन थियो ।