सामाजिक क्रान्तिको आरम्भ भएको त्यो साल !

सामाजिक क्रान्तिको आरम्भ भएको त्यो साल !


  • स्वयम्भूनाथ कार्की

वर्तमानमा ठूलो स्वरले गरिने गरेको एउटा प्रश्न यो छ- ‘विगत (पञ्चायतकाल)मा नेपालमा के भयो ?’ सुगारटान जस्तो एकोहोरो प्रश्न आजको समयमा बसेर गरिँदैछ र, कोही-कोही पञ्चायतको आवशानपछि मोवाइल/इन्टरनेट आएको उदाहरण दिन पनि सङ्कोच मान्दैनन् । अपहलेका धेरै युवाहरू होमा हो मिलाउन उद्यत् हुन्छन् । यस्तोमा वास्तविकतामा पुग्न कठिन हुन्छ । यो अरुले बोल्नै नपाउने ‘ऋषिधमला-संस्कार’मा कठोर वास्तविकतामा पुग्न सम्भव नै हुँदैन । अनि यो सत्य लुक्न पुग्छ कि मोवाइल तथा इन्टरनेट हालैका आविष्कार हुन् र नेपालमा पञ्चायत रहेको कालमा संसारको कुनै पनि कुनामा ती उपलब्ध थिएनन् ।

त्यसैले नेपाल र अन्य मुलुकको तुलना गर्दा तुलना गरिने कालखण्डको शुरुमा भएको अवस्था र अन्तमा रहेको अवस्थाको तुलनात्मक विवेचन हुनु पर्दछ । संसारभरि ज्ञानको ज्योति फैलाउने तक्षशिला, नालन्दा जस्ता ज्ञानपिठहरू भएका स्थान र अनकन्टार भीर-पहरा, औलोले भरिएको जंगल र अत्यन्त न्यून सङ्ख्यामा साक्षरता भएको स्थानको तुलना सिधा हुन सक्दैन । वर्तमानमा अँध्यारो युगबाट अस्तित्व देखाउन सफल ठाउँ कम विकसित देखिएमा पनि तुलनात्मक रूपमा विकसित भनिने स्थानभन्दा तीव्र गतिमा प्रगति गरेका हुन सक्छन् । एउटा अर्बपति करोडपतिमा देखिनु र खाकपति लखपति देखिनुमा कसले प्रगति गरेको हो भन्ने जान्न कठिन छैन । तर पुरानो अवस्था नहेरी वर्तमान मात्र हेर्ने हो भने निश्चय नै उल्टो नतिजा प्राप्त हुन्छ ।

सत्र सालसम्म नेपालमा सैकडौँ राजनैतिक दल खुले, भद्र अवज्ञालगायतका अनेकौँ आन्दोलन भए, राजनैतिक विकास अत्यन्त तीव्र भयो । यो कुरा सत्य हो, अनि तुलना नै गर्ने हो भने राजनैतिक दल र विचारधाराहरूको विकास ०४६ देखि वर्तमानसम्म भन्दा ज्यादा भेटिन्छ । बीपी, पुष्पलाल, मनमोहन, गजेन्द्रनारायण, कृष्णप्रसाद जस्ता नेपाली राजनीतिमा नाम कमाएकाहरू त्यसै कालमा देखापरेका हुन् । पछिल्ला कालमा मदन भण्डारी, प्रचण्ड जस्ता केही नाम मात्र छन् जसको सबैले निर्धक्क नाम लिन्छन् । त्यसैले नेपालमा राजनीति, राजनैतिक विचारधारा तथा दलहरूको विकासको हालसम्मको उच्चतम गति त्यसैकालमा थियो भन्ने कुरा देखिन्छ ।

यति हुँदाहुँदै पनि नेपालमा अन्य क्षेत्रहरू भने उपेक्षित रहेको देखिने तथ्य भेटिन्छन् । ०१७ सालमा राजा महेन्द्रले शासन आफ्नो हातमा लिँदा साक्षरता दुई प्रतिशत भन्दा कम थियो । मुख्यतया ब्राह्मण वर्गलाई मात्र केन्द्रीत गरिएको संस्कृत शिक्षा पनि ब्राह्मणको उच्च वर्गमा मात्र सीमित थियो । राजनीतिक क्षेत्रमा तीव्र विकास भए पनि झारातिराइ जस्तो रूपले अन्य क्षेत्रमा काम भएको थियो, किनभने नेतृत्व वर्ग सत्ता र शक्तिको निमित्त हुने प्रतिस्पर्धामा व्यस्त हुनुपरेको थियो । एक मात्र कलेज भएको मुलुकमा उच्चशिक्षा हासिल गर्ने व्यक्ति थोरै त हुने नै भए ।

जङ्गबहादुरको पालामा भएको जातजातिअनुसार फरक व्यवस्था भएको मुलुकी ऐन प्रतिस्थापनतर्फ ध्यान जान सकेको थिएन । त्यसैले नेपाल कानुनतः मध्ययुगमै रहेको थियो । नेपाल भन्दा केवल काठमाण्डु मात्र भन्ने बुझिने गर्दथ्यो । पहाड, तराई, मगरात, लिम्बुआन आदि शब्दले मुलुकका विभिन्न भागलाई जनाइने भएकाले नेपालसँग जोडिएको थिएन । नेपाली भाषा, नेपाली व्यवहार गर्नेहरूलाई सामन्त वर्गले हेयको दृष्टिले हेर्ने चलन थियो । अङ्ग्रेजी, हिन्दी, उर्दु प्रयोग गर्नु प्रतिष्ठाको विषय हुने भएकाले नेपाली साहित्यमा थोरै साहित्यकार थिए । लोकसाहित्य, लोकनृत्य, लोकसंस्कृति जस्ता कुराहरू स-साना वर्गमा मात्र सीमित रहेको थियो ।

खेतीमा आधारित भएकाले मन परेको वा नपरेको आधारमा जग्गा जोत्न दिने वा नदिने मर्जी जग्गावालाको भएकाले चरम शोषण थियो । मौजावालाहरू, जमिनदारहरूको मनमौजीको अनेकौँ स्मरणहरू वर्तमानमा पनि सुन्न पाइन्छ । अश्लील लाग्नेसमेतका अनेकौँ यस्ता स्मरणहरू वर्तमानसम्म रहँदा सहजै अनुमान गर्न सकिन्छ कि यसको मात्रा कति थियो होला ! केवल एक मात्र बैंक रहेकाले सम्पुर्ण आर्थिक नियन्त्रण साहु/महाजनको हातमा थियो । सर्वसाधारण जनताले आफूलाई राष्ट्रसँग जोड्न सकेका थिएनन् । तीव्र राजनैतिक विकास भएको मुलुकमा सामाजिक, आर्थिक आदि क्षेत्र उपेक्षित रहँदा मुलुकमा कस्तो विकराल स्थिति पैदा हुन्छ भन्ने कुराको केही अनुभव वर्तमानमा पनि हुँदैछ ।

यस्तो चौतर्फी अँध्यारो अवस्थाबाट राजा महेन्द्रले आफ्नो बाँकी जीवनकालमा मुलुकलाई कुन अवस्थामा पुऱ्याएका थिए भन्ने कुरा यस आलेखमा अट्न सक्दैन । केही प्रतीकात्मक कुराहरू भने आवश्यक छ । समानताको आधारमा नयाँ मुलुकी ऐनले नेपाललाई मध्ययुगबाट आधुनिक युगमा प्रवेश गरायो । राजकीय प्रज्ञा प्रतिष्ठानले सहित्यकारहरूको मनोवल र सङ्ख्या बढायो । स्कुल/कलेजहरूको स्थापनामा स्थानीयहरूको चासो जगाएर शिक्षाको प्रसार भयो । लोक-संस्कृतिहरूको प्रोत्साहन र जगेर्नालाई ध्यानमा राखेर अनेकौँ कार्य भए । आधारभूत उद्योगहरूको स्थापना भए, जग्गामा श्रम गर्नेको रोजगारीको जगेर्नालाई भूमिसुधार लागु गरियो । यसरी राजा महेन्द्रको कार्यकालमा तीव्र सामाजिक क्रान्ति भयो ।