सपना नै प्रिय !

सपना नै प्रिय !


  • ई. गणेशराज वस्ती

दिउँसो यस्तै हो,
सकिएन ।
घामै लाग्दा पनि
किन हो किन !
केही देखिएन ।
अब बरू,
सपना प्रिय हुन थालेका छन्,
किनकि
त्यहाँ उड्न पाइन्छ,
कतै उचाइ नमिल्दा
अलिक माथतिर गै
पखेटा फिजाउँदा
र, खुट्टा छोड्दा
चाहेको उचाइमा भइन्छ !
त्यहीँ लागेको
घाम वा जुनमा
आफ्नो गन्तव्य ठम्याइन्छ !
विपना त !
जहाँ यौटा मूढापनि
छेस्को भैरहन्छ, वा
जहाँ यौटा छेस्को पनि !
मूढा भैरहन्छ !
जोशिलो ठिटो पनि !
बूढा भैरहन्छ !
चहकिलो घाम त्यस्तै !
वेतालको अंगार बन्छ !
पावरदार चस्मा त्यस्तै
निरर्थक छेस्को हुन्छ
हस्याङ्फस्याङ जति गर
उल्टो !
डिहाइड्रेसन भएको शरीरबाट
खोलानाला बनी पसिना बग्छ !
त्यसैले,
आफ्ना इच्छाहरूलाई
पोलिने ! वा
गाडिने विपना भन्दा !
उज्याला !
पाहारिला
इच्छाए अनुसारका
उडान भरिने !
रुचाइका कामहरू गरिने !
सपना नै प्रिय छन् !
सपना नै प्रिय छन् ।