नेपालको पहिलो फेशन डिजाइनर डम्बरकुमारी

नेपालको पहिलो फेशन डिजाइनर डम्बरकुमारी


शहीद दशरथ चन्दको प्रेमकथामा डम्बरकुमारी खास्टो पनि गाँसिएको छ । शहीद दशरथ चन्दका हरेक तस्बिरमा खास्टो ओढेको देख्न सक्छौँ । यो खास्टो डम्बरकुमारी खास्टो हो । शोभा भगवतीमा गोली हानिने बेलामा पनि यही खास्टो ओढेका थिए ।
  • सुनिल उलक
इतिहास

फेशन मानवीय जीवनको एक अभिन्न अङ्ग भइसकेको छ । हामीले चाहेर वा नचाहेर यसलाई पछ्याइरहेका हुन्छौँ । फेशनको दौडमा हामी बिस्तारै हिँडेका हौँला वा धेरै पछाडि हौँला, तर यात्रामा हामी पनि सामेल भएका नै हुन्छौँ ।

चलिआएको पहिरन भन्दा केही भिन्न हुनु नै फेशन हो । नेपालमा फेशनको दौर कहिलेदेखि शुरु भयो होला भन्ने हामीमध्ये धेरैले अनुमान गर्न सक्दैनौँ । बाह्रेहाते घरबुना हाकुपटासी वा छिपापटासी लगाउने काठमाडौंका महिलाहरूले बिस्तारै अरु कपडा पनि लगाउन थालेका थिए । पुटु लँ बिस्तारै ब्लाउज भयो । उहिले केटाकेटीहरूले लगाउने ह्वान्ताङ सुरुवाः अहिले फेरि फेशन भएको छ ।

आखिर आधुनिक पहिरनको शुरुवात कहिले र कसले गरेका थिए भन्ने विषयमा गहिरो खोज गर्दैछु । अहिलेसम्म भेटिएको प्रमाणका आधारमा भारतमा हातबाट ब्लक प्रिन्ट गरेर कपडा बनाउने कला सिकेर आएका डम्बरकुमारी नै नेपालमा पहिलो फेशन डिजाइनर भएको अनुमान गर्न सकिन्छ । जङ्गबहादुरकी छोरी विष्णु दिब्येश्वरी देवीको विवाह बनारसका महाराजा प्रभुनारायण सिंहसँग भएको थियो । यिनै दिदीको घर बनारसमा डम्बरकुमारी बस्न गएकी थिइन् । विष्णु दिव्येश्वरी जङ्गकी प्यारी बडामहारानी हिरण्यगर्भ कुमारीतर्फकी कान्छी तथा जङ्गकी पाँचौँ छोरी थिइन् भने डम्बरकुमारी मीना महारानीबाट जन्मेकी जेठी तर जङ्गको बाह्रौँ छोरी थिइन् । वनारस दरबारमा रहेकी डम्बरकुमारीले नयाँ काम सिकेकी थिइन् । काठको ब्लकबाट कपडामा बुट्टा बनाउने कला उनले सिकेकी थिइन् ।

उनले यो कला नेपालमा भित्र्याइन् । नेपाल फर्केपछि उनैले बाबु जङ्गबहादुरलाई पहिराइदिएको टोपीको सुधारिएको रूप नै आजको प्रचलित ढाकाटोपीको रूप हो । उनले ब्लक प्रिन्ट गरेको कपडामा नेपालको चिसो मौसमलाई सुहाउँदोगरि मलमलको खोल चढाइन् जसले गर्दा यहाँको जाडो थेग्न सक्ने पनि भयो ।

नेपाल आउनुअगाडि उनका बारेमा गलत अफवाह फैलाइएको थियो । जसले गर्दा जङ्गले वास्तविकता बुझ्न विशेष दूत नै बनारस पठाएका थिए । तर सो अफवाह झुठो भएको प्रमाणित भयो । उनले ब्लक प्रिन्ट गरि बनाएको नयाँ खास्टोको नाम नै डम्बरकुमारी खास्टो रह्यो । जुन अध्यावधि पाइन्छ र यही नामले बिक्री हुने गर्दछ ।

डम्बरकुमारी खास्टोसँग अर्को रोचक प्रसङ्ग पनि छ । शहीद दशरथ चन्दको प्रेमकथामा डम्बरकुमारी खास्टो पनि गाँसिएको छ । शहीद दशरथ चन्दका हरेक तस्बिरमा खास्टो ओढेको देख्न सक्छौँ । यो खास्टो डम्बरकुमारी खास्टो हो । शोभा भगवतीमा गोली हानिने बेलामा पनि यही खास्टो ओढेका थिए । यो खास्टो उनको प्रेमिका जुलिया मैयाँसाहेबले प्रेमको उपहारस्वरुप दिएका थिए । तत्कालिन समयमा कमाण्डर इन चिफ रहेका रुद्रशम्शेर राणाको छोरी जुलिया मैयासाहेबसँग पारिवारिक जुठो परेका कारण निर्धारित विवाहको मिति सरेको थियो । पछि रुद्रशम्शेर सर्वस्वहरणसहित पाल्पा निष्काशन भएपछि जुलिया पनि पाल्पा पुगे । उतै जुलियाको क्षयरोगका कारण निधन भयो । जुलियाको यादमा दशरथ चन्दले अर्को विवाह पनि गरेनन् र जुलिया मैयाले दिएको खास्टो पनि कहिल्यै छोडेनन् ।

राणाकालमा प्रचलित विभिन्न फेशनको गहिरो अध्ययन गर्दैछु । त्यो बेलाका २०० भन्दा बढी भिक्टोरियन फेशनका प्रभाव रहेका तस्बिरहरू नियालिरहेको छु । १०० वर्षअगाडि राणा तथा उच्च वर्गमा देखिने फेशन यूरोपका घरानियाहरू सरहका थिए । त्यस समय नेपालका फेशनको विषयमा कसैसँग केही विशेष जानकारी भएमा उपलब्ध गराउनुभएमा पङ्क्तिकार कृतज्ञ हुने थियो ।

यहाँ राखिएको तस्बिरमा सेतो घेराभित्र देखिएको डम्बरकुमारी हुन् । यो तस्बिर श्री ३ जङ्गबहादुरको पारिवारिक तस्बिर हो । यो तस्बिर जङ्गबहादुरकी छोरी ललित राज्यश्वरी राज्यलक्ष्मीको युवराज त्रैलोक्य वीरविक्रमसँग विवाहको समय खिचिएको हो । दायाँतर्फ दुलहीको पहिरनमा घोप्टिएकी ललित राज्यश्वरी हुन भने बायाँतर्फ तारा राज्यलक्ष्मी हुन् । दुवै छोरीको विवाह युवराज त्रैलोक्यसँग भएको थियो । तर दुःखको कुरा युवराज त्रैलोक्यको राजा हुनुअगाडि नै निधन भएको थियो । बीचमा जङ्गको साथ बडामहारानी हिरण्यगर्भ कुमारी (मैयामहारानी) बसेको देख्न सकिन्छ । तस्बिरको पछाडि उभिएकाहरूमा जङ्गबहादुरका अन्य छोरीहरू हुन् ।