तीन महिनाभित्र एक घर एक वृक्षारपोण कार्यक्रम सक्ने पोखराका मेयरको घोषणा

तीन महिनाभित्र एक घर एक वृक्षारपोण कार्यक्रम सक्ने पोखराका मेयरको घोषणा


पोखरा महानगरपालिकाले तीन महिनाभित्र महानगरभित्रका सबै घर-कम्पाउण्डमा बिरुवा रोप्न नगरवासीलाई अनिवार्य गरेको छ । महानगरका मेयर धनराज अचार्यले अबको तीन महिनाभित्र प्रत्येक घरमा बिरुवा रोप्ने घोषणा गरे । विश्व वातावरण दिवशको सन्दर्भ पारेर उनले यस्तो घोषणा गरेका हुन् ।

आइतबार ५०औँ विश्व वातावरण दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक घर एक वृक्षारोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक विरुवा उपलब्ध गराउने जानकारी दिए । त्यसका लागि वातावरण शाखाले तयारी अगाडि बढाउने उनले बताएका छन् ।

केही वर्षअगाडि सेती नदीमा आएको अप्रत्यासित बाढी, गत वर्ष मनाङ र मादीमा आएको बाढीको स्मरण गर्दै उनले वातावरणीय सन्तुलन कायमका लागि वृक्षारोपण अनिवार्य रहेको धारणा राखे । उनले सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिनेखालका सानातिना विरुवा भएपनि रोप्न नगरवासीलाई आग्रह गरेका छन् ।

पोखरामा विगतमा प्रशस्त मात्रामा रहेका पोखरी, चौतारा र बरपिपल मासिएका उल्लेख गर्दै उनले सडकका किनारामा कस्तो बिरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला पक्षसँग बसेर निश्कर्षमा पुगिने बताए ।

‘विगतमा पोखरामा प्रशस्त पोखरीहरू थिए, चौताराहरू थिए, प्रशस्त बरपिपलका विरुवाहरू थिए, ति सबै मासिए’, उनले भने– ‘अब जे–जति जोगिएको छ, त्यसको संरक्षण गर्ने र सडक छेउमा कस्ता उपयोगी विरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग बसेर निर्णय गर्नेछौँ । अनि पोखरालाई नाराअनुसारको स्वच्छ हराभरा सुन्दर पोखरा व्यवहारमै बनाउने छौँ ।’

मेयर आचार्यले खाली जमिनमा बृक्षारोपण कार्यक्रम गर्न पोखरा स्थित सम्पूर्ण संघसंस्थाहरुलाई आग्रह समेत गरेका छन् । वृक्षारोपणका लागि वृक्षारोपण मात्र नभएर त्यसको संरक्षण हुनुपर्नेमा जोड दिँदै उनले आफूले रोपेका विरुवाको संरक्षण पनि सम्बन्धित संस्थाले नै गर्नुपर्ने बताए । सरकारले निजी जमिनमा रोपिएका रुख कटानको सन्दर्मभा लिएको निर्णयले आमनागरिकलाई आम्दानी दिने विरुवा रोपेर आयअर्जन गर्ने बाटो खोलिदिएको धारणा राख्दै उनले वृक्षारोपण गरेर यसको फाइदा लिन समेत आग्रह गरेका छन् ।

मेयर आचार्यले पोखरा–२४ मा रहेको ठूली पोखरी (कश्यप ताल)को संरक्षणका लागि महानगरको तर्फबाट समेत योगदान रहने बताए । वडाको समग्र विकासका लागि वडाध्यक्ष र निर्वाचित जनप्रतिनिधिसंग बसेरै योजना बनाउने उनले आश्वासन दिए ।

महानगरले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा मेयर आचार्य, प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालसहित जनप्रतिनिधि, महानगरका कर्मचारी र स्थानीहरुको सहभागिता थियो ।

पोखरा महानगरपालिका वडा नम्बर २४ को कार्यालय र कश्यप ताल परिसरमा विश्व वातावरण दिवशको अवसर पारेर बृक्षारोपण गरिएको हो । वडा नम्बर २४का वडाध्यक्ष भरतबहादुर अधिकारीका अनुसार विभिन्न प्रजातिका दुइसय भन्दा धेरै विरुवा रोपिएको छ ।

उक्त अवसरमा बोल्दै वडाध्यक्ष अधिकारीले अहिले वडावासी दाजुभाई दिदिबहिनी डोकोमा गाग्री बोकेर कहाँ पानी पाइन्छ भनेर धाउनु पर्ने अवस्था रहेको जानकारी दिए । यसको अन्त्यका लागि लिफ्टिङ खानेपानी आयोजना छिट्टै सम्पन्न गरेर नगरवासीलाई खानेपानी उपलब्ध गराउने काममा आफूहरु लागि पर्ने बताए ।