चारवटा हिमाल क्षेत्रबाट निकालियो झन्डै ३४ टन फोहर

चारवटा हिमाल क्षेत्रबाट निकालियो झन्डै ३४ टन फोहर


photo: nepal army

नेपाली सेनाले सञ्चालन गरेको ‘सफा हिमाल अभियान’अन्तर्गत विभिन्न हिमाल क्षेत्रबाट यस वर्ष झन्डै ३४ टन फोहर निकालिएको छ । तीनवर्षे अभियानमा यो पटक (सन् २०२२ मा) सबैभन्दा बढी फोहर सङ्कलन गरिएको हो । यसअघि सन् २०१९ मा १० टन र सन् २०२१ मा २७.६ टन फोहर निकालिएको थियो ।

प्रकृति तथा पर्यावरणको संरक्षण र जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्ने उद्देश्यले नेपाल सरकारको योजनाअनुसार गत चैत २२ गते यस वर्षको सफा हिमाल अभियान सञ्चालन गरिएको थियो । विश्व वातावरण दिवसका अवसरमा आइतबार अभियान टोलीले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष झन्डा फिर्ता गरी अभियानको समापन भएको घोषणा गरेको थियो ।

हिमाली क्षेत्रमा देखिएको फोहरले नेपालको पहिचान धमिल्याउने जोखिम बढ्दो छ । बहुपक्षीय महत्व बोकेको नेपालको हिमशृङ्खलालाई भविष्यसम्म जोगाउन सन् २०१९ देखि नेपाली सेनाले उक्त साहसिक अभियान थालेको हो । त्यस अभियानमा नेपाली सेनाले विभिन्न सरकारी तथा गैरसरकारी तथा निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेको छ ।

यस वर्ष सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमाल क्षेत्रमा अभियान चलाइएको थियो । ती हिमाली क्षेत्रबाट कुहिने फोहर सात हजार २२७ किलो र नकुहिने २६ हजार ६५० किलो गरी कूल ३३ हजार ८७७ किलो (३३.८ टन) फोहर सङ्कलन गरिएको नेपाली सेनाले जनाएको छ । टोलीले कञ्चनजङ्घा हिमालबाट दुई मानव अस्थिपञ्जरसमेत सङ्कलन गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक तथा सफा हिमाल अभियानका निर्देशक हिमांशु खड्काले नेपाली सेनाका ३० र शेर्पा सहयोगी ४८ गरी ७८ जनाको सहभागितामा अभियान चलाइएको जानकारी दिनुभयो । सङ्कलित फोहमध्ये कुहिने फोहरलाई तत्तत् स्थानीय तहमा हस्तान्तरण गरिएको छ भने नकुहिने केही फोहरलाई पुनः प्रशोधनका लागि सम्बन्धित संस्थालाई हस्तान्तरण गरिएको र केही हस्तान्तरण गर्न बाँकी रहेको उहाँको भनाइ छ ।

अभियानको नेतृत्व गर्नुभएका सेनानी किशोर अधिकारीले प्रदूषण नियन्त्रण, जलवायु परिवर्तनका असर न्यूनीकरण, पर्यटन प्रवद्र्धन र भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । समारोहमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले हिमाल संरक्षणका लागि नेपाली सेनाको छुट्टै गुल्म वा गणको आवश्यकता महसुस भएको बताउनुभयो ।

सन् २०१९ मा सर्वाेच्च शिखर सगरमाथाको उचाइ मापनको नेतृत्व गर्नुभएका नापी अधिकृत खिमलाल गौतमले नेपालका हिमाल जोगाउन यो अभियान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले वातावरणलाई प्राकृतिक रूपमा सफा राख्न हिमालको ठूलो भूमिका हुने उल्लेख गर्दै प्राकृतिक हिमाललाई अप्राकृतिक नबनाउन आग्रह गर्नुभएको छ ।

मानिसको दिगो जीवनका लागि स्वच्छ हिमालको खाँचो रहेको औँल्याउँदै उहाँले बढ्दो क्रममा रहेको हिउँ पग्लने अवस्थालाई रोक्नुपर्ने आश्यकता औँल्याउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले नेपाली सेनाको अभियानको प्रशंसा गर्दै हिमाल संरक्षणका लागि प्रभावकारी नियमनको खाँचो रहेको उल्लेख गर्नुभयो ।