नेपाली कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमितिको आज (३१ वैशाख)का लागि निर्धारित बैठक सारिएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज दिउँसो १ बजेका लागि तय भएको संसदीय दल कार्यसमितिको बैठक र दिउँसो २ बजे बस्ने भनिएको संसदीय दलको बैठक भोलि जेठ १ गते बिहान ९ बजे बस्ने गरी सारिएको जानकारी दिएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रम र समसामायिक विषय तथा सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठनलगायतका विषयमा छलफल गर्न बोलाइएको बैठक थप तयारीका लागि एक दिन सारिएको उनको कथन छ ।
‘संसद्को बजेट अधिवेशन सुरू भएको छ । भोलि नै सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ तर अहिलेसम्म हामीले उठाउँदै आएको संसदीय छानविन समिति गठनको विषयमा सहमति भएको छैन । त्यसैले आज दिनभरका घटनाक्रम कसरी अगाडि बढ्छन्, त्यही आधारमा भोली छलफल गरेर आवश्यक रणनीति बनाउँदा उपयुक्त हुने ठानेर हामीले भोलिका लागि बैठक सारेका हौँ’, प्रमुख सचेतक लेखकले भनेका छन् ।
कांग्रेसले सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ । यसैक्रममा आइतबार प्रधानमन्त्री प्रचण्डले संसद्को गतिरोध हटाउन कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए भने उपप्रधानमन्त्री उपेन्द्र यादवले सोमबार बिहानै पदबाट राजीनामा दिएका छन् ।
प्रतिक्रिया