हामी भ्रष्टाचारी प्रमाणित हुनेजस्तो महान् कर्ममा सफल भयौँ भने यहाँ विदेशीले सहर्ष आफ्नो कदम बढाउने छन् । अनि नेताहरूको लागि सहायक बन्ने छन् । डलर झार्ने छन् । अङ्ग्रेजी बोल्ने र नाङ्गै हिँड्ने, स्वतन्त्रताको पाठ सिकाउने छन् । अनि हाम्रो शान, मान पनि यूरोप अमेरिकाको झैँ हुनेछ । आउनुस्, सबै मिली भनौँ- भ्रष्टाचारीको जय… जय… जय…!’
- शेखर ढुङ्गेल
उनीहरू कुरा गरिरहेका छन् आफ्नै देशबारे । घर छोडेपछि माया लाग्छ त्यही पुरानो घरको ।
देश पनि त त्यही हो । लामो समयपछि न्युयोर्कमा भेटिएका किरण र विष्णु देशको हालतले पिरोलिएका छन् ।
विष्णुले भन्यो- ‘आज नेपालको समाजमा सबै प्रकारका अपराध, भ्रष्टाचार, विकृति, अनियमितता सर्वस्वीकार्य र अपरिहार्य आवश्यकताको संस्कृति निर्माण भएको अवस्थामा भ्रष्टाचारी अपराधीहरूलाई गाली गर्ने होइन, सलाम गर्ने हो, नमन भन्ने हो ।’
किरणले सही थाप्यो- ‘एक पटक ठण्डा दिमागले सोचौँ त । यिनै भ्रष्ट र अपराधीहरूको कारणले लाखौँ प्रहरीले काम पाएका छन् । नयाँ-नयाँ सुरक्षाका प्रविधि किन्न पाएका छन् । त्यसमा पनि हात चाट्न पाएका छन्, भ्रष्टाचारीहरू अपराधीहरू त महान् रोजगारदाता हुन् । उनीहरूलाई सलाम नगरी कसरी बस्न सकिन्छ ? हेर्नुस् त लाखौँ वकिलहरूको रोजगारी हेर्नुस् त । अदालतको गठन अनि कर्मचारी, न्यायाधीश जेल र जेलरहरू । उनीहरूको शान, मान र सम्वृद्धिको स्रोत नै यिनै भ्रष्टाचारी र अपराधी होइन र ? न्यायाधीशको ठूला-ठूला आलिशान महल तलबमा बन्छ ?’ । उसले हातको कफी सुर्काएर भन्यो- ‘वकिलहरूको रवनफ हेर्नुस् । जथि ठूला अपराध त्यति ठूलो रकम झर्छ । उनीहरूलाई थाहै हुन्न खातामा कताबाट कति रकम जम्मा हुन्छ । बिजुलीको मिटनर झैं खातामा पैसा बढ्याबढ्यै हुन्छ । समाजमा अपराध र भ्रष्टार नबढ्ने हो भने कानुनका उच्च विद्यालयहरूमा ताला लाग्छ । अदालतमा लाग्छ । प्रहरीको कार्यालयमा ताला लाग्छ । लाखौँ दलाल बिचौलियाहरूको कन्तबिजोग हुन्छ । उनीहरूमा आश्रित लाखौँ परिवारको मुखमा कसले माड हालिदिन्छ ? त्यसैले भन्छु सलाम भ्रष्टाचारीज्यूहरू, नमन अपराधीज्यूहरू ! यो राज्य यो प्रशासन यहाँहरू बिना अस्तित्वहीन हुन्छ । देशमा बेरोजगारीको समस्या बढ्छ ।’
विष्णुले एकछिन गहिरेर भन्यो- ‘लाग्दछ, सृष्टिकर्ताले भ्रष्ट र अपराधिक मनोवृत्तिका महामानवहरूलाई जानी-जानी नै जन्म दिएको हुनुपर्छ, ताकि आफू असल भनिनेहरूलाई जागिर मिलोस्, देशमा लाखौँ आइएनजीहरू छन् । राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म उनीहरूलाई रकम झार्ने स्रोत यिनै भ्रष्ट र अपराधिक तत्वहरू नै हुन् । विकृति र विसंगतिलाई अन्तर्राष्ट्रियकरण नगरे कसरी उनीहरू जस्तो पढे-लेखेकाहरूको हातमुख जोर्ने बाटो बन्छ ? त्यसैले भन्छु सलाम भ्रष्टाचारीहरू, नमन अपराधीहरू ! यहाँहरूको हौसलामा किन्चित निरासा नछाओस्, भ्रष्टाचारी अपराधीहरूको क्रान्तिकारी छलाङमा कोही कथित इमान्दार व्यवधान पुयाउन आउँछ भने डा. राजिव गुरुङ, चक्रे मिलन, धुकुरे, घ्याम्पे सरहरूको विश्वविद्यालयमा प्रशिक्षित होनाहार युवा लगाएर खुट्टा भाची दिनुपर्छ वा सेतो, खैरो, कालो के मिल्छ गोजीमा हालिदिएर प्रहरी बोलाई वकिल, न्यायाधीश अनि जेलरको आहारा बनाइदिनुपर्छ ।’
अरु पनि थप्यो उसले- ‘ती बुर्जुवा बुद्धि भएकाको ढडनेसो फुस्काइ दिनुपर्छ वा देशै छोडेर पलायन हुन बाध्य पारिदिनुपर्छ ।
अनि कोही नाक फुलाएर म/हामी भ्रष्टाचारविरोधि अभियन्ता भन्दै विरोधमा निस्किए भने तिनीहरूको मुख र कानमा डलरको बारुद हालेर भ्रष्टाचारविरोधी दिमाग र सोचलाई डिफ्युज पारिदिनु पर्छ । भ्रष्टाचार गऱ्यो त के भो ! अपराध गऱ्यो त के भो ! किन गाली गर्नु ? हेर्नुस्, भ्रष्ट र अपराधीहरूको पछाडि कति लागेका हुन्छन् । कतिको रोजगारी छ, व्यापार छ, अस्तित्व छ, शान छ । अपराधीहरूसँगै पोज दिएर फोटो खिच्ने अधिकारीलाई सोध्नस् त नेता-नेताका, कार्यकर्ता नाममा, बिचौलियाहरूको आर्थिक स्रोत के यिनै होइन र ? वास्तवमा हज्जारौँ प्रहरी, सेना, वकिल, जेलर न्यायाधीशदेखि बिचौलियाहरूलाई जागिर दिलाउने नेताहरूलाई साँझ पर्नेबित्तिकै हात थाप्न घरमा धाउन लगाउन सक्ने यस्ता महान् व्यक्तित्वहरूको सम्मान गर्न हाम्रो राज्यले सिकेको छैन । राजिव गुरुङ जस्ता अगाध सम्पतिका मालिक जसलाई आफ्नो सम्पतिको समेत हेक्का छैन, यस्ता महान् समाजसेवीलाई ढिलै भए पनि मन्त्री बनाएर राज्यले आफ्नो दायित्व बुद्धिमतापूर्वक निर्वाह गरेकोमा बधाई दिनुपर्छ ।’
छेउको साथीले पनि उसका कुरा निकै मननसाथ सुनिरहेथ्यो ।
‘नेपाली समाज अलि बुद्धिमान बन्दै गएको प्रमाणका लिनुपर्छ । वहाँका अनुयायीहरू जो खनालहरूबाट पीडित छन् उनीहरूको पनि छिट्टै उचित पदमा नियुक्ति हुनुपर्छ । अँ.. साँच्चि ! यसपटक मेलम्चीमा सुरुदेखि नै योजना लम्ब्याउन आफ्ना मानसिक ऊर्जा र समय लगाउने स्वदेशी विदेशी परमपूज्य व्यक्तित्वहरू तक्माप्राप्तिको अवसरबाट छुट्नुभएको त छैन नि ? छुटेका छन् भने अन्याय भएको छ सरकार ! अर्को पटकको सूचीमा राख्नु है… ।’
कुरा सुनिरहेको साथीले पनि सही थापेर उल्टै थप्यो ।
‘सडक कमजोर भयो त के भयो ? खाल्डाखुल्डी भयो त के भयो ? गाडी बिग्रन्छ त के भयो ? गाडी बनाउने कारखानाले काम पायो ! जाम भयो, ढिला भयो त के भयो ? तेलको खपत बढ्यो । आयल निगमको बोनस बढ्यो । धुलो र धुँवाले बिमारी बनायो त के भयो ? त्यतिका अस्पताल खुलेका छन् । डाक्टर-नर्सहरूले काम पाएका छन् । अस्पतालको आम्दानी बढ्यो । खराबी के छ भन्छु म ? भ्रष्टाचार र भ्रष्टाचारीका कारण अन्य केही फाइदैफाइदा छ ।
१. राज्य र प्रशासनको सेवाको क्षमतामा स्खलन आउने र भ्रष्टाचारीको स्वच्छन्दतामा वृद्धि हुने । बैंक, प्रहरी, वकिल, जेल र न्यायधीशलाई फाइदा ।
२. न्याय सम्पादनलाई कमजोर पार्ने हुँदा भ्रष्टाचारी र बिचौलियाहरूको सहयात्रामा न्यायाधीशहरूलाई सहभागी हुन सहज हुने ।
३. भ्रष्टाचारको कारण बेरोजगारी बढ्ने हुँदा मानवलाई ‘वैदेशिक तीर्थ यात्रा’मा पठाउन भ्रष्टाचारीलाई सहज हुने देशमा तीर्थयात्री संकलन गर्ने दल र उनीहरूका कर्मठ सेवकहरूको दानापानीको सहजता हुने ।
४. भ्रष्टाचारको कारण स्वास्थ्य र शुद्धतामा न्यूनीकरण भइ अस्पताल, डाक्टर, नर्सदेखि नक्कली कारोबारीहरूको लागि स्वर्णिम वातावरण निर्माण हुने ।
५. प्रदुषण बढ्ने हुँदा अस्पतालदेखि औषधीव्यापारीदेखि नक्कली डाक्टर र औषधि उत्पादनलाई समेत फाइदा पुग्ने ।
६. भ्रष्टाचारीको कारण सडक दुर्घटनामा वृद्धि भै पीडितको मूल्य बढ्ने र डाक्टर, अस्पताल सडक विभाग सहजकर्ताहरुलाई फाइदा नै फाइदा पुग्ने छ ।
७. भ्रष्टचारीको महान् सफलता भनेको विकासका विरोधी अपराध अनुसन्धानकर्ताहरूलाई असफल र अविश्वसनीय पार्ने हुँदा भ्रष्टाचारी र अपराधी होनाहार सपुतहरूले पुरष्कृत हुने अवसर पाउने हुँदा यसरी भ्रष्टाचार र अपराधीले देशलाई अन्तर्राष्ट्रिय ख्याति बढाउने भएकाले जय-जयकार गर्नैपर्छ । त्यति मात्र कहाँ हो र एउटा भ्रष्टले ठूलो घर बनाउँछ ।
‘हार्डवेयरले कमाउँछ । मजदुरले कमाउँछ । इन्जिनियरले कमाउँछ । फर्निचर व्यापारीले कमाउँछ । प्रत्यक्ष अप्रत्यक्ष एउटा भ्रष्ट र अपराधीले सयौँलाई काम, नाम र माम दिएको छ । खराबी के छ ? रेष्टुराँ, होटेल रात्रिक्लबको व्यापारको स्रोत उनीहरू नै हुन् । महँगो गाडी किन्छन् । ब्यापारी, कर्मचारीदेखि निर्माता कम्पनीको समेत भलो हुन्छ । खराबी के छ ? अझै छिमेकमा रक्सीपसल छ भने उसको त जीवन उद्धार नै हुन्छ । त्यसैले भन्छु जय भ्रष्टाचारी, नमन अपराधी ! हेर्नुस् त दशवर्षे धन । युद्धको फाइदाहरू, बैंकमा थुप्रेका नोटहरू । कति सहजै गाउँ-गाउँ पुग्यो । कतिले महल ठड्याए । कतिले गाडी किनेर सयर गरे । कतिको हजार पर्ने जमिन करोडौँको भयो । भ्रष्टाचार लुट अपराध नगरेको भए सम्भव थियो त ? डन गठन भए त के नराम्रो भयो ? तिनले लुटे के बिग्रियो । होटल, रात्रि क्लब खुले । रोजगारी बढ्यो । नेताको आयस्रोत बढ्यो । प्रहरीको के कुरो, वकिल र न्यायाधीशहरूको पनि त आय बढ्यो…’, उसले चम्की-चम्की भन्यो ।
‘म त भावावेशमा आएर ‘भ्रष्टाचारीलाई कीरा परोस्’ भुलेर पनि भन्दिनँ । देशको समृद्धि, रोजगारी मात्र ठप्प हुँदैन आखिर को बाँकी रहन्थ्यो त । फेरि नेपालमा भगवान्ले त्यस्तो सेन्टी कुरो सुनिदिनुभएको भए ? उहिले उही कुन देशका राजाले भगवान्सँग मैले जे छुन्छु त्यही सुन होस् भनेर बरदान मागे जस्तो होइन र यो माग ? धन्न भगवान्ले सुनिदिनुभएन र, नत्र… ! सम्पूर्ण नेपालीको अस्तित्व समाप्त हुने खतरा थियो नि । को छ र चोखो ? आखिर यो सेन्टी माग गर्ने पनि त हज्जारौं नागरिकको चन्दामा रजगज गर्ने मानसिकताका हुन् । उनको पनि त भलो भएको छ । ढिलै भए पनि सुडान महोत्सव मनाएर गिरिजा, प्रचण्ड, सुजाता, सिटौला सहयोग गरी आफू साँझ-बिहान भित्र-बाहिर गर्दा स्यालुट खाँदै जेलजस्तो पवित्र तीर्थमा पुगेर महायज्ञमा समर्पित इतिहासमा अनुकरणीय हुनुभएका पूर्व प्रहरीप्रमुखको टुँडिखेलमा शालिक राख्ने काममा सरकार पछि नहटोस् । साना प्रहरी र नागरिक चिच्याइ-चिच्याइ माग गरिरहेछन् वहाँहरूलाई- महान् प्रबल राष्ट्र उज्ज्वल प्रचण्ड गिरिजा पदकबाट विभूषित गरियोस् ।’
दुवै एकअर्काका कुरालाई थपी-थपी आफूलाई हलुँगो पारिरहेथे ।
अर्का बोले- ‘म त भन्छु यी महान्, रोजगारदाताहरूको सम्मान गर्न प्रत्येक वर्ष प्रतिष्पर्धा गराउनुपर्छ । एकलाई ‘वर्षको नायक भ्रष्टाचारी’ र बिस्तारै टोल-टोलको चोक-चोकमा भ्रष्टहरूका शालिक राख्ने अभियान चलाउनुपर्छ । भ्रष्ट, अपराधीहरूको नाममा मन्दिर, मस्जिद, गिर्जाघर अनि विद्यालयको नाम राख्नुपर्छ । सडकको नाम, पहाडको नाम, हिमालको नाम राख्नुपर्छ ताकि युवा पुस्ता र आउने पुस्तासमेत यो महान् कर्ममा समर्पित रहुन् र यो क्रान्तिकारी अग्रगमन महान् कदम निरन्तर रहोस् । नक्कली प्रमाणपत्रबाहक सेना, प्रहरी, वकिल, इन्जिनियर, डाक्टर, प्रशासक, पाइलटदेखि म्याद गुज्रेको खानेकुरादेखि औषधि, दूध बेच्नेहरूको लागि विशेष समितिमार्फत् छनौट गरी ‘वर्षको देशकै उच्च नागरिक’ विभूषणले सम्मान गर्ने नीति निर्माण गरौँ ।’
उनले केही थपथाप गरे- ‘केही वर्षअगाडि देशको शान्ति सुरक्षा अपहरण गरेर बेपत्ता पार्ने हजारौँलाई पलायन हुन प्रेरित गर्ने बादललाई गृहमन्त्रालय र उनका गुरुलाई प्रधानमन्त्री बनाएर सेना र प्रहरीले ड्याम्म-ड्याम्म स्यालुट ठोकेर सम्मान दिएको देख्दा यो नाथे लेखकको मन खुसीले गद्गद् भएको थियो । हो, खुसी लागेको छ । निमुखा, गरिब, निरीह सत्र हजार नागरिकका मुक्तिदाताको मुक्ति टावरको निर्माणले कतिलाई फाइदा भयो ? कतिले रोजगारी पाए ? त्यसै ती मुक्तिदाताको अगाडि उपेन्द्र महतो स्वर मिलाएर अजयहरू छमछम नाच्ने, प्रसाईंले मादल बजाउने गरेका सलाम भ्रष्टाचारी, नमन अपराधी ! तिमी नै हौ यो देशको विधाता । वास्तवमा ४/५ अर्ब तलमाथि गरेकाका नेताको श्रीमतीलाई संसद् र विमानस्थलको नाम मात्र उनको नाममा राखेर अन्याय भएको छ । त्यतिले पुग्दैन के, विमानको नाम नै उनको नाममा राख्नुपर्छ । अनि पो हाम्रो देशको प्रख्याति विश्वमा चम्किन्थ्यो त… ।’
अन्त्यमा उनले शान्तसँग भने- ‘आउनुस्, अब तपाईं-हामी कोही छुटेका छौँ भने सबै भ्रष्टाचारी बनौँ । अपराधी बनौँ । भ्रष्टाचारीको जय भनौँ । अपराधीप्रति नमन गरौँ । राष्ट्रको गौरव बचाऔँ । विश्वलाई यदि हामी सबै मिलेर हाम्रो भ्रष्टाचारी अपराधी योग्यताको प्रमाण पुऱ्याउन सफल भयौँ भने हाम्रो महान् क्रान्तिकारी नेताहरूको टाउकोदुखाइ पनि कम हुन्थ्यो । किनभने, हामी भ्रष्टाचारी प्रमाणित हुनेजस्तो महान् कर्ममा सफल भयौँ भने यहाँ विदेशीले सहर्ष आफ्नो कदम बढाउने छन् । अनि नेताहरूको लागि सहायक बन्ने छन् । डलर झार्ने छन् । अङ्ग्रेजी बोल्ने र नाङ्गै हिँड्ने, स्वतन्त्रताको पाठ सिकाउने छन् । अनि हाम्रो शान, मान पनि यूरोप अमेरिकाको झैँ हुनेछ । आउनुस्, सबै मिली भनौँ- भ्रष्टाचारीको जय… जय… जय…!’
यति बोलिसकेपछि उनीहरू निकै शान्त देखिए । हातमा भएको रहलपहल कफी सुर्क्याएर न्युयोर्कको भीडमा मिसिए ।
प्रतिक्रिया