तेलको मूल्य घट्दैछ : भारतले यसकारण लगायो चिनी-निर्यातमा रोक !

तेलको मूल्य घट्दैछ : भारतले यसकारण लगायो चिनी-निर्यातमा रोक !


  • धीरज निष्पक्ष

१) अमेरिकाको चर्को दबाब थेग्न नसक्दा Organization of the Petroleum Exporting Countries (OPEC) का राष्ट्रहरू कच्चातेलको उत्खनन्, प्रशोधन र आपूर्तिमा वृद्धि गर्न लागेका हुन् । यसो हुँदा बजारमा मागको अनुपातसँगै बस्तुको सहजता र आपूर्ति पर्याप्त हुन्छ र, तेलको मूल्य स्वतः घट्नेछ । यसअघि रुसले पर्याप्त मात्रामा तेल उत्खनन् नगर्न खाडीमुलुकमाथि चर्को दबाब दिँदै आएको थियो । रुसको अर्थतन्त्र धराशायीउन्मुख छ । उसको ध्याउन्न त विश्वबजारमा तेलको आपूर्ति निकै कम होस्, ताकि तेलको मूल्यमा भारी वृद्धि होस्, र आफ्नो प्राकृतिक ग्याँस र तेल बिक्रीबाट अर्थतन्त्र उकासियोस् ।

साउदीअरब, अमेरिकापछि तेस्रो तेलउत्पादक देश हो रुस । रुसको अर्थतन्त्रको मुख्य आधार तेल, प्राकृतिक ग्याँस र हतियार हो । युक्रेनमाथि आक्रमणको कारण यतिबेला रुस विश्वसमुदायबाट एक्लिएको छ । र, खाडीमुलुकमाथि उसको दबाब प्रभावहीन बन्दै गएको छ । अर्कोतर्फ अमेरिकाको दबाब खाडीमुलुकले थेग्न नसक्दा सामान्य अवस्थाको भन्दा ५२ प्रतिशत थप पेट्रोलको उत्पादन गर्न लागेका हुन् । पेट्रोलियम पदार्थ उत्पादन गर्ने देशहरूको सङ्गठन (ओपेक)ले यसमा सहमति जनाइसकेको छ । ओपेकको अध्यक्षता साउदीअरबले गर्दछ । साउदी अमेरिकी क्याम्पको मुलुक हो । ओपेकले अब प्रतिदिन साढे ६ लाख ब्यारेल अतिरिक्त तेलको उत्पादन बढाउने छ । ओपेकमा १३ सदस्यराष्ट्रहरू छन् ।

२) भारतले क्रमिकरूपमा उपभोग्य वस्तुमाथिको निर्यात प्रतिबन्धलाई बढाउँदै लगेको छ । भारतले केही समयअघि गहुँ, चामल र मकैको निर्यातमा रोक लगाएको थियो । पछिल्लो समय चिनीको निर्यातमा समेत रोक लगाएको छ । बाहिर सतही कुरा रुस–युक्रेनयुद्धपछि खाद्यान्न अभाव हुन सक्ने आँकलनले निर्यातमा रोक लगाएको भनिए तापनि भारतमा भने अर्कै ‘खिचडी’ पाक्दैछ ।

भारतले पेट्रोलियमपदार्थको निर्भरता घटाउन र अन्न तथा उखुबाट ऊर्जाउत्पादन गर्न यतिबेला सम्पूर्ण शक्ति खर्चिरहेको छ ।

भारत अहिले अटोमोबाइल धेरै उत्पादन गर्ने देशहरूमा विश्वको तेस्रो ठूलो देश हो । अर्थात्, त्यहाँ वर्षको २ करोड ६६ लाख गाडी उत्पादन हुँदैआएको छ, र विश्वभर करिब ५५ लाख गाडी निर्यात गर्दछ । बाँकी सबै त्यही खपत हुने गर्दछ । ती सबै गाडी सञ्चालन हुन मूलभूत रूपमा तेलकै आवश्यकता पर्दछ ।

भारतको तेलमाथिको परनिर्भरता घटाउन र विदेशीमुद्राको सञ्चित बढाउन यतिबेला भारत पेट्रोलमा इथोन (C2H3OH) मिसाउन लागिपरेको छ । यही आर्थिक वर्षभित्र करिब १५ प्रतिशत इथोन पेट्रोलमा मिसाउने र आगामी वर्ष पेट्रोलमा २० प्रतिशत इथोनको मात्रा पुऱ्याउने लक्ष्य राखेको छ । जसबाट भारतमा यसवर्ष पेट्रोलको खपत १५ प्रतिशत घट्ने आँकलन गरिँदैछ । भारतले यो आर्थिक वर्षमा पेट्रोलियम शीर्षकमा झण्डै १३ खर्बबराबरको विदेशीमुद्रा बचाउनेछ । नेपालमा तेल आयातको मुख्य ढोका भारत नै भएको र भारतमा उब्रने १५ प्रतिशत तेलको आपूर्तिले मूल्य घट्ने निश्चितप्रायः छ ।

अन्न तथा ऊखुलाई भट्टिबाट कुहियाएर बाष्वीकरणबाट बनाइने गरिन्छ । अहिले भारतसँग ३ करोड ८० लाख टन चिनी मौज्दात छ । तर पनि उसले निर्यातमा प्रतिबन्ध लगाएको छ । जबकि त्यहाँ वार्षिक २ करोड ५० लाख टन मात्रै चिनी खपत हुन्छ । अर्थात्, खपत गरेर पनि उसँग १ करोड ३० लाख टन चिनी अझै बढी हुन्छ ।

मौज्दात हुँदाहुँदै पनि चिनी निर्यातमा रोक लगाउनुको मुख्य उद्देश्य आगामी वर्षको लागि चिनी मौज्दात गरिनु हो र, चिनी उत्पादनको लागि आगामी वर्षसमेत उत्पादन हुने सबै ऊखु इथोन बनाउन प्रयोग गर्नु हो । त्यस्तै भारतलाई पुग्नेगरी चामल, गहुँ र मकैको मौज्दात पनि प्रशस्त छ । अझ आफूलाई राखेर विश्वको झण्डै २१ प्रतिशत जनसङ्ख्यालाई पुग्ने अन्नलाई निर्यात बन्द गरी इथोन उत्पादनमा लागेको छ ।

भारतको लागि अर्थतन्त्रीय दृष्टि, पेट्रोलको कम प्रयोग तथा आत्मनिर्भरताको हिसाबले राम्रो मानिए तापनि मानवीय हिसाबमा अन्नलाई भोजनीय उपभोग गर्नबाट बञ्चित गरी त्यसलाई अखाद्यीय तथा विलासीयताको उपभोग्यवस्तुमा रूपान्तर गर्नु त्यति न्यायोचित भने होइन ।