२८औँ वर्ष प्रवेश गर्दैगर्दा…

२८औँ वर्ष प्रवेश गर्दैगर्दा…


अकर्मन्य एवम् देशको अस्तित्व नै धरापमा पार्न उद्यत् पात्रहरूकै जकडमा अहिले पनि देश परिरहेको छ । यस्ता पात्र र प्रवृत्तिको स्वस्थ आलोचना गर्दै समाचार सम्प्रेषण, तर्क, विचार तथा विश्लेषणमार्फत् सबै तह र तप्काका पाठक महानुभावहरूलाई सुसूचित तुल्याउने, देशको पक्षमा जागृत गर्ने/गराउने कर्मलाई घटना र विचार आफ्नो दायित्व ठान्दछ ।
हामी सहजतामा छैनौँ, तर कठिनाइका बाबजुद निष्पक्ष पत्रकारिताप्रतिको हाम्रो निष्ठामा किञ्चित कमी आउने छैन  ।


घटना र विचार साप्ताहिकको यात्रा यसै साताबाट २७ वर्ष वर्ष पूरा भइ २८औँ वर्षमा प्रवेश गरेको छ । आर्थिक राजनीतिक कोणबाट दिनानुदिन असहज र अप्रिय परिस्थिति सघन बन्दै गएको परिवेशमा पनि करिव तीन दशक लामो यात्रा अकन्टक पार गर्न सकेकोमा हामी गौरवान्वित छौँ र, यस अवसरमा सम्पूर्ण पाठक, शुभेच्छुक र सहयोगीजनमा आभार प्रकट गर्दछौँ ।

सचेत पाठक महानुभावहरूलाई सम्झाइरहनु पर्दैन कि छापा पत्रकारिताको प्रभाव र पहुँच क्रमशः अनलाइन मिडियातर्फ विस्तारित हुँदै गरेको छ । एक प्रकारले डिजिटल माध्यमको दबदबा नै चलिसकेको छ, आम मानिसलाई यसले तीव्रतम् गतिमा डिजिटल दुनियाँमा प्रवेश गराएको छ । यसबाट हामी मात्र अछुतो रहने सवाल नै रहेन । यसरी प्रविधिमा आएको व्यापकताले अनलाइन पत्रकारितालाई आम मानिसको अनिवार्य जीवनशैलीझैँ बनाइदिएको सन्दर्भमा घटना र विचारले पनि आफूलाई ‘डिजिटलाइज्ड’ गर्ने प्रयास गरेको छ, ‘घटना र विचार डट कम’ यसैको प्रथम पाइलो हो । अर्थात्, छापा माध्यमसँगसँगै अनलाइन पत्रकारिताको माध्यमबाट घटना र विचारले आफ्ना पाठक महानुभवलाई सुसूचित गराउने सत्प्रयत्न गर्दै आएको विदित नै छ । सञ्चारकर्मको बदलिँदो विकासलाई आत्मसात् गर्दै हामी पढ्ने मात्र होइन, हेर्ने/सुन्ने माध्यमका रूपमा पनि फैलिने प्रयत्नमा छौँ । पाठक तथा दर्शक वर्गको साथ र स्नेहले हाम्रो यस प्रयत्नमा सञ्जीवनीको काम गर्नेछ, यो हाम्रो विश्वासपूर्ण आशापेक्षा हो ।

घटना र विचारसँग जोडिँदै आउनुहुने पाठक वर्गले अनुभूत गर्दै आउनुभएको छ कि हामी प्रजातन्त्र र प्रेस स्वतन्त्रतामा विश्वास गर्छौं । तर, कथित लोकतन्त्र/गणतन्त्रमा पनि अझै प्रेसले स्वतन्त्रताको अनुभूति गर्न नसकेको अनुभव सुनाउनुपर्दा हामीलाई खेद पनि छ । खेद यस अर्थमा कि वर्तमान राज्यव्यवस्थाले पूर्ण प्रेस स्वतन्त्रताको ढोल जति नै पिटे पनि बेथितिविरुद्ध ढुक्कले खुलेर बोल्न सकिने अवस्था अझै छैन । सत्य तथ्य निष्पक्ष समाचार सामग्री सम्प्रेषण गर्दैगर्दा अनेक प्रहार झेल्नुपर्ने त्रासद् अवस्था प्रत्यक्ष/परोक्ष रूपमा कायम नै छ । यसका बाबजुद राज्यसञ्चालकहरू, कर्मचारीतन्त्र एवम् राज्यका यावत निकायहरूलाई जवाफदेही वा उत्तरदायी तुल्याउन हामी प्रयासरत छौँ, रहनेछौँ । आमनागरिकले प्राप्त गर्नुपर्ने सेवा प्रवाहमा देखिएका र भइरहेका जटिलतालाई चिर्दै राज्य संयन्त्रलाई जवाफदेही बनाउनेमा हाम्रो ध्यान निरन्तर रहने नै छ । राज्यसंयन्त्रलाई पहरेदारी गर्ने, जिम्मेवार बनाउने भूमिकामा हामी सचेत नेपालीजन सँगसँगै रहने छौँ । यहाँनेर गर्वका साथ भन्नैपर्छ- हामीले एकपछि अर्को अप्ठ्याराका बीचमै सार्थक पत्रकारिता गर्दै आयौँ, चाहे त्यो ‘जनयुद्ध’को नाममा भएको देशघाती सशस्त्र द्वन्द्व होस् वा विभिन्नखाले दमन वा अवरोध खडा गरिएको बेला होस्, हामी सदैव आफ्नो मूल्य-मान्यतामा अडिग भएर उभिइरह्यौँ । यो ऊर्जा हाम्रा पाठक महानुभावकै साथ र स्नेहबाट प्राप्त भएकोमा हामीलाई कुनै भ्रम छैन ।

पाठकको रुचि र आकर्षणका आधारमा समाचार सामग्रीको सिर्जना र सम्प्रेषण हाम्रो अभीष्ट थियो, छ र रहनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न तह, तप्का र समुदायका नेपालीजनको आवाजलाई मुखरित गर्ने, राष्ट्रिय अखण्डता र राष्ट्रियताका पक्षमा वकालत गर्ने उद्देश्यबाट हामी हट्ने छैनौँ । मुलुकको आर्थिक परिवेश खल्बलिँदा त्यसको असर समाजभरि परेको छ  । समाजको एउटा अङ्ग वा अंश हुनुको नाताले यो प्रतिकूलताको प्रभाव समाजका अन्य क्षेत्रमा झैँ पत्रकारितामाथि पनि बज्रिएकै छ । तथापि, कर्तव्यनिष्ठतालाई शिरोपर गरी कर्मक्षेत्रमा जुटेका ‘घटना र विचारकर्मी’हरू प्रतिकुलता चिर्दै कर्मक्षेत्रमा डटिरहेको तथ्य सगर्व अवगत गराउँदछौँ । हामी सहजतामा छैनौँ तर कठिनाइका बाबजुद निष्पक्ष पत्रकारिताप्रतिको हाम्रो निष्ठामा किञ्चित कमी आउने छैन  । वास्तवमै घटना र विचार परिवारप्रति आम पाठक एवम् शुभेच्छुकहरूले दर्शाउनुभएको स्नेह र सदाशयता स्तुत्य छ । यसलाई हामीले आफ्नो यात्रालाई अझ सवल र सशक्त रूपले अघि बढाउनका लागि मार्गदर्शन तथा आशीर्वादकै रूपमा ग्रहण गरेका छौँ ।

पत्रकारिता सरकार वा सत्तालाई खुशी पार्न सक्ने पेशा होइन भन्ने भनाइको ज्वलन्त उदाहरण पनि हो घटना र विचार । नेपालमा प्रजातान्त्रिक परिपाटी पुनरोदयको बिन्दु मानिएको ०४७ सालयता हालसम्मको ३२ वर्षवधिमा विभिन्न दल तथा तन्त्रविशेषसँग जोडिएका चौध पात्रको नेतृत्वमा अठ्ठाइस पटक सरकार परिवर्तन भइसकेको छ । अठ्ठाइस वटा सरकारका प्रमुखमध्ये कतिपय पात्रले पटक-पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाए । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकै कुरा गर्नुपर्दा उनी पाँच पटक प्रधानमन्त्री बनिसकेका छन् भने जीवनको उत्तरार्द्ध अर्थात् ठुल्ठूला जिम्मेवारी बहनको बोझिला कर्मबाट विश्राम लिएर आराम गर्नुपर्ने अवस्थामा पनि कुर्सीको मोहबाट अझै टाढिन सकेका छैनन् । पटक-पटक अवसर पाएर पनि देशको लागि उदाहरणीय कर्म गर्न नसकेकोप्रति उनमा कुनै पछुतो त छैन नै, समयानुकुल नयाँ नेतृत्वकर्ताको उत्पत्ति र विकासमा पनि उनको पदाकाङ्क्षा बाधक बनिरहेको छ । देउवा एक प्रतिनिधिमूलक पात्र मात्र हुन्, यस्ता पात्र अरु पनि छन् र, यस्ता अकर्मन्य एवम् देशको अस्तित्व नै धरापमा पार्न उद्यत् पात्रहरूकै जकडमा अहिले पनि देश परिरहेको छ । हो, यस्ता पात्र र प्रवृत्तिको स्वस्थ आलोचना गर्दै समाचार सम्प्रेषण, तर्क, विचार तथा विश्लेषणमार्फत् सबै तह र तप्काका पाठक महानुभावहरूलाई सुसूचित तुल्याउने, देशको पक्षमा जागृत गर्ने/गराउने कर्मलाई घटना र विचार आफ्नो दायित्व ठान्दछ ।

यसर्थमा प्रत्येकजसो सरकारको आँखामा हामी कसिङ्गरसरह बन्दै आयौँ । तर, आफ्ना पाठक वर्ग तथा आम नेपालीप्रतिको दायित्व निर्वाहमा प्रतिबद्ध रहँदा जनताप्रति असहिष्णु प्रत्येक सरकारका आँखाको तारो बन्नुपरेको सन्दर्भलाई हामीले अस्वाभाविक रूपमा लिएका छैनौँ । अहिले त सरकार मात्र होइन, शासन व्यवस्था तथा प्रणाली नै नेपाल र नेपालीको आवश्यकता वा चाहनाभन्दा विपरीत छ । नेपालको मौलिकता मासेर देशको अस्तित्व नै समाप्त पार्ने षड्यन्त्रको मतियारका रूपमा शासन प्रणाली एवम् शासकहरू सक्रिय रहेको बेला खबरदारी गरेर जनता जगाउनु घटना र विचारको विशेष दायित्व बन्न पुगेको महसूस हामीले गरेका छौँ । पक्कै पनि यो कर्म तरबारको धारमा हिँड्नुजस्तै हो, तर जति नै अप्ठ्यारो भए पनि देशको अस्तित्वरक्षासँग जोडिएको कर्मका लागि घटना र विचारले आफ्नो खुट्टा कँपाउने सवाल नै रहन्न । हाम्रो यस अभियानमा एक-एक राष्ट्रप्रेमी नेपालीको साथ रहने छ भन्ने अटल विश्वास हामीले बोकेका छौँ ।

एक विशेष कालखण्डमा जन्मिएको घटना र विचार साप्ताहिकले २७ वर्ष लामो अवधिमा मुलुकमा भएको खाल-खालको राजनीतिक परिवर्तन एवम् उतारचढाव देखेको छ भने अनेक तिता-मिठा परिस्थिति ब्यहोरेको छ । हाम्रो यात्राको निरन्तरताको कडी, अस्तित्वको चाबीे, मार्गदर्शनको सारथी वा संरक्षक हाम्रा पाठक नै हुन् । सचेत पाठककै स्नेह, स्वस्थ आलोचना र आशीर्वादको बलमा हामी अझै सशक्त ढङ्गले अघि बढिरहने छौँ भन्ने आशा र विश्वास पाठक महानुभावहरूसँग बाँड्न चाहन्छौँ । समस्त पाठक, शुभेच्छुक तथा सहयोगीजनप्रति हार्दिक आभार प्रकट गर्दछौँ ।