मेयर बालेन… आश धेरै छ, निराश नपारियोस् !

मेयर बालेन… आश धेरै छ, निराश नपारियोस् !


ल्होत्सेको लुट हेरि बस्लान् त बालेन ?

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीद्वारा मेयर बालेनको खुट्टा तान्ने काम सुरु भइसकेको बुझिएको छ । ‘फोहोर मेरो पहलमा उठेको हो’ भन्दै झाँक्रीले भाषण दिँदै हिँडेकी छन् । मन्त्री भएको आठ महिनासम्म सिन्को नभाँच्ने पात्रले अहिले पार्टीले मन्त्रीबाट फिर्ता बोलाइपछि नौटङ्की देखाउनुको कुनै तुक छैन ।
  • अनुसा थापा

०५४ सालमा काठमाडौंको नगरपिता रहेका केशव स्थापितले गोगंबुको १६१ रोपनी जनताको जग्गा नेपाल सरकारले नयाँ बसपार्क बनाउने भनेर अधिकरण गरे । जग्गाधनीलाई थोरै रकम दिएर सरकारले जग्गा आफ्नो नाममा ल्यायो । ती जग्गाधनी विस्थापित भइसकेका छन् । उनीहरूको हालत के भयो, अत्तोपत्तो छैन ।

देशैभरका लागि गाडी छुट्ने बसपार्कको खाँचो औंल्याइएपछि जापान सरकारले आफ्नो खर्चमा नयाँ बसपार्कको निर्माण गरिदियो । त्यतिखेर स्थापितले आफू नगरपिता भएको लाभ उठाउँदै ४५ वर्षका लागि ल्होत्से सहकारीलाई उक्त बसपार्क सञ्चालन गर्न दिने भनेर सम्झौता गरे । त्यसमा करोडौँको चलखेल भएको थियो भनिन्छ । कानूनमा हरेक पाँच वर्षमा नवीकरण गर्नुपर्छ या टेण्डर आह्वान गरेर अर्को व्यक्तिलाई सञ्चालन गर्न दिनुपर्छ । तर, स्थापितले एउटै व्यक्तिलाई यत्रो वर्ष भाडामा बसपार्क सञ्चालन गर्ने अनुमति दिएका हुन् । एक सय ६१ रोपनीमध्ये जम्मा ६५ रोपनी जग्गामा बसपार्क सञ्चालनमा छ, बाँकी जग्गामा भवन निर्माण गरेर भाडामा लगाइएको छ । यति मात्र नभइ त्यहाँभित्रको २५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भइसकेको छ । महानगरपालिका र वडाले व्यक्तिको नाममा गएको जग्गा फिर्ता ल्याउन चासो देखाएको छैन । यत्रो वर्षदेखि जग्गाको नापजाप पनि गरिएको छैन ।

ल्होत्से सहकारीले पूरा बसपार्क र बाँकी जग्गा गरेर महानगरलाई वार्षिक ९० लाख रुपैंयाँ भाडा तिर्छ । जग्गा सरकारको, बसपार्क बनाइदिने जापान सरकार, ल्होत्सेको त एक सुको पनि लगानी छैन । बिनालगानी ल्होत्सेले करौंडौँ आम्दानी गरिरहेको छ । वार्षिक ९० लाख भाडा तिर्ने ल्होत्सेको आम्दानी नै पाँच करोड छ ।

बसपार्कभित्र छिर्नेबित्तिकै उसले एउटा गाडीबाट हजार रुपैंयाँ असुल्छ, लोकल गाडीकै पनि तीन सय रुपैंया लिन्छ । एउटा गाडी पार्किङ गरेबापत दैनिक ६ सय रुपैंयाँ लिने गरेको छ । यात्रुले टिकट काटेको रकमबाट २० प्रतिशत कमिशन लिन्छ । दुई हजार रुपैंयाँको टिकट काट्यो भने चार सय त ल्होत्सेले नै उठाउँछ ।

बसपार्कभित्र २० हजारदेखि तीन लाखसम्म मासिक भाडा सटरको निर्धारण गरेको छ, ल्होत्सेले । खाली सटर २५ लाखदेखि ६० लाखसम्म खरिदबिक्री गर्छ । त्यहाँ व्यापार गर्न खोज्नेसँग तीन महिनाको भाडा पहिल्यै असुल्छ । सरकारको सम्पत्तिमा ल्होत्से सहकारीको मोजमस्ती । ल्होत्से सहकारी मालामाल, सरकार कंगाल !

नगरपिता हुँदाखेरि सरकारी जग्गा हिनामिना गर्ने, भ्रष्टाचार गर्नेलगायतका काम गरेको हुनाले हालै सम्पन्न स्थानीय चुनावमा जनताले स्थापितलाई हराइदिए । सिर्जना सिंहलाई महानगरवासीले आफ्नो अभिभावक बनाउन चाहेनन्, बरु स्वतन्त्र उठेका बालेन्द्र साहलाई अत्यधिक मत दिएर जिताइदिए ।

ल्होत्सेले ठूल्ठूला राजनीतिक पार्टीलाई चन्दा दिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसलाई ल्होत्से सहकारीले पोसेको छ । उता, यातायात व्यवसायी र मजदुर संगठनहरूले पनि यहाँबाट पैसा खाएका छन् । यस्तोमा राजनीतिक पार्टीलाई चुनौती दिएर नगरिपिता बनेका बालेनले ल्होत्सेको सम्झौता तोड्न सक्लान् ?

महानगर र ल्होत्सेको सम्झौता खारेज गरेर नयाँ टेण्डर आह्वान गर्ने हो भने मासिक तीन करोडसम्म भाडा तिर्ने व्यवसायी आउँछन् । यसो हुँदा व्यक्तिको खल्तीमा एकसुको पनि जान पाउँदैन । राजनीतिक दल र विभिन्न व्यक्तिलाई पोस्ने काम बन्द हुन्छ । यो निर्णय गर्न सक्ने आँट नगरपिता बालेनसँग होला ?

बालेनप्रति जनताको धेरै अपेक्षा छ । सरकारी जग्गा फिर्ता ल्याउलान् र महानगरवासीको हितमा काम गर्लान् भन्ने आशा बोकेर उनीहरू बसेका छन् । हेर्नुछ अब, बालेनले यसबारे कस्तो कदम चाल्नेछन् या चुपचाप बस्नेछन् !

नयाँ बसपार्क त एउटा उदाहरण मात्र हो । काठमाडौंका हरेक वडामा थोरबहुत गुठी र सरकारी जग्गा व्यक्तिको नाममा गएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरूले व्यक्तिको नाममा गएको मठमन्दिर, गुठी र सरकारी जग्गा फिर्ता ल्याउन सक्छन् ? रिबन काट्नतिर होइन बरु आफ्नो वडा र नगरमा भएको सम्पत्ति खोजतलास गर्नतिर जनप्रतिनिधिहरू लाग्नुपर्छ । हेर्दाहेर्दै मासिएको ढुंगेधारा, कुवा, पार्टीपौवा जनप्रतिनिधिहरूले फिर्ता ल्याउन सक्छन् । तालपोखरी पनि व्यक्तिको नाममा गएको छ भन्दा पनि अचम्म लाग्छ । पार्टीपौवा मासेर बस्ने घर ठड्याइएको छ । पुर्खाहरूले जोगाड गरेका सम्पत्ति फिर्ता ल्याउने जिम्मा अबका जनप्रतिनिधिहरूको हो ।

स्थानीय तहको पछिल्लो चुनावमार्फत् कति जनताको हितमा काम गर्ने जनप्रतिनिधिहरू पनि आएका छन् । उता, जग्गा दलाली र ठेकेदार पेशाबाट पनि जनप्रतिनिधि बनेका छन् । अब यिनीहरूले आफ्नो पृष्ठभूमि बिर्सिनुपर्छ । अझै पनि ठेक्कापट्टा र जग्गादलाली गर्ने हो भने अस्तित्व नै मेटिन सक्छ भनेर विचार गरौँ है !

यता, सञ्चारकर्मीहरू पनि पार्टीगत हिसाबमा चल्दा सरकारी सम्पत्ति दुरुपयोग हुन सहयोग पुगेको छ । सञ्चारकर्मीहरू पेशाप्रति निष्ठवान हुन नसक्दा जनप्रतिनिधिहरू मोटाएका छन् । नेपालका सबैजसो मिडियाहाउसले कुनै न कुनै राजनीतिक पार्टीप्रति आस्था राखेको पाइन्छ, जसको कारण मुलुकमा विकृति मौलाउन सहयोग पुगेको छ ।

नगरपिता बालेनले जनताको घरदैलोमा पुगेर म भ्रष्टाचार गर्दिनँ, तलबभत्ता, सेवा-सुविधा केही पनि लिन्नँ, मेरो पुर्ख्यौली सम्पत्ति नै टन्न छ । म जनता र राष्ट्रको हितमा काम गर्छु भन्ने जस्ता बाचा गरेका थिए । अब ती बाचा साबित गर्न अग्रसर हुनैपर्छ ।

मठमन्दिरको छेउछाउमा भएको जग्गा भाडामा लगाएर डन प्रवृत्तिका व्यक्तिहरूले कमाइरहेका छन् । व्यक्ति पैसा कमाउने तर राज्य हेरेको हेऱ्यै हुनु हुँदैन । राज्य हिजो पनि रित्तो थियो आज पनि रित्तै छ । तिर्खा लाग्यो भने पानी खाने ढुंगेधारा छैन काठ्माडौंमा । पानी पिउनुपऱ्यो भने ३० रुपैंया प्रतिबोतल तिर्नुपर्ने बाध्यता छ । पैसा नहुनेले पानीको प्यास मेट्न पनि पाउँदैनन् । भएका ६ सय ३४ वटा ढुंगेधारा मासेर घर बनाइयो । उता, थकाइ लाग्यो भने एकछिन बस्छु भन्दा पनि ठाउँ पाइँदैन । पार्टीपौवा सबै मासिसकेका छन् । कहाँ गएर थकाइ मार्नु ? नगरपिता बालेनबाट आश धेरै छ, निराश पार्ने काम नहोस् ।

बालेनले पैसाले भोट किनेका होइनन्, न काठमाडौंबासी बिकेका हुन् । किनकि उनीहरू चेतनशील छन् । आफ्नो क्षेत्रको हित हेरेर धेरै सोचविचार गरेर मात्र उनलाई भोट दिएका हुन् । मधेशी मूलको नागरिकलाई काठमाडौंका जनताले विश्वास गर्नु भनेको निकै महत्वपूर्ण विषय हो । यसलाई नगरपिता बालेनले ख्याल-ख्याल गर्नु हुँदैन । काठमाडौंवासीको हित सोचेर अघि बढे भने अर्कोचोटि पनि जनताले उनलाई नै आफ्नो अभिभावक चुन्नेछन् । त्यसैले कर उठाउनेदेखि लिएर सरकारी सम्पत्ति संरक्षणमा उनी जुट्नुपर्छ । कति काम गर्न सक्छन् भन्ने पर्खाइमा सबैजना छन् । उनलाई काम गर्न पनि निकै नै चुनौती छ । तर, चुनौतीलाई पन्छाउदै बालेन अघि बढ्नुपर्छ ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीद्वारा मेयर बालेनको खुट्टा तान्ने काम सुरु भइसकेको बुझिएको छ । ‘फोहोर मेरो पहलमा उठेको हो’ भन्दै झाँक्रीले भाषण दिँदै हिँडेकी छन् । मन्त्री भएको आठ महिनासम्म सिन्को नभाँच्ने पात्रले अहिले पार्टीले मन्त्रीबाट फिर्ता बोलाइपछि नौटङ्की देखाउनुको कुनै तुक छैन । टिकटक बनाउन व्यस्त मन्त्रीसँग अपेक्षा पनि के राख्ने र !? नगरपिता बालेनले शहरी विकासमन्त्री झाँक्रीको अनर्गल कुरालाई पन्छाउँदै काठमाडौंलाई व्यवस्थित र सुन्दर शहर बनाउन श्रम-सीप लगाउनुपर्छ । हेरौँ उनले काठमाडौंको रूप कसरी फेर्ने हुन् !?