जसले आफ्नै बुबाआमाको ट्याटु छातीमा बनाउन लगाए..

जसले आफ्नै बुबाआमाको ट्याटु छातीमा बनाउन लगाए..


आफ्ना बुबाआमाको माया सबैलाई लाग्छ । भनिन्छ, जन्म दिने आमाबुबाको ऋण हजार जुनीमा पनि तिर्न सकिन्न । आफ्ना बुबा रामबहादुर दाहाल र आमा मीना दाहालको माया देखाउन काठमाडौं कालिमाटीका विवेक दाहालले आफ्नो छातीमा आमाबाबुको ट्याटु खोपाएका छन् ।

४ वर्षअघि उनले आमाको अनुहारको ट्याटु आफ्नो छातीमा खोपाए, अर्को वर्ष बुबाको । ट्याटु जोगाउन नजान्दा तीन पटक खोपाउनु परेको अनुभव उनले सुनाए । भने, ‘ट्याटु खोपेपछि धेरै हल्लन, सुत्दा उठ्दा अन्य ठाँउमा छुवाउन र नुहाउन नहुने रहेछ । ट्याटु कोरेको आलो घाउ निको नहुन्जेल होस नगर्दा फेरि बनाउनु पर्‍यो ।’

आमा बुबासँगै उनले आफू जन्मेका समय अंकित घडी बनाएका छन् । साथमा जीवनसाथीको नाम समेत लेखाएका छन् ।

आफ्ना मन मिल्ने साथीहरुको अनुहार आफ्नो शरिरमा थप्दै जाने योजना रहेको उनले बताए । भन्छन्, ‘मरेर लैजानु केही छैन । म मेरा प्यारा मान्छेहरुको अनुहार कोरेर आफैसँग राख्न चाहन्छु ।’

दाहालले ४० हजार खर्चेर हाडिगाँउस्थित निरज शाहीलाई ट्याटु बनाउन लगाएका हुन् । आफ्नी श्रीमती बेलायतमा रहेको कारण भेट्न उनी उतै जाँदैछन् । आफू एक्लो छोरो भएकालेले बाबुआमाको हेरचाह गर्न नेपालमै बस्ने योजना रहेको उनले बताए ।

ट्याटु बनाउने युवाहरुप्रति समाजको नकारात्मक दृष्टिकोण बदल्न आफूले बनाएको ट्याटुले धारणा बदल्ने विवेकको आशा छ । उनी भन्छन्, ‘कपाल पाल्ने अनि ट्याटु खोप्ने सबै नराम्रा मान्छे हुँदैनन् । समाजले हेर्ने दृष्टिकोण बदल्नु जरुरी छ ।’